अर्थसंक्षेप : धनराजले सहकारीको ८१ लाख ऋण तिरेको खुलासा, सुनको मूल्यमा नयाँ रेकर्ड  | Khabarhub Khabarhub

अर्थसंक्षेप : धनराजले सहकारीको ८१ लाख ऋण तिरेको खुलासा, सुनको मूल्यमा नयाँ रेकर्ड 


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड कोअपरेटिभको ८१ लाख रुपैयाँ ऋण तिरेको खुलेको छ । वैदेशिक रोजगारमा गएकामध्ये हालसम्म १० लाखभन्दा बढी नेपाली कामदार सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्ध भएका छन् । त्यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा पुँजी लगानी गर्नेदेखि आवश्यक मेसिनरी वस्तु उत्पादन गर्नेसम्मलाई अवसर रहेको बताएका छन् ।

प्रमुख आर्थिक समाचारहरू :

धनराजले सहकारीको ८१ लाख ऋण तिरेको खुलासा

सहकारीमा आफ्नो संलग्नता नभई पूर्व पत्नीको मात्र संलग्नता रहेको दाबी गर्दै आएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड कोअपरेटिभको ८१ लाख रुपैयाँ ऋण तिरेको खुलेको छ ।

उनले आफ्नो नाममा लिएको उक्त परिमाणको ऋण तिरेको खुलेको हो । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले खबरहबलाई बताएअनुसार धनराजले ८१ लाख रुपैयाँ ऋण गत जेठ ६ गते तिरेका हुन् । धनराजका नाममा तिरिएको ऋणको भौचर खबरहबलाई प्राप्त भएको छ ।

उनले त्यसपछि अरू रकम भने नतिरेको कुम्भराजले खबरहबलाई बताएका छन् । आफ्नो सहकारीबाट धनराज दम्पतीले करिब १४ करोड रुपैयाँ लगे पनि उनी र उनकी श्रीमती ज्योति अहिले सम्पर्कविहीन भएको दाबी कुम्भराजले गरे ।

धनराजले साढे ४ वर्षअघि नै सम्बन्ध विच्छेद गरिसकेकी श्रीमतीले ऋण लिएको जिकिर गरिरहे पनि शुक्रबार खबरहबको सम्पर्कमा आएका कुम्भराजले गत वैशाख र जेठमा सहकारीको खातामा ८१ लाख रुपैयाँ  धनराजले पठाएको दाबी गरे ।

नेप्सले फेरि नाघ्ला त तीन हजार बिन्दु ?

गएको साउन ३१ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तीन हजार बिन्दु नाघ्यो । अर्थात्; गत बिहीबारभन्दा १८ औँ दिन अघिको कारोबार दिन नेप्से तीन हजार विन्दुमा पुगेको थियो । तर त्यसबीच १८ औँ दिन नेप्से कारोबार हुँदा गत बिहीबार भने नेप्से परिसूचक २६८८ बिन्दुमा झ¥यो ।

साउन १३ गते २६८१ विन्दुबाट तीन हजारको विन्दुमा जसरी शेयर बजार आएको थियो, त्यसरी नै तीन हजारको बिन्दुबाट २६८८ विन्दुमा झरेको हो । निरन्तर पछिल्लो ६ दिन ओह्रालो लागेको शेयर बजार गत बिहीबार भने ७८ अंकले बढ्यो । ६ दिनसम्म निरन्तर ओह्रालो यात्रामा बजार रहँदा नेपालको शेयर बजारमा घट्दो प्रवृत्ति (बियरिस ट्रेण्ड) सुरु भएको चर्चा चुलिएको थियो । साताको अन्तिम कारोबार दिन बिहीबार बजार बढेसँगै करेक्सन सकिएर अब फेरि नेप्से बुलमा जाने चर्चा चलेको छ ।

एसएसएफमा १० लाख प्रवासी श्रमिक, ९० प्रतिशत बढीले बुझाएनन् दोस्रो किस्ता

वैदेशिक रोजगारमा गएकामध्ये हालसम्म १० लाखभन्दा बढी नेपाली कामदार सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्ध भएका छन् । तर, एकपटक सामाजिक सुरक्षा कोषमा आबद्ध भई पहिलो किस्ता बुझाएपछि ९० प्रतिशत कामदारले दोस्रो किस्ता बुझाउने गरेका छैनन् ।

तथ्याङ्कअनुसार कोषमा हालसम्म १० लाख ८५ हजार २२२ जना प्रवासी श्रमिक आबद्ध भएका छन् । उनीहरूले कोषमा १ अर्ब ५७ करोड ७० लाख ३१ हजार १५० रूपैयाँ बुझाएका छन् । जुन रकम मध्येको ठूलो हिस्सा भने ती कामदारले बुझाएको पहिलो किस्ता मात्रै हो ।

कोषका सूचना अधिकारी उत्तमराज नेपालका अनुसार वैदेशिक रोजगारीमा गएर कोषमा आबद्ध भएकामध्ये ९ लाखभन्दा बढीले नवीकरण नै गरेका छैनन् । अधिकांश श्रमिकहरूले कोषमा आफ्नो सहभागिताबारे जानकारी नै नपाएको हुँदा त्यस्तो अवस्था आएको कोषका प्रवक्ता विवेक पन्थीले बताए ।

ऊर्जा पूर्वाधार विकासका लागि नीतिगत परिवर्तन अत्यावश्यक : अध्यक्ष कार्की

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा पुँजी लगानी गर्नेदेखि आवश्यक मेसिनरी वस्तु उत्पादन गर्नेसम्मलाई अवसर रहेको बताएका छन् । काठमाडौंमा जारी नेपाल इन्स्ट्रक्टर समिटको दोस्रो दिन ऊर्जा र जलस्रोत विषयको छलफलमा बोल्दै अध्यक्ष कार्कीले २८ हजार ५०० मेगावाट उत्पादन गर्दा ४६ खर्ब रुपैयाँ लगानी चाहिने र यसै अनुसार यससँग जोडिने अन्य व्यापार व्यवसायका लागि पनि धेरै ठूलो अवसर आउने बताएका हुन् ।

‘२८ हजार मेगावाट उत्पादनको लागि ४६ खर्ब रुपैयाँ लगानी आवश्यक छ । यसमा बैंक, इन्स्योरेन्स र रिइन्स्योरेन्सका लागि धेरै ठूलो लगानीको अवसर हुनुका साथै सप्लायर्स, डिजाइनर, कन्सल्ट्यान्ट लगायतलाई पनि त्यतिकै ठूलो अवसर छ ।’ उनले भने ।

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुन तोलामा ३ हजारले बढेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड बनेको हो । यो सुनको अहिलेसम्म कै उच्च मूल्य हो ।

यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यस दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।  त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १८६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

ओरियण्टल होटल्स लिमिटेडले ५ प्रतिशत बोनस दिने 

ओरियण्टल होटल्स लिमिटेडले बोनस दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०÷०८१ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत अर्थात् ५ करोड ६४ लाख ४ हजार ५२२ रुपैयाँ बराबरको बोनस शेयर दिने निर्णय गरेको छ ।

उक्त शेयरको कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२६३१६ प्रतिशत अर्थात् २९ लाख ६८ हजार ६५९ रुपैयाँ नगद बोनस दिने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार ४३८ रुपैयाँ रहेको छ । कम्पनीले उक्त बोनस असोज २० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा बस्ने वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गर्ने छ ।

प्रधानमन्त्री ओलीबाट पलेसालाई नगद ६५ लाख पुरस्कार प्रदान

प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् । मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई ६५ लाख पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।

युवा तथा खेलकुुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिइएको बताए । उनले विश्वस्तरका आगामी खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेशाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठूलो पदक भएकाले देशले गौरव गरेको बताए ।

बैतडीमा तीन दिनदेखि छैन बिजुली, सरकारी सेवा नै प्रभावित

वर्षा र चट्याङका कारण गत बुधबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।  विद्युत् सेवा नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ । विद्युत् नहुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका गणेश विष्टले बताए ।

उनले भने, ‘बिजुली नहुँदा अन्धकारमा बस्नुपरेको छ, मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ । चार्ज नहुँदा सञ्चारविहीन हुनुपरेको छ ।’ नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलका अनुसार विद्युत् सेवा नियमित सञ्चालनका लागि लगातारको वर्षाले गर्दा समस्या  भएको जानकारी दिए ।

गलेश्वरमा नयाँ वितरण लाइनमार्फत विद्युत् आपूर्ति

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा अनियमित विद्युत् आपूर्तिको समस्या समाधान भएको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिक्षेत्र र मुस्ताङको प्रवेशद्वारका रुपमा रहेको गलेश्वरमा नयाँ वितरण लाइनमार्फत विद्युत् आपूर्ति गरिएको हो ।

यसअघि मिलनचोक–दाना फिडरबाट विद्युत् आपूर्ति हुने गलेश्वरमा यसै हप्तादेखि बेनी फिडरबाट आपूर्ति गराउन थालिएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए ।

तनहुँमा सात सय सत्तरी साना उद्योग थपिए

आर्थिक वर्ष २०८०–८१ मा पर्यटन तथा उद्योग कार्यालयमा सात सय ७० उद्योग थपिएका छन् । उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७२ उद्योग थपिएका हुन् । उक्त कार्यालयले आव २०७९–८० को तुलनामा आव २०८०–८१ मा १५ लाख कम राजस्व संकलन गरेको छ । आव २०७९–८० मा ६६ लाख चार हजार दुई सय राजस्व संकलन गरेको यो कार्यालयले आव २०८०–८१ मा ५१ लाख चार हजार आठ सय राजस्व संकलन गरेको  जनाएको छ ।

‘अघिल्ला वर्षका छुट भएका उद्योग र वाणिज्य चालु आवमा नवीकरण हुन थालेपछी राजस्वमा वृद्धि हुन थालेको छ, आव २०८०–८१ मा एक हजार एक सय ३७ उद्योग र आठ सय १७ वाणिज्य नवीकरण भएका छन्’, कार्यालय प्रमुख दुर्गाराज सुवेदीले भने । त्यसैगरी २०८१–८२ को साउनमा उद्योगतर्फ ३३, भदौमा ३४ र वाणिज्यतर्फ साउनमा ५६ र भदौमा १६ वटा दर्ता भएका छन् ।

हाथवे इन्भेष्टमेन्टले १० प्रतिशत बोनस दिने 

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले बोनस दिने भएको छ । हाथवेले गत आर्थिक वर्ष २०८० ८१ को वितरणयोग्य मुनाफाबाट चुक्ता १० प्रतिशत बोनस दिने भएको हो ।  कम्पनीले कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब २८ लाख ७० हजार छ ।  उक्त बोनस आगामी बस्ने साधारणसभाले पारित गरेपछि वितरण गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ६ : ३९ बजे

रास्वपाको राष्ट्रिय भेला आज पनि जारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आज पनि

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

जलवायु परिवर्तन : नेपालको शिर ढल्ने कि उठ्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जानुअघि

आर्थिक सम्बन्ध विस्तारमा नेपालको जोड

काठमाडौं– नेपालले बङ्गलादेशसँगको आर्थिक सम्बन्ध विस्तारका साथै अल्पविकसित मुलुकको सूचीबाट

सोह्र श्राद्धको कुन तिथिमा कस्को श्राद्ध गर्ने ?

काठमाडौं– दसैँको सुरुवातमा १६ दिनको पितृलाई सम्झिने दिन आउँछ जुन