सहकारी ठगीको लहरोमा नेता | Khabarhub Khabarhub

सहकारी ठगीको लहरोमा नेता

कोही अनुसन्धानमा, कोही हिरासतमा


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले सहकारीको बचत रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गरी अध्ययन थालेपश्चात सत्ता र प्रतिपक्षमा रहेका नेताहरू एकपछि अर्कोगरी मुछिने क्रम बढ्दैछ ।

नेकपा (एमाले) का सांसद् सूर्यबहादुर थापाको संयोजकत्वमा सरकारले ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ नाम दिएर गत जेठ १५ मा संसदीय छानबिन समिति गठन गरेको थियो ।

चार बुँदे कार्यादेश (टीओआर) सहित सुरुमा तीन महिना समयावधि तोकिएको सो समितिले यही भदौ मसान्त (३१ गते) मा प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले कार्यादेशअनुसार काम गरिरहँदा सहकारी संस्थाको बचत हिनामिनामा विभिन्न दलमा आवद्ध नेताहरूको नाम मुछिने क्रम भने बढ्दैछ ।

तत्कालीन प्रतिपक्षी र हालको प्रमुख सत्ताघटक नेपाली (काङ्ग्रेस) कै मागबमोजिम छानबिन समिति गठन गरिएको थियो । सुरुवातमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम हिनामिना गरेको चर्चा चौतर्फी चुलिए पनि पछिल्लो समय अन्य नेताहरूको नाम जोडिन थालेको हो ।

सहकारी संस्थाको रकम हिनामिनामा पछिल्लो समय सत्ता साझेदार नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, नेकपा (एमाले)का सांसद्‌ तथा संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, नेकपा (माओवादी केन्द्र)का सांसद्‌ शक्तिबहादुर बस्नेत, रास्वपाका उपसभापति डीपी अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीदेखि कांग्रेस सांसद्‌ शान्ति परियार विकसम्मको नाम मुछिएको छ ।

कांग्रेस उपसभापति गुरुङविरुद्ध ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड को-अपरेटिभका अध्यक्ष कुम्भराज गुरुङले उजुरी दिएका छन् । धनराज र उनकी श्रीमती ज्योति मिलेर सहकारीबाट निकालेको १४ करोड ८१ लाख रुपैयाँ नतिरेको भन्दै कुम्भराजले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र एमाले सांसद्‌ थापा संयोजकत्वको संसदीय समितिमा पनि उजुरी दिएका हुन् ।

यो पनि-

सहकारी ठगी आरोप लागेपछि धनराजको गुनासो, ‘मेरो घरबार पनि कुम्भराजले बिगारे’

यस्तै संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल मोरङको धनपालथान गाउँपालिका–४ मा उमागौरी कृषि सहकारी संस्थामा भएको करोडौं रुपैयाँ ठगीमा मुछिएका छन् ।

उनकी श्रीमती अञ्जला कोइराला झण्डै १४ करोड रुपैयाँ अपचलनमा मुछिएपछि लेखा समिति सभापति पोखरेलको नाम सहकारी ठगीमा जोडिएको हो ।

संसद्को सार्वजनिक लेखा समितिलाई कार्यकारिणीले गर्ने राज्यकोषको खर्च र कारोबार नियम अनुसार भए/नभएको जाँच गर्ने थलो मानिन्छ । तर, सरकारलाई वित्तीय अनुशासनमा बाँध्ने महत्वपूर्ण संसदीय समितिका सभापति पोखरेल आफैं वित्तीय अनुशासनसम्बन्धी प्रश्नको घेरामा परेका छन् ।

पोखरेलकी पत्नी अञ्जला ऋण नतिरेका कारण डेढ वर्षदेखि कालोसूचीमा परेकी छिन् । कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्नुलाई वित्तीय कारोबारमा कानून परिपालन नभएको चरम अवस्था मानिन्छ ।

सहकारी संस्थाको बचत रकम हिनामिनामा रास्वपाका सभापति लामिछानेसँगै उपसभापति डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको पनि नाम मुछिएको छ । उनीहरूका बारेमा प्रतिनिधि सभा मै प्रश्न उठिसकेको छ । तत्कालीन प्रतिपक्षी कांग्रेसले ०८० चैत २० मा सहकारीको रकम ठगीमा अर्याल र सहमहामन्त्री बुर्लाकोटीमा सहकारीको रकम हिनामिनाबारे प्रश्न उठाएको थियो ।

तत्कालीन समयमा रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले रास्वपाकै अन्य दुई नेतासमेत आरोपित रहेको दाबी गरेको थियो ।

संसद्को उक्त बैठकमा कांग्रेस सांसद्‌ रामकृष्ण यादवले तत्कालीन गृहमन्त्री लामिछानेलाई लागेको आरोपका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग दोहो¥याउँदै तत्कालीन श्रममन्त्री अर्याल र सहमहामन्त्री बुर्लाकोटीसमेत आरोपित रहेको दाबी गरेका थिए ।

अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड रुपैयाँ भन्दाबढी रकम फिर्ता नपाएको विषय रहेको र त्यसबेला उक्त सहकारीको सञ्चालक समितिको सदस्यमा बुर्लाकोटीसमेत रहेका उनको दाबी थियो ।

रास्वपा उपाध्यक्ष अर्याल उपाध्यक्ष रहिसकेको हाम्रो नयाँ कृषि सहकारी संस्थाको बचत रकम हिनामिनामा नेकपा माओवादी केन्द्रका सांसद्‌ शक्तिबहादुर बस्नेतको पनि नाम जोडिएको छ । उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री हुँदा नै सहकारी ठगीमा मुछिएका हुन् ।

तत्कालीन ऊर्जामन्त्री बस्नेत हाम्रो नयाँ कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष हुन् । बस्नेतपछि उनकी पत्नी सत्या पहाडी र त्यसपछि सूर्यबहादुर गुरुङ सहकारीका अध्यक्ष बनेका थिए ।

गुरुङ नाताले बस्नेतका साला पर्छन् । गुरुङपछि उक्त सहकारीको अध्यक्ष जीबी राई बनेका थिए । रास्वपा उपाध्यक्ष अर्याल जीबी गुरुङ अध्यक्ष बन्दा उपाध्यक्ष बनेका थिए

पछिल्लो समय सहकारी संस्थाको रकम हिनामिनामा कांग्रेस सांसद्‌ शान्ति परियार विकको नाम पनि जोडिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ मा अवस्थित छिमेकी कृषि सहकारी लिमिटेडबाट लिएको ऋण चुक्ता नगरेपछि उनको नाम सहकारी ठगी प्रकरणमा जोडिएको हो ।

सांसद्‌ विकले ०७१ असार ५ गते १ लाख ५० हजार रुपैयाँ ऋण लिएर चुक्ता नगरेको सहकारीका अध्यक्ष विष्णुप्रसाद अर्यालले आरोप लगाएका छन् । उनले पटक–पटक ऋण चुक्ताका लागि सहकारीले पत्राचार गरे पनि सांसद्‌ विकले बेवास्ता गरेको दाबी गरेका छन् ।

कांग्रेस सांसद्‌ विक संसद्‌मा सहकारी ठगीबारे आफ्ना धारणा राख्दै आउने सांसद्‌मध्ये पर्छिन् । तर, छिमेकी कृषि सहकारी लिमिटेडका अध्यक्ष अर्यालका अनुसार उनले ऋण लिएको १० वर्षसम्म पनि चुक्ता गरेकी छैनन् ।

सांसद्‌ विकलाई ऋण चुक्ताका लागि सहकारीले गत असार ३१ मा लेखेको पत्रमा भनिएको छ, ‘अहिलेको सहकारी प्रकरणको विषयमा माननीयजयूले पनि संसदमा आफ्नो विचार राख्नुभएको हामीले सुनेका छौँ । त्यसैले आफूले तिर्नुपर्ने हिसाब चुक्ता गरी सहकारीलाई खराब हुन नदिन यहाँलाई विनम्र अनुरोध गर्दछौँ ।’

यसअघि एमालेका तर्फबाट संविधानसभा सदस्य रहिसकेका सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएर जेल परिसकेका छन् ।

उनलाई ०८० माघमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ०७९ भदौ १६ मा इच्छाराजविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो । उनीमाथि सहकारीको रकम आफ्ना विभिन्न कम्पनीमा लगानी गरेको र कम्पनीको नाफा अन्यत्र लगानी गरेको आरोप थियो ।

यस्तै; रास्वपाका निलम्बित सांसद्‌ ढाकाकुमार श्रेष्ठ पनि सहकारीको विवादमा मुछिने नेतामा पर्छन् । कास्कीको पोखरास्थित रत्नचोकमा उनी आफैंले स्थापना गरेको साथी किसान सहकारी संस्थाका बचतकर्ताहरूको बचत रकम डुबेको छ ।

श्रेष्ठ राजनीतिमा लाग्ने भन्दै ०७९ कात्तिकदेखि सहकारीको नेतृत्वबाट बाहिरिएका थिए । ०७९ कात्तिक ९ मा बसेको साधारण सभामा उनले सनी पाठकलाई सहकारीको नेतृत्व सुम्पिएका थिए ।

उनी आफू अध्यक्ष हुँदाको हिसाब बुझबुझारथ नगरी बिदा भएका थिए । सहकारीको अध्यक्ष हुँदा श्रेष्ठले बचतकर्ताको रकम आफ्नै व्यवसायमा लगेर फसाएको आरोप पदाधिकारीको थियो । हाल उनी लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा छन् ।

यो पनि-

राजनीतिमा अपराधीकरण : रास्वपाको सांसददेखि लागूऔषधको अभियोगसम्म

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ३ : १७ बजे

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले

नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौँ : मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर

‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं – काठमाडौंवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौं – संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको

करिब नौ करोड बराबरको मालवस्तु बङ्लादेश निर्यात

झापा – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका