थारू बस्तीमा माघीको रौनक « Khabarhub

थारू बस्तीमा माघीको रौनक


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँके जिल्लाका थारू समुदायमा माघी पर्वको रौनक सुरु भएको छ । थारू समुदायको मुख्य पर्व माघीमा थारू बस्तीमा चहलपहल बढेको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । गाउँघरमा माघी पर्वको चहलपहल सुरु भइसकेको बाँके टिटिहिरियाका थारु बडघर केलसिंह थारूले बताए ।

केलसिंह थारूका अनुसार दसैँ तिहारमा घर नआएका व्यक्ति पनि माघीमा घर फर्किएका छन् । माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा समेत मान्ने गर्छन् । यस पर्वलाई थारू समुदायले बरका तेउहार (ठूलो पर्व) का रुपमा मनाउँछन् । उनले भने, “माघी हाम्रा लागि नयाँ वर्ष हो, माघीलाई हामी ठूलो पर्वका रुपमा मनाउँछौँ, वर्षभरि जो जहाँ भए पनि माघी मनाउन भने घर फर्कने गर्छन् ।”

माघीका अवसरमा थारू संस्कृति झल्कने नृत्यले गाउँघर गुञ्जयमान हुने गरेको छ । गाउँ थारू बस्तीमा युवायुवती माघीमा मघौटा, सखिया र हुरदङ्गा नाच नाच्ने गरेको थारू अगुवा बाँके राप्तीसोनारी–६ का सीताशरण थारूले बताए । उनका अनुसार माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुस मसान्तमा थारू समुदायमा जिता मार्ने (सामूहिक रुपमा सुँगुर, बङ्गुर मारेर खाने) गरिन्छ ।

थारूहरुले माघीमै वर्षदिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजनाअनुसार नै परिवारका सदस्यहरु सबै आ–आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गरिन्छ ।

यतिबेला थारू बस्तीका चोकचोकमा युवाको जमघट बढेको छ, बाहिरबाट कमाएर आएका आफ्ना साथीभाइसँग अनुभव साटासाट गर्नमा व्यस्त छन् । थारू समुदायमा माघे सङ्क्रान्तिको अघिल्लो दिन रातभर जाग्रम बसेर भजनकीर्तन गर्ने चलन छ ।

माघीका दिन बिहानै नजिकैको खोला नदीमा गई नुहाउने गरिन्छ । यस दिन खोला नदीमा गई नुहाउँदा वर्षभरिको पाप पखालिने जनविश्वास छ । नुहाइवरी आफूभन्दा ठूला मान्यजनलाई सेवा ढोक गरी आशीर्वाद लिने र साथीभाइसँग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

यो पर्वमा थारू जातिले विशेष परिकारका रुपमा ढिकरी (चामलको पीठोबाट बनाइने परिकार), माछा, घोँघी, सुँगर वा बङ्गुरको मासु र जाँड खाने तथा खुवाउने चलन छ । माघीमा गाउँका सबैजना जम्मा भएर वर्षदिनका लागि बड्घर (गाउँको अगुवा), चौकीदार र गुरुवा चयन गर्ने गरिन्छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ९ : ५६ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर