‘कांग्रेस–कम्युनिस्ट बिहे हुँदैनथ्यो, कार्यक्रममा टाउको फुट्थ्यो’ | Khabarhub Khabarhub

रोल्पाली मोडेलको ‘डेमोक्रेसी’

‘कांग्रेस–कम्युनिस्ट बिहे हुँदैनथ्यो, कार्यक्रममा टाउको फुट्थ्यो’

माओवादीले मेरो ५० औँ लाखको सम्पत्ति लुटे : अमरसिंह पुन


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 18 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोल्पा जिल्ला माओवादी जनयुद्धको उद्गमस्थल हो । माओवादी नेताहरु कृष्णबहादुर महरा, ओनसरी घर्ती र वर्षमान पुनदेखि लिएर पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनसमेत यही जिल्लाबाट राष्ट्रिय राजनीतिमा उदाए । कांग्रेससँग भिडेर १० वर्ष जनयुद्ध लडेको माओवादीले ०७९ को आम चुनावमा उही कांग्रेसकै भोटको सहारा लिएर वर्षमान पुनलाई प्रतिनिधिसभामा जितायो ।

पहाडी जिल्ला रोल्पामा प्रतिनिधिसभाको एउटा सिट छ । प्रदेशसभाका दुई सिट छन् । ०७९ को चुनावमा कांग्रेसले सघाउँदा माओवादीका वर्षमानले ४१ हजार मत पाएर जिते । यसको बदलामा प्रदेशतर्फको एक सिट कांग्रेसले पायो तर माओवादीको अन्तरघातका कारण कांग्रेसले चुनाव जितेन ।

प्रदेशसभाका दुई सिटमध्ये एउटामा माओवादीका जोखबहादुर महरा उठेका थिए भने अर्कोमा कांग्रेसका अमर सिंह पुन उठेका थिए । तर, कांग्रेसको भागमा परेको प्रदेशमा माओवादीले बागी उम्मेदवार उठायो जसका कारण कांग्रेस उम्मेदवार पुन हारे । अर्थात् कांग्रेस नेता पुन तिनै ‘अभागी’ नेता हुन्, जसले माओवादीलाई जिताए, आफूचाहिँ हारे ।

कांग्रेस–माओवादी गठबन्धनबाट प्रदेशसभामा जोखबहादुरले १९ हजार मत पाए भने कांग्रेसका पुनले १० हजार मात्रै पाए । कांग्रेसको भागमा परेको क्षेत्रबाट माओवादीका बागी उम्मेदवार दीपेन्द्रकुमार पुन मगर १४ हजार मतका साथ विजयी भए । यसरी रोल्पाका तीनै सिट (संघ र प्रदेश) माओवादीको पोल्टामा पर्‍यो । कांग्रेसलाई गठबन्धन फापेन ।

रोल्पामा माओवादीबाट अन्तरघातको शिकार बनेका अमरसिंह यतिबेला नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापति छन् । उनी शेखर कोइराला निकट नेता मानिन्छन् । ०७९ सालमा माओवादीसँग कांग्रेसले गठबन्धन गर्नु हुँदैन र एक्लै चुनाव लड्नुपर्छ भन्ने उनको लाइन थियो ।

कांग्रेस नेता पुन यसअघि संविधानसभा सदस्य पनि भइसकेका छन् । उनी पूर्वराज्यमन्त्रीसमेत हुन् । तर, प्रदेशसभामै पराजित हुनुपरेपछि अहिले उनी संसदीय फाँटभन्दा पर पार्टी राजनीतिमा सीमित छन् ।

माओवादी जनयुद्धको जगजगी भएका बेला रोल्पाली कांग्रेस नेता पुन राशन ठेक्काको काम गर्थे । त्यो पनि सेना र प्रहरीलाई भात खुवाउने ठेक्का । यस्तो व्यवसायका कारण माओवादी र उनको टस्सल नपर्ने कुरै भएन । त्यसबेला माओवादीले आफ्नो ५० औं लाखको सामान लुटेको पुन बताउँछन् ।

आखिर जनयुद्धकालमा रोल्पामा माओवादी र कांग्रेसको सम्बन्ध कस्तो थियो ? अहिले रोल्पा–रुकुमजस्ता जिल्लामा माओवादीको प्रभाव कस्तो छ ? त्यहाँ रास्वपाजस्ता नयाँ दलको स्थिति के छ ? आगामी चुनावमा कांग्रेसले एक्लै लड्दा माओवादीलाई जित्ने स्थिति छ कि छैन ? बिराटनगरको कांग्रेस भेलामा भाग लिएर काठमाडौं आएका लुम्बिनी सभापति पुनसँग खबरहबले ‘त्यो बेलाको रोल्पा’ र ‘अहिलेको रोल्पा’बारे केही जिज्ञासाहरु राखेको छ ।

साथै, पछिल्लो समय कांग्रेसभित्र देखा परेको गुटगत संघर्षबारे पनि केही प्रश्नहरु राखिएका छन् ।

तपाई रोल्पाको कुन गाउँमा जन्मिनुभएको ?

म रोल्पाको तत्कालीन राँक गाविसमा जन्मिएको हो । राँक अहिले सुकिदह (गंगादेव) गाउँपालिकामा पर्छ । हामीले सर्वदलीय सहमति गरेर पालिकाको नाम सुकिदह राखेका थियौँ । सुकिदह भन्ने धार्मिकस्थलको नाममा गाउँपालिका बनायौँ । पछि ०७४ को चुनावमा गाउँपालिका अध्यक्षमा माओवादीका साथीले जित्नुभयो । जितेपछि एक वर्षपछि अध्यक्षले गाउँपालिकाको नाम गंगादेव भनेर राख्नुभयो । पालिका अध्यक्षकी श्रीमती गंगा र सालो देवका नामबाट उहाँले सहिदको नाम भनेर गाउँपालिकाको नाम परिवर्तन गर्नुभयो । उहाँहरू दुबैजना माओवादी द्वन्द्वकालमा बितेका कारणले सहिदको नाममा ‘गंगादेव’ गाउँपालिका भनेर राख्नुभयो ।

हामीले स्थानीय तह, प्रदेशदेखि संघसम्म पास गरेरै सुकिदह गाउँपालिका बनाएका थियौं । सरकारले पनि क्याबिनेटबाटै निर्णय गरेर फेरि सुकिदह गाउँपालिका बनाएको छ । यो नाम राख्ने, परिवर्तन गर्ने विषयमा अहिले पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । मलाई लाग्छ, समय–परिस्थितिमा त्यसबारे एउटा निर्णय होला । किनभने, व्यक्तिको नाममा र त्यहाँको समाजले पचाउने धार्मिकस्थलका नाममा भएका कारणले सम्मानित अदालतले विचार त गर्छ नै होला ।

अलिकति इतिहासतिर जाऔं । ०५२ साल फागुनमा सशस्त्र द्वन्द्व सुरु हुनुअघि नै रोल्पामा कांग्रेस र माओवादी (तत्कालीन संयुक्त जनमोर्चा) का कार्यकर्ताबीच कुटाकुट र झडपका घटनाहरू भइराख्थे भन्ने सुनिन्थ्यो । त्योबेला गिरिजाको शासनकालमा कांग्रेसले रुकुम– रोल्पामा गुण्डागर्दी गर्‍यो र हामीमाथि दमन भयो, त्यही भएर हामी बन्दुक उठाउन बाध्य भयौँ भन्ने माओवादी नेताहरुको तर्क सुनिन्छ । माओवादीको उद्गमस्थल रोल्पामा जन्मनुभएको तपाईंचाहिँ कहिलेदेखि कांग्रेस हुनुभयो ? सम्झिनुहुन्छ, ०५२ सालको जनयुद्धभन्दा अगाडिको रोल्पा कस्तो थियो ? जनयुद्धअघि कांग्रेस र माओवादीबीचको सम्बन्ध कस्तो थियो ?

म पञ्चायतकालदेखि नै राजनीतिक चेतना भएको परिवारको सदस्य हुँ । बुवा कांग्रेसमा हुनुहुन्थ्यो । बुवा वडाध्यक्ष नै हुनुहुन्थ्यो । ०४९ तिर मेरो कान्छो काका गाविसको उपाध्यक्ष हुनुहुन्थ्यो । हामी राजनीतिक परिवारकै सदस्य हो । राजनीति सुरु गरेदेखि नै म कांग्रेसमै लागेँ ।

बहुदल आइसकेपछि मानिसहरु राजनीतिक दलमा कटिवद्ध भएर लागे । हामी पनि त्यही रुपमै लाग्यौँ । राजनीतिमा लागेपछि कोही कांग्रेस भयौँ, कोही जनमोर्चा वा कोही एमाले भए होलान् । त्योबेला हामीले एकले अर्को पार्टीको मान्छेलाई देखिनसहने अवस्था थियो । पानी बाराबारको अवस्था थियो ।

हाम्रो घरमै के थियो भने हाम्रो बाजेका तीन भाइमध्ये माइलो बाजेपट्टिका छोराहरू एउटा राप्रपा, एउटा एमाले हुनुहुन्थ्यो । हामी कांग्रेस थियौँ । हाम्रो घरमै बोलचाल थिएन । माइला बाजे बित्नुभयो । उहाँ बित्दा पनि जूठो, काजकिरिया एकै ठाउँमा गर्ने अवस्था नै भएन । त्यस्तो अवस्था थियो । अलि राजनीति नबुझेर पनि होला । लोकतन्त्र परिपक्व नभएर पनि होला ।

झापाको कांग्रेस रोल्पा आयो भने कांग्रेसहरू त्यसै रमाउने । अनि नजिकको आफ्नै ज्वाइँ अर्को पार्टीको छ भने उसलाई राम्रो नमान्ने । त्योखालको परिस्थिति थियो ।

कुनैबेला त रोल्पामा कस्तोसम्म थियो भने छोरी लिने र दिने कुरामा पनि कुन पार्टीको हो भनेर हेरिन्थ्यो । फरक पार्टीको मान्छेकी छोरी र फरक पार्टीको छोरा पर्‍यो भने बिहेको कुरै नगरौँ भन्नेखालको अवस्था थियो ।

अहिले त धेरै फरक छ । जे–जे पार्टी भए पनि सहकार्य, एकता हुन्छ । चुनावमा प्रतिस्पर्धा त गरौँला तर अहिले फरक ढंगको राजनीति छ । अहिले जुनसुकै पार्टीका भए पनि पहिले जस्तो छैन । तर, त्यतिखेरचाहिँ फरकै थियो ।

त्योबेला हामी कार्यक्रममा हिँड्दा कहाँनेर कसले ढुंगा हान्छ र टाउको फुट्छ भन्ने अवस्था थियो । एउटाले अर्काको कार्यक्रम बिथोल्ने, विरोध गर्नेखालको अवस्था थियो । गिरिजाप्रसाद कोइराला नै ०४८–०४९ सालतिर होला, रोल्पा जाने कार्यक्रममा हामी आउने बाटोमा ढुंगामुढा गरिएको थियो ।

रोल्पाको एउटा बेल्ट कस्तो छ भने मारीखोला तर्न बर्खामा समस्या हुने । हामी त्यो खोला तर्न दाङबाट आउनुपर्ने परिस्थिति थियो । त्यस्तो ठाउँमा त्योबेला कांग्रेसका थुप्रै साथीहरूले कुटाइ खानुभयो । थुप्रै साथीहरू कार्यक्रममा जान नसक्ने अवस्थामा, फर्किनुपर्ने अवस्थामा पुग्यौं ।

अहिले त्यो संस्कृति अलि कम भएको छ । अझै पनि माओवादीका साथीहरूलाई सकेसम्म अरु पार्टीका कार्यक्रमहरू बिथोल्न पाए हुन्थ्यो भन्ने छ । तर, कांग्रेस र अरु पार्टीहरुको सोच त्यस्तो पाइँदैन । कार्यक्रम त सबैले गर्न पाउनुपर्‍यो नि, आफ्ना कुराहरू राख्न पाउनुपर्‍यो नि भन्ने छ । तर, रोल्पा–रुकुमको हकमा माओवादीका साथीहरूले अझै पनि अरु पार्टीको अस्तित्व स्वीकार गरेको अवस्था छैन ।

रोल्पामा कांग्रेस र माओवादीबीच ०५२ फागुन अगाडि भएका झडप र ढुंगा हानाहानको कुनै गन्ती नै छैन होला है ?

जनमोर्चाका तर्फबाट ०५२ साल फागुन अगाडिका घटनामा ५–६ जना कांग्रेसका साथीहरूलाई मारिसकिएको थियो । उहाँहरूले जनयुद्ध भन्नुहुन्छ, हामीले सशस्त्र द्वन्द्व भन्छौँ । त्यो द्वन्द्व गर्नेहरुले द्वन्द्वको घोषणा गर्नुअघि नै हाम्रा साथीहरुलाई मारिसक्नुभएको थियो । कोही गाविस अध्यक्ष, कोही जिल्ला विकास समिति सदस्य, कोही अलि टाठाबाटा । यस्ता मान्छेलाई नै ईंगित गरेर उहाँहरुले हत्या गरिसक्नुभएको थियो । नैनसिंह खत्री, मिठु घर्ती, अमरसिंह झाँक्री मारिनुभयो । अरु पनि हुनुहुन्थ्यो । ०५२ फागुनपछिको त धेरै कुरा सबैलाई थाहै छ ।

तर, त्योबेला सुरक्षाकर्मीले पनि जनमोर्चाका कार्यकर्तामाथि ज्यादति गरे भन्ने छ नि ? जनताको धनसम्पत्ति पनि लुटियो भनिन्छ…

त्यो त दोहोरो भएको छ । गाउँघरमा रुपैयाँ–पैसा, गरगहना घरमै राख्ने चलन थियो । त्योबेला थुप्रै कुरा लुटिएको छ । रोल्पाबाट थुप्रै सुन लुटिएको छ । त्यो कहिले माओवादीबाट, कहिले सरकारबाट ।

माओवादी राति आएका बेला खाना दिएन भने उसले कुटपिट गर्ने । डरले पनि जनताले खाना दिनुपर्ने । दिउँसो आएर पुलिसले हामीलाई खाना दे भनेपछि उसलाई पनि दिनुपर्‍यो । राति माओवादीलाई खाना किन दिइस् भनेर जनतालाई दुःख दिने । फेरि राति माओवादी आएर पुलिसलाई खाना ख्वाइस् भनेर दुःख दिने । त्योबेला सर्वसाधारणलाई यति पीडा भयो, यति समस्या भयो कि भनिसाध्य छैन ।

रोल्पामा सशस्त्र हिंसामा कांग्रेसका १२१ जना मारिए । ०७४ को निर्वाचनपछि फेरि तरुण दलका अध्यक्षको हत्या भयो । त्योसहित गरेर कांग्रेसका १२२ जना साथीहरुलाई माओवादीले मार्दियो ।

समग्र सुरक्षाकर्मी, कांग्रेस, माओवादी, एमालेलगायतका अरु पार्टी गरेर १ हजार ७६ जनाले रोल्पामा आहुती दिनुपर्‍यो । यो रेकर्डेड डाटा हो । तर, यतिमात्रै मारिएका भन्ने होइन । त्यो सशस्त्र हिंसाका कारण अरु थुप्रैको ज्यान गएको छ । कारण के भने सुत्केरी ब्यथा लाग्यो, समयमै अस्पताल पुर्‍याउन सकिएन, सुत्केरी महिलाको अकालमा ज्यान गयो । कोही बिरामी भयो, उपचार गर्न जान सकिएन, अकालमै बिरामीले मर्नुपर्‍यो ।

यस्ता धेरै कारणले धेरै मानिसहरूले रोल्पामा पीडा भोग्नु पर्‍यो । यसमा कुनै पार्टीविशेषको कुरा छैन । माओवादी पार्टीमा लागेका, माओवादीमा आस्था राख्नेलाई पनि ठूलै क्षति नै भएको छ । कांग्रेस–एमालेलगायतका अरु पार्टीलाई पनि त्यस्तै क्षति पुगेको छ । हिंसा सुरु नगरेको भए त्यो क्षति रोल्पालीले भाग्नु पर्दैनथ्यो नि । हिंसा सुरु भइसकेपछि त्यत्रो द्वन्द्व भयो ।

शान्ति प्रक्रियामा आइसकेपछि ०६४ को संविधानसभा निर्वाचनपछि माओवादीको सरकार बन्दा मजस्तो कांग्रेस पनि खुशी भएको थिएँ । ठीकै छ, कांग्रेसले हारेर के भयो त, रोल्पा–रुकुमबाटै सुरु गरेको माओवादीले जित्यो, अब रोल्पा–रुकुमलाई नै हेरेर योजना बनाउला । गरिब जनतालाई हेरेर योजना, नीति निर्माण तर्जुमा गर्ला । त्यसो गरे कम्तिमा हामीले पनि त्यो फल त पाउँछौँ भनेर म भित्रभित्रै खुशी नै थिएँ, बाहिर भन्न नमिले पनि । तर, त्यसको ठीक उल्टो भयो ।

कांग्रेसमा लागेका कारण जनयुद्धकालमा तपाईंले चाहिँ माओवादीबाट सास्ती ब्यहोर्नु परेन ? माओवादीसँग तपाईंको व्यत्तिगत सम्बन्ध कस्तो रह्यो ?

व्यक्तिगत सम्बन्ध मेरो माओवादीसँग अलि ठीकै थियो । वर्षमान पुनसँग त मेरो चिनजान थिएन । महरा सर (पूर्वसभामुख कृष्णबहादुर महरा) सँग चिनजान थियो । उहाँले मलाई त पढाउनुभएन तर अर्को स्कुलमा पढाउनुहुन्थ्यो । तर, पनि उहाँसँग मेरो व्यक्तिगत चिनजान ठीकै थियो । अरु स्थानीय स्तरका माओवादी नेताहरूसँग मेरो सम्बन्ध राम्रै थियो । ०५६ सालसम्म म अलि खुला नै हिँड्थे । कुनै समस्या थिएन ।

०५६ सालको आम निर्वाचनमा अलि बढी नै लागियो । मलाई ०५४ सालमै जिल्ला विकास समितिको सभापति बनाउने पार्टीले योजना बनाइरहेको थियो । म वडा सदस्य पनि भएँ । तर, म अहिले नै गर्दैन भनेर ब्याक भएँ । ०५६ को चुनावमा मलाई पार्टीले सांसदका लागि सिफारिस गरेको थियो । त्योबेला पनि म आफू ब्याक भएको हो ।

त्योबेला हाम्रो बेल्टमा प्रभाव राख्ने नेता खुमबहादुर खड्का हुनुहुन्थ्यो । उहाँले बोलाएर नै मलाई प्रेसर नै गर्नुभएको हो चुनाव लड्नुस् भनेर । त्यो समयमा म २६ वर्षको थिएँ । समय पनि ठीकै थियो । तर, मैले हिसाब–किताब गरेँ । मासिक ६ हजार ५०० भत्ताले के पुग्ला ? आफ्नो पेशा व्यवसाय गर्नुपर्छ भन्ने लागेर मैले अहिले नै मेरो बेला भएको छैन, पछि समय आएपछि चुनाव लड्छु भनेर बसेँ । ५०–६० वर्ष पुगेपछि राजनीति गर्ने हो, त्योभन्दा अघि त राजनीति गर्दिनँ भन्ने सोच थियो । तलै बसेर पार्टीलाई सहयोग गर्छु तर पदीय दायित्वमा जादिनँ भन्नेखालको सोच थियो ।

आम निर्वाचनको घोषणा भयो । माओवादीले चुनाव बहिस्कार गर्‍यो । म त्यो चुनावको प्रचारमा अलि बढी नै लागेँ । त्यसपछि माओवादीले मलाई टार्गेट गर्‍यो । जिल्लामा बस्न सक्ने स्थिति भएन । म नेपालगञ्जतिर बसेँ । त्यहाँ पनि बस्न सक्ने अवस्था नभएपछि म काठमाडौं आएर बसेको हुँ । रोल्पा जानु परे हेलिकप्टरमा जानुपर्ने, होइन भने चुप लागेर बस्नुपर्ने अवस्था थियो । गाह्रो थियो । म विस्थापित भएको थिएँ ।

मैले क्षति पनि थुप्रै भोगेँ । म त्योबेला पेशाले व्यवसायी थिएँ । रासन सप्लाईको व्यवसाय थियो । सेना, पुलिसलाई रासन सप्लाई गर्थेँ । ठेक्कापट्टाको पनि काम गर्थेँ । थुप्रै ठाउँमा माओवादीले मेरो सामान नै लुटेर लगेको हो । हिसाब नै गर्ने हो भने त्यसबेला मेरो ५० औँ लाखको सम्पत्ति लुटियो । कतिबेला खसीका गाडी लुटिने । कहिले चामलका गाडी लुटिने । कहिले फलामका डन्डी, सिमेन्ट लुटिने ।

एकचोटि डोल्पामा साल्ट ट्रेडिङले नुनको सप्लाई ठेक्का गरेको थियो । मैले नुनको ठेक्का लिएको थिएँ । मेरो नुनको ढुवानी ठेक्का ६५ रुपैयाँ किलो थियो । ७ रुपैयाँ किलो किन्नुपर्थ्यो । पहिले आफैंले किन्ने हो, पछि खरिदको भुक्तानी पाइन्थ्यो । २२५ क्विन्टल नुन डोल्पाको दुनै पुग्दै गर्दा लुटियो ।

त्यतिबेलाको हिसाब गर्दा लगभग २५ लाख घाटा भयो । किन भयो भने नुन नपाएर डोल्पामा हाहाकार भयो । अनि रेडियो नेपाल, टेलिभिजनले समाचारमा मेरो नाम भट्यायो । यति सबै भइसकेपछि मैले हेलिकप्टरबाट १२०–१२५ रुपैयाँ किलोका दरले नुन डोल्पा ढुवानी गरेँ । जबकि मेरो ठेक्का ६५ रुपैयाँ किलो थियो । यदि नलुटिएको भए मैले सहज तरिकाले नुन पुर्‍याउन सक्थेँ ।

यस्ता थुप्रै क्षतिहरु भोग्नुपरेको थियो । तर, पनि ठीकै छ, परिवर्तनका लागि लडेको शक्तिले गर्‍यो भनेर मैले अरुजस्तो धेरै चिल्लाउने र धेरै पीडा देखाउने काम भने गरिनँ । त्यो गयो, ठीकै छ चलोस् भनेर चलेको मान्छे हुँ ।

रुकुम–रोल्पाबाटै उठेको शक्तिले ०६४ मा चुनाव जित्दा खुशी भएको थिएँ भन्नुभयो । माओवादीले केही विकास गरेन त रोल्पामा ?

माओवादीले केही गरेन भन्दा उहाँहरु हामीले गरेका छौँ भन्नुहुन्छ । तर, उहाँहरुले सीमित व्यक्ति, सीमित योजनाका साथ विकास गर्नुभयो । त्यसरी हुँदैन ।

जस्तै– उहाँहरुले कोही मान्छेलाई उपभोक्ता समितिमा राखेर काम गर्नदिनुछ अर्थात दुईचार पैसा कमाउन दिनुछ भने टुक्रे योजनाहरु पार्नुभयो । तर, भोलिका दिनमा प्रभाव राख्ने दीर्घकालीन योजनाहरु रुकुम–रोल्पामा पार्नुभएन । रोल्पामा विकास नभएको होइन । शासन सत्ता, शक्तिमा भएको पार्टीले रोल्पामा धेरै गर्नुपर्थ्यो, त्यो गर्न नसकेको अवस्था हो । जे–जति काम भएका छन्, ती साल बसाली कामहरु छन् ।

म पनि राजनीति गर्ने व्यक्ति हुँ, राजनीति गरिरहेको छु, जहिले हाम्रो सरकार हुन्छ, त्यतिबेला हामीले पनि गरेकै छौँ । अरुले पनि गर्नुभएकै छ । तर, हामीले बनाएको योजना दीर्घकालीन खालका छन् । तर, उहाँहरु कहाँ आफ्ना मान्छे भएको स्थान छ, त्यो ठाउँलाई ठ्याक्कै ईंगित गर्ने र सीमित व्यक्तिलाई फाइदा पुग्ने गरी व्यक्तिवादी शैलीमा चल्नुभयो । माओवादीका साथीहरुले आफूकेन्द्रित राजनीति गर्नुभयो । त्यसले माओवादीका केही नेताहरु र तिनका पछि लाग्ने केही माओवादी कार्यकर्ताहरु बन्नुभयो । त्यस्तो त कांग्रेस–एमालेमा पनि नभएको म भन्दिनँ । तर, समग्रमा रोल्पाली जनताले जुन परिवर्तन माओवादीबाट चाहेका थिए, त्यो परिवर्तन माओवादीबाट भएन ।

माओवादी पनि पुरानै, कांग्रेस–एमालेकै पारामा हिँड्यो भन्न खोज्नुभएको ?

पुरानै पारामा भन्दा पनि उहाँहरुले देशलाई अस्तव्यस्त बनाउनुभयो । सिस्टम नै बिगार्नुभयो ।

तपाईं त्यस्तो भन्नुहुन्छ । तर, प्रचण्डले त्यही रोल्पामा गएर चुनाव जित्नुभयो । वर्षमान पुनले पनि चुनाव जित्नुभएकै छ । माओवादीले काम नगरेको भए त्यसरी चुनाव जित्थ्यो ?

यसमा के हो भने आज पनि समाजमा जसले जसले केही गरेकै छैन, त्यसले बोल्यो भने त्यसैका कुरा बढी सुन्ने समाज छ हाम्रो । त्यस्तो चलन छ । त्यसकारणले त्यो चलनले जित्ने हो । हिजो द्वन्द्वका बेला पैसा लग्यो, दुनियाँ गर्‍यो, यो गर्‍यो, त्यो गर्‍यो । त्यो गएको पैसा पनि त्यहीँ प्रयोग भयो, त्यहीँ लगानी भयो । अब यसैलाई भोट दिउँ न, केही गरिहाल्छ कि भन्ने भयो मान्छेलाई । अहिले त फरक छ नि । जनता अलि फरक भइरहेका छन् ।

माओवादीले ०६४ को निर्वाचनमा धेरै मत ल्यायो । हिंसाका क्रममा जसलाई लुटेको छ, जसलाई कुटेको छ, जसको सम्पत्ति लगिदिएको छ, ती मान्छेले माओवादीलाई भोट हाल्दा मैले सोधेँ – किन माओवादीलाई भोट हाल्नुहुन्छ ? तपाईंको यति पैसा लगिदिएको होइन ? तपाईंलाई कुटाइ खाएको होइन ? जवाफ हुन्थ्यो– कुटाइ पनि खाइयो । सम्पत्ति पनि लुटियो । त्यो कुटाइ, त्यो लुटाइ त्यो पार्टीमा लगानी भयो । अब त्यसमा हाम्रो लगानी भएको छ, त्यसबाट केही हुन्छ कि भनेर भोट दिएका हौँ ।

कुटाइ खाएकाले समेत भोट दिनु भनेको त माओवादीका लागि उपलब्धि थियो नि होइन ?

अब त्यो स्थिति छैन । अब जनता बुझ्दैछन् । अब वास्तवमै फरक छ स्थिति ।

गत ०७९ को चुनावमा रोल्पामा कांग्रेस–माओवादीबीच गठबन्धन भएको थियो । गठबन्धनका तर्फबाट माओवादीका विजयी उम्मेदवार वर्षमान पुनले पाएको ४१ हजार भोटमा कांग्रेसको कति मिसिएको थियो ?

त्यो ४१ हजारमा कांग्रेसको भोट २० हजार हो ।

भनेपछि, अहिले रोल्पामा कांग्रेसको भोट २० हजार र माओवादीको २१ हजार छ ?

रोल्पामा हाम्रो भोट २५–२६ हजार हो । हाम्रो केही भोट माओवादीमा परेन । सत्य कुरा गर्नुपर्छ । यसकारण कांग्रेसको २० हजार भोट वर्षमान पुनले पाउनुभएको हो । उहाँहरुको भोट पनि अलि बढी थियो तर, माओवादीका सबैले उहाँलाई भोट हालेनन् । कारण के हो भने माओवादीमा पनि आन्तरिक द्वन्द्व छ । माओवादीका ५–७ हजारले वर्षमानलाई भोट हालेनन् ।

अब ०८४ को चुनावमा एक्लाएक्लै लड्ने हो भने रोल्पामा माओवादीले चुनाव जित्छ ?

एक्लाएक्लै लडेको भए रोल्पामा माओवादीलाई ०७९ को चुनावमा पनि गाह्रै थियो । नाम त नलिऊँ, तर, माओवादीका केही नेताले वर्षमानलाई सहयोग नगर, हामी चुनाव तिमीहरुलाई जिताउँछौँ, वर्षमानलाई भोट नहाल्ने वातावरण हामी बनाइदिन्छौँ भनेका हुन् । माओवादीभित्र पनि योखालको स्थिति छ ।

तर, मैले मेरो पार्टीले गठबन्धनको नीति लिएर माओवादीलाई सहयोग गर्ने भनिसकेपछि र म लुम्बिनी प्रदेशको सभापतिको हैसियतले पनि पार्टीको नीति विपरीत जान सक्दिनँ भनेँ ।

मेरो पार्टीले निर्णय गर्नुभन्दा पहिले मैले पनि माओवादीसँगको गठबन्धनप्रति विमति राखेको हुँ । म रोल्पाको मान्छे, मलाई त सबैभन्दा आवश्यक थियो होला नि गठबन्धन । तर, मैले देशभर कहीँ पनि माओवादीसँग चुनावी गठबन्धन हुनुहुँदैन भनेको थिएँ ।

यदि चुनावी गठबन्धन नगरेर आफैं टिकट पाएको भए कांग्रेसले रोल्पामा चुनाव जित्थ्यो  ?

रोल्पामा चुनावी गठबन्धन नभएको भए कांग्रेसले चुनाव जित्थ्यो भनेर म दाबी गर्दिनँ । तर, कांग्रेस हार्नुपर्ने कारण पनि थिएन । त्यहाँ अरु–अरु सेक्टर मिलाइन्थ्यो । रोल्पामा चुनाव जित्ने आधारहरु थिए ।

मैले ग्यारेन्टीका साथ मेरो पार्टीभित्र रोल्पामा माओवादीसँग मित्रवत् प्रतिस्पर्धा गर्ने भनेर नीतिगत निर्णय गराएको पनि हो । यसबारे केन्द्रीय कार्यसमिति र संसदीय बोर्डमा छलफल भएको पनि हो । तर, पछि माओवादी साथीहरुलाई डर लागेछ, उहाँहरुले केन्द्रमा के–के मिलाउनुभयो, पछि हामी पनि त्यसैअनुसार लाग्यौँ ।

हुन त यो प्रश्न माओवादीलाई सोध्नुपर्ने हो । तथापि, कांग्रेस नेताबाट सुनौं । माओवादीको प्रभाव क्षेत्र भनिएका रोल्पा, रुकुम, जाजरकोट जस्ता जिल्लामा भएको उपनिर्वाचनमा माओवादीको पक्षमा राम्रो परिणाम आएन । मोरङ र कीर्तिपुरमा भने भोट बढाएको पाइयो । माओवादीहरु अब हामी एक्लै लड्दा पनि जित्ने रहेछौं भनेर धेरै नै खुशी देखिएका छन् । तर, रुकुम–रोल्पामै माओवादीको मताधार किन कमजोर भयो ?तपाईंको विचारमा के कारणले यस्तो भएको होला ?

हिजो उहाँहरूले जनताका बीचमा जे कुरा बोल्नुभएको थियो, जुन मुद्दा उठाएर आन्दोलन गर्नुभएको थियो र सशस्त्र द्वन्द्व सिर्जना गर्नुभएको थियो, त्यो आन्दोलनपश्चात् उहाँहरू पटक–पटक शासन सत्तामा बस्नुभयो । सत्तामा रहँदा उहाँहरूले के गर्नुभयो भन्ने कुरा जनताले राम्रोसँग बुझे । विशेषतः रोल्पा–रुकुमकै जनताले बुझेका छन् । उहाँहरूले रोल्पा–रुकुमलाई कति पीडा दिनुभयो र त्यहाँबाट उहाँहरूले कति लिनुभयो भन्ने कुरा सबैले हिसाब–किताब राखेकै छन् । त्यसकारण पनि रोल्पा–रुकुममै उहाँहरूको संगठन खस्किएको छ ।

अहिले केही अरू ठाउँमा उहाँहरूले ‘जित्यौँ’ भन्नुभएको छ । त्यसो हुनुको कारण हाम्रो पार्टी (काङ्ग्रेस) मा देखिएका आन्तरिक समस्याहरू नै हुन् । यी आन्तरिक समस्या मिलाउने र व्यवस्थापन गर्ने हो भने उहाँहरूले अब कतै चुनाव जित्न सक्नुहुन्न । अहिले भोट बढेको भन्दै उहाँहरू यत्तिका हौसिनुपर्ने अवस्था नै होइन ।

तर, कर्णाली र लुम्बिनी त माओवादीको मुख्य आधार इलाका नै हो नि ?

पहिले पनि समग्र लुम्बिनी माओवादीको गढ होइन । रोल्पा र पूर्वी रुकुममात्रै उहाँहरूको अलि बलियो आधार भएको क्षेत्र थियो । अरू ठाउँमा उहाँहरूको राम्रो अवस्था छैन । त्यही जनाधार भएको ठाउँ बचाउन पनि उहाँहरूलाई मुस्किल परिरहेको छ । ती ठाउँमा उहाँहरूले कति विकास प्रत्याभूत गराउन सक्नुभयो र आफ्नो सङ्गठन जस्ताको त्यस्तै राख्न सक्नुभयो ? यो महत्वपूर्ण हो । कर्णालीमा पनि अवस्था उस्तै हो । जाजरकोटमै यसपटकको उपचुनावमा उहाँहरूको मत देखियो । रुकुमको मत पनि देखियो । त्यसकारण उहाँहरू जताततै खस्किइरहनुभएको छ ।

माओवादीको त्यस्तो आधार भन्ने कुरा छैन । अब जनताले बुझिसकेका छन् । काङ्ग्रेसको आधार छ भन्दैमा काङ्ग्रेस नै हुनुपर्छ भन्ने पनि छैन । किनकि नागरिकले राम्रो व्यक्ति र पार्टी खोजिहाल्छन् । अब पनि हिजोजस्तै ‘मेरा बाले घ्यु खाए, मेरा जुँगा चिल्लै’ भन्ने अवस्था कसैको छैन । त्यसकारण समयानुकूल जनताले आफ्नो नेतृत्व छान्छन् । यो माओवादीमा मात्रै होइन, सबै पार्टीका हकमा लागू हुन्छ ।

भनिन्छ, ०६४ मै जनताले कांग्रेस–एमालेको विकल्प खोजेका थिए । ‘कांग्रेस–एमाले पुराना भए, यिनले काम गरेनन्, अब नयाँले केही गर्छ कि भनेर माओवादीलाई भोट दिएको’ भन्ने भाष्य छ । त्यही भाष्यअनुसार हेर्दा रुकुम–रोल्पाका जनताले पनि त्यसबेला माओवादीलाई जिताएको देखियो । अहिले फेरि काङ्ग्रेस–एमाले–माओवादी एउटै भए, अब हामी केही गर्छौं’ भन्दै रास्वपाजस्ता नयाँ शक्ति पनि जन्मिएका छन् । रोल्पाली जनताले पनि अब ०८४ को चुनावमा ०६४ मा जस्तै नयाँ विकल्पको खोज्ने हुन् कि ? किनभने, रोल्पामा थवाङबासीजस्ता परिवर्तन खोज्ने मानिसहरु बस्छन् भन्ने गरिन्छ…..

रुकुम–रोल्पामा रास्वपाको कुनै प्रभाव नै छैन । अन्यत्र जहाँ प्रभाव देखिएको थियो, जनताले बुझिसके । रास्वपा के रहेछ, त्यो पार्टीको नेतृत्व के रहेछ, त्यहाँ कस्ताखालका सङ्गठनकर्ता छन् ? कस्ता व्यक्ति शासनसत्ता चलाउने योजना छन् भन्ने कुरा नेपाली जनताले प्रष्टसँग बुझेकाले ठ्याक्कै प्रभाव पर्ने स्थिति छैन ।

यद्यपि, पुराना पार्टी पनि यही किसिमबाट, यस्तै सङ्गठन, तौरतरिका र कार्यशैली लिएर जाँदा जनतालाई मन परिरहेको छैन । पार्टीका नेताहरूसँग मेरो विशेष अनुरोध नै छ – हामी यही शैलीले जाँदा समयसापेक्ष, अनुकुलको नेतृत्व, त्यहीअनुसारको नीतिसँग मेल खाँदैन । कतै न कतै समस्या छ । ती समस्या हटाउँदै जानुपर्छ । नत्र त नेपाली जनताले हामीलाई विश्वास गर्ने आधार कहाँ छ ?  त्यसकारण, हाम्रो एउटा पुस्ताले त काङ्ग्रेस या अन्य कुनै पार्टीलाई अघि सारेको होला, तर हामीपछिको युवा पुस्तामा पार्टीप्रति वितृष्णा जागिरहेको छ । यही अवस्था रहने भने भोलि पार्टी रहला त ? यसरी नै चल्दा कसरी हुन्छ ? त्यसकारण सोच्नुपर्ने अवस्था छ । हामी पुराना पार्टीलाई त्यति सजिलो छैन ।

पुराना पार्टीभित्रै पनि राम्रा व्यक्तिको छनोट, अवसर र जिम्मेवारी सुनिश्चित गर्ने हो । नयाँ पार्टी खुल्दैमा केही फरक पर्दैन । तर, गलत मानिसलाई अवसर दिने, पटक–पटक एउटै व्यक्तिले अवसर लिइरहने, अरूले अवसर नै नपाउने हो भने सोच्नुपर्ने अवस्था आउँछ । जसले अवसर पायो, उसैले अवसर खोजिरहने, उसैले असन्तोष व्यक्त गरिरहने हो भने समस्या हुन्छ । जसले कहिल्यै अवसर पाउँदैन भने उसले विकल्प खोजिहाल्छ । त्यसैले पुराना पार्टीहरूले सोच्नुपर्छ । नयाँ पार्टीहरू पनि नयाँजस्तै बनेर आउनुपर्छ ।

हामीले सङ्घीयता पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेछ । त्यो कार्यान्वयनमा किन लागिरहेका छैनौँ त ? किनकि पार्टीहरूभित्रै समस्या छ । केन्द्रीकृत शासनसत्तामा मात्रै ध्यान छ । तल्लो तहमा अधिकार दिने सोच अधिकांशमा छैन । हाम्रो संविधानले तीन तहको सरकार परिकल्पना गरेको छ । घर नजिकको सरकार स्थानीय सरकार हो । गाउँ नजिकको सरकार प्रदेश सरकार हो । सबै सेवा केन्द्रीकृत बनाएर त्यहाँबाट कुनै सेवा प्रवाह गर्न नसकिने अवस्था बनाइएको छ । मैले त प्रधानमन्त्रीलगायत दलका नेताहरूलाई पटकपटक भन्ने गरेको छु – यस्तो गरेर कसरी हुन्छ ? अब सोच्नुपर्छ ।

सङ्घीयताप्रति प्रश्नचिह्न उठिसकेको छ । यही तरिकाले चलेर हुँदैन । सङ्घीयता साँच्चै मन परेको होइन र अधिकार नै दिने होइन भने यसबारे पनि सोचौँ । छलफल गर्दा हुन्छ । यदि होइन भने यसलाई पूर्णरूपमा कार्यान्वयन गरौँ, सङ्घीय संरचनालाई बलियो बनाएर काम गरौँ भन्ने मेरो विशेष अनुरोध छ । संविधानमा कहीँकतै समस्या छ भने परिमार्जन गर्दै जाऔँ । जनतालाई मन परेको छैन र कहीँ त्रुटि भएको छ भने सच्याउनुपर्छ ।

तपाईंले ०७९ मै माओवादीसँग काङ्ग्रेसको गठबन्धनप्रति असहमति राख्नुभयो, अहिले एमाले र काङ्ग्रेस मिल्दाचाहिँ मज्जा लागेको होला ?

कुनै दलको एकल बहुमत नहुँदा गठबन्धन सरकार बन्छ नै । सरकार चलाउने हकमा कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नैपर्छ । कुनै पार्टीसँग गठबन्धन गर्दा आफू अनुकूलको सरकार बन्छ भने दलहरूले त्यसो गर्ने नै भए ।

काँग्रेसको हकमा पहिलो पार्टी भए पनि पछिल्लो चुनावयता सरकारको नेतृत्व गर्न पाएको छैन । नीतिगतरूपमै यो गलत भएको छ । संविधान बनाउनुअघि सीटको सङ्ख्याका आधारमा सरकारमा सहभागी हुने व्यवस्था गर्नेबारे चर्चा भएको थियो । त्यस्तो भएको भए पहिलो पार्टीका हैसियतमा यतिखेर काङ्ग्रेसले नै सरकार चलाइरहेको हुन्थ्यो । तर, वर्तमान संविधानअनुसार बहुमतबाट सरकार बन्ने हुनाले पहिलो र दोस्रोको कुरै भएन । जुन नेतालाई प्रधानमन्त्री दिएर गठबन्धन गर्न सकिन्छ, त्यसैअनुसार सरकार बन्ने गरेको छ ।

कांग्रेस पहिलो पार्टी भए पनि यही व्यवस्था र अभ्यासअनुसार अहिले संसदको दोस्रो पार्टी एमाले नेतृत्वको सरकारमा सहभागी छ । संसदका दुई ठूला पार्टी एकजुट भएर जनताका समस्या समाधान गर्ने भनिएको हो । अहिलेको सरकार अत्यन्त बलियो र बहुमतका साथ बनेको हो । विद्यमान ‘समस्या समाधान गर्न फलानो पार्टीले मानेन, त्यसैले काम भएन’ भन्ने छुट यो सरकारलाई छैन ।

केपी ओली नेतृत्वको सरकारको काम कस्तो लागिरहेको छ ?

सरकारले जसरी काम गर्नुपर्थ्यो, त्यसरी काम गरेको छैन । नीतिगत सुधार र निर्णय गरी अघि बढ्नुपर्ने, जनतामा उत्साह जगाउनुपर्ने सरकारलाई कहाँ समस्या परेको हो ? प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका नेता/कार्यकर्तालाई मात्र सोचेर निर्णय गर्नुभयो भने त गलत भयो । यो सरकारको केन्द्रमा त सिङ्गो देश र सबै नेपाली हुनुपर्ने हो । ओलीले राम्रो निर्णय गर्ने हो भने कांग्रेसले बाध्य भएर ताली पड्काउनैपर्छ ।

हाम्रा सभापति शेरबहादुर देउवा पनि पाँचपटक प्रधानमन्त्री भइसक्नुभयो । दुईपटक पार्टी सभापति भइसक्नुभयो । राम्रा काम गर्न कसले रोकेको छ र ! यतिखेर देउवा नै यो देशको एक नम्बर प्रोफाइल भएको व्यक्ति हो । उहाँले समग्र नेपाली जनता र पार्टीहरूलाई मिलाएर देशको हितमा काम गर्नैपर्छ ।

यो त तपाईंको धारणा भयो, तर सरकारले गरिखाला जस्तो लाग्छ कि लाग्दैन ?

यही सरकारले गरिखानुपर्छ । यो भन्दा अर्को सरकार बने त झन् कसरी गरिखाला र ! त्यसैले यो सरकारलाई नै गरिखाने बनाउनुपर्छ । सरकारको खुट्टा टेकाइ कमजोर हुनुहुँदैन । यो सरकार छाडेर अर्को सरकारको कल्पना गर्नु बेकारको कुरा हो । यो सरकारले पनि केही गर्न नसक्ने हो भने त नेतृत्व नै कमजोर रहेछ भनी बुझ्नुपर्छ । मन्त्री फेरेर सरकार प्रभावकारी हुने होइन । गर्नुपर्ने त नीतिगत कुरा हो । व्यक्तिसँग सरोकारको कुरै होइन । संसदीय व्यवस्थामा प्रधानमन्त्री नै सबै चिज हो ।

अब तपाईं आवद्ध पार्टी कांग्रेसबारे केही कुरा गरौँ । कोशीमा भएका दोहोरो भेलाहरू हेर्दा तपाईंहरूलाई अहिलेदेखि नै महाधिवेशन लागिसकेजस्तो देखिन्छ, गर्मागर्मी शुरू भइसकेको हो ?

गर्मागर्मी भएको होइन । हाम्रो पार्टीको विधानमा पार्टीका आठ वटा तह छन् । वडाले ६–६ महिनामा सम्मेलन गर्ने, पालिकादेखि माथि वार्षिक सम्मेलन गर्ने व्यवस्था छ । त्यसकारण कोशी प्रदेश कार्यसमितिले अहिले पहिलो सम्मेलन गरेको हो । यो कुनै गुटको सम्मेलन होइन । त्योभन्दा अघि चाहिँ नेता शेखर कोइरालाको निर्देशनमा पालिका सम्मेलन भयो भन्ने हो । सो सम्मेलनमा कोशीका १३७ पालिकाका सभापतिहरू सहभागी हुनुहुन्थ्यो भन्ने आयो । सो सम्मेलनको आधिकारिकताबारे पार्टीमा धेरै कुरा उठेका छन् । पत्र पनि पठाइएछ । तर, त्यसो गर्नु आवश्यक थिएन ।

पार्टीले नीतिगत निर्णय गरेर अघि बढ्नुपर्छ र आदरणीय नेता डा. शेखर कोइरालाले पनि संस्थागत कुरामा बढी ध्यान दिनुपर्छ । ‘भोलि म पार्टी सभापति हुन्छु’ भन्ने व्यक्तिले यस्तो काम गर्नुहुँदैन । पार्टीको कार्यक्रम हुनु राम्रो कुरा हो, यसले पार्टीलाई नै चलायमान बनाउँछ, साथीहरूलाई चलायमान बनाउने कुरामा समस्या भएन । तर, संस्थागत पद्दतिलाई पनि बिर्सिदिनुभएन । उहाँले संस्थागत ढङ्गले नै कार्यक्रम गरेको भएको राम्रो हुन्थ्यो ।

तर, कार्यक्रम भैसक्यो । त्यो राम्रै भयो भनी सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ । अबचाहिँ पार्टीलाई एक ढिक्का बनाएर वि.सं. ०८४ मा हुने निर्वाचनकेन्द्रित हुनुपर्छ । त्यसअघि पार्टीको संगठनलाई पनि महाधिवेशनमय बनाउनेतिर लाग्नुपर्छ । महाधिवेशन लडेको ताजा पार्टी ताजा नेतृत्वका साथ चुनावमा जानुपर्छ अनि राम्रो भैहाल्छ ।

प्रदेश कार्यसमितिले सम्मेलन गर्दा शेखर कोइरालाले किन बहिष्कार गर्नुभएको ?

वरिष्ठ नेतालाई किन बोलाउनुभएन या उहाँ किन आउनुभएन भनी प्रदेश कार्यसमिति भेलामा उपस्थित सम्बन्धित साथीहरूलाई मैले पनि सोधेँ । ‘हामी बोलाउन गएको, घरमै चिठी लिएर गएको’ भन्नुभयो । अर्को तरिकाले बुझ्दा सो भेलामा वरियता नमिल्ने भएपछि उहाँ जानुभएन भन्ने सुनियो । त्यो गलत भयो । वरियतामा तल या माथिको कुरा होइन । साथीहरूबीचको वरियतामा माथि भए भैहाल्यो त ! कसले कहाँ राख्छ, त्यो उसैको कुरा हो । उहाँ कार्यक्रममा जानु पर्थ्यो ।

मैले लुम्बिनीमा कार्यक्रम गर्दा प्रमुख अथिति पार्टी सभापति देउवालाई र विशिष्ठ अतिथि शेखर कोइरालालाई बनाएको थिएँ । पदाधिकारीहरूलाई त्योभन्दा तल राखेको थिएँ । सम्भवतः कोशी प्रदेशमा पदाधिकारीलाई बरियतामा माथि राखेर शेखरलाई तल राख्ने योजना थियो होला । त्यसकारण पनि उहाँ जानुभएन कि ? म फेरि पनि भन्छु – कसले कहाँ राख्छ भन्ने कुरा होइन, उहाँ जानुपर्थ्यो ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको मानवअधिकार चितवन प्रहरीले हनन गरेको भनेर शेखर कोइरालाले बोलिराख्नुभएको छ, यो कुरा के हो ?

उहाँले त्यस्तो बोल्नुभएको भनी लेखिएका समाचार मैले पनि हेरेको थिएँ । अहिले पनि बोलिराख्नुभएकै छ । मैले त मानवअधिकार हनन भएको देखिनँ । प्रहरीलाई पनि समस्या छ । दिउँसो बयान लिँदा सो क्षेत्र तनावग्रस्त थियो । केही न केही व्यवस्था गरेर उहाँ (रवि) लाई सुरक्षित ठाउँमा पुर्‍याउनुपर्ने र कम क्षति हुनेगरी व्यवस्थापन मिलाउनुपर्ने दबाबमा प्रहरी रहेको देखियो । त्यस हिसाबले उहाँलाई चितवनबाट पोखरा लगिएको होला । तर, जुन हिसाबले भाष्य बनाउन खोजिएको छ, त्यो गलत हो । प्रहरीको काम नै द्वन्द्व सिर्जना हुनबाट बचाउने हो । मानवअधिकार हनन भएको भन्ने कुरा गलत हो ।

गत चौधौं महाधिवेशनमा तपाईं डा. शेखर कोइरालाको साथमा हुनुहुन्थ्यो । त्यही समूहबाट जित्नुभएको गगन थापा अहिले महामन्त्री हुनुहुन्छ । तर, पछिल्लो समय कोइराला र थापाबीच तिक्तता बढेको हो ?

तिक्तता बढेको जस्तो मलाई लाग्दैन । कतै न कतै गलत बुझाइ भएको होला । आफ्नो समूहबाट उठेर जितेका महामन्त्रीसँग समन्वय गर्ने कुरामा कहीँ कमजोरी भयो कि ? नीतिगत निर्णय गर्नुअघि महामन्त्रीले पनि आफ्नो समूहका साथीहरूसँग छलफल गरेर जानुपर्छ कि ? त्यसो नगर्ने, अनि तिक्तता बढ्यो भनेर भाष्य निर्माण गर्न खोजिएको मात्रै हो । त्यस्तो तिक्तता नै भएको जस्तो लाग्दैन । हल्ला गरिएजस्तो शेखर कोइराला नेतृत्वको समूह विभाजनको संघारमा पुगेको जस्तो मलाई चाहिँ लाग्दैन ।

आउँदो महाधिवेशनमा पार्टी सभापतिमा उठ्ने गगन थापाको महत्वाकांक्षाले काम गरेको हो त ?

राजनीति गर्ने सबै मानिसमा माथिल्लो ओहदामा पुग्ने महत्वाकांक्षा हुन्छ नै । ‘म यो ठाउँमा पुग्छु’ भन्ने व्यक्तिले त्यो योजना बनाउँछ । तर, सँगसँगै शेखर कोइराला उहाँको पनि नेता हो । नेताले नेताकै रूपमा आफूसँग भएका साथीभाइलाई व्यवस्थापन गर्ने, आफूसँगका भएका साथीभाइका कुरा सुन्ने, त्यो अनुसारको व्यवस्थापन मिलाउने उहाँको पनि काम हो ।

सिँगो पार्टीको नेता हुन्छु भन्ने मान्छेलाई आफ्नै गुटको नेता नभएपछि, आफ्नै गुटका साथीहरू तितरवितर भएपछि समस्या पर्छ । आफ्नै घर बिग्रिएपछि अरूको घर मिलाउँछु भन्न सकिँदैन । हिजो त शेखर कोइरालासँग ४०/४१ प्रतिशत मत भएकैले हार्नुपरेको हो । १० प्रतिशत मत पुगेन । मत नपुगेकैले चुनाव हारिएको हो । अबको महाधिवेशनमा त्यो १० प्रतिशत पनि थप्नुछ । भएको ४१ प्रतिशत आफैँसँग जोगाउनुपर्छ । आफूसँग भएको नजोगाउने, अनि अरूलाई जोड्छु भन्ने कुरा त मिल्दैन । त्यसैले, आफूसँग भएका साथीहरूसँग मनमुटाव अन्त्य गर्ने, संवाद गर्दै समेटेर अघि बढ्ने हो । डा. शेखर र गगन एक ठाउँ हुँदा नै पार्टीलाई अघि बढाउन सकिन्छ ।

तपाई अहिले लुम्बिनीको पार्टी सभापति हुनुहुन्छ । आगामी महाधिवेशनमा कम्तिमा केन्द्रीय समिति सदस्यमा पक्कै उठ्नुहोला । ०८४ को आम चुनावमा पनि रोल्पाबाटै प्रत्यक्षतर्फ नै लड्ने होला । के छ तयारी ?

मैले पार्टीभित्र व्यक्तिगत या सामूहिक रूपमा सभापति शेरबहादुर देउवालाई कहिल्यै समर्थन गरेको छैन । तर, अरूले जस्तो गाली गर्दै हिँडेको पनि छैन । संस्थागत निर्णय भएका विषयहरूमा त हामी सबै सभापतिज्यूकै पक्षमा हुने भैहाल्यौँ । फेरि पनि, मैले देउवालाई समर्थन गरेको छैन । तर पनि उहाँले मलाई ‘कुन संघीय निर्वाचन क्षेत्रमा लड्ने हो ? अन्त जाने कि रोल्पामै उम्मेदवारी दिने हो ? जहाँ लड्ने हो – त्यसैअनुसार सोच्नुस् र त्यही निर्वाचन क्षेत्रमा जानुस्’ भन्नुभएको हो । उहाँले माया गरेर हो या ‘यो मानिस चाहिन्छ’ भनेर हो, ०७४ कै निर्वाचनमा पनि ‘गठबन्धन भइसक्यो, तपाईं समानुपातिकमा माथि आउनुपर्छ’ भन्नुभएको थियो । मैले ‘बस्दिनँ’ भनेँ । उहाँले माया नै गर्नुभएको होला भन्ने मलाई लाग्छ ।

अब आउने निर्वाचनमा कतै न कतै चुनाव त लडौँला । तर, मलाई चुनाव लड्न मरिहत्ते छैन । किनकी निर्वाचन लडिएको छ, देखिएको छ, बुझिएको छ । जनताले पनि अब यसरी महँगो चुनाव, खर्चिलो चुनाव गरेर राजनीति गर्ने अवस्था छैन । अवस्था आयो भने चुनाव नलड्ने कुरा होइन, लडिन्छ । तर, एकदमै खिचातानी गरेर ‘म नै लड्नुपर्छ’ भन्ने छैन । अरूलाई नै व्यवस्थापन गर्नुपर्ने भयो र आफू बस्नुपर्ने भयो भने पनि तयार छु ।

सदनमा गइयो, एकपटक राज्यमन्त्री भइयो, संविधानमा हस्ताक्षर पनि गरियो । अरूले पनि अवसर पाउनुपर्छ । पटकपटक मैले नै किन पाइरहनुपर्‍यो र । अरूले पनि पाउनुपर्छ भन्ने मेरो मान्यता हो । अवसर पाइयो भने आउन पनि तयार छु । त्यसैले त्यस्तो ठूलो समस्या छैन ।

पार्टीको आन्तरिक चुनावमा केन्द्रीय सदस्य लड्ने कुरा पनि मैले कल्पना गरेको छैन । साथीहरूले माया गर्दा कुनै न कुनै रूपमा कतै व्यवस्थापन गरेर जान पनि तयार छु । होइन भने ठीकै छ, भएकै छ । प्रदेशको संस्थापक सभापति भइएको छ । मलाई यही नै ठूलो कुरा लागेको छ । भोलि यसैलाई बचाउन सकियो भने पनि ठीकै छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ८ : ०८ बजे

रूकुम पूर्वमा हिउँ खेल्न लोभिएका पर्यटक 

रूकुम – हिउँ कसैको लागि रहर छ भने कसैको लागि

रौतहट प्रहरीद्वारा एकै दिनमा १३ जना फरार प्रतिवादी पक्राउ

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो संयन्त्र प्रयोग गरी एकै

जापानमा लागेको डढेलो नियन्त्रण गर्न १७ हजार अग्निनियन्त्रक परिचालित

एजेन्सी – जापानको जंगलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका

भारवहन सीमा कार्यान्वयन गर्न यातायात विभागको ध्यानाकर्षण

काठमाडौं – यातायात व्यवसायीहरूले भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्न

प्रदेश र स्थानीय तहलाई दूरसञ्चार रोयल्टी बाँडफाँड गर्न जोड

काठमाडौं– दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्रदेश र