एसएसएफमा १० लाख प्रवासी श्रमिक, ९० प्रतिशत बढीले बुझाएनन्‌ दोस्रो किस्ता | Khabarhub Khabarhub

एसएसएफमा १० लाख प्रवासी श्रमिक, ९० प्रतिशत बढीले बुझाएनन्‌ दोस्रो किस्ता

हालसम्म १० अर्ब ७९ करोड रुपैयाँ दाबी भुक्तानी


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारमा गएकामध्ये हालसम्म १० लाखभन्दा बढी नेपाली कामदार सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्ध भएका छन् । तर, एकपटक सामाजिक सुरक्षा कोषमा आबद्ध भई पहिलो किस्ता बुझाएपछि ९० प्रतिशत कामदारले दोस्रो किस्ता बुझाउने गरेका छैनन् ।

तथ्याङ्कअनुसार कोषमा हालसम्म १० लाख ८५ हजार २२२ जना प्रवासी श्रमिक आबद्ध भएका छन् । उनीहरूले कोषमा १ अर्ब ५७ करोड ७० लाख ३१ हजार १५० रूपैयाँ बुझाएका छन् । जुन रकम मध्येको ठूलो हिस्सा भने ती कामदारले बुझाएको पहिलो किस्ता मात्रै हो ।

कोषका सूचना अधिकारी उत्तमराज नेपालका अनुसार वैदेशिक रोजगारीमा गएर कोषमा आबद्ध भएकामध्ये ९ लाखभन्दा बढीले नवीकरण नै गरेका छैनन् । अधिकांश श्रमिकहरूले कोषमा आफ्नो सहभागिताबारे जानकारी नै नपाएको हुँदा त्यस्तो अवस्था आएको कोषका प्रवक्ता विवेक पन्थीले बताए ।

सरकारले ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ कार्यान्वयन गरेको छ । सो कार्यविधिअनुसार वैदेशिक रोजगारमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा नै कोषमा सूचीकृत भई योगदानको सुरुवात गर्नुपर्छ ।

तर, अधिकांश श्रमिकहरूले श्रम स्वीकृति लिने काम म्यानपावर कम्पनीलाई लगाउने हुँदा आफूहरू कोषमा आबद्ध भएको र कोषमा आफूले बुझाएको रकमबारे नै थाहा पाउँदैनन् । जसले गर्दा उनीहरूले पछि योगदान रकमलाई निरन्तरता समेत दिँदैनन् ।

‘धेरैजसोलाई म सामाजिक सुरक्षा कोषमा आबद्ध छु भन्ने नै थाहा छैन, किनभने म्यानपावरमार्फत् जाने एकमुष्ट पैसा बुझाउने अनि पैसा के–के मा गयो भन्ने नै थाहा नपाउने अवस्था छ’, प्रवक्ता पन्थीले बताए ।

कार्यविधिअनुसार वैदेशिक रोजगारमा जाने श्रमिकले न्यूनतम आधारभूत पारिश्रमिकको कम्तिमा २१.३३ प्रतिशत रकम योगदान गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार कामदारहरूले वैदेशिक रोजगारको श्रम स्वीकृति लिने क्रममा तोकिएको रकम भुक्तानी गर्ने गर्छन् । तर, विदेश गइसकेपछि भने उनीहरूले सो योगदानलाई निरन्तरता नदिने गरेको तथ्याङ्कले देखाएको छ ।

कोषका सूचना अधिकारी उत्तमराज अधिकारले पछिल्लो समयमा वैदेशिक रोजगारमा गएका श्रमिकको कोषमा योगदान रकम निरन्तरता दिने क्रम बढ्दै गएको बताएका छन् । उनले पछिल्लो समयमा कोषले राहदानी लिने क्रममा नै नेपाली युवायुवतीहरूलाई कोषको विषयमा बुझाउने अभियान सुरु गरेको जानकारी दिए । कोषको महत्वको विषयमा बुझाउन नसक्दा पनि अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ ।

कार्यविधिअनुसार श्रमिकले सामाजिक सुरक्षा कोषमा बुझाएको रकममध्ये औषधोउपचार, स्वास्थ्य र मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा सुविधा योजना, वृद्ध अवस्था सुरक्षा योजना लगायतमा बाँडफाड हुन्छ ।

६४ अर्ब नाघ्यो योगदान रकम, ५ महिनामा थपिए ३ लाख ३९ हजार

सामाजिक सुरक्षा कोषले सार्वजनिक गरेको विवरणअनुसार बिहीबारसम्म सो कोषमा ६४ अर्ब रुपैयाँभन्दा बढी रकम योगदानबापत जम्मा भएको छ । कोषका अनुसार कोषमा १६ लाख १५ हजार २०६ जना योगदानकर्ताले ६४ अर्ब ३६ करोड रुपैयाँ जम्मा गरेका छन् ।

कोषमा १९ हजार ५७० जना रोजगारदाता र ५ लाख २९ हजार ५०४ जना औपचारिक क्षेत्रका योगदानकर्ता जोडिएका छन् । त्यस्तै, वैदेशिक रोजगारीमा गएका १० लाख ८५ हजार २२२ जना, अनौपचारिक क्षेत्रका ३०२ जना र १७८ जना स्वरोजगार भएकाहरू कोषमा आबद्ध भएका छन् ।

गत चैत ३० गतेसम्म कोषमा १८ हजार ८४२ वटा रोजगारदाता र १२ लाख ७५ हजार ५०८ जना योगदानकर्ता आबद्ध भएका थिए । पछिल्लो ५ महिनामा ७२८ रोजगारदाता र ३ लाख ३९ हजार ६९८ जना योगदानकर्ता थपिएका हुन् ।

कोषले हालसम्म १० अर्ब ७९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ । जसमध्ये औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनामा १ अर्ब ३१ करोड ४० लाख २२ हजार ८४ र दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा १४ करोड ३९ लाख ५ हजार ११० रूपैयाँ दाबी भुक्तानी गरेको छ ।

त्यस्तै, कोषले दाबी भुक्तानी अन्तर्गत आश्रित परिवार सुरक्षा योजनामा १६ करोड ६८ लाख ७१ हजार ८४१ र वृद्धावस्था सुरक्षा योजनामा ९ अर्ब १६ करोड ९३ लाख ५ हजार ४८३ रूपैयाँ खर्च गरेको जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  १० : ५४ बजे

बजेटको तेस्रो प्राथमिकतामा शिक्षा

काठमाडौं– दक्षिण एसियाका देशहरूको शिक्षा क्षेत्रमा केन्द्रीय सरकारहरूले गर्ने खर्चमा

शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरी : प्रधानमन्त्री

 काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र

च्याम्पियन्स लिगको रोचक सुरुवात : बार्यनको ९ गोल, के के बने कीर्तिमान ?

काठमाडौं – ४१ वर्षपछि युरोपको सबैभन्दा ठुलो प्रतियोगितामा फर्किएको अस्टन

आजको मौसम : तराईका केही भूभागमा हुरी चल्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बङ्गलादेशको सघन छलफल

काठमाडौं – बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल