भीमसेन थापादेखि केपी ओलीसम्म : यस्ता छन् नेपालका ६६ ‘प्रधानमन्त्री’ | Khabarhub Khabarhub

भीमसेन थापादेखि केपी ओलीसम्म : यस्ता छन् नेपालका ६६ ‘प्रधानमन्त्री’


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६  (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

एमाले अध्यक्ष ओली नेपालमा प्रधानमन्त्री भएर शासन सत्ता सञ्चालन गर्ने ३८ औं व्यक्तिमा पर्छन् । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको रेकर्डअनुसार  सरकारको नेतृत्व गरेको हिसाब गर्ने हो भने उनी ६६ औँ प्रधानमन्त्री हुन् ।

नेपालका प्रधानमन्त्रीको इतिहास हेर्दा ३८ जनाले अहिलेसम्म ६३ पटक प्रधानमन्त्रीको हैसियतमा शासन सत्ता सञ्चालन गरिसकेका छन् । जसमध्ये ४ जनाले मुख्तियार, ४ जनाले मन्त्रिपरिषद् अध्यक्ष र ३१ जनाले प्रधानमन्त्रीका रुपमा सरकार चलाएका छन् ।

मन्त्रिपरिषद् अध्यक्ष र प्रधानमन्त्री दुवै भएर सरकार चलाउने सूर्यबहादुर थापा एक्ला नेता हुन् । यस्तै मुख्तियार र प्रधानमन्त्री भएर देशको बागडोर सम्हाल्ने फत्यजंग शाह एक्ला हुन् ।

यस्तै विभिन्न समयमा ५ पटक सरकारको बागडोर सम्हाल्नेमा थापासँगै स्वर्गीय गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा, ४ पटक प्रधानमन्त्री हुनेमा लोकेन्द्रबहादुर चन्द र केपी ओली छन् ।

३ पटक सरकार सम्हाल्नेमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पर्दछन् । ६ जनाले नेपालमा दुई–दुई पटक र २५ जनाले एक–एक पटक प्रधानमन्त्रीको हैसियतमा सत्ताको बागडोर सम्हालिसकेको इतिहास छ ।

नेपालको इतिहासमा भीमसेन थापालाई पहिलो प्रधानमन्त्री मानिन्छ । तत्कालीन समयमा अहिलेको प्रधानमन्त्री पदलाई मुख्तियार भन्ने गरिन्थ्यो । थापाले वि.सं.१८६३ देखि १८९४ सम्म सत्ताको बागडोर सम्हालेका थिए ।

उनीपछि पण्डित रंगनाथ पौड्याल (१८९४–१८९५), पुस्कर शाह (१८९५–१८९६) र रंगनाथ पाण्डे (१८९६–१८९७) र फत्यजंग शाह (१८९७–१९००)ले मुख्तियारका रुपमा शासन सत्ता सञ्चालन गरेका थिए ।

नेपालमा वि.सं. १९०० बाट मुख्तियार पदलाई प्रधानमन्त्री भन्न थालिएको हो । फत्यजंग शाहपछि सरकार सञ्चालनको कार्यभार लिएका माधवरसिंह (माथवरसिंह) थापाको पालादेखि प्रधानमन्त्री भन्न थालिएको इतिहास छ ।

उनी छैटौं प्रधानमन्त्रीका रुपमा १९०० देखि १९०२ सम्म रहेका थिए । माथवरसिंह थापापछि उनीपहिलेका मुख्तियार फत्यजंग शाह फेरि प्रधानमन्त्री भएका थिए । उनले १९०२ देखि १९०३ सम्म शासन सत्ता सञ्चालन गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अभिलेखमा देखिन्छ ।

सातौं प्रधानमन्त्री फत्यजंग शाहपछि प्रधानमन्त्री बनाइएका जंगबाहादुर राणाले पहिलो पटक १९०३ देखि १९१३ सम्म र दोस्रो पटक १९१४ देखि १९३३ सम्म सत्ताको बागडोर सम्हालेको इतिहास देखिन्छ । उनै जंगबहादुरले बसालेको जगमा राणाहरुले नेपालमा १०३ वर्षसम्म जहानियाँ शासन चलाएका थिए ।

जंगबहादुरसहित १० जना राणाले नेपालमा पालैपालो प्रधानमन्त्री भएर सरकार सञ्चालन गरेका थिए । राणा शासनका अन्तिम प्रधानमन्त्री मोहन शमशेर हुन । उनले २००५ देखि २००८ सम्म प्रधानमन्त्री भएर सरकार सञ्चालन गरेको प्रधानमन्त्री कार्यालयको अभिलेखमा देखिन्छ ।

जहानियाँ राणा शासनको अन्त्यपछि मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएका थिए । उनले २००८ देखि २००९ सम्म पहिलो पटक र २०१० देखि २०११ सम्म दोस्रो पटक सत्ता सञ्चालन गरेका थिए ।

नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद (वीपी) कोइराला नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन् । उनी २०१६ मा प्रधानमन्त्री भएका थिए । राणा शासन ढलेपछि प्रधानमन्त्री भएका मातृकादेखि पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपीसम्म आइपुग्दा टंकप्रसाद आचार्य, डा. केआई सिंह र कांग्रेसकै अर्का संस्थापक नेता सुवर्ण शमशेरले पनि सत्ता सञ्चालन गरेका थिए ।

आचार्यले २०१२ देखि २०१४ र सिंहले २०१४ मा छोटो समयका लागि सत्ताको बागडोर सम्हाल्ने अवसर पाएका थिए । यस्तै कांग्रेसका संस्थापक नेता सुवर्णले २०१५ देखि २०१६ सम्म सरकार चलाएका थिए । उनी नेपालमा मन्त्रिपरिषद्को अध्यक्षका रुपमा सत्ता सञ्चालन गर्ने पहिलो व्यक्ति हुन् ।

उनीजस्तै डा. तुलसी गिरीले पनि मन्त्रिपरिषद् अध्यक्षका रुपमा दुई पटक सत्ता सञ्चालन गरेका छन् । गिरीले २०१९ देखि २०२१ सम्म पहिलो पटक र २०३२ देखि २०४३ सम्म मन्त्रिपरिषद् अध्यक्षका हैसियतमा सत्ता सञ्चालन गरेका हुन् । उनले दुवै पटक सत्ता सञ्चालन गर्दा नेपालमा एकदलीय पञ्चायती व्यवस्था थियो ।

मुलुक गणतन्त्रमा गइसकेपछि पनि एक पटक निर्ददीय व्यक्तिले मन्त्रिपरिषद् अध्यक्षको हैसियतमा सरकार सञ्चालन गरिसकेका छन् ।

पहिलो संविधानसभाबाट संविधान लेखन कार्य सम्पन्न गर्न दलहरु असफल भएपछि मुलुक प्रधानन्यायाधीश खिलराज रेग्मीको जिम्मा लगाइएको थियो । उनी नेपालको ईतिहासमै प्रधानन्यायाधीशबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्तिमा पर्दछन् ।

डा. तुलसी गिरीपछि सूर्यबहादुर थापाले पनि मन्त्रिपरिषद् अध्यक्षका हैसियतमा प्रधानामन्त्रीको पदभार सम्हालेको इतिहास छ । उनलाई राजा महेन्द्र शाहले २०२१ मा मन्त्रिपरिषद् अध्यक्ष नियुक्त गरेका थिए । २०२३ सम्म मन्त्रिपरिषद् अध्यक्षको हैसियतमा रहेका थापा कूल ५ पटक प्रधानमन्त्री रहिसकेका पहिलो व्यक्ति हुन् ।

मन्त्रिपरिषद् अध्यक्ष रहिसकेका थापालाई राजा महेन्द्र शाहले २०२३ देखि २०२५ सम्म प्रधानमन्त्री बनाएका थिए । उनी २०३६ देखि २०४०, २०५४ देखि २०५४ र २०६० देखि २०६१ सम्म प्रधानमन्त्री बनेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अभिलेखमा देखिन्छ ।

निर्दलीय पञ्चायती व्यवस्थामा थापापछि २०२५ मा कीर्तिनीधि विष्ट पहिलो पटक प्रधानमन्त्री नियुक्त भएका थिए । उनले २०२८ देखि २०३० सम्म दोस्रो कार्यकाल र २०३४ देखि २०३६ सम्म तेस्रो कार्यकाल सत्ता चलाएका थिए ।

नेपालमा तीन पटक प्रधानमन्त्री बन्ने अर्का व्यक्ति हुन्– पुष्पकमल दाहाल ‘प्रचण्ड’ । राज्यविरुद्ध १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको नेतृत्व लिएका प्रचण्ड शान्ति प्रक्रियामा आएपछि पहिलो पटक २०६५ मा प्रधानमन्त्री नियुक्त भएका थिए । नेपाली सेनाका तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाल प्रकरणमा राजीनामा दिन बाध्य भएका उनी २०७३ मा फेरि प्रधानमन्त्री भएका थिए ।

प्रचण्डले प्रधानमन्त्रीका रुपमा २०७३ साउन १९ देखि २०७४ जेठ २३ सम्म दोस्रो कार्यकाल चलाएका थिए ।

प्रतिनिधिसभा निर्वाचनबाट प्रचण्डको पार्टी तेस्रो दलको हैसियतमा पुगे पनि उनी २०७९ पुस १० गते फेरि प्रधानमन्त्री बनेका थिए । प्रचण्डको तेस्रो कार्यकाल यही असार २८ गते सकिएको छ । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त नगरेसँगै उनी पदमुक्त भएका थिए ।

फत्यजंग शाह, जंगबहादुर राणा, मातृकाप्रसाद कोइरालाजस्तै दुई पटक प्रधानमन्त्री बन्ने व्यक्तिमा नगेन्द्रप्रसाद रिजाल र कृष्णप्रसाद भट्टराई पर्दछन् । रिजालले मुलुक पञ्चायती व्यवस्थामा छाँदा २०३० र २०४२ मा गरी दुई पटक प्रधानमन्त्रीको जिम्मेवारी पाएका थिए ।

कांग्रेसका संस्थापन नेता भट्टराई पञ्चायती व्यवस्था ढलेपछि २०४७ मा गठित अन्तरिम सरकारको पालामा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । उनी २०५६ को आमनिर्वाचनपछि दोस्रो पटक प्रधानमन्त्री भएका थिए । कांग्रेसभित्रको आन्तरिक कलहले भट्टराई लामो समयसम्म सरकारमा टिक्न सकेनन् ।

कांग्रेस नेता भट्टराईले २०४७ मा अन्तरिम सरकारको नेतृत्व लिनुअघि नेपालमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री (२०४६–२०४७) थिए । तत्कालीन समयमा उनी दोस्रो पटक शासन सत्ता सम्हाल्ने गरी राजा वीरेन्द्र शाहबाट मनोनित प्रधानमन्त्री थिए । चन्द २०४० सालमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । उनको पहिलो कार्यकाल २ वर्षसम्म चलेको थियो ।

पञ्च नेता चन्द मुलुकमा प्रजातन्त्र आइसकेपछि पनि दुई पटक प्रधानमन्त्री बनेको इतिहास छ । उनीसँग २०५३ मा तेस्रो पटक र २०५९ मा चौथो पटक प्रधानमन्त्री बनेर शासन सत्ता सञ्चालन गरेको अनुभव छ । प्रजातन्त्र आइसकेपछि प्रधानमन्त्री बन्दा चन्दले झण्डै–झण्डै एक–एक वर्षमात्रै सरकार चलाउन पाएका थिए ।

एक पटकमात्र प्रधानमन्त्री बन्ने पञ्चायतकालीन नेतामा मरिचमान श्रेष्ठ पर्दछन् । उनले राजा वीरेन्द्र शाहको शासनकालमा तीन वर्ष प्रधानमन्त्री बन्ने अवसर पाएका थिए । श्रेष्ठ २०४३ देखि २०४६ सम्म प्रधानमन्त्रीका रुपमा रहेका थिए ।

जनआन्दोलनको बलमा प्रजातन्त्र पुनस्र्थापना भएपछि सम्पन्न पहिलो आम निर्वाचनपछि गठित सरकारबाट गिरिजाप्रसाद कोइरालाको नेपालको संसदीय राजनीतिमा अभ्युदय भएको पाइन्छ ।

२०४८ देखि २०५१ सम्म प्रधानमन्त्री भएर शासन सत्ता सम्हालेका कोइराला ५ पटक प्रधानमन्त्री हुने दोस्रो नेता हुन् । उनी २०५४ मा दोस्रोपल्ट, २०५५ मा तेस्रोपल्ट, २०५६ मा चौथोपल्ट र २०६३ मा पाँचौँ पल्ट प्रधानमन्त्री भएका थिए ।

नेपालमा पाँच पटक प्रधानमन्त्री हुने तेस्रो नेता हुन्– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । २०५२ मा पहिलो पटक प्रधानमन्त्री भएका उनी २०५८, २०६१, २०७० र २०७८ गरी ५ पटक प्रधानमन्त्री भइसकेका छन् ।

मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र सुशील कोइरालाले विभिन्न समयमा एक–एक पटक प्रधानमन्त्री बनेर मुलुकको बागडोर सम्हालिसकेका छन् ।

अधिकारी २०५१ मा, नेपाल २०६६ मा, खनाल २०६७ मा, भट्टराई २०६८ मा र कोइराला २०७० मा प्रधानमन्त्री भएका थिए । कोइरालाकै नेतृत्वमा २०७२ असोज ३ गते नेपालमा संविधान जारी भएको थियो ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ९ : ११ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले