बीपीमा आठ वर्षपछिको दीक्षान्त समारोह (तस्बिरहरू)  | Khabarhub Khabarhub

बीपीमा आठ वर्षपछिको दीक्षान्त समारोह (तस्बिरहरू) 



आठ वर्षपछि भएको दीक्षान्त समारोहमा आफू गाउन लगाएर चिकित्सा शास्त्र अन्तर्गत  डिग्रीको उपाधिको प्रमाणपत्र लिन पाउँदा झापा दमककी डा. सुनुहाङ लिम्बू र उनका समकालीन साथीहरूले आकाश तिर टोपी उडाउँदै खुशी ‘सेलिब्रेट’ गरे । 

चिकित्सा शास्त्र अन्य विद्याको तुलनामा अलिक महँगो र फरकमात्र नभएर मानव जीवन बचाउने सामाजिक दायित्वसँग पनि जोडिएको व्यावहारिक शिक्षा हो । 

उनले भनिन्, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्र अध्ययन गरेर पास आउट भएपनि दीक्षान्त समारोह हुन नसकेकाले यो गाउन र टोपी लगाउन र प्रमाणपत्र हात पार्न सकिएको थिएन । आठ वर्षपछि बल्ल खुशी साट्न पाइयो ।’

विभिन्न रोगको उपचार गर्ने नवीन प्रविधि, पद्धति र विकासलाई पच्छ्याउदै र आफूले पनि अध्ययन र अनुसन्धान गर्दै अभ्यास र सीप प्राप्ति गरेर अन्तराष्ट्रिय मान्यता अनुसार समाजमा लागू गर्ने चिकित्साशास्त्रलाई पछिल्लो समयमा पैसा कमाउने माध्यम पनि बनाइएको छ । 

विज्ञापन गरेर जति चर्चित भइयो उति बढी उपचार शुल्क लिने चलन पनि बढी रहेको छ । बीपी प्रतिष्ठानको १३ औं दीक्षान्त समारोहमा डा सुनुहाङ्मा जस्तै एमबीबीएस २०१७ ब्याचका डा. ओमशान्ती, डा. यादव अर्याल, डा शुभम् खड्का, डा सुजन आचार्य, डा विवेक शर्मा र डा. ब्रजेश झाले पनि खुशियाली मनाए । 

डा. ओमशान्तीले खबरहबलाई भने, ‘म त बीपी प्रतिष्ठानको भूतपूर्व विद्यार्थी संगठनको अध्यक्ष नै भइसकेँ । तर दीक्षान्त समारोह आयोजना हुन ढिलाई भएकाले गाउन लगाएर पदाधिकारीबाट प्रमाणपत्र लिने  अवसर नै पाइएको थिएन । यद्यपि चिकित्सकको सामाजिक दायित्व भने हामीले कायम राख्ने प्रयास गरिरहेका छौं ।’

 कतिजना दीक्षित भए ?

दीक्षान्त समारोहमा ६ सय ५७ जना दीक्षित भएका थिए । तीमध्ये विद्यावारिधि एकजना, डिएम-एमसिएच गर्ने ७ जना, एमडी-एमएस गर्ने १९९ जना, एमडिएचए गर्ने २ जना, एमडिएस गर्ने ४३ जना, एएस्सी नर्सिङ गर्ने ७३ जना, एमएस्सी वेसिक साइन्स गर्ने १ जना, एमपिएच गर्ने २६ जना, एमविविएस गर्ने, १३२ जना, विडिएस गर्ने सयजना, विएस्सी नर्सिङ गर्ने ५७ जना, विएस्सी एमएलटी गर्ने एकजना र विएस्सी एमआइटी गर्ने १५ जना रहेका थिए । 

बीपी प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीका अनुसार बीपी प्रतिष्ठान स्थापना भएको तीन दशकमा हालसम्ममा ५ हजार ४ सय ९७ जना जनशक्ति उत्पादन गरिसकेको छ । 

उनले भने, ‘ती मध्ये विद्यावारिधी २ जना, डिएम-एमसिएच २९ जना, एमडी-एमएस १ हजार ३ सय ९४ जना, एमडीएमएच ४ जना, एमडिएस १३० जना, फेलोशीप ११ जना, एमएस्सी वेसिक साइन्स ३३२ जना, एमपिएच १८९ जना रहेका छन् । उनीहरु सबै दक्ष र विज्ञ जनशक्ति हुन् ।’

उनकाअनुसार बीपी प्रतिष्ठानबाट एमबिबिएस १ हजार ८ सय ८९ जना, बिडिएस ७९३ जना, बिएस्सी नर्सिङ ४६० जना, बिएन ५६ जना, बिएस्सी एमएलटी ९६ जना, बिएस्सी एमआइटी ११२ जना, सर्टिफिकेट नर्सिङ ५५३ जना, सर्टिफिकेट इन अप्रेसन थिएटर एण्ड एलाइड साइन्स टेक्नोलोजी ४८ जना, बिएस्सी ओटी एएस ८ जना जनशक्ति उत्पादन भइसकेको छ ।

हाल प्रतिष्ठानमा विदेश विद्यार्थी ८३ जना गरी १ हजार ६ सय ४१ जना विद्यार्थीहरू अध्ययनरत छन् । ती मध्ये ८४३ छात्र र ७९८ छात्राले चिकित्साशास्त्रका विभिन्न विषय अध्ययन गरिरहेका छन् ।

क-कसले पाएर स्वर्णपदक ?
उक्त अवसरमा उपकुलपति स्वर्णपदक एविविएस कार्यक्रम तर्फ सन २०१० देखि २०१७ सम्मका ८ जनालाई प्रदान गरिएको थियो । एमविविएस तर्फ स्वर्णपदक विजेताहरुमा सन २०१० व्याचदेखि यता क्रमश  अनोज साही, रक्षा भट्टराई, स्नेहा ढकाल, सतिश बास्तोला, सरोज मण्डल, निमेश लागेजु, अश्विनी गुप्ता, वेद प्रकाश पन्त रहेका छन् । यसैगरी विडिएस तर्फ क्रमश कनिष्टीका झा, पायोज चौधरी, सिद्धार्थ राई, एलिसा तुलाधर, सुशान्त पाण्डे, पप्पु सिंह, निकिता काफ्ले, र आश्था आमगाई रहेका छन् ।

बिएस्सी नर्सिङ तर्फ उपकुलपति स्वर्णपदक विजेताहरुमा सन २०१२ देखि सन २०१८ को ब्याच सम्ममा क्रमश वर्षा लाभ, सरस्वती ढकाल, ममता कौंचा, निकिता ढकाल, युनिका गौतम, प्रशंसा कार्की, साधना गिरी रहेका छन् । यसैगरी नारायण गोविन्द स्वर्णपदक एमबिबिएस तर्फ समस्टीमा उच्च अंक ल्याउने छात्राहरूमा सन २०१० देखि सन २०१७ सम्मका क्रमश गरिमा पुढासैनी, रक्षा भट्टराई, स्नेहा ढकाल, ममता विष्ट, श्रीया सिरोहिया, सन्ध्या रेग्मी, अश्विनी गुप्ता, रश्मी अर्याल रहेका छन् । 

यसैगरी एविविएस तर्फ सर्जरी विषयमा उच्च अंक ल्याउँदै डा अवधनारायण स्मृति पुरस्कार पाउनेहरूमा सन २०१० देखि २०१७ ब्याच सम्मका क्रमश मोहित सिंह, रक्षा भट्टराई, स्वतन्त्र गौतम, भरोशा भट्टराई, रोहित डागि, आशिष भण्डारी, अर्पण कट्वाल, हर्षित अग्रवाल रहेका छन् । विडिएस तर्फ हरिमान–उमादेवि स्वर्णपदक विजेताहरूमा सन २०१० व्याचदेखि २०१७ सम्मका क्रमश बेन्जु श्रेष्ठ, अश्मा ओझा, सिद्र्धाथ राई, अस्मिता गुरुङ, सुसान्त पाण्डे, पप्पु सिंह, निकिता काफ्ले, विवेक कट्टेल रहेका छन् । उनीहरु सवैलाई कुलपति प्रधानमन्त्री केपि शर्मा ओली, सहकुलपति स्वास्थ्य मन्त्री प्रदीप पौडेल र उपकुलपति डा ज्ञानेन्द्र गिरीले पदक र प्रमाणपत्र प्रदान गरेका थिए । 

 बीपी प्रतिष्ठानलाई विश्वविद्यालयमा रूपान्तरण गर्न अनुरोध 

स्वायत्त संस्था भएकाले आर्थिक अभाव झेलिरहेको बीपी प्रतिष्ठानको प्रगति कछुवा गतिमा भइरहेको छ । यसअघि सन २०१६ मा भएको दीक्षान्त समारोहको अध्यक्षता गरेका प्रम ओली संयोगले आठ वर्ष पछि भएको १३ औं दीक्षान्त समारोहमा पनि अध्यक्षता गर्न आइपुगेका बेला उपकुलपति डा गिरीले बीपी प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा रूपान्तरण गर्न अनुरोध गरे । 

उनले भने, ‘यस प्रतिष्ठानको कार्यक्षेत्रमा व्यापक सुधार र विस्तार गर्न आवश्यक भइसकेको छ । प्रतिष्ठानको कार्यक्षेत्र एक ठाउँमा मात्र साँघुरो दायरा भित्र सीमित नराखी यसलाई विश्वविद्यालयमा रकमान्तरण गर्दै चिकित्सा तथा स्वास्थ्य सेवा सम्बन्धी कार्यक्रमलाई दुर्गम क्षेत्रमा समेत विस्तार गर्न वर्तमान ऐनलाई प्रतिस्थापन गरी ‘वीपी कोइराला स्वास्थ्य विज्ञान विश्वविद्यालय (बीपी) कोइराला युनिभर्सिटी अफ हेल्थ साइन्स) बनाउन ऐनको व्यवस्थाका लागि कुलपति र सहकुलपति ज्युमा अनुरोध गर्दछु ।’ 

उनले बीपी प्रतिष्ठानलाई विश्वविद्यालयमा रुपान्तरणका लागि प्रतिष्ठानको सञ्चालक परिषदबाट प्रस्तावित मस्यौदा पारित भइसकेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेश गरिसकेको पनि कुलपति प्रम ओलीलाई अवगत गराए ।  उनले मुलुकमै सबैभन्दा बढी दक्ष जनशक्ति उत्पादन गरेको र ती जनशक्ति स्वदेश र विदेशमा हाल सम्मानका साथ कार्यरत रहेको बताए ।

छिमेकी मुलुक भारतको विहारबाट समेत उपचार गर्न आउने बीपी प्रतिष्ठानमा हाल दैनिक ३५ सयदेखि ४ हजार बिरामीले उपचार सेवा पाइरहेको उपकुलपति गिरीले बताए । बिरामीको चाप थेग्न नसकेपछि पछिल्लो समयमा सात सय शैयाबाट ९ सय १३ शैयामा विस्तार गरिएको छ । 

०७२ सालमा शिलान्यास भएको मातृ शिशु उपचार केन्द्र (एमसिएच) को ४ सय शैयाको भवन बल्ल निर्माण सम्पन्न भएर यसै मंसिरदेखि संचालनमा ल्याउने पनि डा गिरीले बताए । बीपी प्रतिष्ठानमा क्यान्सर उपचार केन्द्र (अंकोलोजी) को २ सय र मुटु उपचार केन्द्र (कार्डियोलोजी) को २ सय शैया क्षमताको छुट्टै भवनहरू निर्माण नभएसम्मकालागि सोही एमसिएच भवनमा आवश्यक न्यूनतम शैया छुट्याएर विशेषज्ञ सेवा दिने योजना रहेको पनि उनले बताए । उनले भने, ‘अंकोलोजी र कार्डियोलोजी सेन्टरकालागि भवन निर्माण गर्न संचालक परिषदको ४५ औं सभाले निर्णय गरी समिति गठन भएको र प्रतिवेदन तयार भएपछि आगामी संचालक परिषदको बैठकमा राखेर बजेट सुनिश्चितताकालागि सरकारसंग पहल गर्न गर्ने बताए । 

प्रतिष्ठानलाई अन्तराष्ट्रिय स्तरको उत्कृष्टताको केन्द्र (सेन्टर अफ एक्सीलेन्स) को रुपमा विकास गर्ने परिकल्पना अनुसार वेल्जियमको इन्स्टीच्युट अफ ट्रपिकल मेडिसिन, एन्ट्वेर्प संग कालाजार रोग नियन्त्रण र निवारणकालागि पाचबर्षे सम्झौता गरिएको छ । यसैगरी स्वास्थ्य अनुसन्धानात्मक उन्ननयनकालागि नेदरल्याण्डको मास्ट्रीच युनिभर्सिटीसंग सहकार्य गर्ने सम्झौता भएको छ भने बेलायतको लण्डनस्थित बोल्टन युनिभर्सिटीसंग शैक्षिक र अनुसन्धानात्मक सहकार्यकालागि एमओयु गर्ने सहमती भएको उपकुलपति गिरीले बताए । 

 प्रम ओलीले बीपी प्रतिष्ठानमा कोटा बढाउन पहल गर्ने 

राजनीतिक भाषण नगरेका कुलपति तथा प्रम ओलीले बीपी प्रतिष्ठानमा विद्यार्थी कोटा बढाउन पहल गर्ने बताए । बीपी प्रतिष्ठानमा यसअघि एमबिबिएस बिडिएस तहमा कुल १५० विद्यार्थी भर्ना कोटा भएपछि विगत पाच वर्ष यता सयजनामा सीमित गरिएको छ । 

प्रम ओलीले भने, ‘सबैको साझा प्रयासमा बनेको यो संस्थाले गुणस्तरीय जनशक्ति उत्पादन गर्दै उपचार सेवा दिँदै आएकाले विद्यार्थी कोटा बढाउन पहल गर्ने छु ।’ 

उनले धन कमाउनकै लागि जनताको स्वास्थ्यमा खेलवाड गर्ने कामलाई आपराधिक कृत्य हुने पनि बताए ।

 उनले भने, ‘मेडिकल स्कुल खोल्ने र नखोल्ने बहसका दुवै कित्तामा रहेका असल मनका मानिसहरू समेत यस्तै प्रवृत्तिको तुवाँलोमा रनभुल्ल परेको मैले महसुस गरेको छु ।’

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ६ : ०५ बजे

फरेस्ट तेस्रो स्थानमा पुग्दा म्यानचेस्टरका दुवै टोलीको लय खराब

लण्डन – इङ्लिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा नटिङ्घम

कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा

खोटाङ – केपिलासगढी गाउँपालिकाले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल

किन मान्छेको हत्केला र पैतालामा रौँ उम्रिदैन ?

काठमाडौं– मानव शरीरको अधिकांश अङ्गमा रौँ उम्रिएको हुन्छ । तर,

देशका विभिन्न स्थानमा हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र

बनियानी– झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र