भीआईपी नेतालाई न लोकको डर, न परलोकको | Khabarhub Khabarhub

भीआईपी नेतालाई न लोकको डर, न परलोकको

किन बढिरहेको छ राजनीतिक नेतामा छाडापन ?



काठमाडौं– भनिन्छ, धार्मिक मानिसले कुनै गलत कार्य गर्नुअघि ‘परलोक’ सम्झन्छ । परलोकमा ईश्वरको अदालतले कस्तो सजायँ गर्ला भन्ने सम्झेर डराउँछ । परलोकमा विश्वास नगर्ने मानिसले चाहिँ कुनै अनैतिक कार्य गर्दा जनता/समाजबाट दण्डित भइएला कि भन्ने ठान्छ । लोकको डर मान्छ ।

अहिले नेपालका नयाँ वा पुराना सबै दलका नेताहरु यति धेरै थेत्तरा भइसकेका छन् कि उनीहरुलाई न लोकको डर छ, न परलोकको ।

जनतामा जतिसुकै बदनामी कमाए पनि केही भएकै छैन जस्तो गरेर नेताहरु चुपचाप सत्ताको दौडधूपमा लागिरहेका छन् । अझ उनीहरुले नै जनतालाई आदर्शका चर्का भाषण सुनाइरहेका छन् ।

पछिल्लो समय सुन तस्करीमा उच्चपदस्थ अधिकारीको संलग्नताले राजनीतिक वृत्त तताएको छ । सञ्चार माध्यममा एकपछि अर्को गर्दै आएका यस्ताखाले समाचारले नेपालमा शक्ति र अधिकारको दुरुपयोग कसरी हुन्छ भन्ने खुलाएको छ । राजनीतिक नेतृत्वको बेइमानीबाट जन्मिएको गैरकानुनी र अनैतिक क्रियाकलापले देशको छविलाई धुमिल बनाउँदै लगेको छ ।

पूर्वमन्त्री एवं नेकपा एमाले नेता टोपबहादुर रायमाझी

नेपालमा पद र शक्तिको कतिसम्म दुरुपयोग हुन्छ भन्ने कुरा पछिल्ला वर्ष ठूला भनिएका काण्डमा जोडिएका नेताहरुको सम्बन्धले स्पष्ट पार्छ ।

जघन्य अपराधदेखि अनियमिततासम्म तल्लो तहका निकायको मात्र संलग्नता देखाएर राजनीतिक नेतृत्व उम्कने गरेको आरोपका बीच सरकारले केही ठूला घटनाको छानबीन सुरु गर्‍यो । ‘लहरो तान्दा पहरो थर्कने’ जस्तै केही घटनामा राजनीतिक दलका शीर्ष नेतृत्वलाई अनुसन्धानमा तान्ने प्रयास गर्दा सारा राजनीतिक वृत्तमा तरंग पैदा भएको छ ।

गत बैशाख २७ गते पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि तातिएको राजनीतिक वृत्तले नेपालमा हुने हरेक काण्डमा राजनीतिक संलग्नतालाई पुष्टि गरेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन बनाइएको योजना सरकारको तालुक निकाय गृह मन्त्रालयबाटै डिजाइन भएको घटनाले नेपालको शासन व्यवस्थामाथि गम्भीर प्रश्न उठायो ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण

यो मात्र होइन, देशमा भीआईपी र भीभीआईपीका नाममा पदीय मर्यादा विपरीतका गैरकानुनी कामको पनि पर्दाफास भएको छ । यसको ज्वलन्त उदाहरण हो सुन तस्करीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराको संलग्नतासम्बन्धी आरोप ।

पूर्वउपराष्ट्रपति पुनका छोरा तथा माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन यस अघि नै सुन तस्करी तथा सहकारी ठगीको विवादमा मुछिएका छन् । अर्का छोरा जितेन्द्र पुन पनि सुन तस्करीमै संलग्न भएको तथ्यसहित सञ्चार माध्यममा समाचारहरु आएका छन् ।

सञ्चार माध्यममा आएका प्रकाणहरुका आधारमा जितेन्द्रले तत्कालीन उपराष्ट्रपतिकै ‘जानकारी तथा संरक्षणमा’ उनको पदीय हैसियत दुरूपयोग गरेर पटक–पटक सुन ल्याएको खुलेको हो । उनले गैरकानुनी रुपमा सुन मात्र ल्याएनन्, एक खेपमा ल्याएको चार किलो सुनको पैसा समेत चिनियाँ बिक्रेतालाई नदिएको खुलासा भएको छ ।

सुन तस्करी प्रकरणमा पूर्वसभामुखका कृष्णबहादुर महराका छोरा राहुल महरालाई प्रहरीले पक्राउ नै गरेको छ । तर, पूर्वउपराष्ट्रपतिका छोरा जितेन्द्र फरार रहेको सीआइबीले बताउँछ ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, छोराहरुमाथि गम्भीर आरोप लाग्दा पनि मौनता साँधिररहेका छन् ।

बाबुको प्रतापमा सन्तानको रजगत

सार्वजनिक ओहदामा पुग्दै गर्दा देशको सेवामा समर्पित हुने शपथ खाएका नेताहरुले जिम्मेवारी भुल्दा कहिल्यै नमेटिने दागको धब्बा भिर्न बाध्य छन् । भ्रष्टाचार आरोपमा पूर्वमन्त्रीहरु चिरञ्जिवी वाग्ले, खुमबहादुर खड्का, जेपी गुप्तालगायतका नेता दोषी देखिए । विशेष अदालतबाट भ्रष्टाचारको आरोपमा प्रमाणित भएका उनीहरुले कर्मको फल भोग्दै गर्दा परिवारमा अमिट दाग लाग्यो ।

पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल, बाबुराम भट्टराई, नेताहरु गोकुल बास्कोटा, विजयकुमार गच्छदारलगायत नेताहरु विवादित घटनामा तानिए । उनीहरु अहिले पनि आरोपको भारीले थिचिइरहेका छन् । अदालतले सफाइ दिएकाहरु पनि समाजबाट बिटुलिएका छन् ।

राजनीतिमा नयाँ शक्तिको रुपमा उदाएका दलहरु पनि विवादबाट मुक्त हुन सकेनन् । गृहमन्त्री रवि लामिछाने नागरिकतादेखि सहकारीसम्म विवादमा तानिँदा उनको पार्टीबाट सांसद भएका ढाकाकुमार श्रेष्ठ अनुचित बार्गेनिङको आरोपमा पदमुक्त भए । रविचाहिँ फेरि सरकारमा पुगेका छन् ।  वर्षमान पुन पनि आरोपको भारी बाेकेर अर्थमन्त्री बनेका छन् ।

सार्वजनिक पदको दुरुपयोगको आरोप यतिमा रोकिएन ।

पछिल्लो समय पदीय जिम्मेवारी विपरीतका कार्यमा पारिवारिक संलग्नताले गैरकानुनी कार्यलाई अवसरको रुपमा अभ्यास हुन थालेको पाइएको छ । गैरकानुनी कार्यलाई संस्थागत रुपमा विकास गर्न भएका यस्ता कार्यमा पूर्वउपराष्ट्रपति, पूर्वसभामुख तथा पूर्वमन्त्रीहरुका सन्तान एकपछि अर्को गर्दै मुछिएका छन् ।

विमानस्थलबाट किलोका किलो सुन तस्करीमा संलग्न भएका पूर्वउपराष्ट्रपतिका दुबै छोराले तस्करीलाई बैधानिकता दिनका लागि अनेक गैरजिम्मेवार काम गरे । उनीहरुले सुन तस्करीकै लागि तिब्बती नाकाबाट आवत जावत गर्न गृह मन्त्रालयबाट परिचयपत्र बनाएको खुल्यो ।

तत्कालीन उपराष्ट्रपति कार्यालयको स्वकीय अधिकृतको परिचयपत्र, बाबुको परिचय खुल्ने गरी नगरपालिका र प्रहरी प्रधान कार्यालयबाट बनाएको फोटोसहितको दस्ताबेज र यस्तै दस्ताबेज धितो राखेर चिनियाँ बिक्रेतासँग सुन किन्न गरेको तमसुक गर्दाको फोटो र भिडियो पनि सञ्चार माध्यमबाट बाहिरियो ।

राहुल महरा

विद्युतीय चुरोटको आवरणमा झन्डै १२ किलो सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पुर्पक्षका लागि थुनामै छन् । उनीसहित अर्थमन्त्री वर्षमान पुनको परिवार पनि यो काण्डमा तानिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीसँगै उनका छोरा सन्दीप रायमाझी पनि मुछिए । पूर्वमन्त्रीको हैसियतलाई रायमाझीका छोरा सन्दीपले दुरुपयोग गरेका कागजात सञ्चारमाध्यमले छताछुल्ल बनाए । यही प्रकरणमा एमाले नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पनि मुछिए । उनको संलग्नता पुष्टि गर्ने कागजातहरु बाहिरिए पछि उनी फरार छन् ।

साढे ७ वर्ष नेपालको उपराष्ट्रपति बनेका माओवादी नेता पुनले छोराहरुको अवैधानिक कार्यलाई सघाउन चिनियाँ व्यापारीलाई भटेको पनि खुलासा भएको छ । नेपालको कानुन अनुसार पूर्वउपराष्ट्रपतिको यो कार्य सार्वजनिक पदको दुरुपयोग हो । कानुनले भन्छ, ‘सार्वजनिक पदमा रहेका पदाधिकारीहरूले आफूमा रहेको शक्ति र अधिकार व्यक्तिगत हित वा फाइदा पुर्‍याउनका लागि प्रयोग गर्नु नै भ्रष्टाचार हो ।’

ट्रान्सपरेन्सी ईन्टरनेशनलका अनुसार सार्वनानिक क्षेत्रमा चाहे त्यो राजनीतिक वा प्रशासनिक होस उनीहरूलाई गरिएको विश्वास वा सुम्पिएको कार्यको गलत र गैर न्यायिक प्रयोग नै भ्रष्टाचार हो भनिएको छ ।

किन बदनामी कमाउँदैछन् नेता ?

संसदीय शासनका लागि बहुदलीय राजनीतिक व्यवस्था पहिलो शर्त हो । जहानियाँ राणा शासनदेखि पञ्चायती शासन व्यवस्थासम्म भोगेको नेपालमा अहिले बहुदलीय शासन व्यवस्था छ । संसदीय शासन व्यवस्थाको उत्कृष्ट अभ्यास गरिरहेको बताउने नेपालका राजनीतिक दलहरुको गलत क्रियाकलापले उत्कृष्ट भनिएको शासन व्यवस्थामा पनि प्रश्न उठ्न थालेको छ ।

राष्ट्र निर्माणका लागि लिइएका नीति सही हुँदा पनि नेतृत्व तहमा भएका गलत अभ्यासको सजाय नेपाली नागरिकले भोग्न बाध्य छन् । पछिल्लो समय देशको शीर्ष तहमा भएका व्यक्तिहरु संलग्न भएका पदीय दुरुपयोगका घटनाले विद्यमान शासन व्यवस्थामाथि प्रश्न उठेको बताउँछन प्रा.डा. गोविन्दमानसिंह कार्की ।

कार्की भन्छन, ‘हामीले पञ्चायत, ०४६ पछिको बहुदल र गणतन्त्रसम्म भोग्यौं  तर अहिलेजस्तो राजनीतिक बिरुप कहिल्यै देखेनौं । पहिला पनि पदीय दुरुपयोगका घटना हुन्थे तर अहिलेजस्तो हरेक क्षेत्रमा मनलाग्दी हुँदैनथ्यो ।’

गलत राजनीतिक अभ्यासका कारण मनलाग्दीतन्त्रको हाबी भएको उनको तर्क छ । गलत कार्य गर्नेले उन्मुक्ति पाउँदै जाँदा शासन व्यवस्थामाथि नै नागरिकको विश्वास घट्दै गएको उनको टिप्पणी छ ।

जुनसुकै शासन व्यवस्थामा पनि गलत कार्यलाई निरुत्साहन गर्न सकेमात्र समृद्धि आउने कार्की बताउँछन् । राष्ट्रको सर्वोच्च निकायमा पुगेको ब्यक्तिलाई भोलिको चिन्ताले सताउँदा पदीय जिम्मेवारी भुलेको हुन सक्ने उनको आकलन छ । उनी भन्छन, ‘कसैलाई पनि देशको चिन्ता छैन । आफ्नो स्वार्थ पूर्तिका लागि राजनीतिमा लागेकाहरुलाई भोलिको चिन्ताले सताउँदा यो स्थित पैदा भइरहेको हो ।’

व्यक्तिगत स्वार्थ प्रेरित राजनीतिले जिम्मेवार पदमा पुग्दा पनि नछोड्ने र आसेपासेलाई वरिपरि राख्ने अनि जिम्मेवारी बाहिरका क्रियाकलाप गर्नाले अहिलेको अवस्था सिर्जना भएको कार्की बताउँछन् ।

कानुन कार्यान्वयन नहुँदा समस्या

पूर्वडीआईजी हेमन्त मल्ल भने शासन व्यवस्थालाई चुनौती थप्ने गरी भएका पछिल्ला घटनामा कानुन कार्यान्वयनको समस्या देख्छन् । मल्ल भन्छन, ‘जे गरे पनि केही हुँदैन भन्ने ढंगले राजनीतिक कोर्ष अगाडि बढ्दा आजको स्थिति आएको हो ।’

आफ्नो जिम्मेवारी बहनका क्रममा विभिन्न राजनैतिक व्यवस्था पार गरेको अनुभव सुनाउँदै मल्ल भन्छन, ‘पहिला पनि पदीय जिम्मेवारी बाहिरका क्रियाकलाप हुन्थे तर गलत कार्य भइरहँदा उनीहरुलाई अनुशासनको डर थियो । अहिले राजनीतिक दलहरुमा अनुशासन नहुँदा यस्ता क्रियाकलाप बढ्दै गए ।’

प्रहरी प्रशासनमा लामो समय कार्यअनुभव भएका मल्लका अनुसार राजनीतिले प्रहरी प्रशासनदेखि देशको मूल प्रशासनसम्म आफ्नो प्रभाव जमाउँदा अझ यस्ता क्रियाकलाप बढ्दै गएका छन् । राजनीतिक व्यक्तित्वका कारण हरेक क्षेत्रमा अनुशासनहीनता बढ्दै गएको र यसले गर्दा भीआइपीदेखि भीभीआइपीसम्मलाई पदीय जिम्मेवारीमा राख्न नसकिएको मल्लको तर्क छ ।

पछिल्लो समय समाजमा कोही घृणाको पात्र छ भने त्यो राजनीतिज्ञ नै भएको मल्ल बताउँछन् । देशको अभिभावकत्व तहमा पुगेको व्यक्तिले गलत कार्य गर्दा तल्लो तहसम्म नकारात्मक सन्देश पैदा भएको उनको टिप्पणी छ । उनी थप्छन, ‘घरमुली नै बदमास छ भने परिवारका अन्य सदस्यमा अनुशासन खोजेर पाइँदैन ।’

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ७ : ५९ बजे

तेस्रो युएसएड यात्रा कोहलपुरमा

बाँके – नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी

राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार : शङ्कर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले

अभिनयमा फर्किंदै तीन अभिनेत्री

काठमाडौं – केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः

बागलुङमा पहिलो पटक भेटियो कालाजार

बागलुङ – बागलुङमा पहिरोपटक कालाजारको संक्रमण पुष्टी भएको छ ।

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

गाजा – इजरायली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा सन् २०२३