नेपालमा चिकित्सा शिक्षा : ऐतिहासिक विकास, प्रगति र चुनौती | Khabarhub Khabarhub

नेपालमा चिकित्सा शिक्षा : ऐतिहासिक विकास, प्रगति र चुनौती



विश्वमा चिकित्सा शिक्षामा निरन्तर परिवर्तन हुँदै गइरहेको छ । प्रविधिका कारणले भएको दु्रत गतिको आधुनिक विकास तथा प्रगतिले हाम्रो सामाजिक आवश्यकता र मूल्य मान्यता पूरा गरिरहेको छ, जसको हामी स्वयं साक्षी छौं ।

वास्तवमा भन्नुपर्दा ‘भविष्य युवाहरूमा निहित छ’, यस पुस्ताका चिकित्सा शिक्षार्थीहरू बिल्कुलै फरक छन् भन्ने कुरा हामीहरुले बुझ्नुपर्छ । युवाहरुले अहिलेको आफ्नो दैनिक जीवनमा प्रविधिको भाषा मात्र सुन्ने र बोल्ने भएकाले उनीहरु अहिलेको परिवेशमा छिट्टै दक्ष बन्दै गएको पाइन्छ ।

अर्कोतर्फ, आजको यस डिजिटल युगमा शिक्षाविदहरूले विद्यार्थीको परिवर्तनशील विशेषतालाई बुझ्नु, विद्यार्थीका लागि कुशल, शोभनीय र उपयुक्त शिक्षण, पढाइ, सिकाइ र बुझाइका रणनीतिहरू पहिचान गरी उनीहरुलाई सक्रिय तथा सक्षम बनाउन आवश्यक छ ।

यसका साथै उनीहरूलाई समस्याहरू छिटो बुझ्न सक्ने र सक्रिय सिकाइमा संलग्न गराउनुपर्दछ । किनकि, अहिलेको समय सापेक्ष सिकाइका लागि आउने दिनमा निष्कृय सिकाई विधि ‘प्रशिक्षक केन्द्रित विधि’ विस्तापित हुने चुनौतिको सामना सँगसँगै गरिरहेका छन् ।

चिकित्सा शिक्षामा भएका धेरै अध्ययनहरूले देखाएको छ कि विद्यार्थीको संलग्नता परम्परागत ‘प्रशिक्षक केन्द्रित’ विधिहरूको तुलनामा ‘सक्रिय सिकाइ’ रणनीतिहरूमा बढी हुन्छ । यी शैक्षिक रणनीतिहरूले ‘सक्रिय शिक्षार्थी केन्द्रित’ शिक्षण दृष्टिकोणलाई सहज बनाएका छन्, जसमा सबैभन्दा बढी जोड विद्यार्थीहरू र उनीहरूले के सिक्छन् भन्ने कुरामा दिइन्छ ।

विद्यार्थीहरूको स्तर र सिकाई अनुभवको अवधारणा एवं अनुभूतिलाई सुधार गर्ने उद्देश्यका साथ फिल्ड कक्षा, सहपाठी शिक्षण र समस्यामा आधारित सिकाइ जस्ता केही दृष्टिकोणहरु चिकित्सा शिक्षा पाठ्यक्रममा समावेश गरिएका छन् ।

पोडकास्ट र भिडियो एप्ससहितको मोबाइल उपकरण, भिडियो गेम, र सिमुलेशनहरु पाठ्यक्रममा समावेश गरिएका नयाँ विधि हुन् । तसर्थ, हाम्रो देशको प्रत्येक मेडिकल स्कुलले यो विश्लेषण गर्न आवश्यक छ कि हाल कुन परिप्रेक्षमा शिक्षण सिकाइ सञ्चालन भइरहेको छ ? र, भविष्यको लागि कुन शिक्षण सिकाइ विधि उपयुक्त हुने हो ? यसको मनन एवं विश्लेषण गरी छनोट गर्ने प्रबन्ध मिलाउनु उपयुक्त हुन्छ ।

यस स्तम्भको प्रमुख ध्येय हालका वर्षहरूमा चिकित्सा शिक्षाको सिकाइ र शिक्षणमा भएका प्रमुख प्रगतिहरू वर्णन गर्नु हो । यसको अन्य कुनै उद्देश्य भन्दा पनि बढी सिक्ने वातावरणलाई उत्साहित गर्ने, गहन सिकाईलाई प्रोत्साहित गर्ने, ज्ञान धारण र विद्यार्थीहरूको प्रेरणालाई सुधार गर्ने दृष्टिकोणहरूको पहिचान गर्नु रहेको छ ।

उपयुक्त शिक्षण विधिको चयनले शिक्षाविदहरूको शिक्षण क्षमता अभिवृद्धि गर्ने र आधुनिक शिक्षार्थीलाई अवधारणाहरू व्यक्त गर्न र बुझाउन सहजता मिल्नेछ ।

विश्वव्यापीरुपमा तथाकथित ‘चिकित्सक अनुसन्धानकर्ता’ हरूको संख्यामा गिरावट आएको छ । यसले चिकित्सा शिक्षाका विद्यार्थीमा दीर्घकालसम्म नकारात्मक असर पार्न सक्छ । अब चिकित्सा शिक्षामा उपयुक्त शिक्षण विधि पहिचान गर्ने बेला आएको छ ।

अग्रणी अस्पताल र तिनका कार्यक्रमको इतिहास

सन् १८८९ मा स्थापित वीर अस्पताल (नेशनल एकेडेमी अफ मेडिकल साइन्सेज) नेपालको सबैभन्दा पुरानो प्रमुख संस्था हो । राणा शासनकालमा देशकै एक अग्रणी र दीर्घकालसम्म सेवा दिने अस्पतालका रुपमा यो स्थापना भएको हो ।

त्यतिखेर वीर अस्पतालमा केवल एक डाक्टर र केही सहायक कर्मचारीलाई सहयोगीका रूपमा लिई सेवा शुरु गरिएको थियो । सन् १९७२ मा शाह वंशका पालामा ‘इन्स्टिच्युट अफ मेडिसिन’ को जन्म भएको थियो । यसले प्रारम्भमा हेल्थ एसिस्टेन्ट कार्यक्रमहरू सञ्चालन गर्न ‘अक्जिलरी हेल्थ वर्कर्स’ स्कुलको स्थापना गरेको थियो । सन् १९८२ मा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको स्थापनासँगै देशमै पहिलोपटक स्नातक तहको एमबीबीएस कार्यक्रम सुरु भयो ।

सन् १९९४ मा स्नातकोत्तर चिकित्सा शिक्षा समन्वय समितिको स्थापना भयो । यसले काठमाडौं उपत्यकाका अस्पताल (भ्याली ग्रुप अफ हस्पिटल) हरुमा पोस्टग्राजुयट रेसिडेन्टहरुलाई भर्ना गरी हाम्रो देशमा प्रथम पटक स्नातकोत्तर तहको पाठ्यक्रमका लागि मार्ग प्रस्तुत गर्‍यो ।
त्यसपछि एक्काइसौं शताब्दीको दोस्रो दशकमा काठमाडौं विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, न्याम्स र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विषयमा डीएम र एमसीएच, सबस्पेशियाल्टी वर्ग सुरु गरे । यसपश्चात हाम्रो देशमा उच्च तहको शिक्षण तथा स्वास्थ्य सेवाको उत्तरोत्तर प्रगतिका लागि टेवा पुग्यो ।

हालको तथ्यांक अनुसार सन् २०२३ मा हाम्रो देशमा सरकारी र निजी मेडिकल कलेजहरूमा गरी जम्मा १ हजार ८९५ जना एमबीबीएस डाक्टर, १ हजार १२८ जना एमडी/एमएस स्पेशलिष्ट र ८३ जना डीएम/एमसीएच सुपर स्पेशलिष्ट मेडिकल शिक्षाको अध्ययनका लागि भर्ना भएका छन् ।

चिकित्सा शिक्षा ऐन र आयोग

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले चिकित्सा संस्था र चिकित्सा शिक्षण पेशालाई नियमन गर्ने, हाम्रो सामाजिक आवश्यकता र यिनको मूल्य मान्यता अनुसार पाठ्यक्रम पुनरावलोकन गर्ने, विभिन्न पूर्वाधारहरूको निर्धारण र मूल्यांकन गर्ने, योग्यतामा आधारित दक्ष जनशक्ति उत्पादन गर्ने सन्दर्भमा राष्ट्रिय आवश्यकताहरूको मूल्यांकन गर्ने एवं नीतिहरू निर्माण गर्न खोजेको छ ।

चिकित्सा शिक्षाका भावी चुनौती

‘आवाशीय प्रशिक्षण’ शारीरिक र मानसिक रूपमा अति कठिन छ । ‘भविष्यका चिकित्सक’ हरुको समन्वय र कल्याण समुदायका लागि अपरिहार्य छ ।

शिक्षाविद, क्लिनिकल प्रशिक्षक र विद्यार्थीहरूले प्राविधिक ज्ञानको युगमा स्वास्थ्य सेवाको माग पूरा गर्ने हेतु समय सापेक्ष अनुरुपको विधिको अध्ययन र कार्यान्वयन गर्ने खालको सीप सम्बोधन गर्नु नितान्त आवश्यक छ ।

हाम्रो देशमा कतिवटा विश्वविद्यालय, कति स्वास्थ्य शिक्षण संस्था र कुन–कुन स्थानमा निर्माण गर्दा उपयुक्त हुने हो ? दक्ष स्वास्थ्य जनशक्ति कति आवश्यक छ ? यी कुराको मापन गर्नु, राष्ट्रिय पाठ्यक्रमको रूपरेखा निर्धारण गर्नु, साझा प्रवेश परीक्षा र अन्तिम परीक्षा तथा मूल्यांकन संकलन विधिहरूको विकास र पुर्नसंगठन गर्नु जरुरी छ ।

चिकित्सा शिक्षा तथा शिक्षण विधिमा अन्तर्राष्ट्रिय मापदण्डको अवलम्बन गर्ने, स्वास्थ्य शिक्षाको समय–समयमा नियमित रुपमा पर्यवेक्षण, अनुगमन र नियमन गर्ने आवश्यकता छ ।

नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउने चिन्तनशील तथा गम्भीर रुपले विचार गरी योजना तर्जुमा गर्नुपर्छ, जसले सम्पूर्ण उपमहाद्वीप र अन्य राष्ट्रहरूलाई दीर्घकालीन रूपमा मद्दत पुर्‍याउनेछ ।

भविष्यको चिकित्सा पाठ्यक्रम कस्तो हुनुपर्छ ?

स्वास्थ्य सेवा र हेरचाहको ध्यान अस्पतालबाट समुदायतर्फ उन्मुख भएको छ । गम्भीर रोगबाट दीर्घकालीन अवस्थाहरूमा प्रविधिको सदुपयोगले सिकाइलाई रूपान्तरण गर्न निर्णायक भूमिका खेलेको छ । ‘विद्यार्थी केन्द्रित दृष्टिकोण’ विकसित हुँदैछ र सयमसँगै सम्मानित ‘शिक्षक केन्द्रित’ शिक्षण विधिलाई प्रतिस्थापन गर्ने नियति रहेको छ । इ–लर्निङले ‘लेक्चरमा आधारित शिक्षण’ लाई विस्थापित गरिरहेको छ र तुलनात्मकरूपमा नयाँ उदाहरणहरू, जस्तै– ‘योग्यता वा परिणाममा आधारित शिक्षा’ ले ‘सामग्री उन्मुख’ वा ‘समय आधारित शिक्षा’ लाई प्रतिस्थापन गर्ने देखिन्छ ।

चिकित्सा पाठ्यक्रमलाई पुनर्निर्माण गरिनु पर्छ । राम्रो ढाँचासहित स्तरीय परिणामहरू समावेश गरी जसले व्यक्तिगत सिकाइलाई स्वीकार गर्दछ, त्यसले ‘स्वनियन्त्रित सिकाइ’ मार्फत सिकाइको जिज्ञासालाई बढावा दिनुपर्छ । प्रारम्भिक क्लिनिकल एक्सपोजर, दीर्घकालीन अनुभवहरू र सेवा सिकाइ मार्फत व्यावसायिक पहिचान र सिकाइलाईमाथि उठाउनुपर्छ ।

हामीले यी भावी आयामिक दृष्टिकोणमा गम्भीर रुपमा सोच विचार गर्न जरुरी छ । यसका बुँदाहरु चर्चा गरौं–

विद्यार्थी केन्द्रित पाठ्यक्रम : चिकित्सा शिक्षालाई मोड्युलमा आधारित र एकीकृत शिक्षा बनाउन प्रेरित गर्छ ।

फ्लिप्ड कक्षा : विद्यार्थीहरूले कक्षामा आउनुअघि घरमा रेकर्ड गरिएका भिडियो वा पोडकास्टहरू हेर्छन् । उनीहरूले अन्तरक्रिया र उच्च मनोबल एवं सोचका साथ कक्षा कोठाको उपयोग गर्छन् ।

समस्यामा आधारित शिक्षा : यसले संस्थागत बनाउँछ र विद्यार्थीहरुले न्यून स्मरण गर्दा पनि सिकाई हुनेछ ।

सहपाठी सिकाइ : विद्यार्थीद्वारा नै आफ्नै साथी विद्यार्थीका लागि सहयोग हो, यसले शैक्षिक आत्मविश्वास र लचिलोपन बढाउँछ ।

सिमुलेशन आधारित चिकित्सा शिक्षा : यसले सीप उकास्ने, पुनः सीप आर्जन गर्ने तथा ज्ञान र मनोवृत्तिको उत्थान गर्न सक्षम बनाउँछ ।

ई–लर्निङ : यसले डिजिटल स्रोतहरू मार्फत सबैलाई शिक्षित, सशक्त र संलग्न बनाउँछ ।

जब हामीले सिकाइका बारेमा धेरै सिक्ने कुरा महशुस गर्छौं, टेलिमेडिसिन जस्तै चिकित्सा शिक्षा पनि ‘दुर शिक्षा’ मार्पmत सञ्चालन गर्न सकिन्छ ।

चिकित्सा तथा स्वास्थ्य सेवाका चुनौतीहरू

विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका लागि डाक्टर–बिरामी अनुपात प्रतिएक हजार नागरिकमा १ जना डाक्टरको मापदण्ड तोके तापनि हाम्रो देशमा अहिले १: १९०० रहेको छ । भारतमा १: ८३४ रहेको छ ।

सन् २०२१ को विश्वव्यापी तथ्यांकले १ हजार नागरिकका लागि ५.३५ डाक्टरसहित अस्ट्रिया शीर्ष स्थानमा छ । चीन र ब्राजिल क्रमशः २.३६ र २.०५ भई सबभन्दा तल्लो स्थानमा रहेको देखिन्छ ।

हाम्रो देशमा क्लिनिकल डाक्टरहरुको पदस्थापन अवस्था मिलेको पाइँदैन । लगभग ८५ देखि ९० प्रतिशतसम्म चिकित्सकहरु तराई र उपत्यकामा मात्र केन्द्रित छन् । उनीहरू त्यहाँका विभिन्न सरकारी अस्पताल र निजी श्रोतमा स्थापित अस्पतालहरुबाटै जनतालाई सेवा दिन खोजिरहेका छन् । यसले गर्दा हाम्रो देशको पहाडी भेगमा रहेर कष्टकर जीवन व्यतीत गरिरहेका नागरिकहरुले स्तरीय स्वास्थ्य उपचार सेवा पाउन सकिरहेका छैनन् ।

देश वा प्रदेशको उचित, न्यायोचित, भौगोलिक विशेषतः जनसंख्या पर्याप्त भएका स्थानहरूमा चिकित्सा संस्था र अस्पतालहरूको स्थापना तथा तिनीहरूको समयमै सम्वृद्धि सबैभन्दा महत्वपूर्ण हुन्छ ।

स्वास्थ्य सेवा प्रदायक, नीति निर्माता, व्यवसायी, सरोकारवाला र विश्लेषकहरूले समावेशी रुपमा व्यापक र निष्पक्ष अन्तरक्रिया गर्न आवश्यक छ । जसले गर्दा हरेक नेपाली नागरिकका घर परिवारका लागि स्तरीय स्वास्थ्य सेवा पुग्न जान्छ । हामीले हाम्रो तथा भावी सन्तान एवं नयाँ पिढीलाई सबैभन्दा उत्तम तथा अनुकूल स्वास्थ्य सेवा प्रदान गर्न सकौँ ।

भावी शिक्षक

यस डिजिटल युगमा शिक्षकहरू ‘शिक्षक’ भन्दा पनि ‘सहजकर्ता’ बन्नुपर्छ । उनीहरूमा विद्यार्थीसँग धेरैभन्दा धेरै मिलनसार भएर विद्यार्थीहरूलाई सिकाइमा सही तरिकाले निर्देशन दिन सक्ने दक्षता हुनुपर्छ । सानो समूहको सिकाइमार्फत् विद्यार्थीहरुलाई दक्ष बनाउनुपर्छ । समस्यामा आधारित सिकाईमा जोड दिनुपर्छ ।

अहिलेको सन्दर्भमा राम्रो शिक्षकले सुचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) मा दख्खल राख्ने तथा दक्षता हासिल गर्न सक्ने हुनुपर्छ र अन्य सहयोगी सिकाइ संस्थाहरूसँग नियमित र आवधिक रूपमा अन्तरक्रिया गरी निरन्तर सिकाइ कायम राख्नु पर्छ ।

स्नातक तहका लागि अनुसन्धान परियोजना किन आवश्यक छ ?

ती दिनहरू बिलाए, जब हामी पुस्तकालयमा जान्थ्यौं र पत्रपत्रिका तथा पुस्तक खोज्न घण्टौं संघर्ष गर्नुपर्थ्यो । आज हामी कुनै पनि समयमा आवश्यक पर्ने सबै जानकारी प्राप्त गर्न सक्छौं । हाम्रो वरपर आजकल धेरै जानकारीहरु इन्टरनेटद्वारा उपलब्ध भएका कारण मानिसहरूले अनुसन्धान र शिक्षाप्रतिको आफ्नो झुकाव परिवर्तन गरिरहेको हुन सक्छ ।

विश्वव्यापीरुपमा हाल तथाकथित ‘चिकित्सक अनुसन्धानकर्ता’ हरूको संख्यामा गिरावट आएको छ । यसले चिकित्सा शिक्षाका विद्यार्थीहरूमा दीर्घकालसम्म नकारात्मक असर पार्न सक्छ ।

हाम्रो संस्था वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्नातक तहको तेस्रो वर्षमा प्रवेश गरेपछि विद्यार्थीले ६ हप्ताका लागि आफ्नो रोजाइको क्षेत्रमा गाउँघरको दैलोमा पुगी स्वास्थ्य सम्बन्धी परियोजना सञ्चालन गर्छन् । अनुसन्धान पश्चात उक्त कार्य विवरण आफ्ना प्रशिक्षकहरूलाई प्रस्तुत गर्छन् । कतिपयले पत्रपत्रिका, जर्नलमा पनि आफ्ना काम प्रकाशित गर्दछन् र गौरव महशुस गर्दछन् । एमबीबीएस शिक्षामा पढाइका दौरान नै अनुसन्धान कार्य गर्नु अझ बढी प्रशंसनीय छ ।

अनुसन्धानको मन्त्र

आफ्नो जीवनको शुरुमै अनुसन्धान कार्य गर्नाले आत्मविश्वास ल्याउँछ । अनुसन्धानसम्बन्धी कार्य टोलीको हिस्सा बन्नका लागि एक अद्वीतीय सिक्ने अवसर हुन्छ । विद्यार्थीले टिमवर्कको महत्व कस्तो हुँदोरहेछ बुझ्छन् ।

विद्यार्थीहरुले अनुसन्धानबाट सिकेका कुराहरू पछि आफ्नो पठनपाठन कार्यमा लागू गर्न सक्छन् । जब उनीहरू अन्तिम क्लिनिकल परीक्षामा बस्छन्, यसले रेसिडेन्सी कार्यक्रमलाई बलियो बनाउन र पोस्टडक्टोरल डिग्री आवेदनमा पनि मद्दत गर्छ । सम्मानित जर्नलहरूमा आफ्नो काम प्रकाशित गर्ने मौका पाउनाले आफ्नो बायोडाटामा समावेश गर्न सक्षम हुनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो अनुसन्धान कार्य प्रस्तुत गर्ने अवसर पनि पाउन सक्छन् ।

विद्यार्थीहरूले स्नातक तहको अध्ययन अवधिमा सामान्य भन्दा बढी आर्थात केही अतिरिक्त मैले हासिल गरेँ भनेर पनि सन्तुष्ट महशुस गर्छन् । यसले केही विद्यार्थीहरूलाई आफ्नो जीवनमा अनुसन्धानको क्षेत्रमा वृत्ति विकासका लागि थप मद्दत समेत गर्न सक्छ ।

यो केवल नेपालको चिकित्सा शिक्षाका बारेमा मेरो एउटा सामान्य विचारलाई विश्वास दिलाउने तरिका हो । र, एउटा त्यस्तो चिन्ता हो, जहाँ सबैजना एकै पृष्ठमा, एक अर्काका हरेक मुद्दामा सँगै हुँदैनन् ।

(प्रा.डा. अधिकारी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत छन् )

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ५ : २५ बजे

सूचना प्रविधिको विकास सरकारको उच्च प्राथमिकमा : अर्थमन्त्री पुन

ललितपुर– अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका लागि

युक्रेन शान्ति शिखर सम्मेलनमा भाग लिन विश्व नेताहरू स्विट्जरल्याण्ड प्रस्थान

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोसँग शान्ति वार्ता चाहेको खण्डमा

नयाँ बजेट- जीडीपीमा ४० अर्ब घाटा !

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल विवाद अहिलेको जल्दोबल्दो विषय

रास्वपाले सरकारमा गएको सय दिनमा नराम्रो काम गरेको छैन : सभापति लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रास्वपाले  सरकारमा

सातै प्रदेशका सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं–  संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको