तराईबाट सख्खर ल्याएर परम्परा धान्दै टोखाका चाकु व्यवसायी « Khabarhub

तराईबाट सख्खर ल्याएर परम्परा धान्दै टोखाका चाकु व्यवसायी


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको टोखाका चाकु व्यवसायीले तराईबाट सख्खर ल्याएर व्यवसाय धान्दै आएका छन् । माघे सङ्क्रान्ति आउन डेढ महिना बाँकी हुँदा टोखाका उद्योगीहरूले चाकु बनाउन सुरु गरेका छन् ।

टोखा नगरपालिका–२ र ३ मा चाकु बनाउने नेवार समुदायको पुरानो बस्ती छ । टोखा चाकुका लागि प्रख्यात ठाउँ हो । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । कुनैबेला टोखा उखुखेती तथा चाकु उत्पादनका लागि देशमै प्रसिद्ध थियो । तर हाल उक्त ठाउँमा उखुखेती छैन ।

बढ्दो सहरीकरणले टोखा वरपर उखुखेती मासिएको छ । उखुखेती मासिएसँगै उद्योगीले तराईबाट सख्खर ल्याएर चाकु बनाउने पेसालाई निरन्तरता दिएका छन् ।

टोखा परम्परागत चाकु संरक्षण समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर श्रेष्ठ हाल कपिलवस्तुको चन्द्रौटा बजारबाट सख्खर ल्याएर चाकु बनाउँदै आएको बताउँछन् । टोखामा हाल १८ कम्पनीले चाकु उत्पादन गर्दै आएका छन् । विगतमा १४ कम्पनी रहेपनि हाल चाकु उद्योगको सङ्ख्या बढेको हो ।

टोखा परम्परागत चाकु संरक्षण समाजले नयाँ युवालाई चाकु उत्पादनमा प्रोत्साहन गर्नुका साथै विश्वव्यापी बजारीकरणका लागि तीनै तहका सरकारसँग सहकार्य गरिरहेको छ । टोखाको परम्परागत उखु खेतीलाई प्रवर्द्धन गर्न उखुखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम अगाडि सारेको छ ।

टोखामा उत्पादित चाकु असन, इन्द्रचोक, मनमैजु, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिर नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । संस्थापक अध्यक्ष श्रेष्ठ टोखामा उत्पादित चाकु नेपालसहित विदेशमासमेत धेरै माग हुँदै आएको बताउँछन् । टोखामा उत्पादित चाकु जापान, अमेरिका र अष्ट्रेलियालगायतका देशमा बिक्री हुँदै आएको छ ।

टोखाका चाकु उद्योगमा हाल सादा चाकु, मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी टोखामा चाकु स्तम्भ निर्माणका लागि नगरपालिकाले काम गरिरहेको बताए । 

‘टोखा नगरपालिका–२ गलेमा चाकु स्तम्भका लागि डिपिआर निर्माण भइसकेको छ,’ उनले भने।

उनले चाकुलाई नगरपालिकाले अन्तर्राष्ट्रियस्तरमा ‘ब्राण्डिङ’ गर्ने बताउनुभयो । टोखामा उत्पादित चाकु हाल प्रतिकिलो रु १४० देखि १५० सम्ममा बिक्री हुँदै आएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खाने चलन छ । साथै, नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ ।

चाकु चिसो लागेका बेला पनि खाने गरिन्छ । चाकु खाँदा शरीरलाई फाइदा हुनाका साथै रोगसँग लड्ने क्षमता विकास हुने र बालबालिकादेखि बुढाबुढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ६ : ५६ बजे

पोखरा विश्वविद्यालयका चार संकायमा डिन नियुक्तिका लागि आवेदन आह्वान

पोखरा – पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाका आधारमा डिन

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक