‘मन्त्रीको सूचीमा छविलाल र मेरो नाम थियो’ | Khabarhub Khabarhub

‘मन्त्रीको सूचीमा छविलाल र मेरो नाम थियो’

विपक्षीले आश गर्दैमा सरकार परिवर्तन हुँदैन : जीवन परियार


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य जीवन परिवारको दशैं हिन्दु परम्परा अनुसार नै बित्ने गरेको छ । राजनीतिशास्त्रमा डिग्री गरेका जीवन कानूनमा स्नातक हुन् । अहिले उनी समाजशास्त्रमा डिग्री गरिरहेका छन् भने राजनीतिशास्त्रमा एमफिल गर्ने तयारीमा छन् ।

युवा उमेरमै राजनीतिको केन्द्रीय तहमा पुग्न सफल जीवन दलित समुदायले अहिले पनि विभेदबाट मुक्त हुन नसकेको बताउँछन् । उनी भन्छन्, ‘नपढेकाबाट विभेद कम होला, पढेकाबाट धेरै हुन्छ ।’

कांग्रेस नेता जीवनले सीता परियारसँग ०५३ सालमा विवाह गरे । त्यसबेला सीता आईए पहिलो वर्ष पढ्दै थिइन् । पढाइको भोक विवाहपछि पनि छुटेन । बच्चा हुर्किसकेपछि सीता ३४ वर्षको उमेरमा सरकारी जागिरमा लागिन् । र, उनी दलित समुदायबाट नेपालकी प्रथम महिला सिडिओ बन्न सफल भइन् ।

गत असारमा एमाले र कांग्रेसको गठबन्धन सरकार बन्दै गर्दा दलित समुदायबाट कांग्रेस सहमहामन्त्री जीवन परियारको नाम चर्चामा थियो । तर, एमालेबाट छविलाल विश्वकर्मालाई मन्त्री बनाउन लागिएको भन्दै कांग्रेसले जीवनको नाम काट्यो । अन्ततः छविलाल र जीवन दुबै मन्त्री बनेनन् । ओली सरकार दलितको प्रतिनिधित्वविहीन बन्न पुग्यो ।

शिक्षा र राजनीतिमा उदाहरणीय सफलता प्राप्त गरिरहेका कांग्रेस नेता एवं सांसद जीवन परियारसँग दशैंको छेको पारेर पारिवारिक संघर्ष, गाउँले जीवनको सम्झना अनि समसामयिक राजनीतिबारे खबरहबकर्मी ज्ञानु घिमिरेले गरेको कुराकानीको सम्पादित अंश सहमहामन्त्री परिवारकै शब्दमा :

बुबाको प्रेरणाले राजनीतिमा

मेरा बुबा गाउँमा कांग्रेसको नेता हुनुहुन्थ्यो । म ०४६ सालको जनआन्दोलनमा आठ कक्षामा पढ्दै थिएँ । घर कास्की र लमजुङको सीमानामा पर्छ । लमजुङको स्थानीय प्रमोद माध्यमिक विद्यालयमा मैले कक्षा आठ पढ्दै गर्दा ०४६ सालको आन्दोलन सुरु भयो । त्यसबेला म नेपाल विद्यार्थी संघको सदस्यता लिएर आन्दोलनमा सहभागी भएँ ।

त्यसबेला दुई जना शिक्षकहरू मेलनसिंह घिमिरे र जनकराज पौडेल सरलाई तत्कालीन पञ्चायती सरकारले गिरफ्तार गरेर लग्यो । हामी विद्यार्थीले शिक्षकको रिहाइ माग्दै आन्दोलन गर्‍यौं ।

मैले एसएलसी पास गरिसकेपछि त्यति नै बेला ०४८ सालको आम निर्वाचन भयो । हाम्रोबाट तारानाथ रानाभाट संसदको उम्मेदवार हुनुहुन्थ्यो । म उहाँको प्रचारमा लागें । ०४९ स्थानीय निकायको निर्वाचनमा  बुबाले नेपाली कांग्रेसबाट वडाअध्यक्षको टिकट पाउनुभयो र जित्नुभयो । उहाँ साबिकको थुम्की गाविस वडा नम्बर तीनको वडाअध्यक्ष हुनुभयो ।

कलेज पढ्दा पनि म नेविसंघको राजनीतिमा जोडिएँ । बीए पास गरेपछि डेढवर्ष जति मैले आफू पढेको स्कुलमा अध्यापन पनि गरें । ०५५ सालमा नेपाल दलित संघको संस्थापक सचिव भएसँगै पार्टीमा थप सक्रिय भएँ । ०६९ मा केद्रीय सचिव भएँ । नेपाली कांग्रेसको ०६२ सालमा सम्पन्न ११ औं महाधिवेशनमा कास्की क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि भएँ । ०६६ मा राष्ट्रिय दलित आयोगको सदस्य भएर सरकारी नियुक्ति खाएँ ।

कांग्रेसको १२ औँ महाधिवेशनमा दलित कोटाबाट केन्द्रीय सदस्य जितें । ०७२ मा पनि केन्द्रीय सदस्य नै भएँ । ०७८ मा भने सहमहामन्त्री भएँ । म ०७० मा संविधानसभा सदस्य थिएँ । ०७४ मा कास्कीबाट प्रदेशसभामा प्रत्यक्ष चुनाव लडें । त्यो बेला पराजित भए । ०७९ मा म प्रतिनिधि सभाको समानुपातिक सांसद भएँ । यसरी मैले राजनीति सुरु गरें । अहिले कांग्रेसको सहमहामन्त्री एवं सांसद छु । म यसरी राजनीतिमा लाग्नु समाज र बुबाको प्रेरणा नै हो ।

बुबा वडाध्यक्ष भएर पनि सक्रिय राजनीतिमा हुनुहुन्थ्यो । ०५४ को स्थानीय चुनावपछि पनि उहाँ कार्यवाहक वडाअध्यक्ष हुनुभयो । बुबाले १० वर्ष स्थानीय निकाय चलाउनुभयो । त्यसपछि मलाई अगाडि बढाउनुभयो । अहिले पनि बुबाले मलाई निरन्तर साथ दिनुभएको छ । कांग्रेसप्रति उहाँको माया छ । बुवाले द्वन्द्वकालमा धेरै दुःख पाउनुभयो । अहिले उहाँ केही अस्वस्थ्य हुनुहुन्छ ।
पारिवारिक अवस्था

अन्य गाउँलेहरुको जस्तै हाम्रो परिवारमा पनि सामान्यतः आर्थिक अभाव थियो । दशैं आउँदा मात्रै मासु खान र राम्रो लगाउने पाउने स्थिति थियो । तर, पैसा नभए पनि, ऋणपान गरेरै भए पनि बुबाले दशैंमा हामीलाई अभाव हुन दिनुभएन ।

घरमा हजुरआमा पनि भएका कारण हाम्रो घरमा दशैंका बेला आफन्तहरुको बाक्लो आवत-जावत हुन्थ्यो । त्यसकारण हामीले अलि जोहो गर्नुपर्ने पनि थियो । मूलघरमा अलि जोहो नै हुन्छ ।

त्यसबेला समाजमा बालिघरे प्रथा थियो । बाली दिने चलन थियो । नदिनेलाई अनिवार्य थिएन । माया, दया गरेर दिने चलन थियो । मेरो समाज र परिवारमा पनि चलेको थियो । जस्तो– विश्वकर्मा, परियार, मिजार लाई मासु, अन्न, खानेकुरा इत्यादि दिने चलन थियो । हाम्रो परिवारले सिलाईको पेसा छोटो सयय गर्नुभएकाले बालिघरे प्रथा गरियो ।

मलाई याद छ, त्यो प्रथा लामो समय गएन । म सानो हुँदा घरमा कपडा सिलाउन आउने, च्यातिएका कपडा टाल्न आउने मानिसहरु मलाई जानकारी छ । तर, पछि त्यो पेसा छाडेर ममीबुबा खेती किसानीतिर लाग्नुभयो । त्यसपछि घरमा त्यो पेसा गरिएन । तर वर्ष–वर्षमा बाली दिएको र लिएको मलाई जानकारी छ ।

मैले स्कुल पढ्दासम्म परम्परागत सीप जानेको थिइनँ । तर, क्याम्पस पढ्न पोखरा जाँदा पढाइलाई अगाडि बढाउन सिलाई पेसा सिकेर थोरै समय पोखरामा काम गरें । रमाइलो हुन्थ्योे । परिस्थितिवस सिकेको थिएँ । आर्थिक रूपमा कमजोर भएपछि मैले यो काम सिक्नुपर्छ भन्ने लागेर सिलाइको मजदुरी गरें । पृथ्वीनारायण क्याम्पसमा आईए, बीए पढ्दा यो काम सिकेर गरें । त्यसले मलाई पढ्न सहज भयो । धन्न सिकेंछु जस्तो लाग्छ । सिप सिकेको राम्रो हो ।

पहिलेको तुलनामा अहिलेको अवस्था राम्रो छ । मेरो गाउँमा बस्ने हाम्रो समुदायका मान्छेलाई मेरो गाउँमा चाडबाड नै मान्न समस्या हुने मान्छे कमै हुनुहुन्छ । दुःख–सुख चलेको छ । कोही भड्किलो रुपमा चाडबाड मनाउन पनि सक्ने हुनुहुन्छ । तर, आर्थिक अवस्था जतिमाथि उठ्नुपर्ने हो, विविध कारणले उठ्न सकेको छैन ।

दलित समुदायको वर्तमान अवस्था

दलित समुदाय अझै पछि परेको अवस्था छ । यसलाई अगाडि बढाउनुपर्छ भनेर पार्टीले सोच्नुपर्ने कुरा हो । राज्यको नीति निर्माण गर्ने तहमा दलित समुदायको प्रतिनिधित्व हुनुपर्छ भन्ने छ । त्यसमा जीवन परियार नै हुनुपर्छ भन्ने होइन ।

राज्य र पार्टीले गरेन भन्ने गुनासो छ नै । त्यसका लागि हामीले निरन्तर पार्टीलाई खबरदारी गर्ने काम गरिरहेका छौँ । गरेका कुरा कार्यान्वयन भए, भएनन् त्यो अलग कुरा हो तर निरन्तर रूपमा आवाज उठाइरहेको छु । अरूले पनि उठाउनुहुन्छ ।

म जुन समुदायबाट प्रतिनिधि छु । यो समुदाय सबै हिसाबमा पछाडि छ । त्यसका लागि मैले निरन्तर आवाज उठाइरहेको छु ।

दलितको मुद्दामा एक हुने कुरामा सबैबीच एकता जरुरी छ । हामीले माइतीघर क्षेत्रमा आन्दोलनमा रहेका खगेन्द्र विश्वकर्माको पक्षमा एक हुनुपर्छ भनेर मेरो पार्टीको महामन्त्री विश्वप्रकाश शर्मालाई समेत लिएर गएको छु । यस्ता मुद्दामा हामी एक छौँ । सुनुवाइ हुन्छ भन्ने अपेक्षा मारेको छैन । पार्टीको बैठकमा पनि यो विषय गम्भीर रूपमा राखेको छु ।

ओली सरकार ढल्दैन

सरकारमा जाने सूचिमा सुरुमा मेरो नाम पनि थियो । उता एमालेबाट छविलाल विश्वकर्मा जीको पनि चर्चा थियो । तर, अन्तिममा कोही परेन । म मन्त्री बन्नका लागि आंकाक्षी थिएँ होला तर किन बनाएन, बनिएन थाहा भएन ।

कुनै एउटा मात्र मन्त्री बनाउने भन्ने कुरा त फरक पार्टी भएकाले थिएन होला कि ? तर, पार्टीले दुबैलाई नचाहेपछि त बन्ने कुरा नै भएन । यसको जवाफ दिने पार्टी नेतृत्वले जान्नुपर्छ । मैले नेताहरूलाई भेटेर कुरा राखें । यसपटक सकिएन, अर्कोपालि गरौँला भन्नुभएको छ । साथीभाइ, मिडिया र शुभचिन्तकले पनि मलाई जिज्ञासा राख्नुभएको थियो तर मसँग जवाफ थिएन । म त्यो सम्झेर बसिनँ पार्टीका काममा लागेँ । धेरै शुभचिन्तकले सरकारमा हाम्रो प्रतिनिधि भएन भनेर गुनासो गर्नुभयो ।

तर, यो सरकार फुट्दैन । सरकार परिवर्तन हुने कुनै लक्षण छैन । सातबुँदे सहमतिअनुसार सरकार अगाडि बढ्छ । बोल्ने बोल्दै गर्छन्, काम हुँदै जान्छ । सरकार तलमाथि हुने कुरा नै छैन । विपक्षीलाई सरकार ढलिहाले हुन्थ्यो भन्ने होला तर कुनै परिवर्तनको सम्भावना छैन ।

संविधान संशोधनको बहस

यसबारे प्रवेश हुन पाएको छैन । असार १७ गते कांग्रेस र एमालेबीच जुनखालको सहमति भएको छ, त्योभन्दा पर गएको छैन । संविधान संशोधन गर्न सबै दलको सहमति आवश्यक छ । सहमति गरेर के–के विषयमा संशोधन हुने भएपछि मात्र हुन्छ ।

सहकारी प्रकरण

यो विषयमा अनुसन्धान हुन्छ । सरकारले निर्णय गरेर प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएपछि गृह प्रशासनले यो काम गर्छ । चलिरहेको छ । कारबाही हुन्छ । दोषी देखिएका व्यक्तिहरूमाथि कारबाही नभए त त्यो सरकारमाथि प्रश्न गर्ने अवस्था भइहाल्छ नि । दोषी देखिएमा कांग्रेस, एमाले, रास्वपा या माओवादी र अन्य पार्टीका नेता सबैमाथि कारबाही हुन्छ ।

प्रतिपक्षलाई सरकार ढाल्ने चिन्ता होला तर यो सरकारले सहकारीको विषयमा जोसुकै व्यक्तिले गैरकानुनी काम गरेका छन् भने पनि कारबाहीको दायरामा ल्याउनुपर्छ र ल्याउँछ । निर्दोष व्यक्ति नपरून् भन्ने पनि छ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ७ : २० बजे

अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा

दैलेख – जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६

हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने

काठमाडौं – वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट

आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान

काठमाडौं– सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को एघारौं पूर्ण

एक महिनामा भित्रिए १ लाख ७२ हजार स्मार्टफोन

काठमाडौं । चालु आर्थिक वर्ष ०८१/८२ को महिनामा नेपालमा ८

एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खर्बपति व्यवसायी तथा सामाजिक