म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनर्निर्माण भएको छ ।
करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण गरिएको थियो ।
बेनी–जोमसोम–सडकभन्दा तल रहेको मन्दिरलाई सडकमाथि सारेर जीर्णोद्धार गरिएको राममन्दिर पुनर्निर्माण समितिका अध्यक्ष खड्ग गिरीले बताए । उनका अनुसार २४ लाख ७० हजार सात सय ५० को लागतमा मन्दिर पुनर्निर्माण भएको हो ।
अध्यक्ष गिरीले मन्दिर पुनर्निमार्णको लागि १५ लाख उपलब्ध गराउने सहमति गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले हालसम्म १३ लाख ३२ हजार तीन सय ६१ रुपैयाँ उपलब्ध गराएको बताए ।
चार लाख ७४ हजार सात सय सात चन्दा सहयोग, एक लाख ११ हजार सात सय आन्तरिक आम्दानी परिचालन गरेको उनको भनाइ छ । दुई लाख ८० हजार आठ सय ५६ ऋण रहेको मन्दिर पुनर्निर्माणका लागि सो सडक आयोजनाले सहमतिअनुसार थप एक लाख ६७ हजार तीन सय ३९ भुक्तानी गर्न बाँकी छ ।
अन्नपूर्ण गाउँपालिकाको १० लाख बजेटमा सो मन्दिर परिसरमा गत वर्ष निर्माण थालिएको सत्तललाई पूर्णता दिन यस आर्थिक वर्ष २०८१–८२ मा पाँच लाख विनियोजन भएको छ ।
प्रतिक्रिया