काठमाडौंमा ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु | Khabarhub Khabarhub

काठमाडौंमा ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ ।

उक्त अभियानको आज बिहान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शुभारम्भ गर्दै नेपालको सार्वजनिक यातायातलाई थप भरपर्दो र दुर्घटनारहित बनाउन विशेष अपरेसन सञ्चालन गर्ने घोषणा गरेका छन् ।

गृहमन्त्री लामिछानेले आवश्यक संशोधन गर्नुपर्ने नीति, नियम र ऐन संशोधन गरेरै भए पनि सार्वजनिक यातायातको रुट तथा सहज सडक यात्राको सुधारमा मन्त्रालय लागिरहेको बताए। ट्राफिक नियम पालनामा लापरबाही भइरहेको सन्दर्भ जोड्दै उनले अब प्रहरीको बोली नरम र कारबाही कडा हुनुपर्नेमा उनले जोड दिए ।

गृहमन्त्री लामिछानेले भने, ‘हामी तपाईँहरूको ज्यान जोगाउन लागेका छौँ, अब ट्राफिक नियम पालनामा निर्मम हुन्छौँ, त्यसअघि केही समय सचेतना कार्यक्रम गरेर समय भने दिन्छौँ ।’ सरकारले ट्राफिक प्रहरीलाई दिँदै आएको इन्सेन्टिभ पुनः वितरण गर्ने जानकारी गराउँदै उनले अब नियम उल्लङ्घन गर्ने विरुद्ध जानकारी (रिपोर्टिङ) गर्नेलाई समेत पुरस्कार दिने गरी काम गर्ने तयारीमा मन्त्रालय लागेको जानकारी दिए ।

सडकमा ट्राफिक लाइट जोडिँदा राष्ट्रिय समाचार बन्ने अवस्थाले नै नेपाल कति पछाडि छ भनेर देखिने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले यो वर्ष परिवर्तनको वर्ष भएको बताए । उनले केही परिवर्तनको थालनी भइसकेको भन्दै प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा सरकारले जोड दिइरहेको बताए ।

विगतमा सडक सुरक्षा कार्यदलले तयार पारेको प्रतिवेदन उपलब्ध गराउन आग्रह गर्दै गृहमन्त्री लामिछानेले सडक सुरक्षा सुधारका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताए । सबै क्षेत्रमा राजनीति हाबी भएर समस्या बल्झिरहेको बताउँदै उनले भने, ‘राजनीति गर्ने हामीहरूले हो, जसलाई जे गर्ने जिम्मेवारी छ त्यही गर्नुस्, राजनीति गर्ने हामीहरू छँदै छौँ ।’

गृहमन्त्री लामिछानेले दुर्घटना न्यूनीकरणका लागि जरोमा जानुपर्ने भन्दै त्यो जरो भनेको लाइसेन्स दिने प्रक्रिया भएको बताए । उनले रोड परीक्षण नगरी लाइसेन्स दिनै नहुनेमा जोड दिए ।

उनले जुन प्रहरीको क्षेत्रमा लापरबाहीका कारण दुर्घटना हुन्छ, त्यहाँका इन्चार्जको वृत्ति विकास र मूल्याङ्कनमा नम्बर कम आउने जनाउँदै भने, नेताको हात समातेका आधारमा नभई भ्रष्टाचार, चोर समातेका आधारमा वृत्ति विकास हुन्छ र सोहीअनुसार कामको मूल्याङ्कन हुन्छ ।’

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ट्राफिक सचेतना कार्यक्रमले सबैलाई जिम्मेवार बनाउने हुँदा यो अभियान अति महत्त्वपूर्ण रहेको बताइन् । उनले ट्राफिक प्रहरीको व्यवहार सुधारमा जोड दिइन् ।

उपप्रमुख डङ्गोलले नागरिकले पनि जिम्मेवार भएर सडक प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याइन्। केही नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले नागरिकलाई सचेत गराउन जरुरी रहेको बताइन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उपत्यकाको ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात व्यवस्थापनमा विशेष ध्यान दिएर काम थालेको बताए ।

उनले यातायातमा समेत सिसी क्यामेरा जडान गर्न सके दुर्व्यवहार रोक्न सहज हुने उल्लेख गर्दै साझा यातायातसँग सो विषयमा छलफल भइसकेको जानकारी दिए ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले दुर्घटना न्यूनीकरणका लागि सबै मिलेर काम गर्नुपर्ने बताए । उनले जनचेतना वृद्धिमा जोड दिँदै सार्वजनिक यातायात सुधार कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गरे । उक्त प्रतिवेदन कार्यान्वयन भए मात्रै पनि ८० प्रतिशत सार्वजनिक यातायात सुधार हुने उनले विश्वास व्यक्त गरे ।

सडक सुरक्षाका जानकार भगवती सेढाईँले सही रूपमा समुदायमा सचेतना बढाउँदा २० प्रतिशत दुर्घटना न्यूनीकरण हुने बताइन् । उनले ट्राफिक भोलेन्टियर तयार पार्न सुझाव दिँदै नागरिक पनि संवेदनशील हुनुपर्ने बताइन् । सडकका नियम पालना प्रहरीका लागि हो भन्ने सोच परिवर्तन गर्न पनि उनले आग्रह गरिन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक नियम पालना, सचेतना, आम नागरिक तथा सङ्घसंस्थालाई जिम्मेवार बनाउन अभियान सुरु गरिएको बताए ।

मानवीय ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले पूर्वाधार, पार्किङ व्यवस्थापन र कोरिडोर खुला गर्न सके काठमाडौँको ट्राफिक व्यवस्थापनमा केही सहज हुने बताए । समारोहअघि काठमाडौँमा ट्राफिक सचेतनासम्बन्धी र्‍याली निकालिएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  १ : १५ बजे

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त