कोरिया-नेपाल मोडेल डेरी भिलेज उद्घाटन « Khabarhub

कोरिया-नेपाल मोडेल डेरी भिलेज उद्घाटन


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका–५ मा कोरिया–नेपाल मोडेल डेरी भिलेजको उद्घाटन गरिएको छ । नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्तरुपमा उक्त भिलेजको आज उद्घाटन गरे। 

भिलेज उद्घाटनको अवसरमा किसानलाई नेपालमा पहिलोपटक जन्मिएको होलिस्टाइन जातको बाच्छी हस्तान्तरण गरिएको छ । गत वर्ष पुसमा हेफर इन्टरनेशनल नेपालको सहयोगमा यहाँका ५० परिवारलाई  होलिस्टाइन जातका गाई वितरण गरिएको थियो । 

सोहीमध्ये गुणकुमारी घिमिरेले पालेको होलिस्टाइन जातको गाईले जन्म दिएको ‘गाम्सा’ नामक बाच्छी कोरियाली राजदूत योङ, मन्त्रालयका सचिव पौडेललगायतको उपस्थितिमा किसान उमा सुवेदीलाई हस्तान्तरण गरिएको हो । सो अभियानअन्तर्गत होलिस्टाइन जातका गाई प्राप्त गर्ने किसानले पहिलो बेतको बाच्छी उपहारस्वरूप अन्य किसानलाई दिनुपर्ने नियम छ । 

कोरियाली राजदूत योङले होलिस्टाइन जातको बाच्छी हस्तान्तरण र मोडेल डेरी भिलेज उद्घाटनका अवसरमा सहभागी हुन पाउँदा खुसी लागेको भन्दै सफलताको कामना गरे। 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा पौडेलले मोडेल डेरी भिलेज एक वर्षको मेहनतको फल भएको उल्लेख गर्दै आगामी दिनमा सामूहिक सहकार्यमा जोड दिएर अघि बढ्न सुझाव दिए। होलिस्टाइन गाईबाट उत्पादन हुने दूधको बजारीकरण लगायतका लागि मन्त्रालय सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । 

कमलामाई नगरपालिकाका प्रमुख पोखरेलले होलिस्टाइन जातको गाईपालन विस्तार गर्दै लैजाने र उत्पादित दूधलाई बजारीकरणका लागि नगरपालिकाले सहजीकरण गर्ने बताए । 

कमलामाई–४ र ५ मा हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सिन्धुली एकीकृत विकास सेवा नेपाल र लाभान्वित समुदायको सहकार्यमा दुग्ध क्षेत्र रुपान्तरण परियोजना सञ्चालन गरिएको हो । नेपाल सरकार र हेफरको माग तथा सक्रियता, कोरिया सरकार तथा हेफर कोरियाबाट नेपालको दुग्ध क्षेत्र रुपान्तरण गर्ने उक्त परियोजना गत आर्थिक वर्ष २०७९-८० देखि सुरु भएको हो ।

दुग्ध क्षेत्र रुपान्तरणका लागि कोरियाले नेपाल सरकारलाई प्रतिबेत १० हजार लिटरसम्म दूध उत्पादन क्षमता भएका गाईबाट जन्मेका एक सय शुद्ध होलिस्टाइन कोरली बाच्छी र आठ उच्च प्रजननमान भएका होलिस्टिन बहर उपलब्ध गराएको थियो । सोमध्ये कमलामाई नगरपालिकाका ५० किसानलाई ८० गाई वितरण गरिएका थिए । 

 हाल ५० परिवारमा ती गाई वितरण गरिए पनि आगामी पाँच वर्षमा पाँच सय किसानलाई ती कोरली गाई वितरण गरिने छन् । कोरिया सरकारले गत वर्ष पुसमा एक सय बाच्छी र आठ बाच्छा उपलब्ध गराएको थियो । कृषि मन्त्रालयले बाच्छालाई चितवन, लहान, पोखरालगायत बिर्य उत्पादन केन्द्रमा पठाएको थियो भने ८० गाई किसानलाई वितरण गर्न सिन्धुली पठाएको थियो । 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ३ : ५८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर