को बन्दैछ वीपीको उपकुलपति ? | Khabarhub Khabarhub

को बन्दैछ वीपीको उपकुलपति ?



सुनसरी– धरानस्थिति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पुरानै लयमा फर्काएर थप उचाइमा पुर्‍याउन सक्ने योग्य, दक्ष र कशुल प्रशासकीय अनुभव भएको उपकुलपतिको खोजी सुरु भएको छ । चिकित्सक, कर्मचारी, शिक्षक र विद्यार्थीहरुको आन्दोलन टुंगिए पनि उपकुलपतिको खोजी भने जारी छ ।

तीनदशक अघि दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को मोडलमा स्थापना भएको यो स्वास्थ्य संस्था बेग्लै ऐन, नियमावलीअनुसार चलिरहेको छ ।

वीपी प्रतिष्ठानले हालसम्म ८ जना उपकुलपतिको अनुभवलाई संगालिसकेको छ । तर, जुन गतिमा प्रतिष्ठानले उचाइ लिनुपर्ने हो, त्यो लक्षविन्दुमा भने पुग्न नसकिरहेको अवस्था छ ।

प्रतिष्ठानको ऐन नियमावली अनुसार हालसम्म जो–जो राजनीतिक नियुक्तिका आधारमा उपकुलपति भए, अन्तिम समयमा अधिकांश विवादित भएर बहिर्गमन भएको तीतो इतिहास छ ।

कोही उपकुलपति त भ्रष्टाचार प्रकरणमा रंगेहात पक्राउ परे । कोही भ्रष्टाचारमा नराम्रो गरी मुछिए त कोही नभएको प्राध्यापक पद आफैं भिरेपछि कारवाहीमा परे ।

सरकारी सहयोगसहित बार्षिक साढे ५ देखि ६ अर्ब रुपैयाँसम्मको आर्थिक कारोवार हुने प्रतिष्ठानमा उपकुलपति बन्न धेरैको दौडधूप हुने गरेको छ ।

को–को छन् उपकुलपतिका दाबेदार ?

बेथितिको जञ्जालले बेरिएको वीपी प्रतिष्ठानको उपकुलपति बन्न आधा दर्जनभन्दा बढीले भित्री इच्छा देखाएका छन् । भलै, समस्या समाधान गर्न नसकी पदावधि पूरा मात्र गर्न सके भने पनि ठूलै जित मान्नुपर्छ, यदि विवादमा परेनन् भने ।

वीपी प्रतिष्ठानभित्रको हाडजोर्नी विभागमा कार्यरत तीन प्राध्यापक अहिले उपकुलपति बन्ने दौडमा छन् । जसमा प्राडा गुरुप्रसाद खनाल, प्राडा विक्रम श्रेष्ठ र प्राडा पशुपति चौधरी छन् ।

प्राडा गुरु खनाल

माओवादी केन्द्र समर्थक र प्रचण्डपथ रोजेका प्राडा खनाल प्रतिष्ठानकै पूर्वशिक्षाध्यक्ष र लामो समय निमित्त उपकुलपति चलाएका व्यक्ति हुन् । उनलाई पछिल्लो समयमा नेकपा एमालेले समेत आन्तरिक समर्थन गरेको छ ।

हालका कामु उपकुलपति प्राडा प्रल्हाद कार्की र उनकी श्रीमती प्राडा संगीता भण्डारी वा कांग्रेसकै अन्य व्यक्ति उपकुलपति हुनु भन्दा खनाल नै ठीक भन्ने एमालेको मत बलियो भएकाले उनको पल्ला भारी देखिएको छ ।

प्रतिष्ठान बाहिरबाट चर्चित मुटुरोग विषेशज्ञ प्राडा भगवान कोइराला, प्राडा जगदीश अग्रवाल र डा. रामेश कोइरालाको नाम पनि चर्चामा आएको छ     

कामु उपकुलपति प्राडा कार्कीले शिक्षक र कर्मचारीको समस्या समाधान गर्न नसकिरहेका बेला प्रधानमनत्री प्रचण्डको रोजाइमा खनाल परेर नियुक्ति गर्ने तयारीसमेत भएको थियो । तर, कांग्रेसी खेमाले पहिल्यै थाहा पाएपछि केही समयका लागि उपकुलपति नियुक्त गर्ने योजना सर्‍यो । तैपनि खनाल उपकुलपति बन्नेमा ढुक्क छन् ।

हाडजोर्नी विभागकै प्राडा विक्रम श्रेष्ठ पनि उपकुलपति बन्ने दौडमा छन् । उनी वेदाग छवि भएका चिकित्सकका रुपमा चिनिन्छन् । धरानका स्थानीय बासिन्दासमेत रहेका प्राडा श्रेष्ठ वीपी प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष हुन् ।

प्राडा विक्रम श्रेष्ठ

स्रोतका अनुसार श्रेष्ठलाई कांग्रेसको एउटा समूहको समर्थन छ । पद र कमिसनमा खासै चासो नराख्ने श्रेष्ठलाई यसअघि शिक्षाध्यक्ष बन्न पनि अरुले नै उचालेका थिए । तर, उनी आफ्नो कार्यकालभरि विवादरहित रहे ।

यसपटक धरानकै बासिन्दा र धरानमै रहेको प्रतिष्ठानको प्रतिष्ठा जोगाउनुपर्छ भनेर श्रेष्ठलाई केही समुहले उकासिरहेकाले उपकुलपति बन्ने रहर उनले देखाएका छन् ।

त्यस्तै, विवादरहित रहँदै आएका प्रतिष्ठानका मेडिसिन विभागका प्राडा सञ्जीव कुमार शर्मा हाल शिक्षाध्यक्ष रहेका छन् । उनी पनि उपकुलपति बन्ने दौडमा छन् ।

राजनीतिक पहुँच कम भए पनि उनलाई एमालेको कोटामा शिक्षाध्यक्ष बनाइएको आरोप भने लागेको छ । तर, उनले समाजमा दिएको योगदानका कारण वेदाग चिकित्सक भनेर आफ्नो पहिचान बनाएका छन् । उनको अन्तराष्ट्रिय स्तरमा समेत पहिचान छ ।

विश्वप्रख्यात जर्नलहरुमा स्वास्थ्य अनुसन्धान लेखेर पहिचान बनाएका प्राडा शर्मा विश्व स्वास्थ्य संगठनका विभिन्न क्षेत्रका सल्लाहकार समेत भएकाले नागरिक समाजको तहबाट उनलाई बनाउँदा प्रतिष्ठानको प्रतिष्ठा थप बढ्छ भन्ने बुझाइ छ ।

प्राडा सञ्जीव कुमार शर्मा

खनाल र श्रेष्ठकै समकालीन साथी हाडजोर्नी विभागकै प्राडा पशुपति चौधरी पनि उपकुलपति बन्ने दौडमा छन् । कांग्रेसले कामु उपकुलपति कार्कीलाई जोगाउन नसके चौधरीलाई प्रतिष्ठानको उपकुलपति बनाउनुपर्छ भन्ने लविङ गरिरहेको छ ।

चौधरीकी श्रीमती नवोदिता चौधरी अघिल्लो पटक नेपाली कांग्रेसबाट समानुपातिक सांसद थिइन् । प्रतिष्ठानमा यसअघि डेपुटी डाइरेक्टर र कार्यसमिति सदस्य भइसकेका प्राडा चौधरीका ससुरा कुनै समय बाग्मतीका अञ्चलाधीश थिए ।

हालका स्वास्थ्य मन्त्री मोहन बस्नेतको मान्छे भनेर उनका ससुरालाई चिनिने गरिएकाले प्राडा चौधरी पनि व्यापक लविङमा लागेको श्रोतले बतायो ।

पशुपति आफैं पनि प्रतिष्ठानको उपकुलपति बन्न योग्य रहेको र प्रतिष्ठानलाई उचाइमा पुर्‍याउन सक्ने उम्मेदवार भएको कांग्रेस नेताहरुको दाबी छ ।

प्राडा पशुपति चौधरी

त्यसो त राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति भएको बेलादेखि नै विवादै विवादको चक्रमा फसेकी नाक कान घाँटी विभागकी प्रमुख प्राडा संगीता भण्डारी आफैं वीपी प्रतिष्ठानको उपकुलपति बन्न कांग्रेस नेतृ आरजु देउवासँग लविङ गरिरहेकी छन् ।

कडा स्वभावकी प्राडा भण्डारीका लागि वीपी प्रतिष्ठानमा जोसुकै पदाधिकारी भएर आए पनि कतिपय विषयमा कसैको पनि ‘दाल गल्दैन ।’ उनका समकालीन प्राडाहरु समेत भण्डारीसँग बोल्न हिच्किचाउने गरेका छन् । भर्खर एमबीबीएस वा एमडी गरेका विद्यार्थीको त कुरै छैन ।

तर, राप्ती र पाटन दुईवटा संस्थामा उपकुलपति भएर पनि विवादित देखिएकाले संगीतालाई कांग्रेसले सहजै बोक्न सक्ने सम्भावना नभएको उनकै समकालिन प्राडाहरुले बताउने गरेका छन् । उनी हाल प्रतिष्ठानकी कार्यकारिणी सदस्यमा मनोनित भएकी छन् । राप्ती विज्ञान प्रतिष्ठानमा हुँदा आर्थिक अनियमितता समेत गरेको संगीतामाथि आरोप छ ।

त्यसो त यसअघि नै कामु प्राडा प्रल्हाद कार्कीको ठाउँमा आफैं उपकुलपति बन्न संगीताले लबिङ गरेकी थिइन् । तर, स्वास्थ्यमन्त्री बस्नेतले राप्ती र पाटनमा विवादित बनेको हुनाले संगीतालाई उपकुलपति बनाउन चाहेनन् र उनका श्रीमान प्रल्हादलाई कामु उपकुलपति बनाए । प्रह्लाद उपकुलपति बने पनि हालीमुहाली भने संगीताकै चल्ने गरेको प्रतिष्ठानका कर्मचारीको भनाइ छ ।

प्राडा भण्डारी स‌ंगीता भण्डारी र कामु उपकुलपति प्राडा  प्रल्हाद कार्की 

अहिले प्रल्हाद कार्कीको उमेर हदले उपकुलपति बन्न नदिएपछि संगीताले आफ्नै लागि लबिङ थालेको स्रोत बताउँछन् । उनी नेपाली कांग्रेस पृष्ठूभूमिकी भएता पनि श्रममन्त्री शरतसिंह भण्डारीकी बहिनी भएका कारण सरकारमा उनको पहुँच दह्रै छ ।

त्यसो त प्रतिष्ठान बाहिरबाट चर्चित मुटुरोग विषेशज्ञ प्राडा भगवान कोइराला, प्राडा जगदीश अग्रवाल र डा. रामेश कोइरालाको नाम पनि चर्चामा आएको छ । तर, प्राडा भगवान र प्राडा अग्रवालले वीपी प्रतिष्ठानको उपकुलपति बन्न नमानेको चर्चा छ । रामेशले पनि यसबारे प्रतिक्रिया नदिएको स्रोत बताउँछ ।

नयाँ उपकुलपतिका चुनौती

उपकुलपति भएर आखिर जो आए पनि उसले दैनिक उपचारका लागि आउने करिव ३५ सय विरामी, विभिन्न वार्डमा भर्ना भएका हजार बढी विरामी, दैनिक २ सय भन्दा बढी संख्यामा आउने आकस्मिक कक्षका बिरामीको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

त्यसैगरी हजार बढी विद्यार्थी र ज्यालादारीमा काम गर्ने सहित करिव २३ सय कर्मचारीलाई एकसाथ ‘प्रेम र हौसला’ दिने नेतृत्व अहिलेको आवश्यकता हो ।

वीपी प्रतिष्ठान टर्सरी सेन्टर र रिफरल सेन्टरमा रुपान्तरित भएकाले अत्याधुनिक उपकरणहरु एमआरआईविहीन हुनु लाजमर्दो भएको छ । त्यस्तै यहाँ भएका सीमित सिटिस्क्यान, अल्ट्रासाउण्ड, इण्डोस्कोपी, कोलोनोस्कोपी, कोल्पोस्कोपी, क्याथल्याव, डिजिटल एक्सरे, डेण्टलकालागि आधुनिक एक्सरे मेसिन र डेण्टल चियर, अप्रेशन थिएटरले विरामीको चाप थेग्न सकेको छैन ।

कतिपय मेडिकल उपकरण, जस्तै–इण्डोस्कोपी र कोलोनोस्कोपी बिग्रेर थन्केको ६ महिना बितिसक्दा पनि नबनाएपछि बिरामीहरु निजी अस्पतालमा जान बाध्य छन् ।
अप्रेशन थिएटर सीमित भएकाले बिरामीले भन्दा पनि चिकित्सकले आफुले हेरेको बिरामीको शल्यक्रिया गर्नसमेत पालो कुर्नुपर्ने अवस्था छ ।

मेडिकल उपकरणको अभावलाई नेपाल सरकारले पूर्ति गर्न नसके अन्तराष्ट्रिय दातृ निकायसँग पनि ‘भिख’ नै मागेर भए पनि विरामी बचाउने दायित्व यहाँको नेतृत्वले लिन आवश्यक छ ।

त्यस्तै, चिकित्साशास्त्रको नर्सिङ, बीएमआइटी, एमआइटी, रेडियोलोजी, एमबीबीएस, एमडी, एमएस, एमसीएच तहसम्म पढाउने र वैज्ञानिक स्वास्थ्य अनुसन्धान पत्र लेखेर राज्यलाई सल्लाह दिन सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने संस्थाको रुपमा चिनाउने उपकुलपति खोजिरहेको छ वीपी प्रतिष्ठानले ।

वीपी प्रतिष्ठान यतिबेला आफैं विरामी अवस्थामा छ । वीपी प्रतिष्ठानमा लागेको भ्रष्टाचार, आर्थिक अनियमितता र कमिसनको रोग ‘डाइग्नोसिस’ गर्ने, त्यसपछि शल्यक्रिया गरी जरैदेखि निमिट्यान्न पारेर स्वस्थ बनाउने हैसियत राख्न सक्ने बेदाग र निपूर्ण उपकुलपतिको खोजी हुनु स्वाभाविक हो ।

तर, स्वास्थ्यमन्त्रीको सिफारिसमा प्रधानमन्त्रीले नियुक्त गर्ने राजनीतिक नियुक्तिबाट उपकुलपति बनेका पदाधिकारीहरु सोचेजस्तो शतप्रतिशत वेदाग र निपूर्ण होलान् भन्न सक्ने अवस्था भने खासै देखिँदैन ।

भ्रष्टाचारको भाष्य

वीपी प्रतिष्ठानमा अहिलेसम्म नेता र मन्त्रीलाई ‘ब्ल्याक ब्रिफकेस’ बुझाएर त्यसको भर्पाइ गर्ने कमिसनखोरी अहिलेसम्म चल्दै आएको भाष्य आम धरानबासीको मन मष्तिष्कमा गढेको छ ।

सरोकारवालाहरुको दाबी अनुसार उपकुलपति भएर आउने जोकोहीले पछिल्लो समय कम्तीमा २० प्रतिशत कमिसन लिने गर्छन् । प्रतिष्ठानमा आवश्यक मेडिकल उपकरण खरिद गर्दा होस् वा भौतिक संरचना निर्माण गर्दा, ठेकेदार कम्पनीले नाकको चालले १० प्रतिशत दिने गरेको छ । त्यतिमा चित्त नबुझेपछि पदाधिकारी आफैंले १० प्रतिशत कमिसन जबर्जस्ती लिने गरेको छ ।

राजनीतिक नियुक्तिबाट उपकुलपतिको कुर्सी हत्याउनकै लागि लबिइङ गरिदिन आग्रह गर्दै दावेदार उम्मेदवारहरु ‘ब्रिफकेस’ बोकेर राजनीतिक दलका शीर्षनेताको ढोका ढक्ढक्याउने र विषेश गरी स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीलाई प्रभावित पार्ने कोशिश हुने गरेको सधैं चर्चा चल्ने गरेको छ ।

वीपी प्रतिष्ठानको उपकुलपति हुन चाहनेले कम्तिमा १० करोड कतै बुझाएपछि त्यो ‘ब्रिफकेश’ सँग साटेर पाएको उपकुलपति पद सम्हाल्न नपाउदै आफूले गरेको खर्चको भर्पाइ कमिसन र आर्थिक अनियमितता मार्फत निकाल्न खोज्दा अधिकांस पदाधिकारीहरु फस्ने गरेको भुक्तभोगीहरुको तर्क छ ।

यस्तो भयावह अवस्थामा को बन्ला वीपी प्रतिष्ठानको सर्वेसर्वा ‘मुखिया’ ? अहिले यो प्रश्न मुखरित बनेको छ ।

तलव भत्ता सरकारले एक पैसा पनि नव्यहोर्ने हुनाले प्रतिष्ठान आफैंले जोहो गर्नुपर्छ । वीपी प्रतिष्ठान ‘ननप्राक्टिसिङ रेसिडेन्सियल’ हो । अर्थात प्रतिष्ठानमा कार्यरत कुनैपनि चिकित्सकले बाहिरको अस्पताल, क्लिनिक वा नर्सिङ होममा बसेर शुल्क लिएर ‘क्लिनिकल प्राक्टिस’ गर्न पाउँदैन ।

अन्य निजी मेडिकल कलेज वा अस्पतालमा दक्ष चिकित्सकले मासिक पाँच÷सात लाख रुपैयाँ तलव सुविधा लिइरहेको बेला यहाँ प्रोफेसर तहको चिकित्सकले मुस्किलले मासिक २ लाख रुपैयाँ प्राप्त गर्छ । तलव थोरै भयो भनेर पलायन हुन चाहने योग्य दक्ष चिकित्सक र जनशक्तिलाई रोकेर राख्न सक्ने अबको उपकुलपति को होला ? यो प्रश्न निरुत्तरित छ ।

पदाधिकारी नबन्दासम्म इमान्दार दरिएका वीपी प्रतिष्ठानका अधिकांस उपकुलपतिहरु कुर्सीमा बसेपछि बदनाम भएको इतिहास छ ।

स्वास्थ्यमन्त्री, प्रधानमन्त्री, दलका शीर्षनेता तथा विचौलियालाई ब्रिफकेस नबुझाई बदनाम हुनबाट जोगिँदै प्रतिष्ठानको गरिमामय ब्राण्डलाई विरामी उपचार सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानमा प्रयोग गरेर ‘माङ्गेना’ (प्रतिष्ठा बढाउने) कार्य गर्न सक्ने व्यक्तित्व अहिलेसम्म फेला पर्न सकेको छैन ।

प्रतिष्ठानमा कार्यरत चिकित्सक, शिक्षक, नर्स र अन्य कर्मचारीसहित १ हजार ८ सय १६ जनालाई नियमित तलव भत्ता सुविधाको रुपमा दिनका लागि प्रतिष्ठानभित्रै आर्जन गरेर बार्षिक रुपमा करिव दुई अर्ब रुपैयाँ जोहो गर्ने र भ्रष्टाचारको भाष्य बदल्न सक्ने स्वच्छ छविको उपकुलपति अहिलेको आवश्यकता हो ।

अलपत्र परियोजना पूरा गर्ने चुनौती

वीपी प्रतिष्ठानमा विगत डेढ दशकयता ठूला परियोजनाहरु अधकल्चो अवस्थामा छन् । २ अर्व ३३ करोड २३ लाख रुपैयाँ लागतको ४ सय बेडको मातृ तथा शिशु उपचार केन्द्र (एमसिएच) भवनको निर्माण अन्तिम चरणमा छ ।

त्यस्तै, १२ करोड ३७ लाख २७ हजार लागतको फार्मेसी भवन निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । यी बाहेक करिव २ अर्व ६ करोड ५४ लाख रुपैयाँ लागतको क्यान्सर उपचार केन्द्र (अंकोलोजी सेन्टर) र १ अर्व ६२ करोड २५ लाख रुपैयाँ लागतको मुटु उपचार केन्द्र (कार्डियाक सेन्टर) का भवन निर्माण गर्न ७ बर्ष अघि नै सिनेटले पारित गरे पनि निर्माण कार्य सुरु हुनुअघि नै विवादित भएका छन् ।

यी अर्बौं रुपैयाँका परियोजनालाई ठेकेदार कम्पनीबाट एक पैसा कमिसन नलिई काम गर्ने उपकुलपति प्रतिष्ठानले चाहेको छ । साथै, प्रतिष्ठानलाई आवश्यक पर्ने करोडौंका मेडिकल उपकरणहरु खरिद गर्दा कमिसनको लोभ देखाउने मेडिकल उपकरण आपूर्ति कम्पनी र व्यापारीको चंगुलबाट बाहिर निस्कन सक्ने उपकुलपति धरानबासीले खोजिरहेका छन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  २ : ३७ बजे

बाढीले आम्दानीको स्रोत गुमेपछि किसान चिन्तित

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकबरका बमबहादुर सुनारले

विपदमा परी १३० मृत्यु, नौ बेपत्ता

काठमाडौं – अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका

विश्वका ठूला पाँचमध्ये दुई कोइला खानी भारतमा

काठमाडौं – विश्वका ठूला पाँचमध्ये दुई वटा कोइला खानी भारतमा

महिला एसिया कप : पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो

ट्राफिक प्रहरीले चालकमाथि कुटपिट गरेको भन्दै यातायात मजदुरद्वारा सडक अवरुद्ध

ललितपुर – चालकमाथि ट्राफिक प्रहरीले हातपात गरेको भन्दै यातायात मजदुरहरुले