आधारभूत अस्पतालको भवन शिलान्यासमै सीमित | Khabarhub Khabarhub

आधारभूत अस्पतालको भवन शिलान्यासमै सीमित


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको बराहपोखरी गाउँपालिकामा निर्माण गर्ने भनिएको पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण शिलान्यासमै सीमित भएको छ । बराहपोखरी–४ फाक्टाङको धर्तुङमा निर्माण हुने सो अस्पताल भवनका लागि बजेटको सुनिश्चितता नहुँदा शिलान्यासमै सीमित भएको हो ।

ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित तत्कालीन प्रधानमन्त्री केपी ओलीले विसं २०७७ मङ्सिर १५ गते भर्चुअल माध्यमबाट एकैसाथ पाँच, दश र १५ शय्याको तीन सय नौ वटा अस्पतालको शिलान्यास गरेका थिए ।

दुई वर्षभित्रै सञ्चालनमा ल्याउने गरी शिलान्यास गरिएका त्यही तीन सय नौ आधारभूत अस्पतालको सूचीमा बराहपोखरीको पनि समावेश  भएको थियो ।

धर्तुङमा आधारभूत अस्पताल बनाउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष दश लाख खर्च गरेर घडेरी सम्याउने काम सम्पन्न गरेको गाउँपालिकाका प्रशासन सहायक एवं सूचना अधिकृत रमेश पोखरेलले जानकारी दिए ।

धाप्लाङ–धर्तुङ सडक नजिकै आधारभूत अस्पताल निर्माणका लागि गाउँपालिका उपाध्यक्ष भूवलराज राईले चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

पालिकास्तरीय अस्पताल भवन निर्माणका लागि जग्गा जुटाएर भवनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर अर्थमन्त्रालयमा बजेट माग्न जाँदा बजेटको सुनिश्चितता भएपछिमात्रै भवन बन्ने जवाफ आएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए ।

‘पूर्वप्रधानमन्त्रीले शिलान्यास गर्दा हाम्रो पनि परेछ । अस्पताल बनाउन भनेर जग्गा जुटाएर घडेरी सम्यायौँ । डीपीआर पास गरेर अर्थमन्त्रालय गयौँ ।  मन्त्रालयले सबै पैसाको सुनिश्चितता छैन भन्छ ।’

अस्पताल भवन निर्माणका लागि अर्थ मन्त्रालयबाट आर्थिक वर्ष २०८०–०८१ मा २० लाख विनियोजन भएको गाउँपालिका प्रमुख बञ्जराले जानकारी दिए । तर, सो २० लाख रकमले ठेक्का खोल्नै नपुग्ने गाउँपालिकाले जनाएको छ ।

कार्यपालिकाको निर्णय, जग्गा व्यवस्थापन, डिपिआर तयार, बोलपत्र लगायतका प्रक्रिया पूरा नभएका कारण जिल्लामा शिलान्यास गरिएका धेरैजसो अस्पताल भवन निर्माणका लागि विनियोजित बजेट ‘फ्रिज’ भइरहेका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा बराहपोखरीसँगै दिप्रुङ चुइचुम्माखोटेहाङ गाउँपालिकामा दुई वर्षअघि मात्रै पाँच/पाँच शय्याको अस्पताल निर्माणका लागि योजना परेको थियो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पहिलो वर्षअर्थात् आव २०७७–०७८ मा छवटा स्थानीय तहका लागि योजना परेको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा ऐसेलुखर्क, रावाबेँसी, केपिलासगढी, साकेला र जन्तेढुङ्गा गाउँपालिकामा अस्पताल भवन निर्माणको योजना परेको हो ।

पहिलो वर्ष नै योजना परेका अस्पतालको कामसमेत अहिलेसम्म सम्पन्न भएका छैनन् । जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा निर्माणाधीन पाँच शय्या अस्पताल भवनमा ठेकेदार कम्पनीको लापर्वाहीका कारण गुणस्तरहीन बालुवा/गिट्टी प्रयोग भएको नपाइएपछि पुनः भत्काएर निर्माण सुरु गरिएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको केन्द्र तथा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यसअघि नै १५ शय्याको सरकारी जिल्ला अस्पताल सञ्चालनमा थियो ।

२९ वर्षसम्म १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्लाको एकमात्र सरकारी अस्पताललाई अहिले ५० शय्यामा स्तरोन्नति गर्ने गरी स्तरोन्नतिको काम तीव्रगतिमा भइरहेको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ८ : ३९ बजे

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि