काठमाडौँ– नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले संसदीय छानबिन समिति बनाउन सरकारलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका-१० इकाई समितिले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम’मा सरकारले संसदीय छानबिन समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि प्रहार गर्न खोजेको उनले बताए ।
सहकारी प्रकरणमा सरकारका मन्त्रीहरुमाथि प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यास रहेकाले सरकारले छानबिन समिति बनाउनुपर्नेमा जोड दिए । ‘सरकारले छानबिन समिति नबनाएर संसद्को क्षेत्राअधिकारमाथि प्रहार गरिरहेको छ,’ उनले भने ।
संसदीय छानबिन समिति नबनेसम्म कांग्रेस आफ्नो मुद्दाबाट पछि नहट्ने उनको भनाइ थियो । नेता सिंहले कांग्रेसका कारण भन्दा सरकारको कारण अहिले संसद् चल्न नसकेको स्पष्ट पारे ।
उनले कांग्रेससँग जनताको धेरै आशा र भरोसा भएकाले कांग्रेस सुध्रिएर अगाडि बढ्नुपर्ने उल्लेख गरे । उनले युवालाई उत्पादनसँग जोड्न सकेमात्र देशले विकास हासिल गर्ने र विदेशिने युवाको सङ्ख्यामा कमी आउने बताए ।
राजनीतिक स्थायित्व नभएको अवस्थामा गरिने लगानी सम्मेलनले लगानीको वातावरण बन्न नसक्नेसमेत पूर्व उपप्रधानमन्त्री सिंहले बताए । मुलुकमा भएका राजनीतिक दल जिम्मेवार बनेर देशलाई निकास दिनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया