राजनीतिमा अपराधीकरण : रास्वपाको सांसददेखि लागूऔषधको अभियोगसम्म | Khabarhub Khabarhub

राजनीतिमा अपराधीकरण : रास्वपाको सांसददेखि लागूऔषधको अभियोगसम्म

पूर्वसांसद ढाकाकुमार कसरी पुगे प्रहरी हिरासतमा ?


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 8 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्वित सांसद डा. ढाकाकुमार श्रेष्ठ एकपछि अर्को विवादका पर्याय भएका छन् । २०७९ सालमा रास्वपाबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका ढाकाले उक्त पद पनि बीचमै गुमाउनुपर्‍यो । सा‌ंसदबाट पदच्युत भएका श्रेष्ठ अहिले प्रहरीको फन्दामा परेका छन् । राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणका एक नमूना पात्र बन्न पुगेका छन् उनी ।

आफ्ना विवादित भनाइका कारण चर्चामा आइरहने मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस डिल गरेको प्रकरणमा श्रेष्ठले सांसद पद मात्रै गुमाएनन्, राजनीतिबाटै करिब करिब हात धुनुपरेको छ ।

अब उनै ढाकाकुमार अर्को विवादमा फसेका छन् । कास्कीमा उनी पोखरास्थित आफ्नै औषधि पसलबाट प्रतिबन्धित लागुपदार्थ बेचेको अभियोगमा बिहीबार पक्राउ परे । उनीमाथि थप अनुसन्धानका लागि कास्की प्रहरीले जिल्ला अदालतबाट शुक्रबार तीन दिनका लागि म्याद लिएको छ ।

बिहीबार पोखरास्थित दिया फार्मेसीबाट पक्राउ परेका श्रेष्ठविरुद्ध अदालतबाट तीन दिन म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक मोहन थापाले खबरहबलाई जानकारी दिए ।

प्रसाईंसँगको घुसकाण्डपछि राजनीतिबाट गुमनाम जस्तै बनेका श्रेष्ठले पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा दिया फार्मेसी तथा क्लिनिक सञ्चालन गर्दै आएका छन् । फार्मेसीबाट प्रतिबन्धित लागूऔषध बिक्री भएको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पोखराका एकजना युवक प्रकाश थापामगर केही दिनअघि लागुऔषधसहित पक्राउ परेका थिए । थापामाथि अनुसन्धानका क्रममा डा. श्रेष्ठको फार्मेसीबाट लागूऔषध किनेको बयान दिएका थिए।

उनको बयानबाट श्रेष्ठको फार्मेसीबाट लागुऔषध बिक्री हुने गरेको पत्ता लागेको प्रहरीले जनाएको छ । प्रहरीले गत साउन ३ गते पोखरा–२ बसपार्कबाट ४२ वर्षीय थापामगरलाई लागूऔषध ‘त्रुपेन’ ९७ चक्कीसहित पक्राउ गरेको थियो ।

रानामगरले अनुसन्धानका क्रममा लागूऔषध ढाकाले सञ्चालक रहेको दिया फार्मेसीबाट किनेको बताएपछि जिल्ला अदालतबाट अनुमति लिएर ढाकालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मोहन थापाले बताए ।

दुर्गा प्रसाईंसँग ‘घुस’ मागेको अडियो बाहिरिएपछि श्रेष्ठलाई दलको साधारण सदस्यसमेत नरहने गरी  रास्वपाले कारबाही गरेको थियो । ०७९ चैत २९ मा बसेको रास्वपा केन्द्रीय समिति बैठकले समानुपातिक सांसद श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

सरकार विस्तार तयारी भइरहँदा श्रेष्ठले आफू मन्त्री बन्न लागेको र त्यसका लागि ‘पार्टीलाई दुई करोड बुझाउनुपर्ने’ भन्दै व्यवसायी प्रसाईंसँग आर्थिक सहयोग मागेको अडियो ०७९ चैत २६ गते बाहिरिएको थियो ।

अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई निलम्बन गरेर अनुशासन समितिमार्फत छानबिन गरेको थियो । पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही भएको अवस्थामा संघीय सांसद पद खारेज हुने कानुनी व्यवस्था छ ।

तर, श्रेष्ठले मन्त्री बन्न दुई करोड घूस मागेको भनेर सार्वजनिक अडियो आफ्नो नभएको दाबी गरेका थिए । उनले विज्ञप्ति निकालेर अडियोमा सुनिने आवाज आफ्नो नभएको दाबी गरेका थिए । श्रेष्ठले उपचुनावको पूर्वसन्ध्यामा अडियो बाहिर ल्याउनु आफू र पार्टीविरुद्धको प्रोपोगान्डा भएको जिकिर गरेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारमा रास्वपा सहभागी हुनुभन्दा अघि ०७९ माघ १ गते श्रेष्ठले सांसदको हैसियतमा र मेडिकल व्यवसायी प्रसाईंसँग ‘ह्वाट्स एप’ मा संवाद गरेका थिए ।

यस्तो थियो संवाद :

प्रसाईं : नमस्ते के छ नि हालबखर ?

श्रेष्ठ : ठीक छ नि सर, भर्खर–भर्खर उठेको ।

प्रसाई: अनि, राति मैले पनि फोन अफ गरेँ । सुत्ने टाइम भयो, चार्जमा राखेर सुतेँ । अनि नि, खास चंै कुरा के हो ? मलाई अलिकति भन्नु त डाक्सा’व ?

श्रेष्ठ : स्वास्थ्य हामीले पाउने भयौँ । पार्टीलाई अलिक सहयोग गर भनेर आन्तरिक कोर टिम छ, दुई–तीन जनाको । दुई–साढे दुई जति चाहियो भनिरहेका थिए मलाई हिजो । मेरो पक्का चाहिँ पक्का भयो । आज मैले फिक्स गर्नुछ क्या सर । अनि आर्थिक रुपमा म त्यस्तो साह्रै छैन । मन्त्री बन्नु पर्‍ यो । अनि धोइपखाली गरी यो स्वास्थ्य क्षेत्र पूरा सुधार पनि गर्नुछ । धेरै गर्छु भनेर सोचेको छु ।

प्रसाईं : हजुर ।

श्रेष्ठ : त्यसमा हजुरको सहयोग, सपोर्ट चाहियो भन्ने हो ।

प्रसाईं : मैले एउटा कुरा बुझ्न खोजेको, राष्ट्रिय स्वतन्त्र पार्टीमा डाक्टर भनेको तोसिमा कार्कीमात्रै छिन् भन्ने ठान्या थिएँ त ।

श्रेष्ठ : तीनजना छौँ ।

प्रसाईं : को–को हुनुहुन्छ ?

श्रेष्ठ : म भएँ, तोसिामा भयो, अनि चन्दा कार्की ।

प्रसाईं : ए साँच्चै, चन्दा म्याम पनि हुनुहुन्छ त ।

श्रेष्ठ : चन्दालाई तपाईंले पनि चिन्नुहुन्छ होला ।

प्रसाईं : हजुरको घर कहाँ हो डाक्सा’व ?

श्रेष्ठ : मेरो पोखरा हो, सर ।

प्रसाईं : अनि एमबीबीएस कहाँ गरेको तपाईंले ?

श्रेष्ठ : चाइनामा ।

प्रसाईं : अनि एमडी ?

श्रेष्ठ : अहिले मैले एमडी गर्‍ या छैन, एमएस मात्रै हो ।

प्रसाईं : एमएस चाहिँ ?

श्रेष्ठ : पछि पढ्ने भन्दाभन्दै पोलिटिक्सतिर आएँ ।

प्रसाईं : हेर्नुस् है, धेरै ठूलो समस्या छ, स्वास्थ्यमा । देशमा भएका नर्सिङ कलेज सबै बन्द गराए । आज नर्स पढ्न पाउँदैनन् । मैले त जहिले भन्या छु नि, दुबईका डान्सबारमा हाम्रा चेलीबेटीले डान्स गर्नुभन्दा नर्स पढाऔँ ।

श्रेष्ठ : हो नि त, हो नि त ।

प्रसाईं : डाक्टर उत्पादन गरौँ । बरु सहयोगमा एउटा मेडिकल कलेज खोलौँ । इन्डियाबाट विद्यार्थी ल्याऔँ, तीन सय–चार सय ।

श्रेष्ठ : धेरै राम्रो ।

प्रसाईं : हस्पिटल फ्री गरौँ । कति राम्रो कुरा गरेको मैले ।

श्रेष्ठ : हो नि ।

प्रसाईं : डाक्सा’वको नाम ढकबहादुर के हो ?

श्रेष्ठ : ढाकाकुमार श्रेष्ठ ।

प्रसाईं : अच्छा, मैले त्यो कुरा बुझेँ । तपाईंसँग एउटा कुरा गर्न खोजेको । अहिले त ह्वाट्स एपमा छौँ, मतलब भएन । मुकुलहरूले त नलिने भन्थे नि स्वास्थ्य र शिक्षा ।

श्रेष्ठ : मुकुलजीलाई त थाहा छैन सर । यो कुरा आन्तरिक हो । मुकुल पनि त्यो कोर टिममा हुनुहुन्न के । पार्टीको कुराका गर्दा दुई–तीन जना छुट्टै हुनुहुन्छ के । पार्टीलाई धेरै सहयोग गर्ने, सुरुवातदेखि नै सहयोग गर्ने रविलाई । त्यो टिमबाट मलाई कुरा आएको हो । आज मैले फिक्स गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि ।

प्रसाईं : क्यास पैसा त आजको भोलि हुँदैन । अढाई करोड रुपैयाँको कुरा आयो ।

श्रेष्ठ : अँ, दुई–साढे दुई भन्या छन् । अहिले एक दिए पनि मान्छन् होला । पछि चेक दिए पनि मान्छन् ।

दुई–तीन दिनपछि ।

प्रसाईं : आज बन्द छ नि । फेरि नौ लाख ९९ हजारभन्दामाथिको चेक साटिँदैन । एउटा टाइम राखेर गरिदियो भने म दिन्छु, म सहयोग गर्छु । तपाईंले भनिहाल्नु भयो, भोलि मेरो पनि काम गर्नुपर्छ ।

श्रेष्ठ : त्यो त मैले गर्छु । यो दिक्क लाग्छ कि डा. गोविन्द केसी देखेर । कहिले मर्छ जस्तो लाग्छ मलाई त । एमडी पढ्न नपाएको पनि तिनले गर्दा हो ।

प्रसाईं : एमडी पढ्न मैले छोरीलाई जापान पठाउनुपर्‍ यो । टोकियो युनिभर्सिटी । तीन करोड तिरेँ एमडी गर्नलाई । यहाँ आफ्नोमा रेडिओलोजी पढाउन पाइनँ मैले ।

श्रेष्ठ : त्यही त, यो सबै बेथिति छ ।

प्रसाईं : मेरो हेर्नुस् न, म कति मरेको छु । मेरो मेडिकल कलेज हेर्नुस् न । सबै भौतिक पूर्वाधार पुगेको, काठमाडौं उपत्यकाबाहिर मेची अञ्चलमा ३२ लाख पपुलेशन छ । म त डुबेको छु । म त मर्न मात्रै बाँकी छ ।

श्रेष्ठ : त्यही त, यस्ता कुरा हटाउनुपर्छ सर । तपाईको यो पनि समस्या समाधान गर्नुपर्छ ।

प्रसाईं : अनि शिक्षा चाहिँ कसले लिने भयो सर ?

श्रेष्ठ : शिक्षा हामीलाई परेन जस्तो छ ।

प्रसाईं : शिक्षा, उता हजुरबुवाले राखे होलान् ।

श्रेष्ठ : सायद राख्नुभयो होला, शिक्षा ।

प्रसाईं : किनभने यसपाली मलाई एफिलेशन पनि दिनुपर्नेछ, हजुरबुवाले । सबै कुरा सकिएको छ । काठमाडौं युनिभर्सिटीले एफिलिएशन दिएको छ, सिट मात्रै तोकिदिएन । त्यो त नारायणकाजीको मान्छे हो नि त्यो गिरी (कृष्ण गिरी) । त्यहाँबाट पैसा उठाएर लगेर नारायणकाजीलाई बुझाउने मान्छे हो के त्यो ।

श्रेष्ठ : ए, हजुर, हजुर ।

प्रसाई : ल, यसो गर्नुस् न त ।

श्रेष्ठ : हजुर निश्चिन्त हुनुस् । अब काम मिलेर गर्नुपर्छ, तपाईं र म ।

प्रसाईं : भोलि केपी ओली झापा आउँदै हुनुहुन्छ, २ गते । आज त छुट्टी भइगयो । म भोलि बेलुका हजुरबुवासँगै काठमाडौं आउँछु । तपार्इं र म भेटौंला । तपाईं उसको ग्यारेन्टी गर्नुस्, तपाईंलाई गर्ने सहयोग गर्छु । तपाईंले जुन भन्नुभो नि दुई, आएर गरौंला ।

श्रेष्ठ : अँ ।

प्रसाईं : तर, अलिकति टाइम लाग्छ । पैसा मिलाएर निकाल्नुपर्छ । त्यत्तिकै निस्किँदैन हचुवामा । अहिले त बैंकले जम्मै सिस्टम खोज्छ, त्यति सजिलो हुँदैन । बाकसमा पैसा लिन गाह्रो छ ।

श्रेष्ठ : अँ ।

प्रसाईं : कुरा बुझ्नु भो के । त्यो त कसैले पनि दिन सक्दैन । नेपालमा कसैले सक्दैन ।

श्रेष्ठ : त्यही त ।

प्रसाईं : अनि फेरि हिजो पुस मसान्त । हिजो ब्याङ्कको ब्याज बुझाइयो ।

श्रेष्ठ : अँ, हजुरलाई नि साह्रै गाह्रो छ होला, है विचरा ।

प्रसाई : गाह्रो छ नि । हिजो पुस मसान्त ब्याज बुझाए । मेरो स्वास्थ्य बिमाको १४–१५ करोड पैसा अझै देको छैन, स्वास्थ्य बिमाले अढाइ वर्षदेखि ।

श्रेष्ठ : बीमा पनि नेपालमा १२ अर्बको लगानी हुने रहेछ ।

प्रसाईं : हो त नि ।

श्रेष्ठ : बीमा नीति नि लागू गर्नुपर्नेछ ।

प्रसाईं : त्यो त कसरी लागू गर्ने म तपाईंलाई भनिदिन्छ ु। तपाईंले एउटा के ग्यारेन्टी गर्नुस् भने दुई करोड रुपैयाँ मैले दिने भए तपाईंलाई । यो पैसा पनि तपाईंले रविलाई त बुझाउनु पर्ला नि होइन ?

श्रेष्ठ : अँ । मैले रवि सरलाई भन्दा पनि उहाँ देखा पर्नु भएको छैन । दुई–तीन जना साथीहरू हुनुहुन्छ । उहाँलाई दिने, पार्टीलाई जान्छ भन्या छन् केरे ।

प्रसाईं : यो सबै कमाउने त हुन् ।

श्रेष्ठ : कसरी गर्छन्, थाहा छैन । पार्टीमा जान्छ कि जान्न, त्यो पनि मलाई थाहा छैन । मैले सोधेकै छैन ।

प्रसाईं : अँ ।

श्रेष्ठ : पार्टी कमजोर छ । अहिले सुरुवाती क्षण छ । साह्रै गाह्रो भाछ त भन्या छन् ।

प्रसाईं : ए, ल सर ठीकै छ । म भोलि बेलुका वा पर्सि आउँछु, अनि दाजुभाइ भेटौलान् त । तपाईंले ग्यारेन्टी गर्नुस् दिन्छु भनेर । तर, मलाई अलिकति टाइम चाहियो भन्नुस् ।

श्रेष्ठ : अँ ।

प्रसाईं : है ।

श्रेष्ठ : हुन्छ, म त्यही कुरा गर्छु सर ल ।

प्रसार्इं : ल, ल ।

श्रेष्ठ : अनि त भोलि आउनुहुन्छ, बेलुका ?

प्रसाईं : हजुरबुवा आउने भएर बस्नुपर्‍ यो कि ।

श्रेष्ठ: अँ ।

प्रसाईं : म भोलि आउँछु । है डाक्साब ।

श्रेष्ठ : हस सर । तपाईं र म सबै सल्लाहले काम गर्नुपर्छ ।

प्रसाईं : तपाईलाई मैले एउटा कुरा के ग्यारेन्टी गरेँ भने दुई करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ । तपाईंलाई म सजिलो बाटो देखाइदिन्छु । त्यसमा पीर नगर्नुस्, उनीहरूसँग टाइम माग्नुस् । ल म दिन्छु भनेर भन्नुस्, सक्यो कुरा ।

श्रेष्ठ : अँ ।

प्रसाईं : तपाईं र म एक ठाउँमा भेट्नुपर्छ । भेटिराख्नु पनि पर्दैन । फोन पनि गर्नुपर्दैन । म जति भिडेको छु नि स्वास्थ्य क्षेत्रमा, डा. केसी के भिडेको छ । तपाईंलाई म आइडिया दिन्छु, दुई करोड दिन्छु । तपाईं पीर नगर्नुस्, तपार्इं अघि बढ्नुस् । अब तोसिमाले फेरि लडाइँ त गर्दिनन् नि ?

श्रेष्ठ : गर्दिनन्, गर्दिनन् । टिमले गरेपछि सक्कि गयो । रवि सरलाई म्यान्डेट दिएका छौँ ।

प्रसार्इं : अँ ।
श्रेष्ठ : उहाँले जसलाई राख्नुभो, राख्नुभो ।

प्रसाईं : फेरि यस्तो भयो नि त । तोषिमाले पैसा निकाल्न नि सक्दिनन् । किन भने नि गोविन्द केसीको मान्छे भन्या छ, कहीँ केही कुरा गर्न मिल्दैन । ऊसँग डराउँछन् ।

श्रेष्ठ : तिनी मन्त्री भइन् भने काम पनि छैन ।

प्रसाईं : काम छैन । हस भाइ, हस डाक्साब, हस ।

श्रेष्ठ : हस सर, नमस्कार ।

प्रसाईं : लौ नमस्ते ।

अनेक विवाद

विवादित छविका श्रेष्ठ यसअघि नै पोखरामा गैरकानुनी रुपमा अस्पताल सञ्चालन गरिसकेका व्यक्ति हुन् । औषधि पसल सञ्चालन अनुमति लिएर श्रेष्ठले अवैध रुपमा चलाएको शुभ बिहानी पोलिक्लिनिक नामक अस्पताल स्थानीय प्रशासनले ०७४ साउन १० मा सिल गरेको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा इमर्जेन्सी वार्ड इन्चार्ज रहेका बेला डा. श्रेष्ठले पोखराको पृथ्वीचोकमा अस्पताल चलाएका थिए । उनले अनुमतिबिना चलाएको १५ शय्याको अस्पतालमा बहिरंग सेवा, प्रयोगशाला, एक्सरे सुविधा भएको थियो ।

श्रेष्ठ राजनीति र स्वास्थ्य क्षेत्रमा मात्रै सीमित नभएर सहकारीको विवादमा पनि मुछिएका थिए । पोखराको रत्नचोकमा उनी आफैंले स्थापना गरेको साथी किसान सहकारी संस्थाका बचतकर्ताहरूको बचत रकम डुबेको छ ।

श्रेष्ठ राजनीतिमा लाग्ने भन्दै ०७९ कात्तिकदेखि सहकारीको नेतृत्वबाट बाहिरिएका थिए । ०७९ कात्तिक ९ मा बसेको साधारणसभामा उनले सनी पाठकलाई सहकारीको नेतृत्व सुम्पिएका थिए ।

उनी आफू अध्यक्ष हुँदाको हिसाब बुझबुझारथ नगरी बिदा भएका थिए । सहकारीको अध्यक्ष हुँदा श्रेष्ठले बचतकर्ताको रकम आफ्नै व्यवसायमा लगेर फसाएको आरोप पदाधिकारीको थियो ।

रास्वपामा आउनुअघि श्रेष्ठ राजनीतिमा सक्रिय थिएनन् । उनी समाजसेवाका नाममा ‘हाम्रो परिवर्तन नेपाल’ नामक संस्था खोलेर बसेका थिए । श्रेष्ठले संस्थामार्फत् आफ्नो जन्मथलो पोखरा–२४ कास्कीकोटमा खानेपानी बोरिङका लागि ०७४ मा रकम संकलन गरेका थिए । एक सय बढी स्थानीय उपस्थित भएर रकम दिए पनि त्यसको जानकारी श्रेष्ठले कसैलाई दिएका थिएनन् ।

श्रेष्ठले ‘हाम्रो परिवर्तन नेपाल’ लाई गत स्थानीय चुनावमा दलका रुपमा परिणत गर्ने प्रयाससमेत गरेका थिए । तर, संस्थामा आवद्ध अधिकांश मानिसहरू ‘लौरो अभियान’ मा प्रवेश गरेपछि उनको योजना सफल भएन ।

स्थानीय चुनावपछि रास्वपा गठन हुँदा उनी सभापति रवि लामिछानेको सम्पर्कमा पुगेका थिए । श्रेष्ठले काठमाडौं पुगेर पहिलो भेटमै लामिछानेलाई प्रभावित पारेर ०७९ साउन ७ मा रास्वपाको गण्डकी प्रदेश भेला आयोजना गरेको रास्वपा नेताहरू बताउँछन् ।

नेताहरूका अनुसार उक्त भेलामा १६ जना प्रदेश सभापतिको आकांक्षी देखिएका थिए । तर, सभापति लामिछानेले श्रेष्ठलाई नै प्रदेश सभापति बनाउने इच्छा व्यक्त गरेपछि अरु आकांक्षी पछि हटेका थिए ।

नेपाली कांग्रेसनिकट राजनीतिक पृष्ठभूमि भएको परिवारका श्रेष्ठले नेकपा माओवादी केन्द्रनिकट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ, गण्डकी प्रदेशअन्तर्गत चिकित्सक उपसमितिको सचिव भएर काम गरिसेका थिए ।

उनी पोखरामा अहेव र हेल्थ असिस्टेन्ट पढेर चीन गएर एमबीबीएस अध्ययन सकेर पोखरा फर्किएका थिए । श्रेष्ठले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा करारमा जागिर सुरु गरेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ७ : ५४ बजे

दहचोकस्थित इन्द्रदहमा भक्तजनको घुइँचो

 काठमाडौं– चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो

सेतीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता

काठमाडौं– बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खस्दा दुईजना

अल नासरले बर्खास्त गर्‍यो मुख्य प्रशिक्षक

काठमाडौं– साउदी क्लब अल नासरले प्रशिक्षक लुइस कास्ट्रोलाई बर्खास्त गरेको

‘रवि लामिछानेले क्लिनचिट नै पाउनुभएको हो’

सहकारी संस्थाहरूमा भएको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले

रास्वपालाई सूर्य थापाको प्रश्न- कारबाही सिफारिसको अंग्रेजी अनुवाद ‘क्लीन चिट’ हुन्छ ?

काठमाडौं- सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय