दशैँको उल्लासमा छोपिन्छ घरेलु हिंसा, कसरी रोक्ने ? « Khabarhub

दशैँको उल्लासमा छोपिन्छ घरेलु हिंसा, कसरी रोक्ने ?



काठमाडौं – यतिखेर नेपालीहरूको सबैभन्दा ठूलो पर्व दशैँको नवरात्र चलिरहेको छ । खुशी र उमङ्ग लिएर घर–घरमा दशैँ प्रवेश गरेको छ ।
नेपाल धार्मिक विविधताले भरिपूर्ण देश हो । सबै समुदायका आ–आफ्नै संस्कार र चलन छन् । पर्व एक भए पनि मनाउने तौरतरिका केही फरक पनि छन् ।

कुनै समुदायमा देवतालाई मदिरा नै अर्पण गर्ने चलन छ । त्यस्तै पाहुनाको आतिथ्यता सत्कारमा पनि मदिरा अपर्ण गरिन्छ । परिवार, आफन्त र साथीसङ्गी सँगै बसेर मदिरा सेवन गर्ने क्रम बढ्दो छ ।

दशैँको धार्मिक विशेषता के पनि हो भने यो चाडमा शक्तिकी देवी अर्थात्‌ नारीहरूको पूजा हुन्छ । नवरथामा नवदूर्गाकै पूजाआजा हुन्छ । तर, यही दशैँका बेला महिलाहरू नै घरेलु हिंसामा पर्ने जोखिम बढी हुन्छ ।

तर, कहिलेकाहीँ रमाइलोको लागि गरिएको मदिरा सेवनले हिंसाको बाटो पनि तय गर्छ । त्यसमध्येको एक हो – मदिरा सेवनपछि हुने घरेलु हिंसा । त्यो हिंसाको चपेटामा महिलाहरू नै पर्छन् ।

मदिरा सेवन गरी हुने शारीरिक तथा मानसिक हिंसा चाडबाडको उल्लासमै छोपिइन्छ । तर, त्यस्तो हिंसाले व्यक्ति, परिवार र समाजमा कालान्तरसम्म असर पारिरहन्छ ।

महिला पुनःस्थापना केन्द्र (ओरेक नेपाल)की अध्यक्ष सविता पोखरेलका अनुसार महिलामाथि हुने हिंसाका विभिन्न कारणमध्ये मादकपदार्थ सेवन पनि एक हो ।

उनी भन्छिन्, ‘मदिराले मानिसलाई आवेगमा लैजान सहयोग गर्छ । उसले जहाँ दमन गर्न सक्छ, त्यहाँ गएर हिंसा गर्छ,’ पोखरेल भन्छिन्, ‘मालिकसँग रिस उठेको हुनसक्छ, तर रक्सी पिए पनि रक्स्याहाले मालिक कुट्न सक्दैन, जहाँ उसले आफ्नो शक्ति जताउन सक्छ, त्यहाँ पोख्छ ।’

मदिरा सेवन गरेको व्यक्तिले त्यस्तो रिस जताउन महिला या आफनी श्रीमतीमाथि नै हिंसा गर्छ । सोहीकारण चाडबाडका बेला घरेलु हिंसा बढेको पोखरेल बताउँछिन् ।

चाडपर्वमा मात्रै नभएर अरू बेलामा पनि नेपालमा मदिरा खुलेआम बिक्री हुन्छ । यसलाई नियमन गर्ने भनिए पनि कार्यान्वयन नहुँदा महिलाहरू यसको शिकार बनिरहेको उनले बताइन् ।

सम्भ्रान्त परिवारमै बढी हिंसा

‘म सर्वोच्च हुँ’ भन्ने पुरुषत्वको भावनाले हिंसातिर अग्रसर गराउने पोखरेलको बुझाइ छ । महिलाको न्यायका लागि विभिन्न ठाउँमा जाँदाको आफ्नो अनुभव सुनाउँदै उनले थपिन्, ‘सामान्य परिवारदेखि सम्भ्रान्त परिवार सबैतिर हिंसा छ । हिंसाको स्वरूप फरक छन्, तर जहिँतहीँ छ । सम्भ्रान्त परिवारभित्र महिलाले झनै हिंसा सहेको पाइन्छ ।’

पीडितको उजुरी निकै अन्तिममा मात्रै आइपुग्ने उनी बताउँछिन् । भन्छिन्, ‘श्रीमानले हिंसा ग¥यो भनी भन्न सक्ने स्थिति अझै छैन । भोलि मेलमिलापमा जानुपर्छ । त्यही घर फर्किनुपर्छ । कसरी प्रतिरोधमा जाने ?

महिला अधिकारकर्मी सविता प्रसाईले हिंसा सहनुहुँदैन भनेर सिकाइएको, तर हिंसा गर्नुहुँदैन भनेर पीडकलाई बुझाउन नसकेको बताइन् । ‘हिंसा गर्नुहुँदैन भन्ने यथार्थ हिंसा गर्नेले नै बुझ्नुपर्छ । हिंसा गर्नसक्ने व्यक्तिलाई बुझाएर रोकथाम गर्न सक्दामात्रै परिवार र समाज सुरक्षित हुन्छ ।’

सहनै नसकिने मानसिक विक्षिप्तता

शारीरिक रूपमा मात्रै नभएर दुर्वचन पनि हिंसा हुने प्रसाईं बताउँछिन्, ‘शरीरमा चोटपटक लागेमात्रै हिंसा भयो भन्ने लाग्छ । तर, वचनले गरेको हिंसाले मानिस मानसिक रूपमै विक्षिप्त हुन्छ ।’

हिंसाकै कारण डिप्रेसनमा जाने र कतिपय अवस्थामा आत्महत्यासमेत गरेको पाइएको उनले बताइन् । ‘कुनै न कुनै रूपमा परनिर्भर रहेकाहरू हिंसामा पर्ने गरेको पाइएको छ । महिला विपन्न समुदायका किशोरी र बालिकाहरू बढी हिंसामा पर्छन् ।’

शक्तिवालाले शक्तिहीनलाई हिंसा गरिरहेको र त्यो शक्ति परिवारको मूलीसँग हुने उनले बताइन् । त्यस्तो व्यक्तिले श्रीमतीमात्र होइन, परिवारका अन्य सदस्यलाई पनि विभिन्न माध्यमबाट हिंसा गरिरहेको हुने प्रसाईंको तर्क छ ।

ओरेक नेपालले सङ्कलन गरेको तथ्याङ्क अनुसार ५८ प्रतिशत महिला श्रीमानबाटै हिंसामा परेका छन् । हरेक महिना ३०० को हाराहारीमा उजुरी आउने बताउँदै पोखरेल भन्छिन्, ‘महिला हिंसा सबैभन्दा बढी आफ्नै श्रीमानबाटै भएको छ ।’

हिंसा न्यूनीकरण कसरी गर्ने ?

पोखरेल र प्रसाईं दुवै हिंसा कम गर्न महिला माथिको धारणा परिवर्तन गर्नुपर्ने बताउँछन् ।

पोखरेलले भनिन्, ‘आजसम्म महिलालाई परिवारमा दोस्रो दर्जामै राखिएको छ, श्रीमान्को हप्काइदप्काइ वा पिटाइ नै सामान्य हो भनिएको छ, हिंसाको परम्परागत निकृष्ट स्वरुप नै यही हो ।’

हिंसा सामान्य विषय नभएकाले शुरूमै यसलाई रोक्नुपर्ने प्रसाईं बताउँछिन् । श्रीमान र श्रीमती समभाव र विचारमा परिष्कृत हुँदै जानुपर्ने र आफूले बोल्ने शब्दहरूमा समेत ध्यान दिनुपर्ने उनले बताइन् ।

‘मैले बोलेको शब्दले पनि हिंसा गरेको हुन्छ, अधिकांश घटना नजिकको मान्छेबाटै हुन्छ । छिमेकी र आफन्तबाट ह्न्छ । साना नानीदेखि वृद्ध आमाहरूहरूको शिकार भएका छन्,’ प्रसाईंले थपिन् ।

उन्मुक्तिको खेल

हिंसा गरिसकेको पीडकलाई मानसिक असन्तुलन छ भनी सजाय छुट गराउने विकृत अभ्यास बढ्दो छ ।

गल्ती गर्नेलाई नै ढाकछोप गर्ने गर्दा यस्ता घटना न्यूनीकरण हुन सकेको अधिकारकर्मीहरू बताउँछन् । ‘जबसम्म पीडकले सजाय पाउने अवस्था रहँदैन, तबसम्म यस्तो घटना घटिरहन्छन्,’ उनीहरू भन्छन् ।

यो कानूनले मात्रै सम्बोधन गर्ने विषय नभएको र आफ्नै घरपरिवार भित्रको समस्या भएका कारणले हरेक व्यक्तिले हिंसाको विरोध गर्न र पीडकलाई सजाय दिनमा समन्वयकारी भूमिका खेल्नुपर्ने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ३ : ३० बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु