'नदी किनाराको दोहन हुनुमा सरकार नै जिम्मेवार'  | Khabarhub Khabarhub

‘नदी किनाराको दोहन हुनुमा सरकार नै जिम्मेवार’ 

दलहरुलाई भोट बैंक बिग्रिने त्रास 



उपत्यका नदी किनारामा थप २० मिटर छोडेर मात्रै संरचना बनाउन पाउने भनेर अदालतबाट आएको फैसलाले तरंग ल्याएको छ ।  यसमा धेरै विवादहरू पनि आए । झन्डै ३० वर्ष अगाडि एक समूह बनेको थियो– बागमती बचाउने सन्दर्भमा । त्यसमा दिवंगत हुतरामा वैद्य, पत्रकार कनकमणि दीक्षितसँगै हामी पनि लागेका थियौँ । त्यो बेला हामीले यस्तो फोहोर र पानी कम आउने बागमतीमा सद्गत नगरियोस् भनेर माग पनि राखेका थियौँ ।

बागमती प्रदूषित हुनुमा पछाडि प्रमुख दोषी ठूला दलका नेता नै हुन् । ती सुकुम्वासी त्यसै त्यहाँ आएर बसेका हैनन् । आफ्ना मतदाता भनेर संरक्षण गरेर राखिएको हो ।  अझ सुरक्षित आश्रय स्थल दिएर बसाइएको हो । त्यस कारण नदीनाला अतिक्रमित भएको हो ।

यो अतिक्रमणको सन्दर्भमा सुकुम्वासी ननफर्मर सेक्टर मात्रै होइन, म त सरकारलाई पनि अतिक्रमणकारीमा राख्छु । किनकि अहिले बागमती कोरिडोर धोबीखोला कोरिडोर दुनियाँभर जुन बाटो बनेको छ, त्यो सबै नदी बहाव क्षेत्र हो । विगत ५० वर्षको अध्ययन गर्दा नदीको बहाव क्षेत्रमा जब बाढी आउने हुन्छ, त्यो नदीको विस्तार हुने क्षेत्र हुन्छ, त्यो नदीको अधिकार क्षेत्र हो । त्यो सबैलाई सरकारले मिचेर अतिक्रमण गर्‍यो । त्यसमा सबै कुरा जोडिएका छन् ।

अहिले सर्वोच्च अदालतले फैसला गरेको कुरामा पनि सरकार भ्याकेटमा गएको छ । यो भनेको घाउ आफैँ लगाउने र औषधी लगाउनु पर्‍यो भनेर उपचार  खोजेको जस्तै हो । वास्तवमा यो वृहत् रूपमा विश्लेषण गर्ने हो भने नदीको बहाव क्षेत्र जुन छ, जस्तो धेरै पानी परेको बेलामा पनि खोलाको पानी आएर डुबायो रे भन्ने चर्चा आइरहन्छ । यो त आइज गोरु सिंङले हान भने जस्तै गरी बोलाउने हो भने गोरुले त हान्ने नै भयो नि ।  २० वर्ष वा ५० वर्षमा भयंकर बाढी आउने रिभर इकोलोजीमा मौसम परिवर्तन हुन्छ ।

अहिले सरकारले मान्छेहरूका घर भत्काइदिँदा मानिसहरूमा आक्रोश जाग्छ । विगतमा ठूलो चुक भएको कारणले नै अहिले यो समस्या आएको हो । ०४६ साल पछि बढेको राजनीतिक विसंगतिका कारण नै यो सबै भइरहेको छ । अब यसको निदान गर्न ठूलो परिभाषा चाहिन्छ । नदीको बहाव क्षेत्रलाई जब हामी रोकेर हेर्छौँ, तब उसले असर गर्छ नै । नदीनाला धार्मिक हिसाबले मात्रै हैन, वातावरणीय हिसाबले पनि हाम्रो जीवनचक्रसँग जोडिएर आउँछ । त्यसलाई अतिक्रमण गरेपछि त यस्तो त भइहाल्छ ।

अहिले हाम्रो काठमाडौँ उपत्यकाको सभ्यता, हाम्रो संस्कृतिलाई बिथोल्ने प्रयत्न भयो, जनतालाई सडकमा उतार्ने प्रयत्न भयो । हामी अदालत जान्छौँ भनेर सरकारले भनिराख्या अवस्था छ । सभ्यता र संस्कृति एकताको कुरा गर्ने हैसियत नै यो सरकारले राख्दैन । यो त नौटंकी हो ।

किनकि बाटोघाटो बनाएको पनि सरकारले नै हो । नदी खोलामा बसोबास राखेको पनि सरकारले नै हो । अहिले २० मिटर छोडेर बनाउने सर्वोच्चले भनेको कुरा मान्यो भने त भोटर्स बैंकहरू त बन्द हुने भयो ।  त्यसबाट त्रसित भएर गरिएको हो । टुँडिखेल पहिला कत्रो थियो ? जमल देखि दशरथ रंगशालासम्म फैलिएको थियो । त्यो दशरथ रंगशाला त त्यहाँ बनाउने नै हैन । तर सरकार त्यहीँ खर्च गरिरहेको छ । पाटनको नगरपालिका पहिलाको ऐतिहासिक पोखरी भएको ठाउँमा बनेको छ । त्यस कारण आफैँले बिगार्ने काम गरेर अहिले यो नौटंकी गरिएको छ ।

सर्वोच्च अदालतबाट पनि यो हिसाब नभएर कम्तीमा वातावरणविद्हरूसँग छलफल गरेर गर्नुपर्नेमा न्यायाधीशलाई नै सबै ज्ञान हुने जसरी आदेश आयो । अहिले २० लाख बढी नागरिक प्रभावित हुने भए भनेर देखाइयो, त्यो के कारणले भयो भन्ने कारक तत्त्व पहिल्याएर भन्नु पर्‍यो । हामी फोक्सोबाट सास फेर्छौँ भनेर कुरा गर्छौँ तर हाम्रो फोक्सोको पनि फोक्सो हो यो खुलास्थल । त्यसमा नदीनाला, पोखरीहरू सबै आउँछन् ।

अहिले यो खुल्ला स्थान जोगाउनुपर्छ, नदीलाई नदीकै रूपमा बग्न दिनुपर्छ , संरचना त्यही अनुसारले बनाउनुपर्छ  भनेर अगाडि बढिराखेका काठमाडौं महानगरका प्रमुख बालेन शाहको अभियान र दलका दन्तप्रसादका गतिविधि देखिएका छन् । नियत ठिक भए पनि बालेनको शैली ठिक देख्दिन । टुकुचा राजदरबारबाट सुरु भयो । तर समष्टिगत हिसाबमा नदीले  कसरी काम गरिरहेको छ  भनेर हेरेर गर्नुपर्छ ।

टुँडिखेल अगाडि बनेको आर्मीको विशाल हेडक्वार्टरदेखि भुईँचालोका बखतमा महसुस गरिएका सुधारका विषय छन् । बसपार्कमा अहिले भ्यूटावर बनाइएको छ । बसपार्क त्यो खुला स्थल हैन ? खै त्यसको बारेमा बोल्न सकेको ? त्यसैले उहाँको पनि नौटंकी छ । अहिले राजनीतिक हिसाबबाट बढी द्वन्द्व चाहिँ बालेन शाहसँगै गएर ठोकिएको हो कि जस्तो देखिराखेको छ । महानगरले नक्सा पास रोकिदियो । सरकार अहिले भ्याकेटमा जाने भयो । तर यहाँ एउटा घर जसको बाजे चोर, बाबु चोर र छोरो पनि चोर भयो भने त्यो घर कसरी ठिक हुन्छ ? त्यस्तै भइरहेको छ हाम्रो देशमा ।

अब यो पहिला हाम्रो काठमाडौँ उपत्यकाको सभ्यतासँग गएर हेर्ने हो भने नदीको किनारा र खुल्ला स्थानको अवस्था हेर्दा पञ्चतत्वको  सिद्धान्त याद गर्नुपर्छ । हावालाई फोहर नगर्नु पाप लाग्छ । पानीलाई फोहोर नगर्नु पाप लाग्छ । मन्दिर भन्दा अग्लो घर नबनाउनु पाप लाग्छ  ।त्याे पनि लाग्छ कि के गर्छ त थाहा भएन तर के भइरहेको छ त अहिले ।  पहिला जुन खुलास्थल गौचर थियो त्याे सरकारले बनाएको हैन, मान्छेले दान दिएर भएको थियो । सबैको लागि सानो गौचरमा कुनै धर्मको मात्रै जानु भन्ने थिएन । त्यसैले यो सबै कुरा जेलिएका छन् ।

अहिले सरकारले भ्याकेट गरेर ६ लाखलाई असर गर्छ भनेकोमा के कारणले तिनलाई असर होला ? त्यसको कारक तत्त्व के हो, कसरी सुरुवात भयो ? भनेर हेर्नुपर्‍यो । आफ्नो आँखा अगाडि खुलास्थल मिचिएकोमा बालेन शाहले पनि कहिले बोलेको सुनिँदैन । धेरै वर्ष अगाडि एउटा विद्वानले प्राकृतिक सौन्दर्य र संस्कृति व्याख्या गर्नु भएको छ । तर हामी नालायक भएर बिगार्‍यौँ । अहिले राम्रो शुद्ध मनले कोही पनि राम्रो गर्न भनेर लागेकै छैनन् ।

म त खुला ठाउँ चाहिन्छ भनेर धेरै पहिला देखि नै लेखिरहने, बोलिरहने मान्छे हुँ । मैले राजा वीरेन्द्रसँग टुँडिखेलको बारेमा बहस गरेको छु । अहिले इको सिटीहरू पश्चिमाको पछि लागेर भनिएका, गरिएका गैरचरित्रका कुरा हुन् ।

अब यो यथास्थितिमा सरकारले यो सर्वोच्चको फैसलालाई कार्यान्वयन गरिदियो भने त उपत्यका बाहिर नागरिकहरू जाने अथवा ल्यान्ड पुलिङ सिस्टमबाट व्यवस्थित गर्न सक्ने विकल्पहरू भन्ने हो भने  ल्यान्ड पुलिङले सहरको विकास हुँदैन ।

(काठमाडौं उपत्यकामा चलिरहेको खुला स्थान मास्ने की जोगाउने भन्ने द्वन्दमा ठूला दलहरू किन मेयर बालेन शाहसँग ठोक्किइरहेका छन् ? यि नै विषयमा प्रा.डा. भरत शर्मा खुल्ला स्थान अध्ययत्ताले राखेको धारणाको सम्पादित अंश) 

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  २ : १९ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य तोलामा १

पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ

चितवन– प्रहरीले पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरेको छ

रविलाई मुद्दा दर्ताका लागि कास्की अदालत लगियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि

प्रि ओपन सेसन अपडेट : नेप्से साढे ९ अंकले घट्यो

काठमाडौं– प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.५२ अंकले घटेको छ

महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख

दाङ– दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला