राप्ती बस दुर्घटनाका घाइते भन्छन् : भाग्यले बाँच्यौँ | Khabarhub Khabarhub

राप्ती बस दुर्घटनाका घाइते भन्छन् : भाग्यले बाँच्यौँ


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

बाँके – “लमहीमा खाना खाएर बस चढेपछि म निदाएछु, ब्युझिँदा अस्पतालको बेडमा थिएँ । दुर्घटना भएर उद्धार गर्दासम्म मैले केही थाहा पाइनँ”, कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको शय्याबाट बाँके नरैनापुरका नफिस बेहेनाले पीडा सुनाए ।

नरैनापुर गाउँपालिका–३ बालापुरका १९ वर्षीय बेहेना वैदेशिक रोजगारीका सिलसिलामा कतार जाने तयारीस्वरुप स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जाँदै थिए । तर दुर्घटना कुन बेला र कसरी भयो तथा कसरी उद्धार भयो भन्ने उनलाई केही थाहा छैन । दुर्घटनामा परी नफिसको देब्रे हात, ढाड र मुखमा चोट लागेको छ ।

सोही दुर्घटनामा परी घाइते भएका बसका सहचालक शङ्कर थारू पनि सोही अस्पतालमा उपचाररत छन् । थारूले चालक लालबहादुर नेपालीले भालुवाङमा रहेको प्रहरी ‘इन्ट्री पोस्ट’मा दर्ता नगरी तीव्रगतिमा बस कुदाएपछि दुर्घटना भएको बताए ।

“भालुवाङस्थित प्रहरीको इन्ट्री पोस्टमा दर्ता गर्ने ठाउँमा आइपुग्दा रातिको त्यस्तै साढे १० बज्नै लागेको थियो । हामीभन्दा अगाडि अर्को गाडीको दर्ता हुँदै थियो, गुरुजीलाई अल्छी मान्नुभयो कि के हो, उहाँले बस नरोकी अगाडि कुदाउनुभयो”, सहचालक थारूले भने, “कुदाउने क्रममा बस अनियन्त्रित भइ नदीमा खस्यो ।”

बस नदीमा खस्दा आफू होसमै रहेको थारूले बताए । “म क्याबिनमै थिएँ । बस एक्कासी नदीमा खस्यो । त्यतिबेला मलाई खासै चोट लागेको जस्तो त लागेको थिएन । तर नदीबाट बाहिर आएपछि भने श्वास फेर्न गाह्रो भयो”, अघिल्लो रातको घटना सम्झँदै उनले बताए। बस नदीमा खसेको केहीबेरमै यात्रुको उद्धार सुरु भएको उनले सुनाए । सहचालक थारूले चालक लालबहादुर नेपालीको मापसे तथा लापसे सेवन गर्ने बानी नरहेको दाबी गरे ।

दुर्घटनामा परी घाइते भएकी भारत बहाराइच जिल्लास्थित रुपैडिहा मटेराकी २० वर्षीया छोटी पथ्थरकट्टाको पनि कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उनी श्रीमान् राहुल पथ्थरकट्टा र बाबु चेतराम पथ्थरकट्टासँगै काठमाडौँमा रहनुभएकी दिदी सङ्गीता पथ्थरकट्टालाई भेट्न जाँदै थिए ।

“म श्रीमान् र बुवा तीनजना दिदीलाई भेट्न काठमाडौँ जाँदै थियौँ । काठमाडौँमा जाडोयामभर सिलौटा र झाटो बेच्ने र केही पैसा कमाएर घर फर्कने भनेर दिदी भिनाजुसँग हाम्रो कुरा भएको थियो, दुर्घटनामा हामी भाग्यले बाँच्यौँ”, छोटी पत्थरकट्टाले भने ।

नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस गए राति दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइतेमध्ये १३ जनालाई उपचारका लागि कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ल्याइएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले १३ जनामध्ये पाँच जना उपचारपछि घर फर्किसक्नुभएको छ भने आठजनाको उपचार जारी छ । घाइतेमध्ये कालीकोटका तिलकप्रसाद उपाध्यायको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

दुर्घटनापछि घाइतेलाई पाँचवटा एम्बुलेन्समार्फत राति नै सो अस्पतालमा ल्याइएको थियो । सल्यान निवासी २८ वर्षीय बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १० : २२ बजे

अब पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्रको व्यवस्था गरिने

काठमाडौं – पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण

डलर बढ्यो : बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

लिभरपुल च्याम्पियन्स लिगको दोस्रो चरणमा

काठमाडौं – लगातार सातौँ खेलमा जित हात पार्दै लिभरपुल युरोपेली

बेनफिकासँग दुई गोलले पछि परेको बार्सिलोनाको सनसनीपूर्ण जित

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको मंगलबार भएको सनसनीपूर्ण खेलमा बार्सिलोनाले

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल माघ ९ गते बुधबार माघ