बढ्दो ट्याटू मोह : जीवनभर असर ! | Khabarhub Khabarhub

बढ्दो ट्याटू मोह : जीवनभर असर !

छालादेखि किड्नीसम्म संक्रमण जोखिम


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साथीको लहलहैमा लागेर १९ वर्षीय किशोर सन्तोषले पाखुरामा ट्याटू खोपाए । त्यसबेला उनी कक्षा १२ मा पढ्दै थिए ।

उनको निकट लक्ष्य वैदेशिक अध्ययन र रोजगारी थियो । प्लस टू (१२ कक्षा) पास गरेपछि उनले विद्यार्थी भिसामा जापान जाने प्रक्रिया अघि बढाए । सबै काम सकियो ।

ट्याटू खोपेको मानिसलाई विदेश जान खोज्दा समस्या हुन्छ भन्ने उनलाई थाहा थिएन । उनले ट्याटू  मेटाउने प्रयास त गरे, तर जाने समयसम्म नमेटिने अवस्था आयो । जसकारण उनले अवसर नै गुमाए । जापान जाने सबै प्रक्रिया पूरा गरेका सन्तोष शरीरमा ट्याटू खोपेकै कारण उड्न पाएनन् ।

सन्तोष जस्तै धेरै युवाहरूको अहिले समस्या बनेको छ- ट्याटू ! अर्काको देखासिकी गर्दै होस् वा आफ्नै रुचिमा ट्याटू खोपाउने युवापुस्ताको संख्या बढ्दो छ ।

ट्याटू मन पर्दा र आकर्षक लागुन्जेल त ठीकै हो, तर कहिलेकाहीं आफूले भनेको जस्तो भएन, कुनै पेशामा आवद्ध हुन खोज्दा अवसर नपाउने अवस्था आएमा भने त्यही ट्याटू ठूलो समस्या बन्ने गरेको जानकारहरू बताउँछन् ।

उसो त शरीरका विभिन्न अङ्गमा खोपेर ट्याटू बनाउने चलन नेपालमा पहिलेदेखि नै थियो । विशेषगरी नेवार र थारू लगायत समुदायमा ट्याटू बनाउने परम्परा नै छ ।

तर पछिल्लो समय ट्याटू फेसनका रूपमा बढ्दो छ । अझ अहिलेका युवापिंढीमा त ट्याटूको एउटा क्रेज नै छ । आफ्ना प्रेमी-प्रेमिका, क्लब र सेलीब्रेटीहरूका नाममा ट्याटू खोप्ने चलन बढ्दो छ ।

तर ट्याटू लहडमा खोप्नु नहुने विज्ञहरू बताउँछन्‌ । उनीहरूका अनुसार; ट्याटू खोप्दा शरिरमा त असर पर्छ नै, ट्याटूकै कारण जीवनमै ठूलो असर पर्छ ।

एउटा उदाहरणः

किशोरावयमा प्रायः प्रेमी वा प्रेमिकाको ट्याटू खोप्न आनन्द लाग्छ । आफ्नो अथाह प्रेम दर्शाउन र आफूप्रति बढी आकर्षित गर्न उनीहरूले पार्टनरको नाम वा तस्बीरको ट्याटू खोप्ने गर्छन् ।

आफ्ना साथीहरूमाझ फरक देखिन पनि उनीहरू यो काम गरिरहेका हुन्छन् । तर उनीहरू सोच्न सक्दैनन् कि टीनएजमा गरिएको प्रेम सफल हुने सम्भावना निकै कम हुन सक्छ । भविष्यमा एक अर्काबीच विवाह नै हुन्छ भन्ने ग्यारेन्टी हँदैन ।

जब उनीहरूबीच ब्रेकअप हुन्छ र दोस्रो व्यक्तिसँग सम्बन्ध सुरु गर्नुपर्ने हु्न्छ- त्यसपछि पूर्व प्रेमी-प्रेमिकाको नाममा खोपिएको ट्याटूले पीडा निम्त्याउँछ । पुरानो ट्याटूकै कारण वैवाहिक जीवनमा दरार उत्पन्न भएर कतिपय युवायुवतीहरू डिप्रेशनको अवस्थासम्म पुग्ने गरेको पनि पाइएको छ ।

ट्याटूले पार्ने असर
छालारोग तथा लेजर विशेषज्ञ डाक्टर राजनबाबु तझ्या भन्छन्,‘ ट्याटू खोप्ने प्रवृत्तिले छाला र स्वास्थ्यमा मात्रै होइन, जिन्दगीमै असर पारेको कतिपय उदाहरण मैले देखेको छु ।’

तझ्या थप्छन्‌, ‘कतिपय युवायुवतीहरूले अरूको देखासिकी या कोही प्रतिको क्षणिक आकर्षणका भरमा प्रेमी-प्रेमिकाको नाम आफ्नो ज्यानमा खोप्ने गर्छन्‌ ।  त्यो प्रेम नभएर किशोरावस्थाको आकर्षण मात्रै हो । पछि गएर उसैसँग विवाह नहुन पनि सक्छ भन्ने कुरा उनीहरूले बुझेका हुँदैनन् । बिहे अर्कैसँग गर्नुपर्दा पहिलेको ट्याटू हटाउनुपर्ने हुन्छ ।’

उनका अनुसार ट्याटू खोपेकाहरू दुबई, कतार मलेसिया र जापान लगायतका देशमा जान पाउँदैनन् । नेपालमै पनि सेना/प्रहरी लगायत सरकारी जागिर खान पाइँदैन । त्यसैले यसले स्वास्थ्यमा भन्दा पनि मानिसको जीवनमा नै ठूलो असर पार्ने डा. तझ्या बताउँछन् ।

ट्याटू छालामा बनाइने रङहरूको कला हो । ट्याटू खोप्न सामान्यतयाः कलाकारले मेसिन प्रयोग गर्छन्, जसले सिलाइ मेसिन जस्तै काम गर्छ । यस क्रममा छालामा बारम्बार एक वा अधिक सुई प्रयोग गरिन्छ । ट्याटू खोपिने प्रक्रियाले सामान्य दुखाइ त गराउँछ नै ! यसले रक्तचापसमेत बढाउन सक्छ ।

ट्याटू बनाउँदा रगतका माध्यमबाट हेपाटाइटिस ‘बी’, सी र एचआइभी सर्न सक्छ  । ट्याटू खोपेका कुनै व्यक्ति यी रोगबाट संक्रमित छन् भने ती व्यक्तिलाई खोप्न प्रयोग गरिएका सामग्री निर्मलीकरण नगरी स्वस्थ मानिसमा प्रयोग गर्दा रोग सर्ने जोखिम बढी हुन्छ ।

तसर्थ, ट्याटू खोप्न जाँदै हुनुहुन्छ भने सबै सामग्री निर्मलीकरण गरिएका छन् वा छैनन् भनेर राम्ररी विचार गर्नुपर्छ । सानो कुरामा ध्यान नदिँदा जिन्दगीभर पछुताउनुपर्ने अवस्था निम्तिन सक्ने डा. तझ्या बताउँछन् ।

कुन अङ्गमा बनाउँदा कस्तो असर हुन्छ ?
सबैको छालाको प्रकृति यौटै प्रकारको हुँदैन । कसैको छाला सामान्य खालको त कसैको एकदमै संवेदनशील खालको हुन्छ । ट्याटू बनाउने अङ्गभन्दा पनि मान्छेको छालामा भर पर्छ ।

सामान्य खालको छाला छ भने संवेदनशील अङ्गमा बनाउँदा पनि केही असर गरेको हुँदैन । कसैले अँखाको परेलासम्ममा बनाएको पनि देखिएको, कसैलाई चाहिँ एकदमै दुःख दिने, छालामा एलर्जी आउने, दुख्ने, झमझमाउने र घाउ हुने लगायतका समस्या देखिन सक्ने डा. तझ्याको भनाइ छ ।

मेटाउन कति सहज ?
ट्याटू मेटाउन असम्भव नै त होइन । सामान्य परम्परागत रूपमा घरमै बनाएको ट्याटू हो भने त एकै पटकमा जान्छ ।

‘तर, प्रोफेश्नल ट्याटू अर्टिस्टहरूले बनाएको ट्याटू हटाउन निकै गाह्रो हुन्छ । त्यसमा पनि कलरफुल ट्याटू; जस्तै कालो बाहेक अन्य कलरहरूको प्रयोग गरी बनाइएको ट्याटू हटाउन धेरै समय लाग्छ,’ डा. तझ्याले भने ।

कालो र रातो कलरले बनाएको ट्याटू भने सजिलै जान्छ । इङ्कलाई पड्काएर शरीरबाटै वाकआउट हुनेगरी हटाउनुपर्ने भएकाले छिटो-छिटो ट्याटू हटाउने प्रोसेस गर्न मिल्दैन । त्यसैले हटाउन समय लाग्ने उनले जानकारी दिए ।

त्यस्तै; मेटाउने मामिला ट्याटूको साइज कत्रो छ भन्नेमा पनि भर पर्छ । जस्तैः ठूलो ट्याटू प्रोफेश्नल आर्टिस्टबाट बनाइएको छ भने लेजरले इङ्कलाई पडकाउँदा कहिलेकाहीँ किड्नीमा पनि असर गर्न सक्छ । त्यस्तै ठूलो घाउ भएर दाग बस्ने, रगतमा इन्फेक्शन हुने सम्भावना पनि रहन्छ ।

अनुभवी डाक्टरकहाँ गएर मात्रै ट्याटू हटाउनुपर्छ । अचेल ट्याटू बनाउने आर्टिस्टले नै हटाउन थालेका छन् । उनीहरूले राम्रो मेसिन प्रयोग नगर्दा घाउ भएर दागै बस्ने सम्भावना धेरै हुन्छ ।

ट्याटू खोप्दा ध्यान दिनुपर्ने कुरा
सकेसम्म त ट्याटू नखोपेकै राम्रो ! खाप्नै मन लागे पनि आफ्नो स्वास्थ्य जाँच गर्न आवश्यक रहेको डा. तझ्या बताउँछन् ।

उनका अनुसार शारीरिक रूपमा अशक्त तथा सुगर, ब्लडप्रेसरजस्ता समस्या भएको अवस्थामा ट्याटू खोप्नु उचित हुँदैन । सुगर भएका व्यक्तिले ट्याटू खोपाउँदा निको नहुने खतरा हुन्छ । त्यसैले शरीरमा सुगर ब्यालेन्समा छ भने मात्रै खोप्दा हुन्छ ।

ब्लडप्रेसरको समस्या भएका व्यक्तिहरू शरीरमा ट्याटू खोपाउँदा बेहोस हुन सक्ने खतरा हुन्छ  । त्यसैले यस्तो समस्या भएका व्यक्तिले ट्याटू नखोप्न डा. तझ्या सुझाउँछन्‌ ।

सकेसम्म त ट्याटू नखोपेकै राम्रो ! जहाँ ट्याटू खोप्दै हुनुहुन्छ, त्यहाँका आर्टिस्टले काम गर्ने तरिका, औजारको सरसफाइ लगायतमा शुरूमै विचार पुर्‍याउनुपर्छ  । उसले प्रयोग गर्ने औजार कस्तो छ, त्यसको निर्मलीकरण कसरी गरिएको छ भन्नेबारे बुझ्नुपर्छ  । ख्याल गरिएन भने शरीरमा विभिन्न संक्रमण हुन सक्छ । ट्याटू खोप्ने मेसिनलगायतका औजार सेनिटाइज गर्नुपर्छ ।

ट्याटू खोपेको ७–१० दिनसम्म घाउ आलै हुन्छ । यो अवधिमा एकदमै सचेत हुनुपर्छ । यस अवस्थामा लापरवाही गर्दा विभिन्न सङ्क्रमण हुन सक्छ । ट्याटूको घाउ ओभानो नराख्दा तथा भिज्दा ब्याक्टेरियाले सङ्क्रमण गर्न सक्छ । घाउमा पसिना पनि जम्न दिनुहुँदैन  र केही समस्या देखिए तुरुन्तै चिकित्सकको परामर्शमा जानुपर्छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  २ : ३० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक