काठमाडौं– जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घको परिसरमा सञ्चालित नेपाल अर्थोपेडिक अस्पतालले आफ्नो स्थापनाको २६ वर्ष पूरा गरेको छ ।
विशेषगरी अनाथ, असहाय तथा अपाङ्गता भएका व्यक्तिको सेवामा समर्पित रहनेगरी खगेन्द्र नवजीवन केन्द्रअन्तर्गत रोटरी इन्टरनेशनलको सहकार्यमा यो अस्पताल सन् १९९८ मा स्थापना भएको हो ।
अस्पतालको वार्षिकोत्सवका अवसरमा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्नुका साथै निःशुल्क बहिरङ्ग सेवा (ओपीडी) उपलब्ध गराइएको थियो ।
त्यस अवसरमा मङ्गलबार अस्पतालमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले कुशल व्यवस्थापन र उत्कृष्ट उपचार सेवा दिँदै आएको यस अस्पताललाई एक अनुकरणीय स्वास्थ्य केन्द्रका रूपमा यसको क्षमता बढाउन नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले शिक्षा र स्वास्थ्य नगरपालिकाको प्रमुख प्राथमिकता रहेको जानकारी गराउँदै नगरक्षेत्रका ४२ हजार नागरिकलाई स्वास्थ्य बिमामा समेटेको जानकारी दिए ।
अस्पतालका मेडिकल निर्देशक डा. कैलाशकुमार भण्डारीले अस्पतालबाट उपलब्ध सेवाका बारेमा जानकारी दिँदै नागरिकलाई अझ सहज र सुलभ सेवा उपलब्ध गराउन अस्पताल लागिरहेको बताए ।
निर्देशक भण्डारीका अनुसार एक सय शय्या रहेको उक्त अस्पतालमा हाल २० जना विशेषज्ञ चिकित्सक सेवारत छन् ।
अस्पताल सञ्चालक समिति सदस्य डा. प्रमोदकुमार श्रेष्ठले यस अस्पताललाई अर्थोपेडिक उपचारसम्बन्धी शिक्षण संस्थाका रूपमा विकास गर्नुपर्ने बताए ।
अस्पतालका अध्यक्ष साम्देन लामा, गोकर्णेशवर नगरपालिका–६ का वडाध्यक्ष नवराज लामा, वडा नम्बर ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदी, कर्मचारी युनियनका अध्यक्ष आलोक झाले अस्पताललाई शिक्षण संस्थामा रूपान्तरण गर्न सुझाव दिएका थिए ।
प्रतिक्रिया