विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

आज पुस २८ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जनवरी १३, २०२४ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

चीनले ‘खतरनाक पृथकतावादी’ को संज्ञा दिएका व्यक्ति बने ताइवानको नयाँ राष्ट्रपति
ताइवानमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी डीपीपीका उम्मेदवार लाई चिङ त निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा यसअघि उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएको लाई विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वीहरु कुओमिङतान पार्टीका उम्मेदवार होउ यु इह र ताइवान पिपुल्स पार्टीका उम्मेदवार को वेन जेलाई पराजित गरे । दुबै उम्मेदवारले आफ्नो पराजय स्वीकार गरिसकेको रोयटर्सले जनाएको छ ।

लाई पृथक ताइवानी पहिचानको समर्थक रहेको बताइन्छ । चीनले भने लाईलाई ‘खतरनाक पृथकतावादी’ को संज्ञा दिँदै ताइवानले स्वतन्त्रताको घोषणा गरेको खण्डमा त्यसले युद्ध निम्त्याउने चेतावनी दिँदै आएको छ ।

लाईले शान्ति र यथास्थितीलाई जोगाउन आफू दृढ रहेको बताउने गरेका छन् ।

चीनको कोइला खानीमा ग्याँस विस्फोट, दश जनाको मृत्यु
चीनको हेनान प्रान्तस्थित कोइला खानीमा शनिबार भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । छ जना बेपत्ता भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

दुर्घटना कोइलाखानीमा ग्याँस विस्फोटको कारण भएको र खोजी तथा उद्धार कार्य जारी रहेको सीसीटीभीले जनाएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले विस्फोट हुँदा ४२५ जनाले भूमिगत काम गरिरहेको बताएको छ ।

खानीको जिम्मा लिनेहरूलाई अधिकारीहरूले हिरासतमा लिएको सिन्ह्वाले जनाएको छ । चीनमा खानी सुरक्षा पछिल्लो दशकहरूमा सुधार भएको बताउने गरिएको छ ।

यद्यपि, कमजोर सुरक्षा व्यवस्थाका कारण उद्योगमा दुर्घटनाहरू अझै भइरहन्छन् । आधिकारिक तथ्यांक अनुसार २०२२ मा १६८ दुर्घटनामा २४५ जनाको मृत्यु भएको थियो ।

गत महिना उत्तरपूर्वी हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भागमा भएको खानी दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।

नोभेम्बरमा सोही प्रान्तको अर्को कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । यसैगरी, सेप्टेम्बरमा, दक्षिणपश्चिम चीनको कुइझोउ प्रान्तमा कोइला खानीमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।

कोलम्बियामा पहिरोमा परी १८ जनाको मृत्यु
कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा गएको पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

मेडेलिन र क्विब्दो शहरलाई जोड्ने सडकमा पहिरोले क्षति पुर्‍याएपछि यहाँको यातायात सेवा अवरुद्ध बनेको चोको क्षेत्रको स्थानीय प्रशासन कार्यालयका एक अधिकारीले एएफपीलाई बताए । ‘कार्मेन डे अट्राटो नगरपालिका नजिकै ‘एउटा घरमा आश्रय लिन’ धेरै मानिसहरू आफ्नो गाडीबाट झरेका समय दुर्भाग्यवश पहिरो आएर उनीहरू पुरिएका छन्,’ अधिकारीले भने ।

उपराष्ट्रपति फ्रान्सिया मार्केजले करिब ३० जना घाइते भएको बताएका छन् । कारमेन डे अट्राटोका मेयर जैमी हरेराले स्थानीय टिभी स्टेसन काराकोललाई बताएअनुसार पहिरोमा परी मानिसहरु गम्भीर घाइते भएका छन् भने अझै पनि अन्य केही पहिरोमा फसेका छन् । सामाजिक सञ्जाल र टेलिभिजन च्यानलमा सार्वजनिक भएका तस्बिरमा हिलो र पहिरोका कारण कारहरु ध्वस्त भएको देखिएको छ । प्रशान्त महासागरसँग सीमा जोडिएको र विशाल उष्णकटिबन्धीय वन रहेको चोको क्षेत्रमा विगत २४ घण्टामा भारी वर्षा भएको छ ।

कोलम्बिया खडेरीको अवस्थाबाट गुज्रिरहेको बेला जल, मौसम तथा वातावरण अध्ययन इन्स्टिच्युटले यसअघि प्रशान्त र अमेजनको सिमानामा रहेका विभिन्न क्षेत्रमा भारी वर्षाको जोखिमबारे चेतावनी दिएको थियो ।

महासचिव गुटेरेसद्वारा मोगादिसु विमानस्थल हमलाको निन्दा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार राति मोगादिसुको एडन एडे अन्तरराष्ट्रिय विमानस्थलमा भएको आक्रमणको निन्दा गरेका छन् । सो हमलामा युगाण्डास्थित संयुक्त राष्ट्रसंघ गार्ड युनिटका एक जना सदस्यको मृत्यु भएको उल्लेख गर्दै कडा निन्दा गरेका छन् ।

‘महासचिवले हिजो मोगादिसुको एडेन एडे अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा भएको आक्रमणको कडा निन्दा गर्नु भएको छ,’ महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ। महासचिव गुटेरेसले पीडितका परिवार, सहकर्मी, सरकार र युगान्डाका जनताप्रति गहिरो समवेदना व्यक्त गर्नु भएको छ। उनले संयुक्त राष्ट्रसंघका कर्मचारीहरू र परिसर विरुद्ध गरिने सबै प्रकारका आक्रमणहरू अन्तर्राष्ट्रिय कानूनद्वारा निषेधित रहेको सबै पक्षलाई स्मरण पनि गराए ।

गुटेरेसले ‘आतंकवाद विरुद्धको लडाइँमा सोमालियाको सरकार र जनतालाई संयुक्त राष्ट्रसंघको पूर्ण ऐक्यबद्धता र समर्थन’ रहेको उल्लेख गरेका छन् । उनले सोमालियालाई ‘स्थिर, सुरक्षित र समृद्ध देश’ बन्ने बाटोमा सहयोग गर्ने राष्ट्रसंघको प्रतिबद्धता पनि दोहोर्‍याए ।

यमनमा अमेरिकी हमला जारी
हुथी विद्रोहीविरुद्ध सैन्य अभियान जारी रहँदा यमनमा अमेरिकाले यमनमा आक्रमणलाई निरन्तरता दिएको छ । पछिल्लो आक्रमणमा अमेरिकी लडाकु विमानले हुथी विद्रोहीले प्रयोग गर्ने रडार प्रणालीलाई निशाना बनाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । गाजा क्षेत्रमा इजरायलले हमास लडाकुविरुद्ध सैन्य कारवाही गरेसँगै हमासको समर्थनमा हुथी विद्रोहीले लाल सागर भएर ओहोर दोहोर गर्ने जहाजलाई लक्षित गरी हमला गर्दै आएका छन् ।

लाल सागर भएर ओहोर दोहोर गर्ने जहाजलाई लक्षित गरी हुथी विद्रोहीले आक्रमण तीव्र पारेसँगै गत बिहीबारबाट अमेरिका र बेलायतले संयुक्त रुपमा पनडुब्बी, लडाकु विमान र युद्धपोतले सैन्य अभियान सञ्चालन गरेका हुन् । हुथी विद्रोहीसम्बद्ध अल माशिरा टेलिभिजनले जनाएअनुसार अमेरिकी र बेलायती सेनाले राजधानी सानालाई लक्षित गरी हमला गरेका छन् । त्यसबाहेक यमनको तेस्रो ठूलो सहर ताइज र बन्दरगाह सहर होदेइदामा पनि आक्रमण भएको बताइएको छ ।

लाल सागरमा तैनाथ अमेरिकी युद्धपोत ‘कार्ने’ बाट प्रहार गरिएका तोमाहक क्षेप्यास्त्रले आक्रमण गरिएको अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले जनाएको छ । स्थानीय समयअनुसार शनिबार सबेरै गरिएको आक्रमणले ‘व्यवसायिक तथा अन्य जहाजमाथि आक्रमण गर्ने हुथी विद्रोहीको क्षमतालाई घटाइदिने’ अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले जनाएको छ ।

हुथी विद्रोहीले आक्रमणको बदला लिने चेतावनी दिएपनि अमेरिकी राष्ट्रपति जो बाइडेनले लाल सागरमा जहाजलाई लक्षित गरी आक्रमण नरोकेसम्म थप आक्रमण गर्ने दृढता व्यक्त गरेका थिए । ‘उनीहरुले यस्तो निर्लज्ज हर्कत नरोकेसम्म हामीले हुथीविरुद्ध कदम चाल्नेछौँ ।’ बाइडेनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अमेरिकी प्रशासन ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले प्रारम्भीक हमलाले हुथी विद्रोहीको ड्रोन र क्षेप्यास्त्र भण्डारण गर्ने, प्र्रक्षेपण गर्ने र दिशा निर्देश गर्ने क्षमतालाई लक्षित गरिएको जानकारी दिएका छन् । अमेरिकी रक्षा प्रशासन पेन्टागनले आक्रमणले २८ स्थानमा ६० निशानालाई लक्षित गरी हमला गरिएको जानकारी दिएको छ । हुथी विद्रोहीले यस हमलामा आफ्ना ५ जना लडाकु मारिएको पुष्टि गरेको छ । त्यसैगरी लाल सागरमा जहाजमाथिको हमला नरोकिने पनि हुथी विद्रोहीले चेतावनी दिएका छन् ।

कोभिड-१९ को जोखिम निरन्तर बढ्दो : डब्ल्यूएचओ
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड-१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताएका छन् ।

अध्ययनका अनुसार कोभिड–१९ को पुष्टि गरिएका घटनाहरू सार्वजनिक भएभन्दा दुई देखि १९ गुणा बढी भएको महामारी तथा सङ्क्रमण रोकथामका लागि जिम्मेवार विश्व स्वास्थ्य संगठनका अन्तरिम निर्देशक मारिया भान केरखोभले विशेष विश्लेषणमा बताएका हुन् ।

कोभिड–सम्बन्धित मृत्युमा ठूलो कमी आएको भएता पनि ५० देशबाट अझै पनि प्रति महिना करिब दश हजारको मृत्यु हुने गरेको रिपोर्ट गरिएको छ ।

भ्यान केरखोभले भाइरसको विकसित प्रकृतिको बारेमा चिन्ता व्यक्त गर्दै कोभिड–१९ को पछिल्लो संस्करणले विश्व स्वास्थ्य सङ्गठनद्वारा विश्लेषण गरिएको विश्वव्यापी अनुक्रमहरूको लगभग ५७ प्रतिशत प्रतिनिधित्व गर्ने बताएका छन् ।

विशेष मापदण्डद्वारा परिभाषित, गम्भीर थकान, फोक्सोको कमजोरी, न्यूरोलोजिक समस्याहरू, र रोगको तीव्र चरणपछि चार देखि १२ महिना वा सोभन्दा लामो समयसम्म रहिरहने हृदयघातजस्ता लक्षणसहित, कोभिडपछिको अवस्था चिन्ताको विषय भएको उनले बताए ।

डिसेम्बर २०२३ को अन्त्यसम्ममा ७० लाखभन्दा बढी कोभिड–१९ सङ्क्रमण पछि मृत्यु भएको विश्व स्वास्थ्य सङगठनले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ८ : ०० बजे

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ