चुलाचुलीका किसान तरुल खेतीतर्फ आकर्षित « Khabarhub

चुलाचुलीका किसान तरुल खेतीतर्फ आकर्षित


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

इलाम– पछिल्लो समय इलाम चुलाचुलीका किसान सिमल तरुल  खेतीतर्फ आकर्षित भएका छन् । धान, मकै तथा कोदोलगायत अन्नबाली उब्जनी हुने खेतीयोग्य जमिनमा किसानले तरुल खेती गरेर मनग्य आम्दानी समेत लिन  थालेका हुन् ।

अन्य बालीभन्दा सिमल खेती गर्न सजिलो र आम्दानीसमेत बढी हुने भएकाले त्यसतर्फ किसानको आकर्षण बढेको चुलाचुली गाउँपालिका– ५ का किसान मतिराज राईले जानकारी दिए ।

थोरै लगानीबाट नै राम्रो आम्दानी लिन सकिने भएकाले यहाँका किसानको रोजाइमा सिमल खेती परेको हो । यहाँका किसानले एकल तथा सामूहिकरुपमा व्यावसायिक सिमल खेती गर्दै आएका छन् ।

घरमा खाजाका लागि रोपण हुँदै आएको सिमल तरुलको माग पछिल्ला दिनमा बजारमा बढेसँगै व्यावसायिक खेती विस्तार हुन थालेको चुलाचुली– ४ का किसान धनबहादुर योगीले बताए ।

१९ बिघा बढी क्षेत्रमा व्यावसायिक सिमल खेती हुँदै आएको चुलाचुली गाउँपालिकाको तथ्याङ्क छ । यहाँका धेरै किसानले करेसाबारीमा सिमल खेती लगाएका छन्  । यहाँ उत्पादित सिमल तरुल निर्यातका लागि बजारको कुनै समस्या छैन । सिमल तरुल किन्न स्थानीय व्यापारी किसानको बारीमा नै पुग्ने गरेका छन् ।

व्यावसायिक उत्पादन बढेसँगै सिमल तरुल खरिद गर्न चुलाचुली आउने स्थानीय व्यापारीको सङ्ख्यासमेत बढ्दै गएको योगीले बताए । तरुल बजार निर्यातका लागि स्थानीय व्यापारीबाट सङ्कलन हुने गरेको छ ।

सङ्कलन भएको तरुल व्यापारीमार्फत दैनिकरूपमा झापाको दमक, बिर्तामोड, मोरङको उर्लाबारी, सुनसरीको इटहरी र धरानसम्मका बजार पुग्ने गरेको छ ।

सिमल तरुलको खरिदबिक्री पुस, माघ र फागुनमा बढी हुन्छ । बजारमा यसको माग बढ्दै गएपछि किसानको मुख्य आम्दानीको स्रोतसमेत बन्न थालेको छ । सुगर, प्रेसरलगायत दीर्घरोगीले समेत खान मिल्ने सिमल तरुल किसानको बारीबाट प्रतिकिलो ३० देखि ४० रुपैयाँमा बिक्री हुँदै आएको छ ।

तरुल प्रायः बोक्रा तासेर उसिनेपछि खाने गरिन्छ । यसलाई सुकाएर पीठो बनाई रोटी खाने पनि चलन छ । आदिवासी जनजाति समुदायले भने स्थानीय रक्सी उत्पादन गरी बिक्रीसमेत गर्दै आएका छन् ।

तरुल खेती प्रवर्द्धन गर्न चुलाचुली गाउँपालिकाले किसानलाई अनुदान दिँदै आएको छ । चुलाचुलीले गत आर्थिक वर्ष तरुलको व्यावसायिक खेती गर्ने ३८ जना किसानलाई १२ लाख २४ हजार दुई सय ९३ अनुदान दिएको थियो ।

चुरेको फेदीमा रहेको चुलाचुली गाउँपालिकामा तरुल खेतीका लागि उपयुक्त रहेको कृषि विज्ञ टोलीको निष्कर्षपछि चुलाचुली गाउँपालिकाले यस खेतीलाई प्रवर्द्धन गर्न थालेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुले बताए ।

यस वर्ष चुलाचुली गाउँपालिकाले तरुल खेतीलाई व्यावसायिक बनाउन पीठो उत्पादन गर्ने उद्योग स्थापना गर्ने तयारीमा रहेको अध्यक्ष केरुङले जानकारी दिए ।

 

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १० : ०७ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी