माधव नेपालले कांग्रेससँग कुम जोड्न खोजेर अविश्वास बढाए : राजेन्द्रसिंह रावल (अन्तर्वार्ता) | Khabarhub Khabarhub

माधव नेपालले कांग्रेससँग कुम जोड्न खोजेर अविश्वास बढाए : राजेन्द्रसिंह रावल (अन्तर्वार्ता)

कांग्रेस र एमाले मिल्छन् भनेर कसैले मुख नमिठ्याए हुन्छ



गत वैशाख ६ गते सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त दीर्घराज सोडारीले अझैसम्म विश्वासको मत लिन सकेका छैनन् । एकीकृत समाजवादी संसदीय दलका नेता उनलाई मुख्यमन्त्री बनाउने कुरामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सकारात्मक थिएनन् । यद्यपि नागरिक उन्मुक्ति पार्टीमा किचलोको फाइदा सोडारीलाई भयो । अध्यक्ष माधवकुमार नेपालले सोडारीलाई मुख्यमन्त्री बनाउन सफल भए । तर सोडारीले वैशाख २० र २१ गते दुई पटक विश्वासको मत लिने योजना एमाले तयार नहुँदा असफल भयो ।

सोमबार मात्रै कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् । जहाँ एकीकृत समाजवादीका तीन सांसदले कार्कीलाई समर्थन जनाए । एमालेलाई समाजवादीले कोशीमा सघाएकाले सुदूरपश्चिममा अब एमालेले आफूलाई साथ दिने कुरामा मुख्यमन्त्री सोडारी ढुक्क छन् । तर नेकपाकालीन समयमै सोडारीलाई लागेका आरोपले एमाले अध्यक्ष ओली भने उनीप्रति सकारात्मक छैनन् । सोडारीले यही बिहीबार विश्वासको मत लिने तयारी गरेका छन् । उनले विश्वासको मत लिँदा एमालेको साथ आवश्यक छ । यस्तोमा अब एमालेले त्यहाँ के गर्ला ? खबरहबका लागि कृष्ण तिमल्सिनाले एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलसँग कुराकानी गरेका छन् ।

दीर्घ सोडारीलाई एमालेले मन पराएन, परिणामतः सुदूरपश्चिम सरकारमा समस्या आएको आरोप तपाईंहरुलाई लागेको छ नि !

दीर्घ सोडारीलाई नेकपा एमालेले नस्विकारेको होइन, हामीले आफ्नो हात काटेर उहाँलाई विश्वासको मत दिन हस्ताक्षर बुझाएका छौँ । उतारचढाव हामीले ल्याएका छैनौँ, खुट्टा उचाल्ने काम जसले गरे, यो हल्ला पनि तिनैले ल्याएका हुन् ।

अझै जेठ ४ गतेसम्म समय छ, त्यसैले पूर्व अनुमानका आधारमा कसैले बोल्नु हुँदैन । हामी बझाङको उपचुनावमा थियौँ । उपचुनावबाट जितेपछि उहाँलाई नै मत चाहिन्छ भनेर पर्खिएका थियौँ । हाम्रो उम्मेदवारले जितेको त सबैलाई थाहा छ ।

एमालेका कारण मेरो भविष्य संकटमा पर्यो‍ भन्ने उहाँको आशय छ नि !

सरकार कहिले पनि एउटा व्यक्तिको हुँदैन । अहिले हामी गठबन्धनमा छौँ । गठबन्धनभित्र पनि सरकार बनाउँदा समीकरणमा छौँ । समीकरणमा गइसकेपछि त्यसअनुरूप आचरण र व्यवहार हुनुु पर्छ ।

दीर्घ सोडारीले के भन्छन् भनेर विश्वासको मत दिने कुरा होइन । सोडारीमा विश्वासको मतका लागि खुट्टा उचालेर यता र उता हिँड्ने प्रवृत्ति देखिएको छ । मैले माधवकुमार नेपाललाई अर्को गठबन्धनतिर लाग्नुस् भनेको थिएँ र ? अहिले पनि हामीले आफ्नो तवरबाट उहाँलाई विश्वासको मतका लागि वातावरण बनाएर जाऊँ, कसरी सरकार बनाउने भनेर छलफल गरौँ भनेका हौँ । उहाँले विश्वासको मत लिनेबारे सल्लाह गर्नु भएको थिएन । कम्तीमा गठबन्धनमा परामर्श गरेर चल्नु पर्यो‍ ।

यो दलीय व्यवस्था हो । दलीय व्यवस्थामा कम्तीमा व्यक्तिको कुरा निर्णायक हुँदैन । नेतृत्व प्रमुख कुरा हो । समीकरणभित्र छलफल गरेर सरकारमा पठाउने मानिसबारे टुंगो गरौँ भन्नुपर्छ । मन लागेको बेला एउटा मन्त्री पठायो, नलागेको बेला अर्को भर्ना गर्यो‍, गोजीबाट नाम निकालेर छुमन्तर गरे जस्तो त होइन नि !

हामीले उहाँलाई अहिले पनि विश्वासको मत दिँदैनौँ भनेका छैनौँ । तर उहाँलाई चाहियो भन्दैमा जति बेला दिने कुरा होइन, संसदीय अभ्यास र गठबन्धनको पनि ख्याल गर्नुपर्छ ।

डा. नारायण खड्काको घरमा शेरबहादुर देउवा र माधव नेपालको भेटवार्ता भएपछि अब एमालेलाई देखाइदिन्छौँ भनेकाले तपाईँहरू बिच्किनु भएको हो ?

हामी बिच्किएका छैनौँ । धैर्यको बाँध टुटेको छैन । हामीले माथि एउटा समीकरण बनाउने तर तल अर्काेसँग मिल्न जाने प्रवृत्ति बन्द गर्नुस् भनेका हौँ । पुरानो गठबन्धनले काम गरेन, नेपाली युवाहरू पलायन भए, मान्छेमा राष्ट्रबारे निराशा छायो, विदेशीको चलखेलमा डम्फुजस्तो नाच्न थालेपछि कमसेकम धैर्य भएर अघि बढौं, निर्णय लिऊँ भनेका हौँ । कमसेकम अहिलेको समीकरणलाई धैर्यसाथ अगाडि बढाऔँ र नैतिकताको राजनीति गरौँ भनेका हौँ ।

नैतिकताकै कुरा गर्दा ४ जना सांसद भएको पार्टीलाई सरकार चलाऊ भनेर जनताले पठाएका हुन् त ?

नैतिकताको राजनीतिको अर्थ कार्यक्रमका आधारमा कुरा गरिएको हो, व्यक्तिको अनुहार हेरेर होइन । राष्ट्रिय राजनीतिलाई थिग्रिन दिन, स्थायित्व कायम गर्न, जनताको निराशा चिर्न एमाले अगाडि बढेको हो । पद र मन्त्रीका लागि राजनीति गरेको होइन ।

नैतिकता भनेको भात भान्साको सवाल मात्रै होइन । भातभान्से राजनीति हामीले खोजेका होइनौँ । राष्ट्रहितको पक्षलाई लिएर हामी अगाडि बढेका छौँ । जो यथास्थितिवादी छन्, जसले राष्ट्रियता माथि आउन दिँदैनन्, त्यस्ता मनोवृत्तिविरुद्ध जाँदै छौँ । मिसन ०८४ को तयारीमा छौँ । राष्ट्रका निराशा र युवा पलायन रोक्ने सवाल हाम्रा लागि महत्वपूर्ण हो । हामी कानुनी राज र विधिको शासन मान्छौँ । हिजो हाइब्रिड वार भएका बेला पनि सरकार छाडेनौँ ।अदालतले यो मितिमा, यो गते, यो सरकार बनाऊ, यसलाई प्रधानमन्त्री बनाऊ भन्दा पनि स्वीकारेर हामी हिँड्यौँ । हामी शक्तिप्रतिकरण सन्तुलनको सिद्धान्तलाई मान्छौँ ।

नेकपा एसले सुदूरपश्चिमको हकमा समीकरणको संस्कृति बिर्सिएको हो ? यो आशङ्का जोगीदेखि भैँसी र भैँसीदेखि जोगी डराउने मनोदशा उहाँले सिर्जना गर्दिनु भयो हो ?

यो राष्ट्र रहोस् भन्ने सवालमा खुट्टा नउचाल्नुस् भनेका हौँ । दुई डुंगामा खुट्टा राख्नु हुँदैन भनेर उहाँलाई विश्वासको मत दिन हस्ताक्षर गरेका छौँ । आत्तिएर, मात्तिएर होइन, वस्तुस्थिति बोध गर्नुपर्यो‍ उहाँले ।

सम्भवतः यो अन्तिम भोज हो भन्ने मनोदशाबाट राजनीति गरिरहेकासँगको सत्ता समीकरणमा तपाईँहरूले पाउने योभन्दा बढी के हुन्छ ?

अहिले पनि हामी कमजोर र विचराहरूलाई राजनीतिक ट्रयाकमा ल्याउन चाहन्छौँ । त्यो मान्छे नै होइन, जसले गल्ती गर्दैन र त्यो पनि मान्छे होइन, जसले गल्ती स्वीकार्दैन । यही सिद्धान्तलाई मानेर अगाडि बढ्छौँ । बिरामी भएपछि उपचार गर्नु पर्छ, नकारात्मक हिसाबले कहिले पनि सोच्नु हुँदैन । अन्तिम श्वास गनिरहेकालाई पनि बचाउन चाहन्छौँ ।

बाटो बिरायौ, अब एमालेमै आऊ, मुख्यमन्त्री दिन्छौँ भन्दिए हुँदैन र ?

नेतृत्व लहडको भरमा बन्दैन । नेतृत्व कस्तो हुनुपर्छ भन्ने मान्यता छन् । नेता भनेको जनताले कस्तो देख्न खोज्छन् भन्ने पनि महत्त्वपूर्ण हो । पार्टी एकताको सवाल होइन, यो व्यक्ति रुपान्तरणको सवाल हो । पार्टी त एकीकृत नेकपा एमाले आफंैमा एकताको मूलधार हो । अहिले पनि हामी देशकै पहिलो पार्टी छौँ । प्रजा परिषद्समेत एमालेसँगै छ । त्यसकारण एकत्व भनेको विचार, नीति, जनजीविका, गरिवीविरुद्ध लड्दै राष्ट्र निर्माणमा एक हुनेको एकत्व हो ।

सुदूरपश्चिमको नेतृत्वमा बसेकाहरूको मनोविज्ञान के छ, पार्टी र संघीयताबारेमा ?

संघीयताको सन्दर्भमा अरु प्रदेश पनि जोडिन्छन् । त्यसैले हामीलाई अहिले सरकारप्राप्तिको अभियानको चासो छैन, हामी मिसन ८४ अभियानमा छौँ । परिणामतः हामीले बझाङको चुनावलाई देख्यौँ । एक्लै लडेको भए के हुने रहेछ । गठबन्धन बनाएर आउँदा मात्रै राजयले यो अवस्था झेल्नु प¥यो । जनताले विभिन्न समस्या झेल्नु पर्यो‍ । भ्रष्टाचार बढ्यो । त्यसकारण यो स्थितिबाट जनता छुटकारा पाउन चाहन्छन् । जनताले पहिला गठबन्धनलाई मत दिए, तर अहिले उनीहरूले नै फेल भयो भनेर झार्दै छन् । सरकार आफैँ खस्दै छ, हामीले खसाएका होइनौँ ।

तपाईं एमाले पोलिटब्युरो सदस्य पनि हुनुहन्छ । खासमा गठबन्धन भत्किएको होइन, एमालेले बनाइदियो भन्ने आरोप छ नि ?

एमालेले गठबन्धन होइन, जनबन्धन बनाउँदै छ । देशलाई ठग्ने, देशलाई बिचौलियाले बिगार्नेेहरूले अरूका हातमा दिन खोजे । ती हिजो गठबन्धनमा थिए, त्यहीकारण ठगबन्धन भनियो । तर अहिले आमजनताको जनजीविकाको प्रश्नका सवालमा भ्रष्टाचारी कठघरामा उभिएका छन् । अहिले बेठिक गर्नेहरू कारबाहीको दायरामा आएका छन् । एक महिनाको अवधिमै हामीले जनताले महसुस गर्ने गरी काम गरेका छौँ । हामी देशको समृृद्धिका पक्षमा छौँ । हामीले दुई रुपैयाँको सिक्कामा त नक्सा छापिसक्यौँ नि ! देशका लागि केही गर्न नसक्नेहरू सत्तामा जान रोएर बसेका छन् । कोही जेलयात्राका लागि तयार छन्, कोही त गएर पनि निस्केका छन् । अब उनीहरुलाई एमालेको गठबन्धनले कारबाही गर्छ । हामी जनताको बहुदलीय जनवाद मान्छौँ ।

अब कांग्रेससँग मिलेर एमालेले अर्को समीकरण बनाउँदै छ भन्ने चर्चा छ । अब कता जानु हुन्छ ?

अहिले त्यो खैयाली पुलाउ कसैले पनि नपकाउँदा हुन्छ । हामीले एउटा समीकरण बनाएका छौँ, त्यसैमा अगाडि बढ्छौँ । कांग्रेसले ढोक्सा त जहिल्यै थापेको थाप्यै छ नि ! जहिले पनि सत्तामा बस्न चाहन्छ नि ! उसलाई अदालतबाट सरकारमा बस्न चाहन्छ जनताबाट होइन ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ८ : ०३ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि