सडक मर्मत सम्भारमा तीन अर्ब खर्चिँदै सरकार, खाल्टा पुर्ने योजना | Khabarhub Khabarhub

सडक मर्मत सम्भारमा तीन अर्ब खर्चिँदै सरकार, खाल्टा पुर्ने योजना


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले देशभरका ठूला र रणनीतिक सडक राजमार्गको मर्मतसम्भार र खाल्डाखुल्डी पुर्न ३ अर्ब बजेट खर्च गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको सडक विभाग अन्तर्गत पर्ने ठूला सडकमार्गको मर्मत, स्तरोन्नति र खाल्डाखुल्डी पुर्न ३ अर्ब बजेट छुट्याएको हो ।

दशैंअघि नै देशभरका सडकमा खाल्डाखुल्डी पुर्न सुरु गरिएको र उक्त बजेटले वर्षभरी मर्मतसम्भारको काम हुनेछ । सडक राजमार्गको मर्मत र स्तरोन्नति गर्न यस वर्ष ३ अर्ब रुपैयाँ बजेट छुट्याइएको मन्त्रालयका सचिव केशवकुमार शर्माले खबरहबलाई जानकारी दिए । देशका राष्ट्रिय राजमार्गहरू मर्मत र खाल्डाखुल्डी पुर्न उक्त बजेट विनियोजन गरिएको उनको भनाइ छ ।

पछिल्लो समय लगातार परेको वर्षाका कारण देशभरका सडक तथा राजमार्गको अवस्था नाजुक बनेको छ । बाढी र पहिरा चल्दा सडक अवरुद्ध हुने, निर्माणधीन सडक समयमै नसकिने र चालु अवस्थाका सडकमा पनि खाल्डाखुल्डी परेका कारण सवारी आवागमन असहज छ ।

त्यसैले बजेट छुट्याएर यस्ता सडक मर्मत गर्न लागिएको शर्माले बताए । सडक विभागअन्तर्गत पर्ने ६ हजार किलोमिटर सडक मर्मतसम्भार हुने उनले जानकारी दिए ।

‘देशभरका राजमार्गको मर्मत र खाल्डाखुल्डी पुर्ने काम अघि बढिरहेको छ, त्यसका लागि ३ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ,’ शर्माले भने, ‘करिब ६ हजार किलोमिटर सडक मर्मत र खाल्डाखुल्डी पुर्ने योजना छ ।’

दशैं, तिहार र छठपर्वजस्ता महत्वपूर्ण चाडपर्वलाई लक्षित गरी सडक मर्मत र स्तरोन्नति गर्न लागिएको मन्त्रालयले जनाएको छ । सडक धरापयुक्त हुँदा काठमाडौं उपत्यकाकै अधिकांश सडकखण्ड आवागमनयोग्य छैन । काठमाडौं बाहिरका दर्जनौं सडकखण्ड पनि ‘मृत्युमार्ग’ बनिरहेको छ । जोखिमयुक्त र खराब अवस्थाका सडक मर्मतसम्भार गरी चाडपर्वमा यातायात चलाउन बजेट खर्चन लागिएको सरकारको दावी छ ।

दशैंका बेला लाखौं सर्वसाधारण संघीय राजधानी काठमाडौं र देशका शहरबजारबाट चाड मान्न आफ्नो गाउँ पुग्नेगरेका छन् । राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार दशैंका बेला अग्रिम टिकट बुकिङ गरेको आधारमा करिब २० लाख सर्वसाधारणले काठमाडौं छाड्ने अनुमान छ ।

दशैं नजिकिँदै जाँदा गाउँ जाने यात्रुहरूको चाप बढिरहेको छ । यता, लगातारको वर्षाका कारण कतिपय सडकमार्ग भने अवरुद्ध छन् । कतिपय सडक एकतर्फी रूपमा सञ्चालित छन् । कतिपय निर्माणधीन सडकहरू समयमै सम्पन्न हुन नसक्दा चाडपर्वका बेला दुर्घटनाको जोखिम समेत बढ्ने देखिएको छ ।

सडक विभागका अनुसार, अहिलेसम्म ५९४ सडकमध्ये १४ सडक अवरुद्ध र ३०७ वटा सडकहरू एकतर्फी सञ्चालनमा छन् । हाल सञ्चालनमा आएका मध्यपहाडी लगायत राष्ट्रिय गौरवका राजमार्ग पनि जोखिमयुक्त अवस्थामै छन् ।

चाडपर्वका बेला सवारीसाधनको अत्यधिक चाप रहने नागढुङ्गा–मुग्लिनसम्म सडक विस्तारको काम अझै सम्पन्न भएको छैन । यो सडकखण्ड सङ्घीय राजधानी काठमाडौंबाट बाहिरिने प्रमुख सडक हो ।

यो सडकखण्ड अन्तर्गत ठाउँ९ठाउँमा ठूला खाल्डाखुल्डी र कालोपत्रे नै मेटिनेगरी सडकको अवस्था बिग्रिएको छ । सडक विभागले उक्त सडकखण्ड विस्तारको काम गरिरहेको छ । सडक विस्तारको काम चलिरहेकाले कुनै ठाउँमा यातायात दुईतर्फी सञ्चालन हुन सकिरहेको छैन ।

यतिखेर मुग्लिन-पोखरा सडक विस्तारको काम पनि अघि बढिरहेको छ । मुग्लिनदेखि दमौलीसम्म सडकको अवस्था राम्रो भए पनि दमौलीदेखि पोखरासम्मको सडकखण्ड पनि बढी जोखिमयुक्त छ ।

त्यस्तै, नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन । उक्त सडकखण्डको दाउन्ने र बर्दघाटलगायत क्षेत्रमा सडकको अवस्था निकै नाजुक छ ।

खासगरी पूर्व–पश्चिम राजमार्ग, विपी राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, हुलाकी राजमार्ग, मध्यपहाडी लगायत राजमार्गको मर्मत र खाल्डाखुल्डी समेत पुरिने सडक विभागले जनाएको छ ।

सडक विभागले चाडपर्व बाहेक बाह्रै महिना सडक मर्मत र स्तरोन्नति गर्ने काम गरिरहेको हुन्छ । तर, चाडपर्वका बेला सडकमार्ग हुँदै गरिने यात्राको चाप बढ्ने कारणले सरकारले हरेक वर्ष सडक मर्मत र खाल्डाखुल्डी पुर्न बजेट छुट्याउने गरेको छ ।

यस बाहेक करिब १५ हजार किलोमिटरभन्दा बढी सडकको मर्मतसम्भार र विस्तारको काम भने भइरहेको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ६ : ०८ बजे

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले

मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी

संविधानले नेपाली समाजलाई एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज ३ गते बिहीबार सन्

चाडपर्वको मुखमै सुन कारोबारमा मन्दी

काठमाडौं– दशैं, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गर्दा सुनको कारोबारमा