नेपाली सुगम संगीतको सय वर्ष भन्दा लामो इतिहासमा एउटा महत्त्वपूर्ण पात्रका रुपमा रहेका नेपाली संगीत जगतका प्रथम वाग्गेयकार हुन् मित्र सेन थापा मगर ।
वाग्गेयकारको अर्थ हुन्छ । वाक कला र गायन कला भएको एउटा कुशल व्यक्तित्व । वाग्गेयकार भनेर पदवी दिनलाई सुहाउने पहिलो नेपाली कलाकार नै मित्र सेन हुन् ।
उनी गीत लेख्थे । गीतमा संगीत भर्थे र गीत आफैं गाउँथे । तीनै कलाका उनी त्रिवेणी थिए । त्यसबाहेक उनीसँगको अर्को गुण भनेको त्यो गीतमा अभिनय पनि गर्न सक्थे । यस कारण पनि नेपाली संगीत जगतमा पहिलोपटक मास्टर उपाधि पाउने मित्र सेन नै हुन् । उनका धेरै अनेक डटहरु कथा उपकथाहरू छन् ।
‘लाहुरेको रेलिमाई’ पर्यावरणसम्बन्धी विषयका लेखक विजय हितानले लेखेको उपन्यास मित्र सेनको जीवनीमा आधारित छ । कुनै पनि गायक संगीतकार कलाकारलाई पात्र बनाएर लेखिएको त्यो अहिलेसम्मको पहिलो उपन्यास पनि हो ।
मास्टर मित्र सेनको जीवन कथामा आधारित आख्यान हो ‘लाहुरेको रेलिमाई।’ प्रथम विश्वयुद्धको विदारक वर्णन अनि मास्टर मित्र सेनको निजी जीवनमा आएको सुनामीले पाठकको मन मस्तिष्क नै हल्लाउँछ ।
लेखकले लाहुरेको रेलिमाई लेखनमा मेरा आफ्ना सङ्घर्षपूर्ण पूर्व तयारीका कथा छन् । तर, उहाँले मित्र सेनका बारेमा लेख्नु भएको छ, ‘पेसाले मित्र सेन भारतीय गोर्खा लाहुरे थिए । प्रथम विश्वयुद्धमा संलग्न भएर युरोप, मेसोपोटामिया, सिरिया र इराक लड्न पुगे । सैनिक सेवाको निवृत्तिपछि भने सांगीतिक सामाजिक र साहित्यिक गतिविधिमा पूर्णरूपमा समर्पित भए ।’
नेपाली वाङमयमा युद्ध साहित्य नवीनतम विषय हो । दोस्रो विश्वयुद्ध र त्यसताका युद्धलाई लिएर फाट्टफुट्ट पुस्तक प्रकाशन भएका छन् । तर, प्रथम विश्वयुद्ध र वीर गोर्खालीका गाथालाई केन्द्रबिन्दु पारेर युद्ध साहित्य त्यति लेखिएको छैन ।’
जसरी नारायण गोपाललाई मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ बोलको गीतले चिनाउँछ त्यसरी नै मित्र सेनलाई लाहुरेको रेलिमाई बोलको कालजयी झ्याउरे गीतले अमर बनाएको छ । तसर्थ यही गीतलाई मेरो उपन्यासको शीर्षक दिएको हितानले लेखेका छन् । लाहुरेको रेलिमाईमा मित्र सेनले सुरु गरेको शब्द रेलिमाई बाट यो शीर्षक राखिएको छ ।
रेलिमाई शब्दको अर्थ के हो भनेर पनि धेरै पटक गीत संगीतमा चर्चा भए । मित्र सेनले प्रयोग गरेको त्यही शब्दमा पछि प्रशिद्ध संगीतकार शुभबहादुर सुनामले २०४० सालपछि एउटा गीत संगीत गर्नु भयो जसलाई मदन सिंह नेपाली र सुकमित गुरुङले गाउनुभयो । यो ‘हावा यो मौसम अनि यो साँझ रेलिमाई रेलिमाई… भनेर । यो निकै लोकप्रिय भयो सरोज अर्यालको शब्दमा । यस गीतमा पनि रेलिमाईको प्रयोग गरे पनि खास रेलिमाईको अर्थ मान्छेले बुझेनन् वा यसको व्याख्या भएको छैन ।
मित्र सेनले आफ्नो गीतमा ‘लाहुरेको रेलिमाई फेसनै राम्रो’ भनेर प्रयोग गर्नुभएको छ । केही व्याख्याकारहरूले रेलमा चढ्दै गरेको रमाइलोलाई नै उहाँले एउटा अनुकरणात्मक शब्द बनाएर रेलिमाई बनाइएको भन्ने पनि बुझिन्छ । तर, कसैले एउटा मौसमलाई प्रतिकृत गरेर यो शब्द बनाइएको भन्ने पनि बुझिन्छ ।
मित्र सेन थापाको जन्म भारतको त्यतिबेलाको पञ्जाब प्रान्तको भाग्सुको तोतारानीमा भयो । उनका बुबा संगीतका सौखिन थिए । उनको वैवाहिक जीवन नेपालको पाल्पामा भयो । पाल्पामा आएपछि पाल्पाको शीतलपाटीको गीत पनि गाएका छन्।
मित्र सेनको जीवनका धेरै रोचक गीतहरू नेपाल भारतका विभिन्न ठाउँका बारेमा छन् । उनले ठाउँको प्रयोग गरेर गाएको पाइन्छ । जस्तो– एउटा गीतमा सिम्ले र जुम्लेको प्रयोग गरिएको छ । सिम्ले भनेको भारतको सिम्ला हुन सक्छ र जुम्ले भनेको सायद नेपालको जुम्ला हुन सक्छ ।
मित्र सेनले बनाएका युगल गीतहरू ‘अब त कान्छी जाऊ क्यारे घर’ त्यतिकै महत्त्वपूर्ण छ । स्वामी नजाऊ परदेश र मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बहिनीले’ जस्ता गीतमा पनि उनले बुटवललाई बटौलीमा सुका धार्नी मासुको कुरा पनि गरेका छन् ।
मित्र सेनको गीतलाई लिएर नेपालमा जुन किसिमको जागरण र जागृति आयो, त्यो पहिलो र स्मरणीय कुरा हो । तर उनको गीतका कारण भारतको आम सञ्चारमा जब गीत बज्न थाले, त्यो बेला भारतीहरूले ‘झाम्रे’को प्रयोग गर्न थाले । भारतीय सञ्चार माध्यममा पहिलो पटक गोर्खे गीत भनेर बजाउँदा मित्र सेनको गीतलाई ‘झाम्रे’ गीत भनियो । पछि गएर यही झाम्रे नै झ्याउरे भयो । यही गीतलाई नै एउटा लय बनाएरपछि मुनामदन लेख्नुभयो महाकवि लक्ष्मी प्रसाद देवकोटाले ।
मित्र सेनको गायकीको विशेषता भनेको सामान्य जीवनका कुरा पनि टिपेर गीत बनाउन सक्थे । उनको गीतमा नाटक अभिमञ्चन गरेजस्तो पात्रहरूको उपस्थिति पनि हुन्छ र प्रत्यक्ष रूपमा श्रोतासँग ‘कनेक्ट’ गर्न सक्ने उनका गीतहरू बने ।
मित्र सेन गायकका रूपमा नेपाली जन स्थानमा जुन उच्च आकर्षणमा एउटा वाग्गेयकारका रूपमा छन्, त्यो उनको सुरक्षित र सम्मानित स्थान छ । मित्र सेन भारत र नेपालमा दुवैतिर लोकप्रिय कलाकार हुन् । भारतमा पनि उनको तस्बिर अंकित हुलाक टिकट निस्किएको छ र नेपालमा पनि हुलाक टिकट निस्किएको छ ।
भारतमा पनि उनका बारेमा शोधार्थीले पीएचडी गगरेका छन् । नेपालमा पनि त्रिभुवन विश्वविद्यालयबाट शोधार्थीले पीएचडी गरेका छन् । दुवै देशमा पढिने मित्र सेनका गीतहरूको पनि पुनः रेकर्डिङ वा त्यही पुराना गीतलाई अहिले आएको नयाँ प्रविधि वाद्यवादनका साथ रेकर्डिङ गर्न जरुरी छ ।
मित्र सेन चर्चित हुनलाई गायक भएका हैनन् । उनी जागृतिका लागि गायक भएका हुन् । उनी भाषा सम्वद्र्धनका लागि गायक भएका हुन् । उनले गाएका गीतमा पाइने झिल्काहरू नेपालीपनको झलक हो ।
रोपाइँ, खेती, असार, बर्षात, दुःख पीडा र घर बसाइको एक्लोपन अनि लडाइँका कुरा उनका गीतमा पाइन्छन् । उनी स्वयं सेनाबाट निवृत्त भएकाले यी कुराहरू गीतमा आउँछन् । उपन्यासमा लेखकले पनि उद्धृत गरेका छन् कि मित्र सेन त्यतिबेला हिन्दु फौजको २२९७ नम्बरका थापा मित्र सेन नामबाट चिनिन्थे ।
मित्र सेनको गीतको प्रभाव पछिसम्म अरु गायकमा पनि रह्यो । जस्तो– मास्टर्स रत्नदास प्रकाशमा । त्यसैगरी पछि आएका गायकहरूमा कुमार बस्नेत, जैनेन्द्र लामा वा राम थापा शैलीका कलाकारहरूमा पनि मित्र सेनको गायकीको छाप रह्यो ।
प्रयोगकै कुरा गर्ने हो भने नेपालबाट बनेको ऐतिहासिक उपन्यासमा आधारित चलचित्र प्रेमपिण्डमा फिल्मका निर्देशक यादव खरेलले मित्र सेनकै ‘मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बहिनीले’ गीतलाई फिल्मलाई प्रयोग गरेका छन् ।
नीर शाह, सरोज खनाल, सनि रौनियार अभिनित प्रेमपिण्डमा यो गीत पुनः रेकर्डिङ गरिएको छ ।
मित्र सेन आफैं गायक संगीतकार, गीतकार र नाट्य रचनाकार हुन् भने उनका समकालीन मित्रबहादुर सिंह बराल त्यतिकै कुशल गीतकार हुन् । मित्र सेनले कयौँ गीतहरू बहादुर सिंह बरालका पनि गाएका छन् । बहादुर सिंहले आफ्ना गीतहरूको संग्रह बरालको आँसु भनेर प्रकाशन गरेका छन् ।
मित्र सेनका छोरा दिग्विजय सेन भारतमै बसेर गीत गाउन थाले र उहीँ नेपाली भाषाको सेवा समृद्धिमा लागे । बहादुरसिंह बरालका छोरा खड्गजीत बराल नेपालमा आएर प्रहरीको उच्च ओहदामा पुगेर रिटायर्ड भए । उनी नेपाली साहित्य संगीतको पनि बेलाबेलामा सामाजिक सञ्जालमा चर्चा गरिरहन्थे । खड्गजीत बरालले नेपाल प्रहरीमा पोशाकको रंगदेखि लिएर अभिवादन गर्ने शैलीको पनि परम्परा बसाएका थिए ।
मित्र सेनले त्यो समयमा आफ्ना रचना र केही संकलनका गीत पनि गाएका छन् । उनको गीतमा खानेकुराका बारेमा पनि कुरा भएका छन् । मासुको महँगीका कुरा पनि उनका गीतमा पाइन्छन् ।
लाहुरेको फेसनै राम्रो गीतमा रुमालको चर्चा गरिएको छ । त्यो रुमाल हो– कुसुमे रुमाल । कुसुमे रुमालमा त पछि फिल्म नै बन्यो । वा अन्य केही गीतमा पनि कुसुमे रुमालका गीतहरू आएका छन् ।
मित्र सेनले पाल्पाको शीतलेपाटीको गीत गाएपछि त्यही गीत वा त्यही पाटी पछि धर्मराज थापाले गाए । त्यसपछि झलकमान गन्धर्भले गाए । पाल्पासँगको मित्र सेनको कनेक्सन एउटा महत्त्वपूर्ण पक्ष थियो ।
प्रतिक्रिया