सञ्जालको उपयोगबारे विश्वव्यापी बहस : प्रयोगकर्ताको उमेर कति हुनुपर्छ ? | Khabarhub Khabarhub

सञ्जालको उपयोगबारे विश्वव्यापी बहस : प्रयोगकर्ताको उमेर कति हुनुपर्छ ?



यो इन्टरनेटको युग हो । समाजको हरेक तह र तप्कामा इन्टरनेटको पहुँचले मानिसको जीवनशैलीमा व्यापक परिवर्तन ल्याएको छ । विद्यार्थीदेखि शिक्षक, बालबालिकादेखि अभिभावक अझ भनौँ सम्पूर्ण संयन्त्रमा यसले प्रभाव जमाएको छ । तर, यसको सदुपयोग र दुरुपयोगबीचमा ठूलो खाडल छ । विशेषगरी इन्टरनेटको दुनियाँमा सामाजिक सञ्जालले मानिसको जीवनमा प्रभाव पारिरहेको छ । सामाजिक सञ्जाल टिकटक, इन्स्टाग्राम र फेसबुक जस्ता एप्सले सकारात्मक भन्दा नकारात्मक  फैलाएको भन्दै कतिपय देशले बन्देज नै गरेका छन् ।

सदुपयोग भएको खण्डमा सामाजिक सञ्जाल वरदान हो । तर यसको दुरुपयोगले समाजलाई कता डो-याउँछ भन्ने डरले विश्वभर यसको चर्चा र परिचर्चा हुँदै आएको छ । विश्वरभर नै यसको प्रभावको बारेमा पक्ष विपक्षमा बहस हुँदै आएका छन् । 

अमेरिकाको संसदमा एक वर्षदेखि सामाजिक सञ्जाल बन्द वा नियमन गर्ने भनेर बहस हुँदै आएको छ । संसदमा फेसबुकका मालिक मार्क जुकरवर्गलाई ल्याएर प्रश्नोत्तरसमेत गरिएको थियो । फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने मेटा कम्पनीले सरकारले पेस गर्न चाहेको जुनसुकै उमेर सीमालाई सम्मान गर्ने जनाएको छ । 

त्यस्तै, एक हप्ता अगाडि अष्ट्रेलियाले सामाजिक सञ्जालले हानी गरिरहेको दाबी गर्दै १६ वर्ष मुनिकालाई यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको समाचार राष्ट्रिय समाचार समितिले सम्प्रेषण गरेको छ ।यस्ता एप्सले बालबालिकाको सामाजिक, मानसिक र सृजनात्मक क्षमतामा असर गरेको भन्दै अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले उमेरसीमा लागू गर्ने बताएका छन् । 

प्राविधिक विज्ञहरूलाई जिम्मेवारी दिँदै उनले नियमहरूको उल्लङ्घन गरेमा जरिवानाको सामना गर्नुपर्ने उल्लेख गरेका छन् । उनले बालबालिकाका लागि सबैभन्दा महत्वपूर्ण बाबुआमासँग बिताउनुपर्ने उमेर भएको प्रष्ट पारेका छन् । अष्ट्रेलिया सामाजिक सञ्जालको नकारात्मक प्रभाव नियन्त्रणको प्रयास गर्ने अग्रणी राष्ट्र हो । त्यसैगरी फ्रान्सले यस अघि नै सन् २०२३ मा कानुन पारित गरी सामाजिक सञ्जाल प्रयोगकर्ताको उमेर कम्तिमा १५ वर्ष हुनुपर्ने व्यवस्था गरिसकेको छ । 

नेपालमा पनि टिकटकको दुरुपयोग भएको भन्दै सरकारले केही समय बन्द गरेको थियो । तर यसलाई बन्दभन्दा नियमन गरेर चलाउनुपर्ने व्यापक दबाब आएपछि हालसालै पुनः सञ्चालनमा आएको छ । 

प्राध्यापक तथा अभिभावक शिक्षा कार्यक्रमका सहजकर्ता माधवमणि खनाल अन्य देशको अभ्यास हेरेर नेपालले निर्णय गर्न नहुने बताउँछन्। 

खबरहबसँग कुरा गर्दै उनले भने ‘हरेक कुराको सकारात्मक र नकारात्मक दुई पाटो हुन्छ । नेपालको हकमा पनि सञ्जालको उपयोग भन्दा दुरुपयोग नै बढी भएको छ । तर यसको बन्देज भन्दा निगरानी हुन आवश्यक छ ।’ ‘नेपाल सरकारले कक्षा एकदेखि नै सामाजिक सञ्जाल कसरी चलाउने, डाउनलोड कसरी गर्ने भनेर पाठ्यक्रमै राखिदिएको छ । अहिले कतिपय कक्षा र ट्युसन  अनलाइन हुन थालेको छ’ उनले भने, ‘यसलाई बन्द नै गर्ने भन्दा पनि केटाकेटीलाई सुरुदेखि निगरानीमा राखेर चलाउन दिनुपर्छ ।’

सामाजिक सञ्जाल प्रयोगमा केटाकेटी भन्दा अभिभावकहरू नै लापर्बाह देखिएको खनालको भनाइ छ ।

 ‘छोराछोरी भनेको काँचो माटो हो । अभिभावकले जस्तो बनाउन चाह्यो त्यस्तै हुन्छन् । जुन संस्कार अभ्यासमा राखिन्छ त्यसलाई नै पछ्याउने हुन्’ उनले भने, ‘छोराछोरी बिग्रे भनेर मात्रै दोष दिएर हुँदैन । अभिभावकमा सुधार आयो भने स्वत बच्चाहरूमा सुधार आउँछ । हामी छोराछोरी सुधार गर्नमा मात्रै लाग्यौँ ।’

‘अभिभावकले कुनकुरा राम्रो र कुन कुरा नराम्रो सिकाउनुपर्छ । के हेर्दा के हुन्छ भनेर सानैदेखि गाइड गर्नुपर्छ’, खनालले थपे’, ‘स-साना बच्चाहरुसँग टिकटक बनाउने, शिक्षा र सिकाइमा प्रयोग गर्ने हो । त्यो उमेर भनेको सिकाइको उमेर हो । तर सिकाइभन्दा धेरै मनोरञ्जनको रुपमा प्रयोग गर्न सिकाइएको छ ।’

त्यसैगरी यसमा सामाजिक सञ्जाल अन्तर्गतको डिजिटललाई कसरी प्रयोग गर्ने भन्ने कुरा सबैभन्दा पहिले अभिभावकबाट नै सुरु हुनुपर्ने उनी बताउँछन् । अभिभावकपछि सरकारको पनि दायित्व दीर्घकालीन योजनामा अल्झन नहुने नीति बनाउनुपर्नेमा जोड दिन्छन् । 

भन्छन्, ‘प्रविधिको युग भन्ने तर प्रविधिबाट बञ्चित गरेर त हुँदैन । प्रविधिलाई पछ्याउँदै गरेकालाई संयमित गराउनुपर्ने भने देखिन्छ । त्यसका नकारात्मक पक्षसँग सचेत गराउनुपर्छ । बन्द गर्न नसके कुनै सेक्युरिटीमार्फत लक गरेर नियन्त्रण गर्नुपर्छ ।’ 

सञ्जालमा उपलब्ध अधिकांश एप्लिकेसन केटाकेटीका लागि हानिकारक छन् । त्यस्ता एप्लिकेसन सरकारले नै बन्देज गर्नुपर्ने खनाल बताउँछन् ।

 भन्छन्, ‘फाइदाजनक एप्लिकेसन पनि धेरै छन् । त्यस्तो मात्रै चलाउन दिनुपर्छ । पाँच वर्ष मुनिकाले के हेर्न नहुने ?दश वर्ष मुनिकाले के हेर्न नहुने ? १६ वर्ष र १८ वर्ष मुनिकाले के के हेर्न नहुने त्यो सरकारले नै बन्द गर्नुपर्छ ।’

त्यसैगरी बालरोग विशेषज्ञ डा. रितासिंह हमाल डिजिटल सामाग्रीहरुमा अभिभावकहरुले नै अभ्यस्त बनाइदिएको आरोप लगाएकी छन् । जतिपनि समस्या छन्, त्यो अभिभावकबाट आएको उनको भनाइ छ । 

उनी भन्छिन्, ‘उनीहरुले जन्मिदै मोबाइल लिएर आएका हुँदैनन् । स्तनपान गराउँदा, खाना खुवाउँदा फकाउन फुल्याउन जे गर्न पनि अभिभावकहरूले मोबाइलको प्रयोग गरिरहेका छन् ।’ पाँच वर्षभन्दा मुनिकालाई मोबाइल प्रयोग गर्न दिन नहुने उनको तर्क छ । ‘भाषा सिक्ने बेलामा विभिन्न भाषामा कार्टुन हेर्न पुग्छन् । उनीहरूले मातृभाषा कुन भन्ने मेसो पाउँदैनन् । सिकाइमा असर पर्ने हुँदा बोलीको विकास हुँदैन’ हमालले भनिन् ।  ‘शारीरिक क्रियाकलाप कम भएर ब्रेनमा समेत असर गरिरहेको छ । मोबाइल देखाएर भुलाएर काम गर्ने बानीले आँखामा समस्या निम्त्याइराखेको छ, डाक्टर थप्छिन्, ‘किशोरकिशोरीमै डिप्रेसन र एन्टाइजी देखिन थालेको छ । बुलिङमा परेर कतिले आत्महत्यासमेत गरेका छन् । सुरक्षाको दृष्टिकोणले पनि सामाजिक सञ्जालमाथि ठूलो निगरानी राख्न आवश्यक छ ।’

अर्को किशोरकिशोरीको हकमा शारीरिक तथा मानसिक असर गरिरहेको चिकित्सक हमालको भनाइ छ ।

‘जिज्ञासै जिज्ञासाले भरिएको उमेरमा नकारात्मक कुरा खोज्नमा बानी लाग्छ । त्यसले पढाइमा समेत धेरै असर गरिरहेको छ’ हमालले थपिन्, ‘तर सामाजिक सञ्जाललाई बन्देज गर्न भने सकिदैन । त्यसको एकमात्र विकल्प सरकारले नीति बनाएर निगरानी गर्नु हो । ’

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ९ : ५४ बजे

प्रधानमन्त्रीले आफूलाई गाली गर्नेलाई दिए टुप्पाबाट पलाएहरूको संज्ञा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कसैले पनि ब्याक गेयरमा

रविबारे प्रधानमन्त्री ओली- दोष र निर्दोषको फैसला अदालतले गर्छ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

उपनिर्वाचनमा उठ्ने प्रत्यासीको टुङ्ग्याउँदै दलहरू

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त पदमा हुनलागेको उपनिर्वाचनमा

फोटोपत्रकार रजेन्द्र केसीको सम्झनामा दीप प्रज्ज्वलन 

काठमाडौं– १३ औं पुण्यतिथिको अवसरमा फोटो पत्रकार रजेन्द्र केसीको सम्झनामा

रुपन्देहीमा सकियो रविको बयान, सहकारीको बचत हिनामिना आरोप अस्वीकार

भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान