पदमार्गमा झोलुङ्गे पुल निर्माण | Khabarhub Khabarhub

पदमार्गमा झोलुङ्गे पुल निर्माण


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मुस्ताङको थासाङ गाउँपालिका– २ मा रहेको पर्यटकीयस्थल सेकुङभुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

स्थानीयवासी र ताल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर थासाङ गाउँपालिकाले झोलुङ्गे पुल निर्माण गरेको हो । थासाङ –२ कोवाङका वडाध्यक्ष गौतम शेरचनले ४५ लाख ३२ हजार एक सय ६ रुपैयाँको लागतमा ८३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको जानकारी दिए ।

‘म्हरक्पुं दोङ खोलामा पुल नहुँदा बर्खामा पर्यटक र स्थानीयवासीले जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या थियो’, उनले भने, ‘पुल बनेपछि सुरक्षित आवतजावतका साथै एउटादेखि अर्को ताल पुग्न लाग्ने समय ३० मिनेटबाट पाँच मिनेटमा छोट्टिएको छ ।’

कोवाङ, खन्ती, नाउरीकोट, ताङछरा, लार्जुङलगायत बस्तीका एक सय ६० घरधुरीका साथै ताल भ्रमणमा आउने पर्यटक पुलबाट लाभान्वित भएका छन् । सेकुङभुतर्छो तालको बीचमा म्हरक्पुं खोलाले कटान गरेर बनाएको खोंचमाथि झोलुङ्गे पुल निर्माण भएको हो ।

स्थानीयवासी विशाल परियारका अनुसार पुल बनेपछि घुमाउरो बाटोमा खोला तरेर यात्रा गर्नुपर्ने समस्या हटेको छ । पुल निर्माणका लागि स्वाप कार्यक्रमले ३४ लाख ७५ हजार पाँच सय १५, गाउँपालिकाले पाँच लाख ८९ हजार एक सय ७३, टिबिएसयुले तीन लाख ८६ हजार सात सय ७४ सहयोग र उपभोक्ताले ९० हजार छ सय ४२ रुपैयाँ बराबरको श्रमदान गरेको वडा कार्यालयले जनाएको छ ।

धवलागिरि र टुकुचे हिमालको फेदीमा रहेको सेकुङभुतर्छो ताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । दुईवटै तालको पृष्ठभूमिमा पूर्वतर्फ निलगिरी र पश्चिममा धवलागिरि हिमाल देख्न सकिन्छ ।

करिब एक सय ५० मिटर लम्बाइ र २० मिटर चौडाइको गोलो आकारको सेकुङ ताल समुद्री सतहबाट दुई हजार सात सय २५ मिटरको उचाइमा अवस्थित छ । ताल परिसरमा चौँरी, भेडाबाख्रा र गाईभैँसीको चरन खर्क छ ।

समुद्री सतहबाट दुई हजार छ सय ८३ मिटरको उचाइमा सल्ला र धूपीका रूख रहेको जङ्गलको बीचमा अवस्थित भुर्छतो तालको लम्बाइ करिब पाँच सय मिटर, चौडाइ ५० मिटर र गहिराइ पाँच मिटर भएको अनुमान छ । थकाली भाषामा (पुच्छोर) भनेर चिनिने भुर्छतो ताल विभिन्न प्रजातिका हाँस, चरा र रतुवा मृगको बासस्थान क्षेत्र हो । सुक्खा मौसममा यस तालमा पूजाआजा गरेमा वर्षा हुने जनविश्वास छ ।

बेनी–जोमसोम सडकको ताङछरबाट तीन किलोमिटर पाँच सय मिटर कच्ची सडकको यात्रापछि पुगिने सेकुङभुतर्छो तालमा गाउँपालिकाले पदमार्ग, पर्खाल, सार्वजनिक शौचालयलगायतका पूर्वाधार निर्माण गरेको छ । सेकुङभुतर्छो ताल म्हरक्पुं दोङ खोलाको वारिपारि छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ९ : ३१ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं