विश्वास गुमाउँदै प्रचण्ड, संसदमा १०० मत बटुल्न हम्मे | Khabarhub Khabarhub

विश्वास गुमाउँदै प्रचण्ड, संसदमा १०० मत बटुल्न हम्मे

चुनावमा पनि हरेकपल्ट जनमत गुम्दै


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


8.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाबाट पाँचौँ पटक विश्वासको मत लिने तयारी गरेका छन् । मुख्य सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्रीले फेरि संसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री दाहाललाई पदबा ट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरे पनि उनी संवैधानिक अधिकार प्रयोग गर्दै विश्वासको मत लिने मनस्थितिमा पुगेका हुन् । यद्यपि, उनले संसदबाट विश्वासको मत नपाउने निश्चितजस्तै छ ।

प्रधानमन्त्री प्रचण्डसँग अहिले उनको आफ्नै दल, ३२ सिटको नेकपा माओवादी केन्द्र, २१ सिटको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र १० सिटको नेकपा एकीकृत समाजवादीमात्रै उभिएका छन् । जसअनुसार उनले २७५ सदस्यीय प्रतिनिधिसभाबाट विश्वासको मतको पक्षमा मात्र ६३ मत पाउने देखिएको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले हालको संघीय संसद चुनिएको दुई वर्षमै तीनपटक सत्ता समीकरण फेरिसकेका छन् । २०७९ पुस १० मा नेकपा एमालेसँग सत्ता समीकरण बनाएर प्रधानमन्त्री भएका प्रचण्ड राष्ट्रपतिको निर्वाचनपछि कांग्रेससँग मिलेर २०८० फागुन २१ मा फेरि एमालेसँगै मिल्न पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्ड एमालेसँगको सत्ता समीकरणमा २०७९ पुस १० मा तेस्रोपल्ट प्रधानमन्त्री बनेका थिए । सोही वर्षको पुस २६ गते पहिलोपल्ट प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा उनको पक्षमा २६८ मत परेको थियो ।

एमालेसँगको समीकरणमा प्रधानमन्त्री बनिसकेपछि उनले त्यही वर्षको फागुनमा एमालेलाई लत्याएर कांग्रेससँग साँठगाँठ गरेका थिए । उनले २०७९ फागुनमा कांग्रेससँग नयाँ सत्ता समीकरणका लागि प्रतिनिधिसभा निर्वाचनका बेलाको गठबन्धन ब्युँताउने औपचारिक सहमति गरेका थिए ।

कांग्रेससँगको सत्ता सहकार्य गरेर २०७९ चैत ६ मा दोस्रोपल्ट संसदबाट विश्वासको मत लिँदा उनले १७२ मत प्राप्त गरेका थिए । प्रधानमन्त्री प्रचण्ड २०८० फागुन २१ मा कांग्रेससँगको सत्ता समीकरण अप्रत्याशित रुपमा टुंग्याएर फेरि एमालेसँग मिल्न पुगेका थिए ।

तेस्रोपल्ट विश्वासको मत लिँदा उनले २०८० फागुन ३० गते बसेको प्रतिनिधिसभा बैठकबाट १५७ मत प्राप्त गरेका थिए । यसबीचमा सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन हुन पुगेको थियो । सरकारमै रहेका बेला प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउन दल विभाजन गराइदिएको निष्कर्ष निकाल्दै उपेन्द्र यादव सरकारबाट बाहिरिएका थिए ।

यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०८१ जेठ १७ मा विश्वासको मत लिनुपरेको थियो । चौथोपल्ट संसदबाट विश्वासको मत लिने क्रममा उनले १५७ मत ल्याएका थिए ।

पहिलोपल्ट २६८ जना सांसदको विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्ड चौथोपल्टसम्म पुग्दा १११ जना सांसदको विश्वास गुमाउने स्थितिमा पुगेका थिए । शुक्रबार पाँचांैपल्ट विश्वासको मत लिँदासम्म उनी मात्र ६३ सांसदका लागिमात्रै विश्वासिला प्रधानमन्त्रीका रुपमा रहने अनुमान कांग्रेस–एमालेका नेताहरुको छ ।

जनमतमा पनि निरन्तर ओरालो

प्रधानमन्त्री प्रचण्डले संसदमा मात्रै नभएर आम नागरिकको विश्वास पनि निरन्तर गुमाउँदै गएका पछिल्ला निर्वाचनको मत परिणामले पनि देखाउँछ । १० वर्षे सशस्त्र क्रान्तिपछि मूलधारको राजनीतिमा आएपछि पहिलो संविधानसभा निर्वाचनदेखि पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पाएको जनमतले पनि माओवादी निरन्तर ओरालो लागेको देखिन्छ ।

मुलुकमा शान्ति स्थापना गरी २०६४ साल जेठ महिनाभित्र स्वतन्त्र र निष्पक्ष रूपले संविधान सभाको निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धतासहित सरकारसँग २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौता गरेर माओवादी मुलधारको राजनीतिमा आएको थियो । २०६३ मंसिर २२ गते हतियार तथा सेनाको व्यवस्थापनको अनुगमनसम्बन्धि सम्झौतामा उसले हस्ताक्षर गरेको थियो ।

शान्ति प्रक्रियामा आएपछि २०६४ चैत २८ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा सहभागी माओवादी सवैभन्दा ठूलो पार्टी बन्न सफल भएको थियो । तत्कालीन समयमा उसले कुल खसेको मध्ये ३१ लाख ४५ हजार ५१९ प्रत्यक्षतर्फ र ३१ हजार ४४ हजार २०४ मत समानुपातिकतर्फ पाएको थियो । उक्त निर्वाचनमा १ करोड ८ लाख ६६ हजार १३१ मत प्रत्यक्षतर्फ र १ करोड ११ लाख ४६ हजार ५५० मत समानुपातिकतर्फ खसेको थियो ।

निर्वाचन आयोगका अनुसार पहिलो संविधानसभा निर्वाचनमा पहिलो बनेको माओवादीले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ३०.५२ प्रतिशत मत ल्याएको थियो । पहिलो संविधानसभा निर्वाचनमा अप्रतयाशित मत ल्याएर पहिलो बन्न सफल माओवादी त्यसपछिका निर्वाचनहरुमा भने निरन्तर ओरालो लागेको देखिन्छ ।

पहिलो संविधानसभाले संविधान लेखनको काम पूरा गर्न नसकेपछि २०७० मंसिर ४ मा सम्पन्न निर्वाचनमा माओवादी तेस्रो दलमा खुम्चिन पुगेको थियो । उक्त निर्वाचनमा उसले प्रत्यक्षतर्फ पहिलो संविधानसभा निर्वाचनभन्दा १७ लाख ५ हजार ७६३ मत पाएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा प्रतयक्षतर्फ २४ लाख १८ हजार ३७० मत ल्याएर कांग्रेस पहिलो र २२ लाख ३९ हजार ७२६ मतसहित दोस्रो र १४ लाख ३९ हजार ७२६ मतसहित तेस्रो भएका थिए ।

माओवादी २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग र २०७९ मा सम्पन्न निर्वाचनमा कांग्रेससँग तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो ।
निर्वाचन आयोगको तथ्यांकअनुसार ती दुवै निर्वाचनमा पनि माओवादीको जनमत झन्–झन खस्किँदो अवस्थामा देखिन्छ । आयोगको अभिलेखले समानुपातिकतर्फ माओवादीले २०७४ मा १३ दशमलव ६५ र २०७९ मा १२ दशमलव ६९ प्रतिशत मत प्राप्त गरेको देखाएको छ ।

पछिल्लो प्रतिनिधिसभा निर्वाचन (२०७९) मा माओवादीले समानुपातिकतर्फ ११ लाख ७५ हजार ६८४ मत प्राप्त गरेको थियो । जुन उसले पहिलोपल्ट चुनावी प्रतिष्पर्धा गरेको पहिलो संविधानसभा निर्वाचनमा प्राप्त गरेको मतभन्दा १९ लाख ६८ हजार ५२० मत कम हो ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ११ : ०० बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले