‘थियटर क्वीन’ सरिता गिरी : ‘गुरुकुल नभत्किएको भए फिल्म खेल्दिनँ थिएँ’ | Khabarhub Khabarhub

कला

‘थियटर क्वीन’ सरिता गिरी : ‘गुरुकुल नभत्किएको भए फिल्म खेल्दिनँ थिएँ’

रङ्गमञ्च, फिल्म हुँदै वेब सिरिजसम्म तताएकी रङ्गकर्मीको नालीबेली


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 9 मिनेट


10.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रङ्गमञ्चमा सरिता गिरी ‘नेपाली थिएटर क्वीन’ उपमाले चिनिन्छिन्‌ । सर्च इञ्जिन गुगलमा सरिताबारे बुझ्न यही की-वर्ड पर्याप्त छ । किनकी; रङ्गकर्ममा उनले जीवनका ऊर्जामय साढे दुई दशक खर्चिएकी छिन्‌ । त्यसैले उनलाई रङ्गमञ्चकी रानी अर्थात्‌ ‘थियटर क्वीन’का रूपमा चिनारी दिएको छ ।

दुई दशक अवधिमा गिरीले २०० भन्दा बढी नाटकमा अभिनय गरेकी छिन् । उनी सबैभन्दा बढी नाटकमा अभिनय गर्ने महिला कलाकार पनि हुन्‌ । नर्सिङको पढाइ छोडेर उनी रङ्गमञ्चमा होमिइन् । अभिनयको चस्का पस्दा जीवनको उर्बर समय रङ्गमञ्चमै बिताइन् ।

पछिल्लो पुस्तालाई नाटक परिचित गराउने ‘गुरुकुल’ थिएटर ठड्याउने उनी एक खम्बा पनि हुन् । खम्बा यस अर्थमा– पुरानो बानेश्वरको उजाड डाँडालाई कलाको थलो ‘गुरुकुल’ बनाउन उनको पसिना, बौद्धिकता, जोश र मिहिनेत लगानी भएको छ ।

सरिता भन्छिन्, ‘गुरुकुल बनाउन भारी बोक्ने, खन्नेदेखि सबै काम हामीले गरेको छौं ।’ उनी रङ्गमञ्चमै अडिग भएर लाग्ने कलाकारका रूपमा पनि परिचित छन् ।

ठूलो पर्दाका प्रस्ताव र अवसर आउँदा पनि उनले रङ्गमञ्च छाडिनन् । उनीलाई काँचको पर्दाको मोह नै थिएन । भन्छिन्, ‘अहिले पनि गुरुकुल भएको भए म फिल्म गर्दिनँ थिएँ ।’

तर गुरुकुल भत्किएपछि उनले ठूलो पर्दामा नआइ सुख पाइनन् । दर्जन फिल्ममा अभिनय गरिन्‌ । उनीसँग तीन दर्जनभन्दा बढी फिल्ममा कास्टिङ निर्देशकका रूपमा काम गरेको अनुभव पनि छ । सोही संख्यामा फिल्मका कलाकारलाई ‘वर्कसप’ गराएकी छिन् ।

बाल्यकालमा टीभी मोह
चार दशकअघि मध्य बानेश्वरको रैथाने परिवारमा हुर्किएकी सरिताले बाल्यकालमा भौतिक अभाव खेप्नु परेन । बुबाको विदेशकेन्द्रित व्यापार भएकाले घरको आर्थिक पाटो सहज नै थियो ।

सहरको हुर्काइ भए पनि घरमा टेलिभिजन नहुँदा छिमेकीकहाँ गएर हेरेको अनुभव उनीसँग छ । उनले झ्यालबाट चिह्याएर छिमेकीको टीभी हेरेको घटना ३६ वर्ष अगाडिको हो । जुनबेला सहरमै पनि धनाढ्यको घरमा मात्रै टीभी हुन्थ्यो ।

‘चन्द्रकान्ता सिरियलको आवाज सुन्ने बित्तिकै कुदेर छिमेकी रिमाल काकाको झ्यालमा पुगिन्थ्यो,’ उनी बाल्यकालको स्मरण सुनाउँछिन् ।

छिमेकमा टीभी हेर्न उनी धेरै कुद्नु परेन । चार वर्षको हुँदा घरमा बुबाले सादा (श्यामश्वेत) टीभी ल्याइदिए । तर उनमा सादा टीभीको मोह केही वर्षमै मेटियो । साथीको घरमा भएजस्तै रङ्गिन टीभी हेर्ने इच्छा जागेपछि बुबालाई पिर्न थालिन् ।

‘रङ्गिन टीभी ल्याइदिन कर गरेपछि उहाँले टीभी स्क्रिन कभर ल्याइदिनुभयो । एक वर्ष त्यही राखेर सादा टीभीलाई रङ्गिन बनाएर हेरियो, एक वर्षपछि त्यसको पनि रहर पुग्यो,’ उनी भन्छिन्, ‘रङ्गिन टीभी नल्याए भातै खान्नँ भनेर तीन दिन घुर्क्याएँ। अनि घरमा रङ्गिन टिभी आयो ।’

रामायण हेरेर रङ्गिन टीभीको उद्घाटन गर्ने भनी दुई दिन नखोली राखेको सम्झँदा उनलाई अहिले हाँसो लाग्छ । भन्छिन्, ‘टीभीमा रामायण आउने समय पारेर खोल्यौं । सुरुमा रामायण हेर्नुपर्छ भन्ने ममीको जोड थियो ।’

२१ इञ्‍च फराकिलो सो टीभी उनले आजसम्म पनि भुलेकी छैनन्‌ ।

टीभी हेर्ने, तर कलाकार नबन्ने जिद्दी
एक दिदी, दुई भाइ ! बुबा कामले बढी समय विदेशमै रहने भएकाले सरिताले उनीसँग बाल्यकाल बिताउन पाइनन् । बाल्यकालमा उनले खेपेको अभाव बुबाको साथ नै हो ।

‘आमालाई केही किनिदिन भन्दा कुच्चो लिएर दौडाउनुहुन्थ्यो । बुबाले जे भने पनि किनिदिनुहुन्थ्यो । तर, उहाँ ६ महिनामा एकपटक मात्रै आउनुहुन्थ्यो,’ उनी बुबाको अभाव महसुस हुने कारण सुनाउँछिन् ।

बुबासँग उनको अर्को स्मरण छ– छोराको जस्तो झगडा गर्ने स्वभाव भएकाले मार्सल आर्ट्सको कक्षामा भर्ना गरिदिएको !

‘साइकल चलाउने, केटा साथीहरू पनि पिट्ने, ठूला दाइदिदीलाई पनि नटेर्ने थिएँ,’ उनी भन्छिन्, ‘बुबालाई मेरो स्वभाव छोराको जस्तो लागेछ र रङ्गशालामा मार्सल आर्ट्स कक्षामा भर्ना गरिदिनुभयो, सिक्न जान थालेँ ।’

आफ्नो छुच्चोपन थाहा पाएका छिमेकी वरिष्ठ रङ्गकर्मी वीरेन्द्र हमालले बालकलाकारका रूपमा अभिनय गराउन थुप्रै पटक फकाएका उनी बताउँछिन् ।

हमालले सरिताका बुबालाई भन्थे रे, ‘दाइ ! यसले केटाकेटी कुटेर मार्ने भई, छोरा जस्तै भई, अभिनयमा लागि भने छोरीको स्वभाव आउँछ कि !’

पर्दामा सरिताको अभिनय नगर्ने जिद्दीसँग रङ्गकर्मी हमालले ‘बुबालाई लगाएको पोल’ पनि टिकेन । मार्सल आर्ट्समा लगाव भएकाले बुबाले पनि अभिनयका लागि कर गरेनन् ।

अन्य बच्चाको तुलनामा चकचक बढी गरे पनि विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा उनी ‘गोल्ड मेडल’ जितिरहन्थिन् । मध्यम स्तरको पढाइ भए पनि परिवार सन्तुष्ट थिए ।

‘स्कुलमा पनि खेलकूदमा बढी हावी थिएँ । नृत्य, नाटक, निबन्ध लेखन, गीत, पेन्टिङ… जे जति आयोजना हुन्छ; सबैमा भाग लिन्थेँ । धेरैमा जित्थेँ,’ उनी भन्छिन्, ‘अन्तरविद्यालय प्रतियोगितामा पनि जान्थेँ । स्कुलमा रहँदा म सहभागी भएर गोल्ड मेडल नल्याएको प्रतियोगिता कमै छ । धेरै प्रतियोगितामा गोल्ड मेडल ह्याट्रिक हानेको छु ।’

अन्य भन्दा मार्सल आर्ट्समा दख्खल राख्ने सरिता राष्ट्रिय खेलाडीसम्म बनिन् । तर, खेलमा भविष्य छैन भन्ने ज्ञान पाएसँगै मार्सल आर्ट्स त्यागिन् ।

‘मैले सिनियर दिदीहरूको प्रगति नदेखेरे मार्सल आर्ट्स छाडेँ । एसएलसीको तयारीका लागि चटक्कै छोडेको थिएँ, एलएलसी पछाडि तीन महिनाको बिदामा एकपटक पनि गइनँ,’ उनी भन्छिन् ।

१६ वर्षमा लाग्यो घैंटोमा घाम
सरिताले वि.सं. २०५६ मा एलएलसी दिइन् । त्यसबेला एलएलसी पछिको तीन महिने बिदामा छोरीहरूले कम्प्युटर र सिलाइजस्ता हाते सीप सिक्ने गर्थे ।

परीक्षा नतिजा आएपछि नर्सिङ पढ्ने उनको सोच थियो । किनकी यो बाल्यकाल देखिकै इच्छा थियो । गिरीले सुनाइन्‌, ‘बाहिर जुन खेल खेले पनि नर्स बन्ने ठूलो इच्छा थियो । स्कुलमा के बन्ने भन्दा नर्स नै भन्थेँ ।’

तर सरितालाई बिदामा अभिनय सिक्न मन लाग्यो । वरिष्ठ रङ्गकर्मी वीरेन्द्र हमालको एमआर थिएटरमा जान लागिन् । त्यसबेला हमालले उनलाई भन्थे रे, ‘बच्चैदेखि कलाकार बनाउँछु भनेको मानिनस् । बल्ल तेरो घैंटोमा घाम लागेछ !’

त्यहाँ उनले सुरुमा भेटेका कलाकारहरू अहिलेका वरिष्ठ रङ्गकर्मी राजन खतिवडा र कलाकार कलममणि नेपाल हुन् । यो आजभन्दा २३ वर्ष अघिको कुरा हो ।

गएको तेस्रो दिन नै हमालले विजय मल्लको नाटक ‘पत्थरको कथा’ स्क्रिप्ट हातमा थमाइदिएपछि उनको अभिनय यात्रा सुरु भयो । ‘उहाँले स्क्रिप्ट त दिनुभयो पढेँ, केही बुझिनँ । सोध्न पनि आँट आएन,’ उनी पहिलो पटक नाटकको स्क्रिप्ट हात पर्दाको स्मरण गर्छिन् ।

संयोग– त्यही समय राष्ट्रिय नाचघरले अञ्चलस्तरीय नाटक प्रतियोगिता आयोजनाले गर्‍यो । ‘पत्थरको कथा’मा केन्द्रीय कलाकार ‘ज्वाला’ बन्ने अवसर उनले पाइन् । हमालले उनलाई पोखरामा आयोजित सो प्रतियोगितामै पहिलो पटक मञ्चमा उतार्ने तयारीसाथ लिएर गएका थिए ।

प्रतियोगिताको अघिल्लो दिन पोखराको मञ्चमा रिहर्सल गर्दा रोएको क्षण उनले नबर्सिने घटना हो ।

‘मञ्चमा रिर्हसल गर्दै थियौं । प्रतियोगिताका निर्णायकमध्ये एक हरिहर शर्मा सर आएर भन्नुभयो– तिमीलाई थाहा छ ? यो नाटक २० वर्षअघि सकुन्तला शर्माले गर्नुभएको थियो,’ गिरीले सुनाइन्‌, ‘मलाई त बिगारेछु जस्तो लाग्यो, अनि सातो उड्यो, वीरेन्द्र अंकलसँग गएर रोएँ । राम्रो गर् भनेर सचेत गराउनुभएको हो भनी सम्झाउनुभयो । अनि चुप भएँ ।’

सरिताले पहिलो नाटक र पहिलो प्रतिस्पर्धाबाटै ‘बेस्ट अपकमिङ एक्ट्रेर्स’ अवार्ड जितिन् । सो सफलताले नै नाटकमा उर्बर उमेर लगानी गर्न प्रेरित गरेको उनको बुझाइ छ ।

‘त्यसबेला पोखराको राष्ट्रिय सभा हलमा थोरै दर्शकले दिएको तालीले नै मलाई मलाई नाटकमा लाग्न प्रेरित गर्‍यो,’ उनी भन्छिन् ।

वीर अस्पतालमा नर्सिङको प्रवेश परीक्षामा ३ नम्बरमा नाम निस्कँदा नाटकमा मोह पसिसकेकाले नपढेको उनी बताउँछिन् । थप्छिन्, ‘त्यस बेलासम्म सौगात मल्ल र भोलाराज सापकोटाहरू थिएटरमा आइसकेकाले टिम पनि मजबुत बनिसकेको थियो । यतै मोह बस्यो ।’

गुरुकुल स्थापना योजना
०५७ मा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा उनले पहिलो पटक ‘सोलो’ नाटक गर्ने अवसर पाइन् । उनले सो महोत्सवमा बालकृष्ण समको ‘स्वास्नी मान्छे’ नाटकमा अभिनय गरिन्‌ । प्रतिस्पर्धामा उनी उत्कृष्ट अभिनेतृ बनिन् ।

धेरैपछि एकेडेमीको प्रतिस्पर्धाबारे उनलाई अहिलेका हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले भन्थे रे, ‘हामी त एकै ठाउँबाट आएका हौं नि ! तपाईंले सोलो नाटक गर्दा म पनि प्रतिस्पर्धीको रूपमा थिएँ ।’

०५८ साल उनको एमआर थिएटरमै बित्यो । सोही दौरान वरिष्ठ रङ्गकर्मी सुनील पोखरेल ‘गुरुकुल’को कल्पना लिएर एमआर थिएटर आएपछि उनको रङ्गकर्म यात्रा उचाइउन्मुख भयो ।

‘हाम्रो एमआरमा राम्रो टीम बनेको थियो । एक/दुईवटा नाटक पनि गरिसकेका थियौं,’ उनी भन्छिन्, ‘सुनील सरले एमआरसँग सहकार्य गरेर गुरुकुल खोल्ने योजना सुनाउनुभयो । हामीले पनि साथ दिने प्रतिबद्धता जनायौं ।’

गुरुकुलको पहिलो ब्याचका लागि सुनीलले अडिसन लिए । त्यसबेला आफूसँगै अडिसन पार गर्ने उनले सम्झेका नामहरू हुन्– राजन खतिवडा, सौगात मल्ल र कमलमणि नेपाल ।

अडिसन पास भएर विद्यार्थी छनोट भए पनि ‘गुरुकुल’ सुनीलकै कल्पनामा सीमित थियो । यतिसम्म कि भाडामा लिने जग्गा पनि भेटिएको थिएन । ‘करिब एक वर्ष जग्गा खोज्न हिँड्यौं । त्यस बीचमा नाटक पनि गर्थ्यौं । जग्गा भेट्न समय लाग्यो, तर नाटकले निरन्तरता पाइरहेको थियो,’ उनी भन्छिन् ।

गुरुकुलका लागि जग्गा खोज्ने क्रममै सुनील पोखरेलको माध्यमबाट सरिताले नाटक ‘आरुको फूलको सपना’ लिएर बंगलादेश जाने अवसर पाइन् । रङ्ग कर्ममा लागेको दुई वर्षमै विदेश भ्रमणमा जान पाएपछि यस क्षेत्रलाई थप गम्भीरताका साथ लिन थालेको उनी बताउँछिन् ।

जब गुरुकुल बनाउन जग्गा भेटियो…
नाटकका लागि नर्सिङ हापेकी सरिताले मानविकी संकायमा प्लस टू गर्दै थिइन् । यता रङ्गकर्मलाई निरन्तरता दिँदै गुरुकलका लागि जग्गा खोज्ने क्रम जारी नै थियो ।

सात/आठ महिना विभिन्न स्थान डुलेपछि पूरानो बानेश्वरमा जग्गा भेटियो । उनको स्मृतिमा रहेको जग्गाको दृश्य यस्तो छ– डाडाँको जग्गा, भाडा तिर्न नसकेपछि भग्नावशेष भइसकेको विद्यालयको भवन, खाली जग्गामा बाँस उम्रिएको, घुँडासम्म आइपुग्ने हिलो, केटाहरूले ड्रग्स खाने जक्सन !

सुनील पोखरेलसँग कल्पना थियो, तर आर्थिक स्रोत थिएन । त्यसपछि पहिलो ब्याचका विद्यार्थी सौगात मल्ल, कमलमणि नेपाल, राजन खतिवडा र सरिता लगायतले सीप र बलले भ्याएसम्म काम गर्न थाले ।

‘अरूलाई काम लगाउन पैसा थिएन, हामी सबै मिलेर खन्ने, माटो बोक्ने सबै काम गर्‍यौं, उनी भन्छिन्, ‘खनेर सम्याउने नै हामी हो । लेबरले गर्ने काम पनि हामीले नै गर्‍यौं ।’

गुरुकुल तयार नहुँदै सरिता ‘रवीन्द्रनाथ टैगोर नाटक महोत्सव’का लागि प्रा.डा. अभि सुवेदीको नाटक ‘अग्निको कथा’ लिएर भारत पुगिन् । भारतबाट फर्किएपछि गुरुकुलको संरचनामा नाटक देखाउन मिल्ने भइसकेको थियो । ‘अग्निको कथा’ नाटकबाटै गुरुकुलको औपचारिक सुरुवात भयो ।

‘सुरुमा नाटक देखाउँदा अर्गानिक दर्शक सात जना मात्रै ! उहाँहरू पनि त्यही गुरुकुलका छिमेकी हुनुहुन्थ्यो,’ उनी स्मरण गर्छिन् ।

गुरुकुल बसाइ
केही समय मिहिनेत गरेपछि गुरुकुलको डाँडा कलाको हब बन्ने छाँटकाँट देखियो । बौद्धिक व्यक्तिहरूको चहलपहल बढ्न थाल्यो । प्रा.डा. अभि सुवेदीका कारण टीयू र केयूका विद्यार्थी गुरुकुलका दर्शक बन्न थाले ।

पहिलो ब्याचका विद्यार्थीलाई पनि गुरुकुल उकास्नु थियो । सुनील पोखरेलको सपना साकार गर्न सबै केन्द्रित थिए । बिहान साढे ४ बजे उठेर योगा, नृत्य, उसु, अभिनय, सडक नाटक र बेलुका मञ्चमा चढेर नाटकमा अभिनय गर्दा पनि नथाक्ने जोश भएका विद्यार्थी सुनीलले पाएका थिए ।

‘नाटक प्रचारका लागि पोस्टर टाँस्न हामी टेम्पु चढेर काठमाडौं विभिन्न स्थान पुग्थ्यौं । छुट्टाछुट्टै टिम बनाएर पोस्टर टाँस्न डुल्थ्यौं,’ उनी गुरुकुलको सुरुवाती दिनबारे बताउँछिन् ।

विस्तारै गुरुकुल माथि उठ्दै गयो । दोस्रो ब्याच थपियो । गुरुकुल नाटकको हब बन्यो । २५ सय छात्रवृत्तिमा पढेको पहिलो ब्याच दीक्षितले १० हजार रुपैयाँ तलब पाउन थाल्यो । एउटा हल हेर्नुपर्ने जिम्मेवारी सरिताको थियो ।

‘तलब पनि थियो । त्यहीको रकमले स्कूटर किनेँ । पासआउट भएपछि स्कुलहरूमा अभिनय पनि पढाउन थालियो । सबै कुराको सन्तुष्टि गुरुकुलले नै दियो,’ उनी भन्छिन्, ‘गुरुकुलको माहोल नै यस्तो थियो कि निस्कनै मन नलाग्ने ! पाँच मिनेटको दूरीमा घर थियो, बिरलै जान्थेँ ।’

दिन/प्रतिदिन बढ्दो दर्शकको चापले गुरुकुलको पनि चार्म बढ्यो । कामको व्यस्तता पनि उसैगरी बढ्यो । सरितालाई फिल्म खेल्ने प्रस्ताव मनग्य आउन थाल्यो, तर स्वीकारिनन्‌ ।

‘काँचको पर्दाको मोह नै थिएन । सोच नै नाटकमा जीवन बिताउने थियो,’ उनी भन्छिन्, ‘नाटक महोत्सवहरू हुने, विदेशी शिक्षक आएर अभिनय पढाउने माहोल मलाई अत्यन्तै प्रिय थियो । एक दिन पनि खाली बस्नुपरेन ।’

सरिताले गुरुकुलबाटै नाटक लिएर करिब तीन दर्जन देश भ्रमण गर्ने अवसर पाइन् । थप सयौं नाटकमा अभिनय गरिन्‌ । फिल्म नखेली नाटकमै जीवन बिताउने लक्ष्य भएकी उनलाई यस्तै अवसरले झन् मोहित पार्दै लग्यो ।

गुरुकुलमा सिकाइ बाहेक उनले सम्झने दुई घटना छन् । पहिलो – गुरुकुलको टिम आबद्ध भएको फिल्म ‘आचार्य’मा अभिनय ! दोस्रो– नाटक निर्देशन !

गुरुकुलकै सुरुवातमा नाचघरले आयोजना गरेको प्रतिस्पर्धामा उनले पहिलोपटक नाटक ‘अश्वत्थामा हतोहतः’ निर्देशन गरेकी हुन् ।

गुरुकुल सुरु भइसकेको थियो । दुई वर्षे कोर्स नसकेसम्म बाहिर काम गर्न नपाउने नियम थियो । नाचघरमा नाम निस्कियो ।

‘सुनील सरले लक्ष्य के हो तिम्रो ? भनेर गाली गर्नुभयो,’ उनी भन्छिन्, ‘पछि काम गर्न अनुमति पाइयो । त्यही नाटकबाट सौगातले बेस्ट एक्टरको अवार्ड जित्यो ।’

जब गुरुकुल भत्कियो…
गुरुकुल स्थापनको १० वर्ष हुँदै थियो । जग्गाको भाडा नवीकरण भएन । सपना, भविष्य र सर्वेसर्वा मानेको गुरुकुल भत्किने भयो । सुरुवाती दिनमा कुटो-कोदालो गरेर ठड्याएको संरचना आँखैअघि भत्कँदै थियो ।

गुरुकुलको अन्तिम दिन उनका लागि नमीठो बन्यो । उनी बसेको कोठामा आगलागी भयो ।

‘लोडसेडिङ थियो, मैनबत्ती बालेर सामान मिलाउँदै थिएँ । कार्टुन पुगेन र लिन गएँ । एक्कासी आगलागीको खबर आयो,’ उनी भन्छिन्, ‘जाँदा आगो दन्दनी बलिरहेको रहेछ । सौगात मल्लले पानी खन्याउँदै रहेछ ।’

सो आगलागीमा जलेर खाटमा भएको स्नातकको सर्टिफिकेट, मोबाइल र ल्यापटप खरानी भयो । त्यसपछि बचेका किताब लिएर १० वर्षे बसाइलाई बिट मार्दै उनी घर फर्किइन् । गुरुकुल भत्किएकाले उनको सुरुवाती घरको बसाइ चैनसँग बितेन ।

‘म सँग के छ त  भन्दा अभिनय सीपमात्रै छ । बाँकी त भत्कियो ! अब काम पनि पाउन छाड्यो,’ उनी भन्छिन्, ‘मलाई त त्यो समय पागल हुन्छे यो भन्थे ।’

बेचैनीले साथ नछोडेपछि उनले गुरुकुलको स्मरण लेखिन्, जुन निकै चर्चित बन्यो ।

‘बेचैन थियो । साँझ लेख्न बसेँ, बिहान भाले कराउन थालेपछि सकियो । पत्रकारलाई पढ्न दिएँ,’ उनी भन्छिन्, ‘गुरुकुलको स्थापनादेखि अन्त्यसम्म लेखेको थिएँ । पत्रिकामा छापियो । त्यो पढेर डा. अभि सरले फोनमा प्रशंसा गर्नुभयो । सुनील सर रुनु नै भयो ।’

नाटक गर्न ‘मण्डला’ स्थापना भइसकेको थियो, तर गुरुकुलको माहोल थिएन । यद्यपि मण्डलाले निराशाबाट निकाल्न ठूलो सहयोग गरेको उनलाई महसुस हुन्छ ।

अनि फिल्ममा
सरिता भन्छिन्, ‘मैले नाटक बाहेक जीवनमा केही सोचेको थिइनँ । गुरुकुल भएको भए आज पनि फिल्म खेल्दिनँ थिएँ । साथीहरूले पनि यो गुरुकुलमै मर्छे भन्थे ।’

गुरुकुलबाट निस्किँदा उनीसँग करिब २०० नाटक र आठ वर्ष स्कुलमा अभिनय पढाएको अनुभव थियो । तर गुरुकुल भत्किएपछि आफूलाई व्यस्त राख्न फिल्म खेल्नैपर्ने बाध्यता आइलाग्यो ।

उनले फिल्ममा काम गरिन् । साथै, कलेजमा अभिनय पनि पढाउन सुरु गरिन् ।

अहिलेसम्म सरिताले दुई दर्जन फिल्ममा अभिनय गरेकी छन् । तीन दर्जनभन्दा बढी फिल्ममा कास्टिङ निर्देशकको जिम्मेवारी पूरा गरिसकेकी छिन् । सोही संख्यामा फिल्मका कलाकारलाई ‘वकर्सप’ गराएकी छन् । ०७८ यता सडक नाटकबाट विश्राम लिएकी छन् ।

‘अहिले व्यस्तता बढ्दो छ । थिएटर र कलेजमा अभिनय पढाउँछु । फिल्ममा पर्दा पछाडिको काम बढी आउँछ,’ उनी भन्छिन्, ‘आजको दिनसम्म पनि अभिनयबाट टाढा हुनुपरेको छैन ।’


अहिले कुनै काममा जोडिँदा उनले प्रायः एकल जिम्मेवारी निर्वाह गर्न पाउँदिनन्‌ ।

जस्तो- उनी कलाकारका रूपमा जोडिएको वेब सिरिज ‘साहु बा’ प्रसारण तयारीमा छ । सो वेब सिरिजमा उनले कास्टिङ निर्देशक र प्रोजेक्ट हेडको जिम्मेवारी सम्हालेकी छिन् ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ५ : ४८ बजे

जापानमा कीर्तिमानी गर्मी, कृषि क्षेत्रमा विशेष जोखिम

टोकियो – जापानमा आइतबार जापानका २०० भन्दा बढी स्थानहरूमा अत्यधिक

बंगलादेशमा हिंसा भड्किएपछि करिब ८०० नेपाली विद्यार्थी स्वदेश फर्किए

काठमाडौं । बङ्गलादेशमा विकसित पछिल्लो तनावपछि करिब ८०० जना नेपाली

बङ्गलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’

काठमाडौं – परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा

दाङमा जिप दुर्घटना हुँदा १० जना घाइते

तुलसीपुर – दाङको दङ्गीशरण–७ बोगटी नजिकै जिप दुर्घटना हुँदा १०

खानेपानीमन्त्रीद्वारा मेलम्चीको सुरुङ निरीक्षण

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलमा रहेको मेलम्ची खानेपानी आयोजनाको