खाना हाम्रो आधारभूत आवश्यकता हो। हामीले दैनिक खाने दाल, भात, तरकारी र रोटी सँगसँगै प्राकृतिले हाम्रा लागि कुन मौसममा कस्ता खानेकुरा खानु उपयुक्त हुन्छ भनेर विभिन्न मौसममा विभिन्न खाद्यवस्तु, फलफूल तथा तरकारीको उत्पादन वरदानस्वरुप दिएको छ। तर कृषिमा प्रविधिको विकाससँगै विभिन्न बेमौसमी खानेकुरा अहिले बजारमा उपलब्ध छन्।
पहिले पहिले बर्खामा फल्ने मकै अहिले बाह्रै महिना बजारमा पाइन थालेको छ। त्यस्तै आँप, जुनार, सुन्तला, अङ्गुर लगायतका फलफूल तथा खाद्यान्न र फर्सी, लौका सीमी लगायतका तरकारी सिजनभन्दा अगाडि र पछाडी जुनसुकै समयमा पनि पाइन थालेका छन्। बजारमा यसरी बेच्न राखिएका बेमौसमी तरकारी र फलफूल सकेसम्म नखान पोषणविदको सुझाव छ।
फलफूल तथा तरकारी कुन सिजनमा के खाने ?
पोषणविद् विनिता पन्त भन्छिन्, ‘हाम्रो खानपान र जीवनशैलीसँग हाम्रो स्वास्थ्य जोडिएको हुन्छ। सहरी क्षेत्रका धेरैजसो मानिसको जीवनशैली फेरिँदै गएको छ। पहिले पहिले जुन सिजनमा जुन फलफूल, तरकारी फल्थ्यो त्यही मात्र खाने गरिन्थ्यो। तर आजभोलि समय फेरिएको छ। बेमौसमी तरकारी, फलफूल खेती फैलिँदै गएको छ।’
खबरहबसँगको कुराकानीमा पोषणविद् पन्तले भनिन्, ‘सबै मापदण्ड पुरा गरेर बेमौसमी फलफूल तथा तरकारी उत्पादन गर्नु राम्रो हो। तर आजभोलिको उत्पादन स्वस्थ्यमुखी भन्दा धेरै फाइदामुखी भएकाले यो खानु जोखिम हुन्छ।’
नेपालमा कृषि पढेर प्राविधिक रुपमा कस्तो सिजनमा कस्तो प्रविधिको प्रयोग गर्ने, मल कस्तो प्रयोग गर्ने ? भन्ने बुझेर बेमौसमी खेती गर्ने भन्दा पनि मलको धेरै प्रयोग गर्ने, विभिन्न किसिमका विषादीको प्रयोग गरेर धेरै फलाउने तर्फ बढी ध्यान गएको उनको भनाइ छ।
उनले भनिन्, ‘बजारमा आएका सबै बेमौसमी तरकारी र फलफूल खान लायकको हुँदैन भन्ने छैन। जस्तै मकै जुनसुकै ठाउँमा जुनसुकै सिजनमा पनि फल्ने अन्न हो। यो जहिले खाँदा पनि ठिक्क मात्रामा खायो भने खासै असर गर्दैन।’ पन्तका अनुसार बाक्लो बोक्रा भएका फलफूलमा पनि भित्रितहसम्म विषादीले खासै असर नगर्ने भएकाले खाँदा ठुलो असर हुँदैन। उनले भनिन, ‘आँप, केरा लगायत पातलो बोक्रा भएका फलफूल तथा तरकारीमा प्रयोग हुने विषादीले चाँडो असर गर्ने भएकाले खानु अगाडि सचेत बन्नुपर्छ।’
बेमौसमी फलफूल र स्वास्थ्य
अहिले चाडपर्वको सिजन भएकाले माछामासु संगसंगै फलफूल र तरकारी पनि त्यत्तिकै मात्रामा बिक्री हुने गर्दछ। त्यसैले व्यापारीले उपभोक्तालाई आकर्षित गर्न आफ्नो फाइदाका लागि हरेक किसिमका बेमौसमी फलफूल र तरकारी ल्याउने र महँगो मूल्यमा बिक्री गर्ने गर्दछन्।
‘अहिले बजारमा आँप छ्याप्छ्याप्ती पाइन्छ। जबकी नेपालमा आाँपको सिजन सकिसकेको छ’, उनले भनिन्, ‘बाहिरबाट आयात गरिएको हुँदा यो आँपमा विषादी प्रयोग हुन्छ। जसले स्वास्थ्यमा प्रतिकूल असर गर्छ।’ विषादी भएको फलफूल खाँदा पेट दुख्ने, वान्ता हुने, छालाको रोगलगायत स्वास्थ्य समस्या हुने उनको भनाइ छ। विषादीले कलेजोमा असर गर्ने स्वास्थ्यविद् बताउँछन्।
फितलो अनुगमन
अहिले बेमौसमी फलफूल तथा तरकारी भारत, चीन लगायतका देशबाट निर्वाध रुपमा ल्याएर व्यापारीले बेच्ने गरेको पाइएको छ। त्यसको अनुगमनको लागि सरकारबाट कुनै पहल नभएको उनी बताउँछिन्। यस्ता खाद्यान्नहरु भित्रिन नदिन मुख्य नाकामा कडाई गर्नुपर्ने उनको भनाइ छ। सरकारले समय समयमा अनुगमन गरे पनि त्यो प्रभावकारी नभएको उनको ठहर छ।
‘नागरिकको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको विषय भएकाले यसमा गम्भीर भएर नियमित रुपमा अनुगमन गर्दै बिक्री वितरणमा रोक लगाउनसम्म सरकार पछि पर्नु हुँदैन’, उनले भनिन्।
उपभोक्ता आफैले पनि कुन तरकारी कुन सिजनमा खान उपयुक्त हुन्छ त्यो बुझेर खानेकुरा खानुभन्दा अगाडि त्यसको स्वच्छता र गुणस्तरमा ध्यान दिनु आवश्यक रहेको उनको भनाइ छ।
अनुगमन भइरहेको विभागको दाबी
देशबाहिरबाट आउने खाद्यान्न तथा फलफूलको गुणस्तर भन्सार नाकामै परीक्षण हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको दाबी छ। तरकारी र फलफूल परीक्षण पछि मात्रै बजारमा पठाउने गरिएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताए।
खबरहबसँग कुरा गर्दै प्रवक्ता महर्जनले भने, ‘देशभित्रकै उत्पादनमा केन्द्रीय कृषि प्रयोगशालाका ल्याबले हेर्ने गरेका छन्।’ बाहिरबाट आयात हुने खाद्यान्न तथा फलफूलहरुको नियमित अनुगमन भइरहेको र अहिले तत्काल त्यस्तो खान अयोग्य कुराहरु केही नभित्रिएको उनको दाबी छ।
हिन्दुहरुको विशेष पर्व दसैँ नजिकिँदै गएकाले भन्सार नाका तथा विभिन्न बजारहरुमा अनुगमनलाई तिव्रता दिएको उनले बताए।
प्रतिक्रिया