प्रचण्डको भवितव्य : गुमेको आत्मविश्वास, उधारो विश्वास | Khabarhub Khabarhub

प्रचण्डको भवितव्य : गुमेको आत्मविश्वास, उधारो विश्वास


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 8 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार प्रतिनिधिसभामा अंकगणितीय हिसाबले सरकार टिकाउने विश्वासको मत बटुले । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री दाहालले १५७ मत पाए, विपक्षमा ११० मत खस्यो । दाहालले पाएको यो मत सरकार टिकाउनका लागि पर्याप्त छ ।

तर, संसदमा प्रधानमन्त्री दाहालको भाषण सुन्दा उनले आफ्नो आत्मविश्वास चाहिँ गुमाएको पाइयो । आफ्नो नेतृत्वको सरकार एकाध वर्ष टिक्न सक्छ भन्ने आत्मविश्वाससमेत गुमाएका प्रधानमन्त्री दाहालले देशका लागि कस्तो ‘परफरमेन्स’ देलान् ? गम्भीर प्रश्न उठेको छ । संसदमा उनको प्रस्तुति सरकारका भावी योजनातर्फ हैन, विगत र वर्तमानको कुण्ठा प्रकट गर्नेतिर केन्द्रित रह्यो ।

भनिन्छ ‘मोराल’ खस्केको सेनाले लडाइँ जित्दैन । लडाइँ जित्नका लागि उच्च नैतिक बल र आत्मविश्वास चाहिन्छ । लडाइँको उद्देश्य र लक्ष पनि स्पष्ट हुनुपर्छ । तर, प्रधानमन्त्री दाहालको मनोबल गम्भीर रुपमा खस्केको पाइयो । सरकारको उद्देश्य र योजनामा पनि प्रधानमन्त्री दाहाल स्पष्ट देखिएनन् ।

अझ विडम्बना त के देखियो भने प्रचण्डलाई विश्वासको मत दिने दल र सांसदको संख्या मात्रै घटेन, विश्वासको मत दिने दलकै नेताहरुले प्रधानमन्त्रीमाथि अविश्वास र आपत्ति प्रकट गरे ।

प्रधानमन्त्री दाहालले संसदमा सिके राउत नेतृत्वको जनमत पार्टीको विश्वास पाएनन् । हिजोको सहयात्री राष्ट्रिय जनमोर्चाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएन । जसपा र एकीकृत समाजवादीले विश्वासको मत दिए पनि त्यो उधारो र शर्तसहितको रह्यो । प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी आफैंमा दुईलाइन संघर्षमा रहेकाले कतिबेला फिर्ता हुन्छ ठेगान छैन । यो स्थितिमा प्रधानमन्त्रीले जसपा, एकीकृत समाजवादी र उन्मुक्ति पार्टीबाट खुकुलो समर्थन मात्रै पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री पाएको मौकामा प्रधानमन्त्रीलाई समर्थन जनाए पनि उसको पार्टीभित्र सरकार बाहिरै बसेर मिसन ८४ को तयारी गर्नुपर्छ भन्ने कार्यकर्ताहरुको चर्को दबाव छ । त्यो दबावको बेवास्ता गरेर लामिछाने धेरै समय सरकारमा टिकिरहने र बदनामीको भारी बोकेर आगामी चुनावको भोट घटाउनतिर लागिरहलान् भन्ने स्थिति छैन ।

विपक्षी बेञ्चमा बसेका कांग्रेस, राप्रपा, जनमोर्चा, लोसपा वा नेमकिपाले त प्रधानमन्त्री दाहालको आलोचना गर्ने नै भए, स्वयं विश्वासको मत दिने जसपा, एकीकृत समाजवादी जस्ता दलहरुले समेत प्रधानमन्त्री दाहालप्रति गहिरो संशय प्रकट गरे । यसले के देखाउँछ भने प्रधानमन्त्री दाहालले संसदमा जुन विश्वासको मत पाएका छन्, त्यो पनि पूर्णरुपमा उधारो विश्वास हो ।

संसदमा प्रधानमन्त्री दाहालको प्रस्तुती केहीबेरपछि सुनौंला, त्यसअघि प्रतिनिधिसभामा १० सिट रहेको र विश्वासको मत दिएको दल एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले दाहालविरुद्ध बोलेको आक्रामक प्रतिक्रिया पढौं–

गठबन्धन बदलिइसकेको छ । चार दलले हस्ताक्षर गरेका छन् । हामी एकीकृत समाजवादी यो देशको संविधानको रक्षाका लागि, पार्टीभित्र जन्मेको व्यत्तिवादका विरुद्धमा उत्रेर, विद्रोह गरेर आएको शक्ति हो । आफैंले बनाएको पार्टी तोडेर बिष पिएर हामी तपाईहरुको पासमा थियौं । हामीलाई बाटामा छाडेर, बगरमा खोलाले ठुटोलाई घिसारेर लिएर गएर बीचमा छोडेको जसरी छोडेर हिँड्नुभो । यो भन्दा अनैतिकता के हुन्छ ?

मैले प्रधानमन्त्रीज्यूलाई यो रोष्टमबाट प्रश्न गर्न चाहन्छु – योभन्दा अनैतिकता के हुन्छ ? एकचोटि हाम्रो पार्टीको ठाउँमा सम्मानीय प्रधानमन्त्रीज्यूले सोच्नोस् । अघि भर्खर कुरा आएको छ, ओलीजी र शेरबहादुरजीको घाँटी जोडियो भने तपाईको हालत के हुन्छ ?

त्यसो हुनाले यो जेखालको व्यवहार भयो, योप्रति घोर आपत्ति छ । नेपालको राजनीतिप्रति नै शंका, अविश्वास, षड्यन्त्र । यस्तो षड्यन्त्रबाट अगाडि बढेको देश उँभो लाग्दैन ।

सत्तारुढ दलका नेता पाण्डेको कुरो सुनिसकेपछि संसदमा १४ सिट रहेको र प्रधानमन्त्रीलाई विश्वासको मत दिएको अर्को दल जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवको भाषणको सारसंक्षेप पढौं–

तपाई उथल–पुथल गरिदिनुहुन्छ, सहयात्रीहरुलाई थाहै हुँदैन । धेरै प्रयोग गरिरहने मान्छे त हुनुहुन्छ तर कहिलेकाहीँ ‘इनफ इज इनफ’ भन्छ नि, त्यो नगर्नुहोला । अस्ति भर्खर ८ बुँदे सम्झौता ७ बुँदेमा झरेको छ । मधेससँग गरेको त्यो ८ बुँदे लागु होला भन्ने हामीलाई लागेको थियो ।

म यहाँलाई स्मरण गराउन चाहन्छु, अब नेपाली जनतामा राजनीतिक वितृष्णा बढेर गयो । अब तपाईहरु जो चार–पाँचजना लोकतन्त्रलाई जसरी सिन्डिकेटका रुपमा अगाडि बढाउन खोज्दै हुनुहुन्छ, मलाई लाग्छ भविश्यका लागि यो राम्रो होइन ।

नेपाली जनताको विश्वास जित्ने हो भने सरकार बनेको हप्ता दिन भएको छैन, तपाईले तीनवटा प्रदेश प्रमुख बदल्नुभयो । त्यसमा मधेसीको अनुहार देखिएन । हामी सशक्त घटक हौं, अब तपाईले गरेका प्रतिवद्धता अनुसार हामी आफ्नो भाग खोज्छौं । यदि हाम्रो भाग यदि न्यायसंगत लागेन भने त्यतिबेला हामीले त्यतिकैरुपमा हिसाब माग्नेछौं र त्यो हिसाब अप्रिय पनि हुन सक्छ ।

प्रधानमन्त्रीजीले आरती साहको परिवार र मिटरब्याजीसँगको सम्झौतालाई जसरी ऐतिहासिक भन्नुभयो, प्रधानमन्त्री तपाई नै हुनुहुन्छ, गृहमन्त्री तपाईकै पार्टीको हुनुहुन्थ्यो, यसको मतलब त्यो गृहमन्त्रीले काम गरेन ? या त यो ठीक, या त्यो बेठिक दुईवटै ठीक हुन सक्दैन सम्माननीय प्रधानमन्त्रीजी । त्यसैले समयअनुसार कुरा नफेरौं ।

प्रधानमन्त्रीको सम्वोधन : न आत्मविश्वास, न आशा

विश्वासको मत माग्न संसदमा उभिएका प्रधानमन्त्री दाहालले आफू राजीनामा दिनुपर्ने अवस्थामा पुगेको तर फेरि एकचोटि जोखिम मोलौं न त भनेर राजीनामा नदिएको लाचार प्रतिक्रिया दिए ।

‘सभामुख महोदय, म यो पनि जानकारी गराउन चाहन्छु, मेरो अगाडि दुईवटा मात्रै विकल्प देखें’ संसदमा प्रधानमन्त्रीको भनाइ थियो, ‘पुरानो गठबन्धनलाई निरन्तरता दिनु भनेको दिन काट्ने, काल पर्खनेजस्तो हुन लाग्यो । योभन्दा अगाडि देशलाई लाने सम्भावना देखिनँ, त्यसकारण मैले प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु भन्नुपर्ने छ, या त अर्को गठबन्धन बनाएर एकचोटि फेरि बल गर्ने सम्भावना छ भने त्यता पहल गर्नुपर्ने छ भनेपछि…बनेको गठबन्धन हो यो ।’

विश्वासको मत माग्दा देशलाई यति वर्षमा यहाँसम्म लैजाने योजना छ भनेर भविश्यतिर फर्कनुपर्नेमा प्रधानमन्त्री दाहालले आफू आजित भएको भन्दै आफ्नो सरकार कति टिक्छ भन्नेमै संशय व्यक्त गरे ।

दाहालले संसदमा भने, ‘म आजित भएँ भनेर बिहान एउटा शब्द प्रयोग गरेको छु । गठबन्धनबाट, त्यहाँ भएका कचिंगलहरुका कारणले पनि मलाई हैरान, परेशान पा¥यो । अब फेरि पनि त्यस्तै हुने हो भने फेरि पनि काम गर्न सक्ने वातावरण नबन्ला कि भन्ने चिन्ता पनि मलाई छ ।’

सुशासनका कुरा गर्ने प्रधानमन्त्री दाहालले केही दिनअघि ‘रवि लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गरेको’ भन्ने फेक न्युजको आड लिँदै विवादित मन्त्रीहरुको बचाउमा समेत बोल्न भ्याए ।

दाहालले भने, ‘यहाँ पनि प्रश्न उठ्यो, प्रश्न उठेका मान्छेलाई मन्त्री बनाउने ? के हो यो भनेर पनि उठ्यो । मलाई त थाहा छ नि त्यो कुरा पनि, तिनैलाई प्रधानमन्त्री बनाउन हिँडिराखिएको कुरा पनि त देखिराखिएकै छ । यति धेरै डबल स्टाण्डर्डको कुरा हामी किन गर्ने ? आफूतिर आउँछ भने प्रधानमन्त्री बनाउन पनि तयार, आउँदैन भने भ्रष्टाचारी, यो मुद्दामा परेको, कारवाही गर्नुपर्ने । यस्तो डबल स्टाण्डर्ड पनि चल्छ ?’

संसदको रोष्टममा उभिएर प्रधानमन्त्री दाहालले के–के भने ? यस्तो छ सारसंक्षेप–

यहाँ संविधानप्रति, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति राजनीतिक दल र राजनीतिक नेतृत्वप्रति जनतामा अलि धेरै निराशा छ भन्ने कुराहरु पनि आयो । तर, आजको बहसले जनताको पनि पक्कै ध्यान आकर्षित गरेको छ ।

अहिले जे भए पनि यो तेस्रोपटक मैले विश्वासको मत लिँदै गर्दा गठबन्धन बने, फेरि भत्किए, फेरि बने । यो प्रक्रिया चलिराखेको छ । तर, यो बहसमा मलाई एउटा कुरा भनेर प्रेसर दिन भनौं या पोलिटिकल्ली अलि बढी घोचपेच गर्न खोजिएको जस्तो महसुस भएको छ । ठूला दलहरु हामी मिल्यौं भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिला पनि भनियो । आज पनि भनियो ।

मेरो त कामना छ, तपाईहरु मिल्नोस् । सप्पै मिल्नोस् । तपाईहरु सप्पै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर फेरि देश र जनताको पक्षमा, संविधानको रक्षाको पक्षमा, राष्ट्रियताको सुदृढीकरणको पक्षमा लडिराख्छ । तपाईहरुलाई लाग्या छ प्रचण्ड डराउँछ यसो भनेर ?

नेपाली कांग्रेसका नेता साथीहरुलाई के लागेको छ भने सप्पै मिलेर तेरो हालत के हुन्छ ? हिजो त तपाईहरु सप्पै मिलेर टाउकै काट्न खोज्या हो नि त । डराउँछ माओवादी केन्द्र भन्ठान्नुभा’छ ? त्यस्तो हुँदैन । सक्नुहुन्छ, मिल्नोस् ।

तर, को राजनीतिक दल कतिबेला कोसँग मिल्छ भन्ने कुरामा हरेक राजनीतिक दल स्वतन्त्र छन्, आफ्नो हिसाब–किताब राख्न । फाइदा हुन्छ भने मिल्ने हो । राजनीतिक हिसाबले आफ्नो हित हुन्छ भन्ने देखियो भने त्यसले जनतामा आफ्नो प्रभाव विस्तार गर्न मद्दत पुग्छ भन्ने लाग्यो भने एकखालको गठबन्धन बन्ने हो । यदि त्यस्तो लागेन भने त्यो गठबन्धन छोड्ने हो । यो स्वतन्त्रता हर राजनीतिक दललाई छ ।

मलाई अनौठो र सबभन्दा बढी नमिठो लाग्ने कुरा के हो भने अहिले यहाँ पनि प्रश्न उठ्यो, प्रश्न उठेका मान्छेलाई मन्त्री बनाउने ? के हो यो भनेर पनि उठ्यो । मलाई त थाहा छ नि त्यो कुरा पनि, तिनैलाई प्रधानमन्त्री बनाउन हिँडिराखिएको कुरा पनि त देखिराखिएकै छ । यतिधेरै डबल स्टाण्डर्डको कुरा हामी किन गर्ने ? आफूतिर आउँछ भने प्रधानमन्त्री बनाउन पनि तयार, आउँदैन भने भ्रष्टाचारी, यो मुद्दामा परेको, कारवाही गर्नुपर्ने । यस्तो डबल स्टाण्डर्ड पनि चल्छ ?

त्यसकारण, यदि म ठूला दलहरु, नेपाली कांग्रेस, नेकपा एमाले, आज यहाँ हाम्रो माननीय पूर्वप्रधानमन्त्री केपी ओलीजीले पनि बोल्दै गर्दा बोली नचल्ने भन्ने भाषा प्रयोग गर्नुभयो उहाँले । एउटा मर्मका साथ उहाँले प्रयोग गरेको बुझें मैले । र, उत्तापट्टि माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब बोल्ने हो भन्नुभयो । बोल्नोस् । म भन्छु, बोली फुकाउनोस् । बनाउनोस् सहकार्य ।

माओवादी केन्द्र या प्रचण्ड या प्रधानमन्त्री त्यसबाट दबावमा पर्छ भन्ने भ्रम नराख्नोस् । मैले भनें, राजनीतिक दल सबै स्वतन्त्र छन् आफ्नो हित र आफूले बुझेको राजनीतिक मुद्दा अनुसार देश र जनताको हित कसरी हुन्छ भन्ने आफ्नो मान्यता अनुसार नै गठबन्धन बन्ने हो, टुट्ने हो ।

मैले अस्ति पनि सटिक ढंगले भन्ने कोशिस गरेको थिएँ, यो नयाँ गठबन्धन राजनीतिक कारणले बन्दैछ है । अरु भ्रम नपरोस् । मैले धोका, बेइमानी, षड्यन्त्र यस्ता केही पनि शब्द प्रयोग गरेको थिइनँ । मैले अघिल्लो गठबन्धनका नेताहरुलाई धन्यवाद भन्दै राष्ट्रको वृहत्तर हितका निम्ति, संविधानको रक्षाको निम्ति र जनताको विकासको आकांक्षालाई सम्वोधन गर्न मलाई यतिबेला यसरी सजिलो पर्छ भन्ने लाग्यो । एक वर्षको अनुभव अन्तिमसम्म आउँदा राम्रो भएन भन्ने मलाई लाग्यो । मेरो पार्टीलाई लाग्यो । मैले स्वतन्त्रतापूर्वक निर्णय गरें ।
सभामुख महोदय, म यो पनि जानकारी गराउन चाहन्छु, मेरो अगाडि दुईवटा मात्रै विकल्प देखें । पुरानो गठबन्धनलाई निरन्तरता दिनु भनेको दिन काट्ने, काल पर्खनेजस्तो हुन लाग्यो, जुन कुरा माओवादी केन्द्रलाई र त्यसको अध्यक्षको नाताले मलाई स्वीकार्य हुन सक्दैनथ्यो । त्यसकारण मैले मेरो दलमा कुरा राखें ।

या त मैले अब राजीनामा दिनुपर्छ, मैले यो भन्दा अगाडि देशलाई लाने सम्भावना देखिनँ, त्यसकारण मैले प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु भन्नुपर्ने छ । यो मैले अर्को गठबन्धन बनाएर एकचोटि फेरि बल गर्ने सम्भावना छ भने मैले त्यता पहल गर्नुपर्ने छ भनेपछि हाम्रो दल सर्वसम्मत रुपमा नयाँ ढंगले एकचोटि पहल गर्न जरुरी छ भन्ने निष्कर्षमा पुगेपछि बनेको गठबन्धन हो यो ।

त्यसकारण आवेगमा आएर होइन । कसैलाई सरप्राइज दिने उद्देश्यले पनि होइन । सोची विचारेर, यो राष्ट्रको हित कसरी होला विकास र सुशासनको जनताको आशा अपेक्षालाई अधिकतम सम्वोधन कसरी गर्न सकिएला भन्ने उद्देश्यमा धेरै सोचविचार गरेर नै लिइएको फैसला हो । त्यसकारण राष्ट्रको वृहत्तर हित, जनताको विकासको आकांक्षा, सुशासनको आकांक्षालाई सम्वोधन गर्ने सम्भावना र संविधानको रक्षाको निम्ति मैले यो कदम चाल्नु उचित छ भन्ने लागेर चालेको छु ।

अस्ति माननीयले राख्नु भो, पाँच वर्षमा १२÷१३ पटक विश्वासको मत लिने अथवा पुनर्गठन गर्ने सम्भावना रहन्छ । हामीले संविधानमा जे व्यवस्था गरेका छौं, निर्वाचन प्रणालीजस्तो अपनाएका छौं र यो सम्मानित सदनमा जनताको परिणामजस्तो आएको छ, यसले गर्दा गठबन्धन बन्ने, भत्किने, फेरिने, नयाँ बन्ने सम्भावना त रहिराख्छ । रहि नै राख्छ । हैन, राजनीति, मुद्दा, राष्ट्र, जनताको हित सबैमा ठूला दल मिल्दा राम्रो हुन्छ भन्ने तपाईहरुलाई लाग्छ भने कसैले रोक्न सक्छ र ?

यहाँ केही माननीय सदस्यहरुले, सत्ता गठबन्धनमै हुनेले प्रतिपक्षमा भएका साथीहरुको निकै ताली खानुभो । म उहाँहरुलाई पनि भन्न चाहन्छु, तपाईहरुलाई सहज छैन भने सहज छैन भने भैहाल्यो नि । म आजित भएँ भनेर बिहान एउटा शब्द प्रयोग गरेको छु । गठबन्धनबाट, त्यहाँ भएका कचिंगलहरुका कारणले पनि मलाई हैरान, परेशान पार्‍यो । अब फेरि पनि त्यस्तै हुने हो भने फेरि पनि काम गर्न सक्ने वातावरण नबन्ला कि भन्ने चिन्ता पनि मलाई छ ।

त्यसकारण हामी आ–आफ्नो राजनीतिक मान्यता अनुसार, राजनीतिक मूल्य अनुसार देश र जनतालाई आफ्नो नीतिमार्फत कसरी सेवा गर्न खोजेको, हामी स्वतन्त्रै छौं नि । यहाँ कसैले दबाव दिएर हुने हो र ? प्रधानमन्त्रीले दबाव दिएर मलाई समर्थन गर्नोस् भनेको हो र ? कतिपयले भन्छन्, पैसाको चलखेल । मैले एक पैसा कसैलाई, कुनै रुपमा पनि चलखेल हुन दिएको पनि छैन, गरेको पनि छैन । तपाईको विवेकले तपाईको राजनीतिक दलको नेतृत्व, तपाईको नीति र तपाईको कार्यक्रमले प्रधानमनत्रीलाई एकचोटि फेरि मौका दिँदा ठीक लाग्छ, दिनोस्, लाग्दैन नदिनोस् । प्रधानमन्त्रीलाई धम्क्याउने तरिकाले देशको हित हुँदैन ।

प्रधानमन्त्रीलाई हामी मिलेर देखाउँछौं, हेर्लास्…. । मैले त के ठान्छु भने यहाँ भएका ठूला–साना सबै राजनीतिक दलहरुले माओवादी केन्द्र र प्रचण्डलाई धन्यवाद दिनुपर्छ भन्ने म ठान्छु । सबैलाई धोका हैन, सबैको भलाइ गरेको छ प्रचण्डले । पटक–पटक गरेको छ । आफू त्याग गरेर, बलिदान गरेर पनि गर्‍याछ । धोकेबाज भन्नुहुन्छ तपाईहरु ?

प्रतिपक्षमा पुग्नुभएका नेपाली कांग्रेसका साथीहरुलाई पनि म भन्न चाहन्छु, तपाईहरुको एकता सुदृढ होस् । तपाईहरु बलियो हुनोस् भनेकै छु मैले । म पहिला केपीजीहरुले नै बनाएर प्रधानमन्त्री भएको हो । जतिपटक विश्वासको मत लिए पनि मेरो सुरुवात त्यहीँबाट भएको हो । अब उच्च लेबलको एकता भएको छ । अनुभवसहित हामी सबै मिलेर संविधानको रक्षामा, राष्ट्रको वृहत्तर हितमा….।

मैले विचार नगरी यो निर्णय गरेको होइन । मलाई थाहा छ धेरै जोखिम छ ममाथि । मेरो पनि मेरो दलमाथि पनि धेरैखालका जोखिमहरु छन् भन्ने थाहा पाएरै …।
मैले यो निर्णय लिनेवित्तिकै ०४८ घण्टामा फालेर देखाउने हो भनेर भएका प्रयास पनि मैले देखें, भोगें । के–के हुँदै जान्छन् भन्ने कुराको अनुमान पनि छ मलाई । म त्यसका लागि तयार भएर नै यो कदम चालेको हो ।

पहिलोचोटि पनि मैले मेरो सरकारको आयु सायद लामो हुँदैन, छोटो समय भयो भने पनि त्यसका लागि तयार भएर, यो संविधानमा आँच आउला कि ? अन्ततः नेचुरल शक्तिहरु भेडा भेडासँग, बाख्रा बाख्रासँग त हुन्छ । परिवर्तनको पक्षमा, शान्तिको पक्षमा, प्रगतिको पक्षमा, देशको स्वाधीनताको पक्षमा दह्रोसँग उभिनेहरु एक ठाउँमा हुन्छन्, हुनैपर्छ ।

मैले धेरै ठुल्ठुला जोखिमहरु नजिकबाट मोल्दै आएको छु । यो पनि एउटा जोखिम हो । यो जोखिम शान्ति संविधान र राष्ट्रको पक्षमा हुन्छ भन्ने मेरो विश्वास छ ।

जुन दलहरुले मलाई समर्थन गर्दै हुनुहुन्छ, समर्थन गरेपछि विरोध गरेजस्तो गरी समर्थन नगर्दिए हुन्थ्यो । समर्थन गरेपछि पूरै समर्थन गरे हुन्थ्यो भन्ने मेरो चाहना छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ९ : १७ बजे

नीति तथा कार्यक्रममा महत्वाकांक्षी सरकारसामू कार्यान्वयन चुनौती

काठमाडौं – सरकारले आज संघीय संसद्‌को संयुक्त सदनमा आगामी आर्थिक

प्रधानमन्त्री छोरी आत्मनिर्भर : एमालेको कार्यक्रम, प्रचण्डलाई व्यंग्य !

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम

तनहुँको व्यास नगरपालिका निर्वाचनको पुनःमतगणना गर्न उच्च अदालतको आदेश

काठमाडौं – स्थानीय तह निर्वाचन भएको दुई वर्षपछि उच्च अदालत

नेपाल प्रहरीका ६४ सईको बढुवा सिफारिस

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी नायव निरीक्षक

पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा

काठमाडौं – पाथीभरा केबलकार निर्माण विरोध गर्दै भोलि र पर्सी