राजनीति

ओली नेतृत्वको सरकार बनेपछि सुधारका सङ्केत देखिए : शङ्कर पोखरेल

By खबरहब

August 12, 2024

काठमाडौं – नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले सरकारका काममा सुधारका सङ्केत देखिन थालेको बताएका छन् । ललितपुर, च्यालसस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारले सकारात्मक काम गर्न सुरु गरेको बताए ।

“अहिले पुँजीबजारमा उल्लेख्य सुधार भएको छ । प्रशासनिक क्षेत्रमा काम गर्ने उत्साह देखिएको छ”, उनले भने, “आर्थिक क्षेत्रमा भने केही आशातित सुधार भएको छैन । यसलाई सुधार गर्दै लैजानुपर्दछ ।”

महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिका लागि दल बलियो हुनुपर्ने आवश्यकता औंल्याए । सत्ता राजनीतिमा साना साना दलहरूको बाहुल्यताको कारण देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै उनले देशमा स्थायित्वको लागि बलियो राजनीतिक आधार तयार गर्ने उद्देश्यका साथ एमाले र कांग्रेस मिलेर सरकार बनाएको धारणा राखे ।

महासचिव पोखरेलले राजनीकि स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्दा दुई तिहाई बहुमत आवश्यक पर्ने भएकाले कांग्रेस र एमाले मिलेको स्पष्ट पारे । मुलुक लगातार आर्थिक सङ्कटमा आउन थालेपछि एमालेका अध्यक्ष शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दाबी गरे ।