हातमा सिरिञ्ज, मन-मस्तिष्कमा विदेश | Khabarhub Khabarhub

हातमा सिरिञ्ज, मन-मस्तिष्कमा विदेश



हामी वृद्ध भइ बिरामी हुँदा औषधोपचार र स्याहार पूर्ण रुपमा राज्यको दायित्व नहुने मुलुकका नागरिक हौँ । ठिकै छ, राज्य आफ्नो साथमा नभए पनि आफूले आफ्नो गच्छेले भ्याए भन्दा अधिक खर्च गरी शिक्षा दिएर निकै स्नेह गरी हुर्काएका सन्तान त छन् भनौँ भन्दा पनि केही भाग्यमानीका बाहेक अधिकांशका सन्तान विदेशिएका छन् । कोही नभए पनि नेपालमा पैसा छ भने आधुनिक प्रविधिबाट उपचार हुने विश्वस्तरका अस्पताल, चिकित्सक, नर्स  र मेडिकल स्टाफ छँदै छन् भन्ने अवस्था अब बिस्तारै कम हुँदै गएको छ ।

७० वर्ष नाघेका आफ्ना अभिभावक स्याहार्न अस्पताल जाँदा वा घरमा होम केयरका लागि नर्स राख्दा विभिन्न अप्ठ्यारो भोग्नुपर्ने अवस्था सिर्जना हुँदै गएको छ । हिजो आज नर्सिङ अध्ययन, अध्यापन गर्ने ठाउँ र घरमा नर्सिङ सेवा उपलब्ध गराउने संस्थाहरू उल्लेख्य मात्रामा रहेका छन् । तर विडम्बना मैले स्वयम्  आफ्नो  बुवा, आमालाई उपचारका लागि नेपालकै राम्रो मानिने विश्वस्तरीय अस्पतालमा होस् वा  होम केयरमा होस्, नर्सिङ सेवामा परिपक्व नर्सको कमी हुँदै गरेको पाएकी छु ।

संवेदनशील पेशामा आवद्ध व्यवसायिक काममा परिपक्व सिनियरको प्रत्यक्ष निगरानी बिना आलाकाँचालाई जिम्मा दिँदा बिरामीको ज्यानै जोखिममा पर्दछ ।

अस्पतालमा भर्ना भइ उपचार गर्दा डाक्टर र बिरामी बीच पुलको काम गर्न नर्सको निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । डाक्टरले बिरामीलाई गर्नुपर्ने उपचारमा गरिने रक्त परीक्षण, औषधी प्रयोगको समय तालिका लगायतका उपचार विधिमा अलिकति तलमाथि हुने बितिक्कै बिरामीको स्वास्थ्यमा ठूलो असर पर्न सक्छ ।

यस्तो संवेदनशील पेशामा आवद्ध व्यवसायिक काममा परिपक्व सिनियरको प्रत्यक्ष निगरानी बिना आलाकाँचालाई जिम्मा दिँदा बिरामीको ज्यानै जोखिममा पर्दछ । मैले डाक्टरले नर्सहरूलाई ब्रिफिङ गरेका कुरामा नर्सिङबाट कार्य सम्पादनमा लापरबाही भएकोमा पटक पटक उजुरी समेत गरेकी छु ।

अस्पतालबाट डिस्चार्ज हुँदा प्राइमरी केयर टेकरलाई राम्रोसँग ब्रिफ गर्ने, कम्युनिकेशन स्किलको विकास गर्ने लगायतको कुरामा विशेष ध्यान दिन जरुरी रहे पनि यस विषयमा मतलब नगरेको देखिन्छ । हरेक पटक अस्पतालको सेवा लिँदै हस्पिटलाइज हुँदा अधिकांश करिब २०–२१ वर्षका अत्यन्तै कम अनुभव भएका नयाँ नर्सहरू आफ्नो बिरामीको उपचारका लागि खटिएकाे थाहा पाउने बित्तिकै मन अस्थिर भैहाल्छ ।

केही व्यक्तिगत कारणले नेपाल नछोडेका अनुभवी नर्स बाहेक हातमा सिरिञ्ज, मन–मस्तिष्कमा विदेश बोकेका नर्स मात्र नेपालमा रहने भए ।

नेपालकै उत्कृष्ट मानिने अस्पतालहरूको हालत त यस्तो छ भने अरु ठाउँको अवस्था कल्पना समेत गर्न कठिन छ । परिपक्व, अनुभवी नर्सहरू उपलब्ध नहुनु र सेवामा  ह्रास आउनुको कारण बुझ्दै जाँदा मैले उपचार गराइ रहेको अस्पतालबाट यो वर्ष नेपालबाट बाहिर जाने ९० जना स्टाफ नर्स मध्ये ८५ जना सो अस्पतालको रहेको व्यवस्थापनमा रहेका मेरा मित्रले मैले गुनासो गर्ने क्रममा बताए । यो अवस्था हामी सबैको लागि डरलाग्दो अवस्था हुँदै आएको स्पष्ट संकेत हो ।

केही व्यक्तिगत कारणले नेपाल नछोडेका अनुभवी नर्स बाहेक हातमा सिरिञ्ज, मन–मस्तिष्कमा विदेश बोकेका नर्स मात्र नेपालमा रहने भए । अमेरिका, बेलायत र अष्ट्रेलिया लगायतका मुलुकमा गई काम गर्न, सेटल हुन नर्सिङको अनुभवको सर्टिफिकेट हुँदा सजिलो हुने भएकाले पेशाप्रतिको लगाव र सम्मान भन्दा विदेशमा रोजगारीको अवसरका कारणले गर्दा युवाहरू आकर्षित भएको देखिन्छ ।

नर्सिङ होम, केयर  सर्भिस सञ्चालकहरूले अक्सिजन सिलिन्डर प्रयोग गर्न नजान्ने, डाइपर चेन्ज गर्न हिच्किचाउने, रातिको ड्युटीमा बिरामीको बेवास्ता गरी आफू मस्त निदाउने, बिरामीसँग अनावश्यक वार्तालाप गर्ने, कमजोर स्वास्थ्य भएको खबरै नगरी ड्युटीमा नआउने जस्ता व्यक्तिहरूलाई कसरी नियुक्ति दिई बिरामी हेर्न पठाउँछन् ? ड्युटीमा पठाउनुअघि तालिम, कार्यशाला जस्ता महत्वपूर्ण कुरा बेवास्ता भएको देखिन्छ ।

नेपालमा थौरै सेवा सुविधामा पनि आफ्नो पेशाप्रति इमानदार र आफ्नो कामप्रति लगाव भएकासँग आक्कलझुक्कल सेवा लिन पाउँदा नर्सिङ पेशाप्रति सम्मान कयौँ गुणा बढ्छ ।

अहिले चलन चल्तीमा होम केयर नर्सिङ सेवा सञ्चालकले प्रति घण्टा नर्सिङ  सेवा बापत एक सयदेखि एक सय पचास रुपैयाँसम्म सेवाग्राहीसँग लिने गर्दछन् । ड्युटीमा खटिएकालाई प्रतिघण्टा साठ्ठी, सत्तरी, पचहत्तर, असीसम्म दिएको मैले पाएँ । हस्पिटलमा भने नर्सको तलब पन्ध्र हजार देखि सुरु हुने यो सेवामा आवद्ध बताउँछन् ।

नेपालमा थौरै सेवा सुविधामा पनि आफ्नो पेशाप्रति इमानदार र आफ्नो कामप्रति लगाव भएकासँग आक्कलझुक्कल सेवा लिन पाउँदा नर्सिङ पेशाप्रति सम्मान कयौँ गुणा बढ्छ । नबिदेशिएका केही अनुभवी नर्सहरुले आफूले सेवा गर्न यो पेशा अपनाएको र बत्ती नभएका ठाउँमा समेत गएर आफ्नो मोबाइलको बत्ती बालेर सेवा दिएको सुन्दा नतमस्तक हुन्छु । तर अब यस्तो अनुभव सुनाउने नयाँ पुस्ता भेटाउन गाह्रो हुनेछ ।

आफ्नो सीपलाई निखार्न अल्छी नगर्ने, नयाँ कुरा सिक्न अघि सर्ने, आफ्नो जिम्मेवारीमा रहेको काम नबिराई गर्ने आदि । विदेश जान नर्सिङ पढेको भए पनि कमसेकम आफ्नो पेशाप्रति इमानदार हुन जरुरी छ ।

जे जस्तो भए पनि युवा पुस्ताले दिन रात नभनी बिरामीलाई सेवा पुर्‍याएकाेमा खुसी हुने बाहेक विकल्प छैन । किनभने नेपालमा त्यो दिन टाढा छैन जुन बेला नर्सिङ सेवामा काम गर्ने पुस्ता नहुन सक्छन् । त्यसैले स्वास्थ्य सेवामा संलग्न नर्सलाई नेपालमा नै काम गर्ने वातावरण सिर्जना गर्न अहिले पनि सरकारले ठोस कदम नचाले निकै ढिलो हुनेछ । अहिले ४५ वर्ष कटेकाहरु ६० काट्दा नर्स बिनाको स्वास्थ्य सेवा लिन बाध्य हुनेछन् ।

विदेश नै जानको लागि भए पनि होम केयरमा सेवा दिनेहरूले केही कुरामा मनन गरे विदेशमा नर्सलाई सजिलो हुन्छ । आफ्नो सीपलाई निखार्न अल्छी नगर्ने, नयाँ कुरा सिक्न अघि सर्ने, आफ्नो जिम्मेवारीमा रहेको काम नबिराई गर्ने आदि । विदेश जान नर्सिङ पढेको भए पनि कमसेकम आफ्नो पेशाप्रति इमानदार हुन जरुरी छ । पेशाप्रति इमानदारी नभएमा कतै पनि सजिलो हुन्न । कम उमेरका जीवनको अनुभव कम हुने भएकैले तालिम, प्रोत्साहन अनि मार्गदर्शनको आवश्यकता भएको सरोकारवाला सबैले मनन गर्न जरुरी छ ।

 

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ८ : १८ बजे

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार