काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको बताएको छ ।
काठमाडौंमा हुने भेलाको तयारी पुरा हुन लागेको पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । राष्ट्रिय भेलामा राजनीतिक, सांगठानिक प्रतिवेदन पेस गरिने र सबै प्रदेशका सभापतिहरूले पनि आ–आफ्नो प्रतिवेदन समेत प्रस्तुत गर्ने उनको भनाइ छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रास्वपाले राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि हुने समेत जानकारी दिएको छ ।
बुर्लाकोटीले भेलालाई सफल बनाउन तयारी तीव्र रूपमा भइरहेको र प्रतिनिधिहरूको टुङ्गो लागेको जानकारी दिए । उनले राष्ट्रिय भेला महाधिवेशनको समेत तयारीका लागि आयोजना गरिएको र महाधिवेशनका विषयमा आउने प्रश्नहरूको जवाफ भेलामार्फत दिने जिकिर गरे ।
त्यस्तै बुर्लाकोटीले संवैधानिक परिषद्मा आफ्नो बहुमत पुराउन उपसभामुखलाई हटाउने षड्यन्त्र भइरहेको भन्दै खेद प्रकट गरे ।
पुरानो मितिमा लेखिएको पत्रका आधारमा अहिले विरोध जनाउने कुरा उचित नभएकाले रास्वपाले यसको विरोध गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया