समाचार

आजका समाचार : हिउँदे अधिवेशन अन्त्यदेखि सुदूरपश्चिम सरकार निर्माणमा विपक्षीको भाँजोसम्म

By खबरहब

April 14, 2024

दिनभर आजमा संसदको हिउँदे अधिवेशन अन्त्य, ७० दिनमा २३ बैठक, सुदूरपश्चिम सरकार निर्माणमा विपक्षीको भाँजो, मुख्यमन्त्रीमा कसले मार्ला बाजी ?, सुदूरपश्चिम नाउपाकी सांसद इन्दिरा गिरीको पुनर्बहाली, बैंकबाट दुई खर्ब बढी सहुलियतपूर्ण ऋण लगानी, कृषिमा बढी, सिन्दूर जात्रा मनाइयोलगायतका समाचारले प्रमुख स्थान पाए।

संसदको हिउँदे अधिवेशन अन्त्य, ७० दिनमा २३ बैठक

संसदको हिउँदे अधिवेशन अन्त्य भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त संसद अधिवेशन अन्त्य सम्बन्धी पत्र पढेर सुनाएका थिए ।

आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र विपक्षी दल राप्रपाका सांसदले उभिएर विरोध जनाएका थिए । सांसदरुहले उभिएर विरोध जनाएपछि सभामुख घिमिरेले भने, ‘माननीय सदस्यहरूलाई अहिले भर्खर मात्र भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णय र त्यहाँ भएका समझदारीको बारेमा ध्यान आकर्षण गर्न चाहन्छु । आज हामी जरुरी विषयमा मात्र प्रवेश गर्ने कुरामा यहाँहरू जानकार हुनुहुन्छ । त्यहाँ हुँदा एउटा कुरा गर्ने, सदनमा आएर अर्को कुरा गर्ने हामी कस्तो खालको परिपाटीको विकास गर्छौँ ? त्यसले गर्दा यस्तो गलत परिपाटीको विकास गर्न हामी उद्धत नहोऊँ । जे समझदारी भएको छ त्यही अनुसार अगाडि बढौँ । त्यसका लागि आसनग्रहण गर्न आग्रह गर्दछु ।’

सुदूरपश्चिम सरकार निर्माणमा विपक्षीको भाँजो, मुख्यमन्त्रीमा कसले मार्ला बाजी ?

सुदूरपश्चिम प्रदेश सरकारमा एकै पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । अध्यक्ष रन्जिता श्रेष्ठ पक्षका नेता कैलाश चौधरी र संरक्षक रेशम चौधरी पक्षीय नेता लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कसलाई मान्यता दिने भन्ने विषय उठेको छ ।

लक्ष्मण किशोरलाई नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

सुदूरपश्चिम नाउपाकी सांसद इन्दिरा गिरीको पुनर्बहाली

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठको कारबाहीमा परेकी सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीको पुनर्बहाली भएको छ ।

नाउपाकी समानुपातिक सांसद गिरीलाई सर्वोच्च अदालतले पदबाट नहटाउन अन्तरिम आदेश दिएपछि उनको पद पुनर्बहाली भएको हो ।

सुदूरपश्चिममा केन्द्रको सत्तासमिकरण अनुसार सरकार बन्छ : उपमहासचिव ज्ञवाली

नेकपा एमालेले केन्द्रको सत्तासमिकरण अनुसार नै सुदूरपश्चिममा सरकार बन्ने विश्वास व्यक्त गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नागरिक उन्मुक्ति पार्टीभित्रको समस्याले सुदूरपश्चिममा सरकार बन्ने विषयका केही जिज्ञासा खडा भए पनि केन्द्रको गठबन्धन अनुसार नै सरकार बन्ने विश्वास व्यक्त गरे ।

इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षामा श्रममन्त्रीको चासो

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको विषयमा चासो व्यक्त गरेका छन् ।

आइतबार बिहान देखि इरानले इजरायलको राजधानी तेल अविव लगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको विषयमा चासो व्यक्त गरेका हुन् ।

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत अनुरोध गरेको छ ।

पश्चिम एसिया क्षेत्रको घटनाक्रममा चिन्तित छौँ : परराष्ट्र

नेपाल सरकारले पश्चिम एसिया क्षेत्रको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रूपमा चिन्तित बनाएको उल्लेख गरेको छ ।

इरान र इजरायलको नाम उल्लेख नगरी परराष्ट्र मन्त्रालयले विवादको शान्तिपूर्ण समाधानमा दृढ विश्वास गर्ने उल्लेख गर्दै बल प्रयोगको निन्दा गरेको छ । साथै सरकारले सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र वार्ता र कूटनीतिको प्रयोग गरी शान्ति स्थापना गर्न आह्वान समेत गरेको छ ।

भारतले नेपाललाई दियो ३५ एम्बुलेन्स, ६६ स्कुल बस

भारत सरकारले नेपालका विभिन्न जिल्लालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस प्रदान गरेको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस सहयोगस्वरुप प्रदान गरेको हो ।

बैंकबाट दुई खर्ब बढी सहुलियतपूर्ण ऋण लगानी, कृषिमा बढी

वाणिज्य बैंकहरुले सहुलियतपूर्ण कर्जाको क्षेत्रमा २ खर्ब बढी लगानी गरेका छन् । नेपाल राष्ट्र बै‌ंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैंकहरुले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार २ खर्ब ८ अर्ब २ करोड ३९ लाख ६७ हजार रुपैयाँ लगानी गरेका हुन् ।

बैंकहरुको सहुलियतपूर्ण कर्जा लगानीको सबैभन्दा ठूलो हिस्सा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाको क्षेत्रमा भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

मुगुका ऊर्जा विकास कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमालसमेत पाँच जना विरुद्ध गैरकानुनी लाभ हासिल गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा मुगुको सोरु गाउँपालिका–५ को नेर सिँचाइ आयोजनाको पाइपलाइन कार्य एक हजार सात सय मिटर हुनुपर्नेमा आधा मात्रै काम गरी रु पाँच लाख ६१ हजार चार सय ८१ बराबरको रकम बढी भुक्तानी गरेको पाइएको छ ।

काठमाडौंमा ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु

सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ ।

उक्त अभियानको आज बिहान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शुभारम्भ गर्दै नेपालको सार्वजनिक यातायातलाई थप भरपर्दो र दुर्घटनारहित बनाउन विशेष अपरेसन सञ्चालन गर्ने घोषणा गरेका छन् ।

सिन्दूर जात्रा मनाइयो

मध्यपुरथिमीमा आइतबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दूर जात्रा मनाइएको छ ।बिस्केट जात्राको अवसरमा मध्यपुरथिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दूर जात्रा प्रसिद्ध जात्रा हो ।

मूल देवता खटमा राखी धिमे बाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ ।

मनाेरञ्जन

‘महाजात्रा’को उत्साहजनक व्यापार कायमै

नयाँ वर्षको दोस्रो दिन पनि प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘महाजात्रा’ दर्शक उत्साहजनक साथ पाएको छ । नयाँ वर्षको दोस्रो दिन फिल्म हेर्न उल्लेखनीय संख्यामा दर्शकहरू हलमा पुगेको पाइएको छ ।

नयाँ वर्षको दिन महाजात्राको टिकट नपाएर हल पुगेर फर्किएको गुनासो सामाजिक सञ्जालमा आइरहेको निर्देशक भट्टराईले बताएका छन् । उनी भन्छन्, ‘नयाँ वर्षमा महाजात्रालाई उपलब्ध सम्पूर्ण सो हाउसफुल भयो । फिल्मले तीन सातामा नेपालमा चौध करोड व्यापार गरेको थियो । हामीले हाम्रो अघिल्ला सम्पूर्ण रेकर्ड तोडिसकेका छौँ । विशेषतः हलमा आउनुभएको दर्शकलाई खुसी बनाएर फर्काउन पाएका छौँ, यो ठूलो सफलता हो ।’

‘डिग्री माइला’को दुई दिनको कमाइ तीन करोड नाघ्यो !

नयाँ वर्षलाई लक्षित गरी ल्याइएको फिल्म ‘डिग्री माइला’ले सुरुवाती दुई दिनमा सुखद व्यापार गरेको छ । वितरक गोविन्द शाहीका अनुसार यस फिल्मले शुक्रबार र शनिबार तीन करोड तीन लाखभन्दा बढी ‘ग्रस कलेक्सन’ गरेको छ ।

फिल्मले पहिलो दिन ९८ लाख र दोस्रो दिन दुई करोड आठ लाखको व्यापार गरेको वितरक शाहीले जनाए । तेस्रो दिन आइतबार पनि हलमा उच्च अकुपेन्सीका फिल्म चलिरहेको निर्माण पक्षको दाबी छ ।

अन्तराष्ट्रिय…

चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा गर्‍यो नौ सैनिक अभ्यास

चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा जापान, अस्ट्रेलिया र अमेरिकासँगै संयुक्त नौ सैनिक अभ्यास सञ्चालन गरेको छ ।

पछिल्लो समय दक्षिण चीन सागरका विषयलाई लिएर चीन र फिलिपिन्सबीच तनाव बढ्दै गइरहेको छ । यससँगै चीनले फिलिपिन्सलाई कुनै किसिमको अभ्यास सञ्चालन नगर्न चेतावनी दिएको थियो ।

इरानद्वारा इजरायलमाथि आक्रमण, हमलालाई विफल पारिएको इजरायली दाबी

इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा आक्रमण गरेको छ । इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका थियो भने तीमध्ये अधिकांशलाई विफल पारिएको थियो ।

केही आक्रमण इराक र यमनबाट समेत भएको इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले जानकारी गराएका छन् । सेनाले आक्रमणमा प्रयोग गरिएका ड्रोन र क्षेप्यास्त्रमध्ये ९९ प्रतिशतलाई इजरायली प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ ।

खेलकुद… 

अन्तर प्रदेश खेलकुद: महिला फुटबलको उपाधि कोशीलाई

चितवनको भरतपुरमा जारी अन्तर प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ ।

भरतपुर–१९ स्थित बखान मिनी रङ्गशालामा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई २–० गोलअन्तरले पराजित गर्दै कोशीले उपाधि जितेको हो । प्रतियोगिताको १२औँ मिनेटमा कोशी प्रदेशका लागि जेनिफर रानामगरले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । कोशीको जित पक्का गर्न खेलको ३८औँ मिनेटमा समीक्षा रानामगरले दोस्रो गोल गर्न सफल भइन् ।

इङल्याण्डको सी टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले इङल्याण्डको सी टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले इङल्याण्ड सी टिम विरुद्धको मैत्रीपूर्ण खेलका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।