'घर-घर चाहारेर एमाले हामीसंग मिल्न खोजिरहेको छ' | Khabarhub Khabarhub

‘घर-घर चाहारेर एमाले हामीसंग मिल्न खोजिरहेको छ’



प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तामा काँध फेरेसंगै अघिल्लो गठबन्धनमा सुपरग्लुको भूमिका निर्वाह गरेको एकीकृत समाजवादीको भावी यात्रा बारे धैरैमा कौतुहल थियो । प्रचण्ड र शेरबहादुर देउवालाई मुलुकको कार्यकारी बनाउन पार्टी फोर्ने सम्मको अप्रिय निर्णय लिएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि पछिल्लो समय पार्टी पंक्तिभित्र पछि हट्ने भन्दा अघि बढ्ने दबाब थियो । अन्ततः एकीकृत समाजवादीले पछिल्लो गठबन्धनमा काँध फेर्ने प्रचण्डको निर्णय स्वीकार्ने निधो लियो ।

पछिल्लो गठबन्धन बन्दा चार दलले हस्ताक्षर गरेको प्रतिवद्धता प्रस्तावमा आफ्नो नाम अटायो । राष्ट्रिय सभा अध्यक्ष पदको चुनावमा सत्तारुढ गठबन्धनका प्रत्याशी नारायण दाहाललाई मतदानको ह्वीप जारी गर्‍यो । यति हुँदाहुँदै पनि एमाले अध्यक्ष केपी ओलीको दपेटाई सहन नसकेर अर्को पार्टी खोलेका नेपालका लागि पछिल्लो रसायन कति दिगो होला ?

ओली र प्रचण्डप्रति संशय राख्ने कार्यकर्ताहरूलाई पार्टीले थामथुम पार्न कस्तो रणनीति अपनाउला ? समाजवादीको पछिल्लो निर्णयमा सत्तालिप्साको गन्ध कतिको छ ? नयाँ गठबन्धन बन्दा नबन्दै सरकारको स्थायित्वका विषयमा उठेका अनेकानेक प्रश्नका विषयमा नेकपा एसका नेता विरोध खतिवडासँग रेडियो क्यान्डिडका लागि कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश  :

नयाँ गठबन्धनको निर्णय सार्वजनिक हुनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल, पानी बाराबारको अवस्थामा रहेका एमाले अध्यक्ष केपी ओली नै गएर नेपाललाई भेटेपछि उहाँको मन पग्लिएर सत्तारुढ भइसक्नुभयो । भेटमा नेपालले पार्टी फोरेर गल्ती गरेको भन्दै भावुक हुनुभयो भन्ने खबर बाहिर आएको छ । एकीकृत समाजवादीको अवस्था त्यति कमजोर भइसकेको हो ?

अवस्था ठ्याक्कै उल्टो हो । दौडेर गएर ढोका ढोकामा पुगेर रुवाबासी कसले गरेको भन्ने त प्रस्टै देखिएको छ नि । हामीलाई अलग पार्टीको हैसियतबाट व्यवहार गर्नुपर्‍यो । अलग ढंगबाट सम्झौता हुनुपर्‍यो भन्ने हाम्रो अडान हो । अर्काले गरेको सम्झौता नीतिमा लतारिएर हिँड्ने पार्टी नेकपा एस हैन । एमाले हामीसँग मिल्न खोजिरहेको छ र त घर घरमा चाहारेर आयो । हामी त घरमा बसेर आनन्दले आफ्नो पार्टी चलाइराखेको छौँ नि ।

पार्टीभित्रको उकुसमुकुस तपाईँहरूले धान्न नसकेपछि एस लतारिएर सरकारमा आयो भन्ने त तपाईँहरू कै नेताहरूले टीकाटिप्पणी गर्दै आएका छन् नि त ?
हाम्रो पार्टीमा कुनै पहिरो गएको छैन । अहिले पनि मेरो जिल्लामा एमालेसंगै अन्य पार्टीमा रहेका सयजना युवा नेकपा एसमा प्रवेश गर्दै छन् । निर्वाचनबाट आएको परिणाम हामी मान्छौँ । हामीले २१ ठाउँमा उम्मेदवारी दिएकोमा एक ठाउँ रद्द भयो । २० मध्ये १० ठाउँ हामीले जित्यौँ । ५० प्रतिशत उम्मेदवार जितेको अरु कुन पार्टी छन् । ?

यो संसदीय अभ्यासमा को सत्ता पक्ष र को प्रतिपक्ष ?
अरूले पाएको भोट उसले पाएको र हामीले पाएको भोट अर्काको हो त ? संसदीय व्यवस्थामा संसद्को अङ्कगणित ठूलो हो । त्यो अङ्कगणित मध्ये प्रतिनिधि सभामा १० सिट लिएर बसेका छौं ।

राजनीतिमा आफ्नो पार्टीको बखान गरिरहँदा निष्ठा र नैतिकताको कसीमा को बाँधिनु पर्ने हो ?
हामी बाँधिएका छौँ । अरु पार्टीले पनि बाँधिनु पर्छ । माओवादीले देखाएको व्यवहारलाई दुनियाँले सहजसंग लिएका छैनन् ।

हिजो केपीको निरंकुशतको विरुद्धमा उभिनु पर्छ आउनुहोस् भनेर तपाईँहरूलाई उक्साइदिए आज उतै गएर उभिए । तपाईँहरू पनि लतारिएर जानुभयो । तटस्थ बस्ने ठाउँ त बाँकी थियो नि हैन र ?
सरकार निर्माण, पार्टी एकता र पार्टी सञ्चालनका विषय नितान्त फरक विषय हुन् । प्रचण्डको पालामा पनि कांग्रेस जसरी पस्यो, हामी पनि त्यसरी नै  पस्यौँ । अरुको प्रक्रिया पनि त्यही थियो । अहिले प्रचण्डकै पालामा आफू स्वतन्त्र हैसियतले पसेका छौं । एमाले आफ्नो स्वतन्त्र हिसाबबाट पसेको छ । त्यसैले यसमा पार्टीको लेनादेना छैन ।

प्रचण्डको नेतृत्वमा हामी पनि अहिले सहकार्य गठबन्धन गरी सरकार नबन्ने र प्रचण्डले देश र जनताको लागि राम्रो काम गर्छु भनेको हुनाले त्यसमा हामी पनि प्रवेश गर्‍यौँ । त्यसैले यो सबैमा पार्टी एकतामा लगेर जोड्नु हुँदैन । हिजो माधव नेपालको नाम मुखमा आयो भने नि मुख कुल्ला गर्छु भन्ने केपी ओली अहिले कोटेश्वर पुगे भन्ने कुरा पार्टी एकताका बेलामा गर्ने प्रश्न हुन् ।

पार्टी एकता हुने भयो, पार्टीमा एमाले र समाजवादी मिल्ने प्रक्रियामा गृहकार्य भइरहँदा यी सबै कुरा ल्याउनु पर्छ । अहिले देशमा एउटा सरकार चाहिन्छ । जुन प्रचण्डको नेतृत्वमा बनेको छ । त्यसलाई स्वाभाविक बहुमत चाहिन्छ । एउटा पार्टीमा बहुमत पुग्ने भएकाले मौखिक प्रस्ताव हामीलाई राख्नु भएको थियो । हामीले लिखित प्रस्ताव माग्यौं । त्यसैमा सहमति बनेको हो ।

कम्युनिस्ट वर्चस्वको सरकार बनेको छ । यसलाई निरन्तरता दिने वा कम्युनिष्ट एकता अभियानको रोडम्याप फेरि कोर्न सम्भव छ ?
त्यसका लागि सर्वप्रथम आफ्नो आफ्नो स्तर अनुसारको गल्ती स्वीकार गर्नु पर्‍यो । संविधान उलंघन गर्दै सरकार भंग हामीले गरेका हैनौँ । सर्वोच्च अदालतले फैसला गरेपछि फेरि भंग माधव नेपालले गरेको हैन नि । त्यसको गल्ती नेपालको भागमा पर्ने हैन होला ।  त्यसबाट उब्जिएको तरंगले उहाँहरु पार्टी फोर्ने सम्मको तहमा पुग्नु भयो ।

पार्टी विभाजन गल्ती हो भन्ने लागेको छ ?
सँगै हिँडेको मान्छे दुई तिर हिँड्दा त गल्ती हुन्छ भने बल्ल बल्ल बनाएको सिङ्गो दुई तिहाइमा पुगेको एकीकृत पार्टीलाई तहसनहस पार्नु त गल्ती नै हो । त्यही भएर यसरी बस्यौँ भने कम्युनिस्ट आन्दोलन पनि सकिन्छ । राजनीति जोगाउन हामी अलग हुनु पर्छ भनेर हामी छुटेका हौँ । अब यसले दुई फाइदा भयो । उनीहरू पनि कम्युनिष्टको विधि विधान अनुसार हिँड्न थालेको देखिन्छ । सबैको सम्मान गर्न थालेको आभास मिल्छ । हिजो असनको साँढे जस्तो मनमत्त भएर अरु कोही  छैनन् सबै म भन्ने अहिले रुवाबासी गर्दै हिँड्नु परेको छ । यतिबेला सबैले आफ्नो पार्टी बलियो बनाउन लागि पर्ने हो ।

अहिले राष्ट्रिय सभाको निर्वाचन पछिको राजनीतिक घटनाक्रमले अर्को समीकरणको सम्भावना आमन्त्रण गर्छ ?
जनताले ५ वर्षको लागि म्यान्डेट दिएर पठाएका हुन । बहुमत भएसम्म सरकार बनाउन सर्वोच्चको आदेश छ । संविधानका कयौँ धाराहरू प्रयोग गर्न बाँकी छ । त्यसकारण सरकार बिनाको मुलुक हुँदैन । र अहिले चुनावमा जान कुनै पनि पार्टी तयार हुँदैनन् ।

अहिलेको संसद्को संरचनाले जे पनि हुन सक्छ । अंकगणितको खेल हो ५० प्रतिशत जसले नघायो उसले सरकार बनायो । त्यसैले त्यो गणित पुगे सम्म चुनाव हुँदैन र जुन दिन गणित पुग्न बन्द हुन्छ । त्यस दिन चुनाव हुन्छ ।

पुराना राजनीतिक पार्टीले अंकगणितको खेल गर्दागर्दै नयाँ शक्तिले राजनीति सक्ने भए त ?
नयाँ पनि त राजनीतिक खेलकै सहयात्री हुन । उनीहरू पनि संसदको १३८ पुर्‍याउने खेलबाट नै आउने हुन । २० भएकोले ११० थप्नु पर्‍यो । ११० मा २० थप्न त सजिलो होला तर यहाँ २० मा ११० थप्ने हो ।

अहिलेको गठबन्धनमा खटपट आउनुको कारण तपाईँहरूको पार्टीबाट सरकारमा गएर प्रकाश ज्वालालाई देखाइयो, सरकारमा रहँदाका दिनको समीक्षा गर्दा के लाग्छ ?
यो कुरा बितिसक्यो । पार्टीको आन्तरिक जीवनमा जे गर्न पर्ने गरौँला । पार्टीमा समीक्षा गर्नु पर्छ र हामीले गरिरहेका छौं ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ४ : २७ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको