अर्थसंक्षेप : एनईएको अत्याधुनिक डाटा सेन्टरदेखि अन्तर्राष्ट्रिय श्रम सम्मेलनसम्म | Khabarhub Khabarhub

अर्थसंक्षेप : एनईएको अत्याधुनिक डाटा सेन्टरदेखि अन्तर्राष्ट्रिय श्रम सम्मेलनसम्म


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरण (एनईए) ले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रश्नावलीअन्तर्गतको नतिजा अनुसार अधिकांश वडाको आम्दानीको स्रोत भूमि र मालपोत कर देखिएको छ । साढे १० हजार मेगावाट क्षमताका ९४ वटा जलविद्युत आयोजनाहरू निर्माण अनुमति पत्र (लाइसेन्स)को पर्खाइमा रहेका छन् ।

बुधबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, बुधबार ६.३८ अंकले नेप्से बढेर २१२१.६२ विन्दुमा पुगेको हो । निश्चितभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा दोस्रो बजारमा ल्याउने घोषणा बजेटले गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गरेका छन् ।

यस्ता छन् आजका प्रमुख आर्थिक समाचारहरु :

एनईएको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा

नेपाल विद्युत् प्राधिकरण (एनईए) ले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्यूचाटारस्थित भारप्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डाटा सेन्टर सञ्चालनमा ल्याएको हो ।

‘प्रि–फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुईँ तलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष रहेका छन् । पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डाटा सेन्टर रहेका छन् ।

अठहत्तर प्रतिशत वडाको आम्दानीको स्रोत भूमि र मालपोत कर

राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रश्नावलीअन्तर्गतको नतिजा अनुसार अधिकांश वडाको आम्दानीको स्रोत भूमि र मालपोत कर देखिएको छ । देशभर कूल छ हजार सात सय ४३ वडा रहेकामा पाँच हजार दुई सय ९४ वडा अर्थात् ७८ दशमलव पाँच प्रतिशतको मुख्य राजस्वको स्रोत भूमि तथा मालपोत कर रहेको तथ्यांक कार्यालयले जनाएको छ ।

प्रमुख राजस्व स्रोतका रूपमा सेवा दस्तुर चार हजार छ सय ५८ वडा अर्थात् ६९ दशमलव एक प्रतिशत बराबर रहेको छ । सम्पत्ति कर तीन हजार छ सय आठ अर्थात् ५३ दशमलव पाँच, व्यवसाय कर तीन हजार पाँच सय ५६० वडा अर्थात् ५२ दशमलव आठ प्रतिशत रहेको देखिएको छ ।

निश्चित पुँजी भएका कम्पनीलाई दोस्रो बजारमा ल्याउन कति सम्भव ?

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा निश्चितभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा दोस्रो बजारमा ल्याउने घोषणा भयो । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटको २७८ औँ बुँदामा नेप्से, धितोपत्र बोर्ड, सीडीएसलगायत कम्पनीको पुनः संरचनासहित निश्चित भन्दा बढी पुँजी भएका कम्पनी दोस्रो बजारमा ल्याउने उल्लेख छ । पुनले बजेटमा निश्चित पुँजी भने पनि कति भन्ने खुलाएका छैनन् । बजेटमा अनिवार्य रूपमा त्यस्ता कम्पनीलाई दोस्रो बजारमा ल्याउने लेखिएको छ ।

तर, त्यो कुरा सम्भव नहुने नेपाल धितोपत्रको समेत भनाइ छ । धितोपत्र बोर्डका प्रवक्ता नवराज अधिकारी अनिवार्य रूपमा दोस्रो बजारमा ल्याउन कम्पनी ऐन नै संशोधन गर्नुपर्ने बताउँछन् । ‘बजेटमा लेखिए जस्तो अनिवार्य रूपमा ल्याउने कुरा सम्भव हुँदैन’, अधिकारीले खबरहबसँग भने, ‘कम्पनीहरू नै आउन खोजे नियामकले व्यवस्था मिलाउने हो ।’

साढे १० हजार मेगावाटका जलविद्युत आयोजना निर्माण अनुमतिपत्रको पर्खाइमा 

साढे १० हजार मेगावाट क्षमताका ९४ वटा जलविद्युत आयोजनाहरू निर्माण अनुमति पत्र(लाइसेन्स)को पर्खाइमा रहेका छन् । विद्युत् विकास विभागका अनुसार, १ मेगावाट क्षमताभन्दा बढीका १० हजार ६ सय ५१ मेगावाटका ९४ वटा जलविद्युत आयोजनाहरूले निर्माण अनुमतिपत्रका लागि निवेदन दिएका हुन् ।

साना र ठूला क्षमतामा निर्माण हुने जलविद्युत आयोजनाहरूले निर्माण अनुमतिपत्रका लागि विभागमा निवेदन दिएका हुन् । जसमध्ये  १९०२ मेगावाटको मुगु कर्णाली स्टोरेज जलविद्युत आयोजनाले पनि निर्माणको अनुमतिका लागि निवेदन दिएको छ । त्यस्तै, ८२८ मेगावाटको उत्तरगंगा जलाशययुक्त आयोजना, ६०० मेगावाटको दूधकोशी स्टोरेज, ६०० मेगावाट क्षमताको अपर मर्स्याङ्दी २, ४८० मेगाटाको फुकोट कर्णाली, ४३९ मेगावाटको बेतन कर्णाली, ४१७ मेगावाटको नलस्याउ गाड, ३३५ मेगावाटको हुम्ला कर्णाली–२ लगायतका आयोजनाहरूले निर्माण अनुमतिका लागि विभागमा निवेदन दिएका हुन् ।

हालसम्म विभागबाट १ मेगावाटभन्दा माथिका ९ हजार ९९० मेगावाट क्षमताका २५५ आयोजनाले निर्माण अनुमति पत्र पाइसकेका छन् । निर्माण अनुमति पत्र लिएका कतिपय जलविद्युत आयोजना निर्माण पूरा भई व्यावसायिक विद्युत् उत्पादन भइसकेका छन् भने कतिपय जलविद्युत आयोजना निर्माणकै चरणमा छन् ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलन: लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गरेका छन् । स्विट्जरल्याण्डको जेनेभामा जारी एक सय १२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनीतिक बजारका कारण लगानीको वातावरण बन्दै गएकाले यसबाट लाभ लिन आग्रह गरे ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि मंगलबार सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एकल अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ८९ करोडमाथि  

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पार गरेको २१ सय विन्दु बुधबार पनि कायम भएको छ । सोमबार नेप्से ८.९० अंकले,  मंगलबार ३३.१५ अंकले र आज बुधबार ६.३८ अंकले नेप्से बढेको छ । आज नेप्से ०.३० प्रतिशतले बढेर २१२१.६२ विन्दुमा पुगेको छ ।

बुधबार ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर ७४ हजार ७४ हजार ८५८ पटक किनबेच भएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ६ : ४४ बजे

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अंकले

विकट गुर्जागाउँ जोड्ने सडकको देउरालीसम्म ‘ट्रयाक’ खुल्यो

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि

दृष्टिदोषको तेस्रो कारण बन्दै मधुमेह, बच्न के गर्ने ? 

मधुमेहले शरीरका संवेदनशील अङ्गहरु आँखा, मुटु, मिर्गौला, ब्रेनमा नराम्ररी क्षति

प्रधानमन्त्रीज्यूलाई भनेको छु- जोखिम उठाउने समय यही हो

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे

चिर्पट प्रहारबाट श्रीमानको हत्या

रुकुमपश्चिम– रुकुमपश्चिमको चौरजहारी नगरपालिका–२ विजयश्वरीकी ३२ वर्षीया दीपा कुमालले ४०