देश/प्रदेश

पर्यटकको आकर्षक गन्तव्य बन्दै विचित्र गुफा

By खबरहब

October 12, 2024

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । गुल्मी सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा धुर्कोट गाउँपालिका–५ बस्तुमा रहेको विचित्र गुफा साँच्चिकै विचित्रको छ । 

विसं २०४५ मा बारीमा मकै खान गएको ढेँडुबादरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त गुफा पत्ता लगाएका थिए । विगत लामो सयमदेखि विचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकहरुमात्र पुग्ने गर्दथे । पछिल्लो समय बाह्य पर्यटकसमेत यहाँ आउन थालेका छन् । यस पटक हालसम्म फ्रान्स, जर्मनी र बेलायतका नागरिक गुफा हेर्न यहाँ आएका धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए।

एक सय ८५ मिटर लम्बाइ र तीन सय ५० मिटर चौडा भूभागमा गुफा फैलिएको छ । यति लामो भूभागमा फैलिएको विचित्र गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँचवटा द्वारको प्राकृतिक आकार देख्न सकिन्छ । स्थानीय जनार्दन भण्डारीले आफ्नो बारीमा मकै खानका लागि गएको अवस्थामा ढेँडुबाँदरलाई लखेट्ने क्रममा ढेँडुबाँदर एकाएक पहरा (चट्टान) को बीचमा रहेको सानो प्वालबाट भित्र पसेको बताइन्छ । उक्त ढेँडुबाँदर अचानक पहरा भित्र पसेपछि त्यहाँ गुफा रहेको भन्ने पत्ता लागेको वडाध्यक्ष केशव भण्डारीले बताए।

विचित्र गुफा बाहिरको प्रकृतिक सुन्दरताले गुफाको थप सौन्दर्य बढाएको छ । गुफामा पुग्ने आन्तरिक एवं बाह्य पर्यटकलाई त्यहाँको इतिहास तथा धार्मिक महत्वको बारेमा जानकारी गराउने चलन छ । गुफाको मुख्य ढोकाबाट प्रवेश गरेपछि भित्ताहरूमा देखिने विभिन्न आकृतिहरूले एक पटक हरेक नागरिकको ध्यान तान्ने गर्छ । 

विचित्र गुफाको मुख्य आकर्षण भनेको ‘स्वर्ग जाने बाटो’ हो । यो निकै नै महत्वपूर्ण मानिन्छ । ‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ । स्वर्ग जाने बाटोमा धर्मात्माहरू मात्र भित्र पस्न सक्छन् भन्ने मान्यता छ । स्वर्ग जाने बाटो एकदमै साँघुरो छ । त्यहाँ स्पष्ट देख्न सकिने एउटा दृष्य हात्तीको भीमकाय शरीर हो । त्यहाँ प्राकृतिकरूपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट रुपमा देख्न सकिन्छ । त्यसदेखि अगाडि कुनै पनि दृश्य नभएकाले पनि उक्त ठाउँलाई विचित्रताको अन्तिम दृश्यको रुपमा मानिन्छ । 

जो मानिस त्यहाँ भित्र छिर्न सक्छ उसले आफूलाई साह्रै भाग्यमानी ठान्दछ । गुफा भित्र रहेका विभिन्न जनावरका आकृतिले गुफाको सौन्द्रर्यतालाई थप लाली थपिदिएको छ । गुफा क्षेत्रको विकासको लागि अहिलेसम्म धुर्कोट गाउँपालिका, प्रदेश र सङ्घबाट गरी रु दुई करोडभन्दा बढी लागत लागेको गाउँपालिकाका अध्यक्ष पोख्रेलले जानकारी दिए। 

सदरमुकाम तम्घासबाट १८ किलोमटरको दुरीमा रहेको उक्त गुफामा पुग्न मदन भण्डारी राजमार्ग भएर सकिन्छ ।