सहकारी पीडितको प्रश्न– पैसा खाएर ठग छोडेपछि न्याय कसरी पाइन्छ ? | Khabarhub Khabarhub

सहकारी पीडितको प्रश्न– पैसा खाएर ठग छोडेपछि न्याय कसरी पाइन्छ ?



बुढेसकालमा जाउलो, ओखती खान सहकारीमा जम्मा गरेको पैसा फिर्ता पाउनु साटो राजनीतिक प्रतिशोधको साधन बनाइएको भन्दै पीडितहरू आक्रोशित छन् । कतिपयले लालाबालाको दूध खाने पैसा कटौती गरेर आफ्नो सन्तानको सुन्दर भविष्यका लागि लगानी गरेको पैसा डुब्दा आफू घर न घाटको बनेको बताए ।

पात्र फरक, व्यथा एउटै । अनि कति त यही पैसाका कारण आत्महत्या गरेको, डिप्रेसनमा गएको देखि लिएर घरबार बिग्रिएका समेत प्रशस्त उदाहरण छन् । सहकारीका समस्या बाहिरी हेर्दा आर्थिक कारोबारसँग जोडिए पनि त्यसको असर बहुआयामिक देखिएको छ । आन्दोलनकारीहरुको आरोप छ– ‘सहकारीका दोषी बचाउन स्वयं सरकार लागेको छ ।’

विगत १८ महिनादेखि सहकारी बचतकर्ताहरू अनवरत सडक आन्दोलनमा छन् । घामपानी, बर्खा, हिउँद नभनी उनीहरू विभिन्न चरणमा धर्नामा बसिरहेका छन् । सरकारसँग भएको सम्झौता कार्यान्वयन नहुँदा उनीहरु झनै चिन्तित छन् ।

अर्कोतर्फ आफ्नो न्यायको लागि शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठी बजारेको भनेर उनीहरू आक्रोशित छन् । आफ्नो मानव अधिकारमासमेत सरकारले दमन गरेको भन्दै पीडितहरूले राष्ट्रिय मानव अधिकार आयोगसँग गुहार मागेका छन् । उनीहरू भन्छन्– नेताहरुलाई जोगाउन सरकारले जीवी राईलाई बेपत्ता पार्‍यो ।

सरकार नेता जोगाउने अभियानमा छ : विष्णुप्रसाद रिमाल, धादिङ
अष्ट बचत तथा सहकारीमा विगत ३ वर्षदेखि बचत गर्दै आएको थिएँ । किनारा पसल थियो । त्यही पसलको आम्दानी बैंकमा गएर जम्मा गर्न भन्दा सहकारीको कर्मचारी पसलमै लिन आउँथे । बचत गर्न सजिलो हुने हुँदा सहकारीमा राखेको थिएँ । पैसा चाहिँदा पनि पसलमै ल्याइदिन्थे । करिब पाँच लाख बचत पुगेपछि पसलमा सामान थप्न मन लाग्यो ।

पसल अलि ठूलो बनाउनुपर्‍यो भनेर एकमुस्ट पैसा निकाल्न गएको सहकारीको अफिस नै छैन । सञ्चालक समितिलाई उजुरी गरेपछि पाँच दिन थुनेर पनि राखे । धरौटीमा छुटेदेखि भागेका छन् । दुई वर्ष भयो– कहाँ छन् , कस्तो अवस्थामा छन् पत्तो छैन । यो देशको प्रहरी र कानुन पनि कस्तो सञ्चालक समिति समाते जस्तो गर्छ । उनीहरुसँग पैसा लिएर छोडिदिन्छ ।

यसको हामीसँग प्रमाण छ । पीडितसँग सल्लाह नगरी आरोपी छोड्नु भनेको के हो ? सरकार ठगसँग पैसा खाएर कानमा तेल हालेर बसेको छ । राज्यबाट अनुमति प्राप्त संस्थाले नागरिकको पैसा खाएर भाग्छ भन्ने त लाग्दैन । सरकार जनताप्रति जिम्मेवार थियो भने उहिले समाधान हुने विषय हो । तर सरकार नै ठगसँग मिलेर बस्दिएपछि न्याय पाउने कुरामा सशंकित हुने अवस्था आउने रहेछ । दुई चार दिन कराएर थाक्छन् भनेर बसेको छ ।

 पार्टीका नेता मुछिएपछि नेता जोगाउनेमा लागेका छन् । रवि लामिछानेलाई थुनेर जीबीलाई मार्न सक्छन् । पासपोर्ट प्रयोग नगरी राई कतै गएका छैनन् । पासपोर्टको नम्बर हान्ने बित्तिकै यो इन्टरनेटको दुनियाँ उनी कहाँ छन्, उत्तिखेरै  पत्ता लाग्छ । अनि उनलाई जानी जानी पक्राउ नगरिएको होइन ?

राज्य सञ्चालनमा बसेकाहरू नै अपराधी छन् । राज्यले हामी सहकारी पीडितलाई जिम्मा देओस् न, हामी एक हप्ताभित्रमा राईलाई नेपाल झिकाउन सक्छौं । अर्को सबै सहकारी पीडित सडकमा आएका छैनन् । सबै आउने हो भने त्यो दबाब थेग्न मुस्किल पर्छ ।

आरोपीलाई छोडेपछि पैसा कसरी फिर्ता हुन्छ ? : श्यामबहादुर राई, ललितपुर

गुडविल बचत तथा सहकारी संस्थामा दश वर्षदेखि कारोबार गर्दै आएको हो । २०७४ सालदेखि नै सहकारी धरासयी बन्दै गएको थियो ।

त्यतिबेलैदेखि हिनामिना भइसकेको थियो । ६ सय जनाको बचत ७९ करोड रुपैयाँ त्यहाँ फसेको छ । सञ्चालकले सहकारीको बचतकर्ताको पैसाले घर किनेका छन् । बुटिक जस्ता व्यवसायमा लगानी गरे । हाम्रो माग त लगानी गरेका ठाउँ सरकारले खोज्नु पर्‍यो ।

सहकारी विभाग प्रशिक्षण तथा अनुसन्धानले के को लागि प्रशिक्षण दिन्छ ? के को अनुसन्धान गर्छ ? त्यो काम गर्न सहकारी विभागले अनुमति दिएको होइन ?खोज्नु उसको काम होइन ?आरोपीलाई धरौटीमा छोड्दै जाने हो भने हामी पीडितको पैसा कसले फिर्ता दिन्छ ?हामी पाँच वर्षदेखि आफ्नो पैसा फिर्ता देउ भन्दै हिँडेका छौं । सहकारीको डकुमेन्ट कहाँ छ भन्नेसम्म थाहा छैन ।

लोभले गर्दा सहकारीमा पैसा राखेका थिए भनेर गिज्याइरहेका छन् । राष्ट्रिय वाणिज्य बैकका निर्देशकहरु के हेरेर बसेका छन् ? काम गरेर खाने र बचत गर्ने नागरिकलाई राज्यले गर्ने व्यवहार यही हो ? हाम्रो पैसा फिर्ता दिलाइदिन्छन् भन्ने आशा मर्दै गएको छ । जनताको पक्षमा राज्य छ जस्तो लाग्न छोड्यो ।

 मानसिक तनावले रोग बढ्यो : विकास राई, ओखलढुंगा 

गोर्खा सेभिङ एण्ड क्रेडिडमा १० लाख रुपैयाँ डुबेको छ । यमराजको दर्शन गर्न पठाउँदैछ सरकार । सहकारीलाई लाइसेन्स दिएपछि त्यही अनुसार कानुन बनाएको छ । त्यो कानुनले ठगहरुलाई कारबाही गर्छ कि गर्दैन ? त्यहाँको बचतले छोराछोरीको भविष्य बनाउने भन्ने थियो ।

दुई वर्षदेखि सडकको बास भएको छ । मानसिक तनावको कुरै नगरौँ । सडकमा बस्दा–बस्दा शरीरमा विभिन्न थरिका दीर्घ रोगहरू बल्झिएका छन् । यहाँ आन्दोलनमा आउने अधिकांश पीडितलाई सुगर र प्रेसरको समस्या छ । कसैको क्यान्सर, किड्नी फेल र फोक्सोमा क्यान्सर देखिएको छ ।

उनीहरू उपचार गर्न नसकेर रोग बोकेर हिँडिरहेका छन् । यसैको उपचार र औषधीको लागि पनि पैसा छैन । हामीलाई जिउँदै मरितुल्य बनाएका छन् । मरियो भने पनि काजकिरिया गर्न सक्ने अवस्था छैन ।

खाडीमा बसेर कमाएको पैसा कसरी पचाउनु ? : सुशीला शाही, साँखु

९ लाख रुपैयाँ सुमेरु सहकारीले खाइदियो । मैले घरहरूमा सहयोगी काम गरेर जम्मा गरेकी थिएँ। र भाइले साउदीमा बसेर कमाएको पाँच लाख रुपैयाँ पैसा बचत गर्न वा सुरक्षित राख्न भनेर पठाएको थियो ।

माइतीमा बुवा र दाइ हुनुहुन्न । सबैको अभिभावक म आफैँ थिएँ । भाइको तलब जम्मा २५ हजार छ । अरबमा २५ हजार तलब नखाई नलाई जम्मा गरेर मलाई पठाएको थियो । त्यो पैसा मैले जसरी पनि तिर्नुपर्छ । कसरी तिर्ने होला ? म आफैँ ज्यामीको काम गरेर परिवार धानिरहेकी छु । हामी जस्ता गरिबका पैसा खाइदिएर तिनीहरू कसरी भाग्न सकेका होलान् ?

म डेढ वर्षको बच्चा काखमा च्यापेर सडक आन्दोलनमा छु । यो बच्चा पेटमा हुँदादेखि सडक आन्दोलनमा हिँडेकी हुँ । बच्चा हुर्किएर स्कुल जाने हुन लाग्यो । तर डुबेको बचत फिर्ता आउन सकेन । भाइको पैसा कसरी तिर्ने भन्ने चिन्ताले सताउँछ ।

यही कारण भाइसँग बोलचाल छैन । टेन्सन भएर कहाँ जाउँ हुन्छ । यत्रो बच्चा लिएर जुलुसमा जान कसैलाई मन हुन्छ ?अलि अलि गरेर भएपनि छिटो देउ भन्ने आग्रह हो ।अध्यक्ष आफैँले म पनि बचतकर्ता हो भन्छ । सहकारीको कर्मचारी पनि सबै मिलेका छन् ।

जुलुसमा जाँदा प्रहरीले टाउको फुट्ने गरी हानेको छ । पाखुरामा पुरै डाम छ । यति सानो बच्चाको आमामाथि प्रहरीले कसरी लाठी बर्साउन सक्छ?सरकारले सुन्छ भन्छन् खै कहिले सुन्ने हो ।

साथीहरूले नै डुबाए : गोविन्द महर्जन, कलंकी
कलंकीस्थित बज्रयान सहकारीमा ८ लाख फसेको छ । खाद्यान्नको व्यापार गर्थें । अहिले सबै डामाडोल भयो । पैसा फसेपछि परिवारमा झैझगडा द्वन्द्व छ हरेक दिन । बैंकले भन्दा केही प्रतिशत ब्याज बढी दियो ।

अलिकति ब्याजको लोभले फसियो । साथीहरूकै सहकारी थियो । डुब्दैन, भाग्दैन भनेर विश्वास दिलाए । आखिरमा साथीभाइले नै डुबाए ।

आन्दोलनमा हिँड्दा पसल बन्द गर्नुपर्‍यो । बचत कुनै पनि हातलमा फिर्ता हुनुपर्छ । हामी सबै सडकमा आयो भने सरकारले घुँडा टेक्नु पर्छ । कालोधन लगानी गरेका रहेछन् भने पनि अनुसन्धान हुनुपर्‍यो । तिनीहरूलाई कारबाही गर्नुपर्‍यो । हामी एक एक पैसा जम्मा गरेका बचतकर्ता अन्यायमा पर्न भएन ।

सरकारले नै लुटको अनुमति दिए जस्तो भयो : राकुमारी थापा, सातदोबाटो 
देउराली सहकारीमा पचास लाख बचत गरेकी थिएँ । जग्गा बेचेर जम्मा गराएको दुई महिनामै फसेको थियो ।मेहनत गरेको पैसा हो । कुनै पनि हालतमा फिर्ता पाउनुपर्छ । सहकारीको पैसा मागेको हो र ?के हामीले सरकारको पैसा मागेको हो ? हामीले आजीवन काम गरेर जोडेको आफ्नो सम्पत्ति मागेको हो । सरकारको ताल देखेर हामीलाई लाज लाग्न थाल्यो ।

हामी सहकारीको पैसा फिर्ता गराउन सक्दैनौ भनेर घुँडा टेकोस् । होइन भने छिटो रकम फिर्ता गराइदिनुपर्‍यो ।यसरी हेर्दा त सरकारले नै सहकारीलाई नागरिकको पैसा लुट भनेर अनुमति दिएको जस्तो देखियो । काम नभएर सडकमा टाइमपास गर्न आएको जस्तो ठानिरहेको छ । घरमा पाँच वर्षको बच्चाले सहकारीले पैसा खाइदिने रहेछ , भुड्कीमा घरमै जम्मा गर्ने भनेर भनिन्, हेर्नुत कस्तो भयो बालबालिकाको मनिस्थिति ?

प्रहरीले कानुन विपरीत लाठी हान्यो : कुशलब केसी, अध्यक्ष, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघ

पीडितमाथि लाठी बर्साउने प्रहरीलाई बर्खास्त गरियोस् । हान, कुट भनेर आदेश दिएका छन् । नागरिकहरूले आफ्नो माग राख्दै शान्तिपूर्ण तरिकाले गरिरहेको आन्दोलन लाठीमुङ्ग्री गरेर दबाउन खोज्नु भनेको लोकतन्त्रको घाँटी निमोठ्ने काम हो ।

मानव अधिकार आयोगले नागरिकको हक कायम गर्ने कुरामा किन ढिलासुस्ती गरिरहेको छ ? नागरिकको जीवन रक्षाको लागि आयोगले पहल गर्छ कि गर्दैन ? हामी अन्तर्राष्ट्रिय मानव अधिकार संगठनसम्म पुग्छौं । यस्ता प्रहरीले के तालिम गरेका हुन् ? कानुन हातमा लिने अधिकार प्रहरीलाई छैन । बारम्बार प्रहरीले गरेको दमन खेदजनक छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ११ : १० बजे

गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती

गोरखा– शहीद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै विद्यार्थीमा

वनहरामा पक्की पुल निर्माण अन्तिम चरणमा

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमा पक्की पुल निर्माण अन्तिम

अछाममा गोठालो गएका दुई किशोरी मृत फेला

काठमाडौं– अछाममा बाख्रा चराउन जङ्गल गएका दुई किशोरी मृत फेला

नेपाल–चीन सुरक्षाकर्मीबाट सीमा क्षेत्रमा संयुक्त अनुगमन

हुम्ला– नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त

कोइलाबास भन्सारमा राजस्व संकलन घट्यो

दाङ– दाङको कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको छ ।