असार २८ को संयोग : तीन वर्षपछि देउवाले नै खोलिदिए ओलीलाई बालुवाटारको ढोका | Khabarhub Khabarhub

असार २८ को संयोग : तीन वर्षपछि देउवाले नै खोलिदिए ओलीलाई बालुवाटारको ढोका

ओलीलाई सर्वोच्चले सत्ताच्यूत गरेकै दिन प्रचण्ड पनि खुमलटार फर्किए



काठमाडौं – खारेजीमा परिसकेको नेकपाभित्रको विवादका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते दुई पटक प्रतिनिधिसभा विघटन गरिदिएका थिए ।

२०७७ पुस ५ मा गरिएको विघटनलाई ११ फागुन २०७७ मा सर्वोच्च अदालतले अवैधानिक भन्दै खारेज गरिदियो । त्यसपछि फागुन २२ मा तत्कालीन नेकपा पनि खारेजीमा परेर यसअघिका दुई पार्टी पुरानै अवस्थामा फर्किए ।

तर नेकपा एमाले र माओवादी पुरानै अवस्थामा फर्किए पनि ओलीको तनाव कम भएको थिएन । एमाले पुरानै अवस्थामा फर्किए पनि माधव नेपालहरूसँगको विवाद जारी थियो । त्यसपछि २०७८ जेठ ८ गते दोस्रो पटक संसद् विघटन गरिदिए । पहिलो पटकको विघटन रद्द भए पनि ओली प्रधानमन्त्रीमा बहाल रहे।

तर दोस्रो पटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेको तत्कालीन माधवकुमार नेपाल गुटसँगको द्वन्द्वमा रेका ओलीलाई २८ असार २०७८ मा सर्वोच्चले कडा झट्का दियो ।

अदालतले दोस्रो पटकको विघटनलाई अवैध मात्रै भनेन ओलीले प्रधानमन्त्रीको कुर्सीबाट हात धुनुपर्यो । अर्थात सर्वोच्च अदालतले २०७८ असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादु देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दियो ।

अदालतको आदेशअनुसार ओली असार २८ मा प्रधानमन्त्रीबाट मुक्त भए । उनी असार २९ गते लावालस्करसहित बालकोट फर्किए ।

२०७८ असार २८ बितेको तीन वर्ष भइसकेको छ । यसबीचमा ओलीले कांग्रेस, माओवादी केन्द्र र एमालेबाट फुटेर २०७८ साउनमा बनेको एकीकृत समाजवादीबाट निरन्तर घेराबन्दी सामना गरे । संसदीय राजनीतिकका हरेक मोर्चामा ओलीलाई एक्ल्याउने कोसिस भइरहे ।

२०७९ मंसिरको चुनाव त्यसकै एक दृष्टान्त थियो । एकातिर कांग्रेस, माओवादी, एकीकृत समाजवादी थिए भने एमाले करिब एक्लै थियो । मधेशका जिल्लामा एमालेले जनता समाजवादी नेपालसँग तालमेल गर्यो ।

एमाले र ओलीविरूद्धको उक्त घेराबन्दी आशातित सफल भएन । अर्थात् कांग्रेस नेतृत्वको गठबन्धनले बहुमत ल्याउन सकेन । एमाले पनि कमजोर भएन, उसले संसद्मा दोस्रो ठूलो दलका रूपमा आफूलाई उभ्यायायो ।

त्यसपछि १० पुस २०७९ मा ओलीले कांग्रेसको गठबन्धनबाट पुष्पकमल दाहाल प्रचण्डलाई झिकेर आफ्नो समर्थनमा प्रधानमन्त्री बनाए । प्रचण्डसँगको सहकार्य पनि फागुन २७ मा भएको राष्ट्रपति चुनावसँगै भाँडियो ।

प्रचण्ड कांंग्रेस नेतृत्वकै चुनावी गठबन्धनमा फर्किएर २०८० फागुन २१ गतेसम्म सरकार चलाए। फागुन २१ मा एमालेसँग ७ बुँदे सहमतिपछि वाम गठबन्धनमा फर्किएका प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथबाट फर्किएर कांग्रेसतिरै नजिकिन खोज्दा सत्ताविहीन हुन पुगेका छन् ।

असार १७ गते भएको कांग्रेस–एमाले सहमतिले यी दुई ठूला दलको गठबन्धन बनेको छ । उनीहरुले संविधान संशोधन, संंघीय संरचना पुनरवालोकनसहितका एजेन्डामा एकै ठाउँ उभ्याएर सत्ता सहयात्रा गर्दैछन् ।

असार २८ को संयोग

कांग्रेस र एमालेको यो समीकरणले ओलीका लागि एउटा संयोग जुराएको छ । २०७८ असार २८ गते सर्वोच्च अदालतको आदेशबाट ओलीले सत्ता गुमाएका थिए । सर्वोच्चको आदेशअनुसार ओलीलाई बालकोट फर्काएका कांंग्रेस सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्री भएर २०७९ मा चुनावसम्म गराए ।

देउवाले सत्ताबाट विस्थापित गरेका ओली उनकै समर्थनमा संयोगवश ३ वर्षपछि असार २८ गते नै तेस्रो कार्यकाल प्रधानमन्त्रीको पद सम्हाल्ने अवस्थामा आइपुगेका छन् । उनले नेपाली कांग्रेसको समर्थनमा दाबी पेश गरेपछि तीन वर्षअघि सत्ताबाट बाहिरिएकै दिन बालकोटको बार्दलीबाट बालुवाटारको यात्रा निश्चित गरेका छन् । असार २८ मा शीतल निवास पुगेर प्रधानमन्त्री पद ग्यारेन्टी गरेका उनी उनी पर्सि बालुवाटार प्रवेश गर्नेछन् ।

असार २८ मै प्रधानमन्त्री नभए पनि उनका लागि बालुवाटार र सिंहदरबारको ढोका खुलिसकेको छ ।  जसले तीन वर्षअघि बालकोट पुर्याए, उनैले अर्थात देउवाले ओलीका लागि सत्ताको रातो कार्पेट बिच्छ्याइदिए । प्राविधिक कारणले उनी असार २८ मै प्रधानमन्त्रीमा नियुक्त भएनन् । तर राष्ट्रपतिकहाँ उनको दाबी पेश भइसकेको छ ।  राष्ट्रपतिले पनि कांग्रेस-एमालेको दाबीअनुसार ओलीका लागि प्रधानमन्त्रीको बाटो खोल्न संविधानको धारा ७६ (२) अनुसार नै सरकार गठनको निम्तो दिएका थिए ।

रोचक के भयो भने ओलीलाई बालुवाटारबाट बालकोट पठाउने योजनाका मुख्य पात्र त्यसबेला प्रचण्ड थिए । अहिले असार २८ कै दिन ओलीको योजनामा प्रचण्ड बालुवाटारबाट खुमलटार धकेलिएका छन् ।

२०७८ जेठ ८ गते प्रतिनिधि सभाको दोस्रो विघटनपछि प्रचण्ड र माधव नेपाललसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालत गएका थिए । अहिले प्रचण्ड र नेपालल सत्ताबाट किनाराकृत हुँदा ओली र देउवाले काँध मिलाएका छन् ।

परमादेशबाट ओलीलाई बिदा गरेको असार २८ को तीन वर्षपछि प्रचण्ड बालुवाटारबाट खुमलटार जाँदा ओली बालुवाटार पस्ने पक्का भएको छ । प्रचण्डलाई सत्ताच्यूत गर्न ओलीले देउवाको साथ मात्रै लिएनन्, आफ्ना नयाँ सहयात्री पनि बनाए ।

प्रचण्डले शुक्रबार विश्वासको मत नपाएपछि संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति रामनन्द्र पौडेलले सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समय दिएका थिए । तर ओलीले शुक्रबार नै राति सरकारमा दाबी गरिसकेका  छन् ।

११ पुस  २०७९ मा तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिएका प्रचण्ड १८ महिनापछि खुमलटार फर्किए । प्रतिनिधि सभामा ३२ सिट रहेका उनले जादुगरी नम्बर रहेकोले ५ वर्ष सरकार चलाउने बताउँथे । तर देउवा र ओलीले बाँकी समय बाँडेर अब शासन गर्ने सहमति गरिसकेका छन् ।

त्यसैले त नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले असार २८ लाई सम्झिँदै लेखे, ‘तीन वर्ष अगाडिको त्यो असार २८ अनि आजको यो असार २८, समय बलवान छ ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ११ : १५ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले