खोटो वीपी प्रतिष्ठान : छैन सुध्रने छाँट | Khabarhub Khabarhub

खोटो वीपी प्रतिष्ठान : छैन सुध्रने छाँट



धरान– पछिल्लो एक सातायता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान फेरि अस्तव्यस्त हुन थालेको छ । यसपटक चिकित्सकहरु कायममुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीविरुद्ध आन्दोलित हुँदा बिरामी उपचार सेवा प्रभावित बनेको छ । स्थापनाको तीन दशक पूरा हुनै लागेको वीपी प्रतिष्ठान एक दिन पक्कै सुधार होला भनेर सोच्ने सरोकारवाला, स्थानीय बुद्धिजीवि र सेवाग्राहीहरु एकपछि अर्को विवाद, आन्दोलन, बेथिति र भ्रष्टाचारको समाचार सुनेर वाक्क दिक्क हुन थालेका छन् ।

प्रतिष्ठानमा करिब तीन दर्जन विभाग, चिकित्सक र नर्ससहित २ हजार ३ सय कर्मचारी, हजार बढी चिकित्साशास्त्रका विद्यार्थी छन् । यो मुलुककै एक मात्र ननप्राक्टिसिङ इन्स्टिट्युच (बाहिर शुल्क लिएर बिरामी हेर्न नपाउने) आवासीय स्वास्थ्य शैक्षिक संस्था पनि हो ।

स्वायत्तमात्र नभएर विश्वविद्यालयकै रुपमा विकसित भएको यस प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स र कर्मचारीलाई सरकारले तलव भत्ता सुविधा दिँदैन, आफैँ आर्जन गरेर कमाएको रकमबाटै प्रतिष्ठानले तलव भत्ता सुविधा वितरण गर्नुपर्ने प्रावधान छ ।

पूर्वको टर्सरी सेन्टर, रिफरल सेन्टर हुँदै सुपर विशिष्ट सेवा दिने दक्ष जनशक्तिहरु भए पनि आधुनिक मेडिकल उपकरण एमआरआईविहीन छ । एक्सरे अल्ट्रासाउण्ड, सिटि स्क्यान मेसिनहरु पर्याप्त छैनन् । आफैं रिफरल सेन्टर भएर पनि कहिलेकाहीँ सामान्य परीक्षण गर्नसमेत किट र उपकरण अभावले बाहिर रिफर गरिन्छ ।

अस्पतालले आकस्मिक कक्षमा दैनिक २ सय र ओपिडीहरुमा दैनिक ३ हजार ५ सय जना बिरामीको चाप थेग्न सकेको छैन । एउटा सामान्य एक्सरेको रिपोर्ट वा माइक्रोबायोलोजीको रिपोर्ट निजी अस्पतालले सामान्यतया २ देखि ३ घण्टामा उपलव्ध गराउँछ, तर प्रतिष्ठानले २४ घण्टादेखि ४८ घण्टासम्म लगाउँछ ।

वीपी प्रतिष्ठान, धरान

ओपिडीमा चिकित्सक भेट्न विरामीलाई पालो आउन कम्तिमा दुईदेखि चार घण्टा कुर्नुपर्छ । रिपोर्ट निस्केपछि त्यहा पनि कम्तिमा दुई घण्टा पालो कुर्नुपर्छ । विल काउण्टरको अवस्थापनि त्यस्तै छ ।

प्रतिष्ठानमा अस्पताल व्यवस्थापन विषयमा उच्च अध्ययन गरेर आएका अधिकृत कर्मचारीहरु नभएका होइनन् । तर, भिड व्यवस्थापन वा अस्पताल सञ्चालनका लागि आवश्यक रणनीति बनाउन सकेको देखिएको छैन । एउटा बिरामीलाई अल्ट्रासाउण्ट गर्नुपरे एक महिनादेखि तीन महिनासम्मको पालो लगाइने गरिएको छ ।

शल्यक्रिया गर्नुपर्ने अवस्था भए दुई सातादेखि २ महिना सम्मको ‘डेट’ दिइन्छ । तर, पेइङ मार्फत पूर्जी काटेर गएमा आजको भोलि फटाफट काम हुन्छ ।

यहाँ दन्त चिकित्सा महाविद्यालय पनि छ । तर, दाँत र मुख सम्बन्धी गतिलो एक्सरे मेसिन नहुँदा अन्यत्र रिफर गर्ने गरिएको छ । चिकित्सकहरु अब्बल छन् तर ८० प्रतिशत डेण्टल चियर काम लाग्दैनन् ।

यहाँ ५० बढी आइसीयु बेडहरु छन् । जहिल्यै सबै बेड बिरामीले भरिने भएकाले भनेको बेला प्रतिष्ठानकै वार्डमा उपचाररत बिरामीले बेड नपाउँदा अर्को अस्पताल लैजाँदा लैजाँदै बाटैमा बिरामीको मृत्यु हुन्छ ।

स्त्री तथा प्रसुती विभागमा बेड अभावले एउटै बेडमा दुईदेखि तीनजनासम्म महिला प्रसुतीका लागि पालो पर्खेर लडिरहेका हुन्छन् । बालरोग विभागमा दक्ष चिकित्सक नभएका होइनन् । तर, एनआईसियु बेड नहुँदा अकालमा बालबालिकाको मृत्यु हुने गरेको छ ।

जन्मँदै रोपिएको बेथितिको बिऊ

विसंं २०१६ सालमा पूर्वका लिम्बू र राई युवालाई ब्रिटिश सेनामा भर्ति गर्न ब्रिटिश घोपा क्याम्प सञ्चालन हुँदाहुँदै त्यो स्वास्थ्य संस्था पोखरा सारियो । पछि, भारत सरकारको सहयोग र साझेदारीमा ०५० सालमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ अनुसार वीपी प्रतिष्ठान स्थापना गरियो ।

कम्युनिष्टको गढ मानिएको धरानमा नेपाली कांग्रेसका नेता विश्वेश्वर प्रसाद कोइरालाका नाममा स्थापित प्रतिष्ठानले त्यसबेला आकर्षक उद्देश्य र योजना बनाएको थियो । वीपी प्रतिष्ठानका प्रमुख उद्देश्य र योजनाअन्तर्गत देशलाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउँदै लैजान चिकित्सा, नर्सिङ र स्वास्थ्य क्षेत्रका अन्य विषयमा आवश्यक दक्ष जनशक्ति तयार गर्ने भनिएको छ ।

त्यस्तै, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, स्वास्थ्य सम्बन्धी विभिन्न तालिम प्रदान गर्ने र अन्य स्वास्थ्य संस्थाहरुलाई परामर्श दिने लिने यसको उदेश्य छ । स्वास्थ्यसम्बन्धी आवश्यक अनुसन्धान गर्ने र संक्रामक र ट्रपिकल रोगको अनुसन्धान एवं उपचारको व्यवस्था गरी यी विषयमा राष्ट्रियस्तरको एउटा उत्कृष्ट केन्द्र स्थापना गर्ने लक्ष तय भएको छ । स्वास्थ्य क्षेत्रमा मानवीय श्रोतको विकास तथा स्वास्थ्य विज्ञानका शिक्षकहरुको तालिमका लागि राष्ट्रिय श्रोत केन्द्रका रुपमा काम गर्नेलगायत यसका उद्देश्य रहेका छन् ।

भारत सरकारले सन् २००९ सम्म दक्ष जनशक्ति उपलब्ध गराएर नयाँ र अन्य दक्ष जनशक्ति उत्पादनपछि विषेशज्ञ सेवासँगै सुपर स्पेसियालिटी सेवा पनि दिने उद्देश्यले विगत डेढ दशकदेखि कार्डियोलोजी सेन्टर, आमा तथा बच्चाको एमसीएच सेन्टर र क्यान्सर उपचार केन्द्र बनाउने भनेर पहल भइरहेको छ ।

यसबीच, प्रतिष्ठान आफैंले न्यूरो, स्वास प्रश्वास, ग्यास्ट्रो, मृगौला, कलेजो र हाडजोर्नी सम्बन्धी विषेशज्ञ सेवाको विकास गर्‍यो । यसबीचमा प्रतिष्ठान आफैंले छात्रवृत्तिमा अध्ययन गर्न पठाएर फर्केका पहिलो, दोश्रो र तेश्रो ब्याचका चिकित्सकहरु अडिन नसकेपछि पाखा लागे । तीमध्ये अधिकांश नेपाली कांग्रेस आस्थाका थिए ।

अहिले प्रतिष्ठान मुस्किलले घिस्रिरहेको छ । प्रतिष्ठानका एक जानकार भन्छन्, ‘स्थापनाको तीन दशकमा दक्षिण एसियाकै नमूना स्वास्थ्य संस्था बनिसक्नु पर्ने हो ।’ तर, स्थापनाकालदेखि नै खोट लाग्यो । त्यो खोट भनेको कांग्रेसका कारण बनेको वामपन्थीहरुको आरोप छ ।

राजनीतिक नियुक्तिको थलो

प्रतिष्ठान स्थापना हुँदा डा सुन्दरमणि दीक्षित निर्देशक भएर पारदर्शी रुपमा सञ्चालन भइरहेको थियो । यहीबीचमा वीपी कोइरालाका नाममा स्थापना भएकाले कांग्रेसले डा. शेखर कोइरालालाई उपकुलपति बनायो । डा. दीक्षितले प्रतिष्ठानबाट राजीनामा दिए । डा. शेखर उपकुलपति बनेपछि उनले विराटनगरका डा. नारायणकुमारलाई अस्पतालका निर्देशक बनाए । त्यसबेला उनी स्नातक मात्र थिए ।

प्रतिष्ठानमा उपकुलपति डा. शेखरका पालामा उपकुलपतिलाई सर्वेसर्वा बनाउने गरी ऐन, विधान र नियमावली बनाइयो र उपकुलपतिलाई अधिकारसम्पन्न बनाइयो । बाँकी शिक्षाध्यक्ष, अस्पताल निर्देशक र रजिष्ट्रार जस्ता पदाधिकारीलाई उपकुलपतिले अधिकारविहीन बनाउन सक्ने प्रावधानहरु आए । ती नियमावलीका दफालाई संशोधन गर्ने पटक–पटक प्रयास भए पनि असफल हुँदै आएको सरोकारवाहरु बताउँछन् ।

वीपी प्रतिष्ठानलाई सरकारले स्वायत्त संस्थाका रुपमा व्याख्या गरे पनि कुलपति भने प्रधानमन्त्री रहने व्यवस्था हुनु र पदाधिकारीको राजनीतिक नियुक्ति हुनु अनि सोही अनुसार उपकुलपतिले आफू अनुकूल वा भागबण्डाका अधारमा अन्य पदाधिकारीको नियुक्ति गर्ने प्रचलन बन्नु नै वीपी प्रतिष्ठानको बेथितिको जड मानिन्छ ।

पदोन्नतीको माग गर्दै धर्नामा उत्रिएका वीपी प्रतिष्ठानका चिकित्सकहरु । तस्बिर : प्रदीप मेन्याङबो

सहकुलपति स्वास्थ्यमन्त्रीले तीनजनाको नाम सिफारिस गरेपछि कुलपति अर्थात प्रधानमन्त्रीले एकजनालाई उपकुलतिमा राजनीतिक नियुक्ति दिएर पठाउने चलन छ । त्यसपछि उपकुलपतिले अरु तीनजना पदाधिकारी नियुक्त गर्ने चलन डा. शेखर कोइरालाकै पालादेखि सुरु भएको हो ।

प्रतिष्ठानका एक जना पुराना चिकित्सक भन्छन्, ‘जतिखेर डा. कोइराला उपकुलपति भएर आए, राजनीतिक आस्थाका आधारमा अयोग्य, अक्षम कार्यकर्ताहरुलाई अधिकृत बनाइए । योग्यता नपुगे पनि चिकित्सकका रुपमा भर्ना गरिए । अहिले तिनै वरिष्ठ कर्मचारी र वरिष्ठ चिकित्सक भएर नेतृत्व तहमा पुगेका छन् । अनि कसरी सुध्रिन्छ वीपी प्रतिष्ठान ?’

भ्रष्टाचारको जालो

प्राडा लोकविक्रम थापा र प्राडा पूर्णचन्द्र कर्माचार्य उपकुलपति हुँदासम्म आर्थिक अनियमिताको हल्ला सुनिने गरिएको थिएन । तर, प्रतिष्ठानभित्रकै पछि प्राडा वीपी दास (बलभद्रप्रसाद दास) उपकुलपति भएपछि भ्रष्टाचार र आर्थिक अनियमिताको ग्राफ उकालियो ।

उनी उपकुलपति हुनुअघि अस्पताल निर्देशक पनि भएका थिए । उनकै पालादेखि प्रतिष्ठानमा करोडौंको आर्थिक अनियमितता हुन थालेको हो । यसबारे विभिन्न उच्चस्तरीय छानवीन समितिले प्रतिवेदनमार्फत सार्वजनिक गरिसकेका छन् ।’

वार्षिक करिब पाँच अर्बको कारोबार हुने प्रतिष्ठानमा उपकुलपति हुनका लागि राजनीतिक नियुक्ति पाउन ब्रिफकेसमा करोडौं रुपैयाँ बोकेर दलका शीर्ष नेताको ढोका चाहार्ने र मोलमोलाई गर्नेहरुले वीपी प्रतिष्ठानलाई बेथितिको आहालमा डुबाएको आरोप लाग्दै आएको छ ।

तत्कालीन उपकुलपति प्राडा वीपी दास, प्राडा राजकुमार रौनियार (स्वर्गीय) र डा ज्ञानेन्द्र गिरी प्रतिष्ठानको पाँच वर्षे उपकुलपति हुँदा कम्तिमा १५ करोड रुपैयाँको चलखेल भएको चर्चा चल्ने गरेको थियो भने अस्पताल निर्देशक, शिक्षाध्यक्ष र रजिष्ट्रार बन्नलाई पनि करोड माथिको आर्थिक लेनदेन हुने चर्चा चल्ने गरेको थियो ।

प्रतिष्ठानलाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषक एवं सहप्राध्यापक डा. राजेन्द्र शर्मा भन्छन्, ‘करोडौं खुवाएर राजनीतिक नियुक्ति लिएकाहरुले त्यो लगानी उठाउन र थप कमाउन प्रतिष्ठानमा आवश्यक मेडिकल उपकरण खरिदका नाममा व्यापारीसँग कमिसन खाने गरेका छन् भन्ने यसअघिका विभिन्न प्रतिवेदनले छर्लङ्ग पारेकै छन् । प्रतिष्ठान उँभो नलाग्नुमा अयोग्यलाई राजनीतिक नियुक्ति दिएर पदाधिकारी बनाउनु मुख्य कारण हो ।’

कामु उपकुलपति प्राडा प्रल्हाद कार्कीविरुद्ध चिकित्सकहरुको र्‍याली

दास, रौनियार र गिरीले पैसाले पद किनेर आएपछि लुटपाटको श्रृङ्खला बढाएको शर्माको विश्लेषण छ । त्यहीँबाट भ्रष्टाचार र अनियमितता संस्थागत भएको उनको भनाइ छ । केदारबहादुर अधिकारी र बैकुण्ठ अर्यालको प्रतिवेदनले उनीहरुलाई नङ्ग्याएको र सुधारका लागि राजनीतिक नियुक्ति बन्द गरेर योग्य, दक्ष एवं पाँच वर्षे कार्ययोजना बनाएर कार्यान्वयन गर्न सक्नेलाई पदाधिकारी बनाउनुपर्ने शर्माको सुझाव छ ।

त्यसो त एक वर्षअघि पनि प्रतिष्ठानभित्रैका चिकित्सक, शिक्षक, नर्स र विद्यार्थीहरुसहित धरानका नागरिक समाजले राजनीतिक नियुक्तिको खारेजी सहित विज्ञ र योग्यलाई पदाधिकारी बनाउन माग गर्दै आन्दोलन गरेका थिए । त्यो माग र आन्दोलन अहिले पनि जारी छ ।

यो पनि…

नेपालमा चिकित्सा शिक्षा : ऐतिहासिक विकास, प्रगति र चुनौती

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  २ : ५९ बजे

उपनिर्वाचन : हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो

बागमती – प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष

फोहोरमा राजनीति गर्ने-गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं : बालेन 

काठमाडौं– काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोरमा राजनीति

नेपाली सेनाको विभिन्न पदमा दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स

केनेडी जूनियर अमेरिकी स्वास्थ्यमन्त्रीमा नियुक्त

काठमाडौं– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट एफ केनेडी जुनियरलाई

दैलेखका किसान ‘गुणे’ धानमा अधिक आकर्षित

दैलेख– कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै