राष्ट्रियसभा उपाध्यक्ष एमालेलाई दिने सहमति गायब « Khabarhub

राष्ट्रियसभा उपाध्यक्ष एमालेलाई दिने सहमति गायब

एकीकृत समाजवादीलाई दिने उधारो आश्वासन, एमालेको दाबी कायमै


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत फागुन २१ गते नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीवीच ८ बुँदे सहमति भएको थियो, जसको दोस्रो नम्बर बुँदामा राष्ट्रियसभाको उपाध्यक्ष पद नेकपा एमालेलाई दिने भनिएको थियो ।

फागुन २९ गते एकीकृत समाजवादी पनि थपिएपछि पुरानै सहमतिका बुँदाहरु राखेर ७ बुँदे सहमति गरियो, जसमा राष्ट्रियसभाको उपाध्यक्ष एमालेलाई दिने बुँदा ‘डिलिट’ गरिएको छ ।

फागुन २१ को सहमतिको दोस्रो बुँदामा भनिएको छ, ‘रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने ।’

फागुन २९ को सहमतिको दोस्रो बुँदामा भनिएको छ,‘राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने ।’

हेर्नुहोस् दुबै सहमतिपत्र

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पनि मिसिएपछि भएको दोस्रो सहमति पत्रमा राष्ट्रियसभाको उपाध्यक्षबारे मौनता साँधिएको छ । राष्ट्रियसभा अध्यक्षमा माओवादीका नारायण दाहाल निर्वाचित भइसकेका छन् । उपाध्यक्षमा माओवादीकै उर्मिला अर्याल कार्यरत छिन् ।

संविधानको धारा ९१ अनुसार प्रतिनिधिसभाको सभामुख र उपसभामुखको हकमा भने फरक दल र फरक लिंगको प्रतिनिधित्व हुन अनिवार्य छ । राष्ट्रियसभामा भने अध्यक्ष र उपाध्यक्ष फरक लिंगको भए पुग्छ, संविधानको धारा ९२ ले फरक दल नै चाहिन्छ भनेको छैन ।

फागुन २१ गते चार दलवीच सहमति हुँदा माओवादीले राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याललाई राजीनामा दिन लगाएर मन्त्री बनाउने सो पार्टीका नेताहरुले बताएको स्रोतको दाबी छ । तर, अहिले न उर्मिलाको राजीनामा आएको छ, न त राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको नै चर्चा छ ।

एकीकृत समाजवादीलाई दिने उधारो आश्वासन

यस सम्बन्धमा नेकपा माओवादीका एक नेतालाई सोध्दा उनले भने, ‘शायद शीर्ष नेताहरुमा राष्ट्रियसभाको उपाध्यक्ष एकीकृत समाजवादीलाई दिने समझदारी  भएको हुन सक्छ ।’

फागुन २९ को सातबुँदे सहमतिमा उपाध्यक्ष एकीकृत समाजवादीलाई दिने व्यहोरा भने उल्लेख गरिएको छैन जबकि २१ गतेको सहमतिपत्रमा भने एमालेलाई दिने स्पष्टसँग लेखिएको थियो ।

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल

माओवादीका ती नेताले खबरहबसँग भने, ‘उर्मिला अर्यालजीले राष्ट्रियसभा उपाध्यक्षबाट राजीनामा दिनुहुन्छ ।’

तर, माओवादीकै अर्का एक नेताचाहिँ एकीकृत समाजवादीले उपाध्यक्ष मागेको तर, सहमति जुटिनसकेको दाबी गर्छन् ।

नेताहरुले भनेजस्तै एकीकृत समाजवादीले राष्ट्रियसभाको उपाध्यक्ष पाउने हो भने यसका लागि ५ प्रतिस्पर्धी रहनेछन् । राष्ट्रियसभामा रहेका एकीकृत समाजवादीका ८ सांसद मध्ये ५ जना महिला छन् । उनीहरुमा गोमादेवी तिम्सिना, जयन्तीदेवी राई, मदनकुमारी शाह, राजेन्द्र लक्ष्मी गैरे र शावित्री मल्ल छन् ।

एमाले के भन्छ ?

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हामीले सोध्यौं, तपाईहरु राष्ट्रियसभाको उपाध्यक्षको दाबीबाट पछि हट्नुभएको हो ?

जवाफमा ज्ञवालीले भने, ‘हामीले दाबी छाडेका छैनौं, तर सरकारका सहयात्री पार्टनरहरु थपिँदा हामी यसमा छलफल गर्न तयार छौं भनेर यसलाई विचाराधीन विषय बनाएका छौं ।’

ज्ञवालीले अगाडि भने, यसमा पछि छलफल गरौंला, रिभ्यु हुन सक्ला भनेर विचाराधीन विषयमा राखिएको छ, दाबी छाडेको चाहिँ छैन । हामी यसमा छलफल गर्न तयार छौं भनेर ओपन गरेको हो ।’

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ७ : ०४ बजे

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई

काठमाडौंका विद्यालयमा वैशाख १५ गतेदेखि पठनपाठन सुरू हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत विद्यालय