संवैधानिक परिषद् बैठक बस्नुअघि बिहीबार छलफलमा जुटेका प्रधानमन्त्री केपी ओलीसहितका शीर्ष नेता ।

राजनीति

प्रधानमन्त्रीसँग प्रचण्डले भने- संवैधानिक निकायका सबै रिक्त पदमा भोलि नै सिफारिस गरौँ

By खबरहब

September 12, 2024

काठमाडौं– प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई हटाउने चर्चाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान भएको उक्त छलफलमा प्रमुख प्रतिपक्षी नेता दाहालले अहिलेसम्म खाली सबै संवैधानिक निकायमा भोलि नै सिफारिस गर्नुपर्ने धारणा राखेका थिए ।

‘रिक्त रहेका संवैधानिक निकायका सबै रिक्त पदमा सम्भव हुन्छ भने भोलि नै सिफारिस गर्नुपर्ने हुन्छ’, उनले भने, ‘नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नु उचित हुन्छ ।’

प्रचण्डको सचिवालयका अनुसार तीन नेताबीचको छलफलका क्रममा अन्य विषयमा कुरा भएन । कांग्रेस र एमालेले उपसभामुख रानालाई हटाउने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेतासहित छलफल भएको हो ।

संवैधानिक परिषद्को बैठक बुधबार नै बस्ने भनिएको थियो । तर शुक्रबारका लागि सारेर दुई सत्तारुढ नेताले विपक्षी नेतासँग छलफल गरेका हुन् ।