नयाँ दिल्ली– सन् १९९७ अगस्त १२ का दिन म्युजिक कम्पनी ‘टी सिरिज’ का सञ्चालक गुलशन कुमार मुम्बईको अन्धेरीमा अवस्थित शिव मन्दिरमा पूजा गर्न गइरहेका थिए ।
मन्दिर बाहिर पहिलेदेखि नै घात लगाएर बसेका ‘शुटरहरू’ ले गोली प्रहार गरेर गुलशन कुमारको हत्या गरे । हत्याराहरूले झण्डै एक महिनासम्म गुलशन कुमारको रेकी गरेका थिए ।
उनीहरूलाई गुलशन कुमार शिव मन्दिरमा पूजा गर्न एक्लै जाने गरेको सूचना पहिलेबाटै थियो । प्रहरीका अनुसार गुलशन कुमारको हत्याको योजना दुबईमा बस्दै आएका ‘अन्डरवर्ल्ड डन’ दाऊद इब्राहिमका भाइ अनिस इब्राहिमले बनाएका थिए ।
उनले गुलशन कुमारको हत्याका लागि हत्यारहरूलाई १५ लाख रुपैयाँ (भारतीय मुद्रा) दिएका थिए । तत्कालीन समयमा ‘अन्डरवर्ल्ड डन’ दाऊद इब्राहिमका शुटरहरूले गुलशन कुमारको हत्याको ‘सुपारी’ लिएका थिए ।
त्यसपछि ‘सुपारी’ शब्द मिडियामा चर्चित बनेको थियो । अहिले फेरि भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्यापछि उनी लरेन्स विश्नोई समूह (ग्याङ्ग) भन्दा अघि पाकिस्तानमा रहेका दाऊद इब्राहिमको ‘डी कम्पनी’ को निशानमा पनि रहेको बताइन्छ ।
अब ‘कन्ट्रयाक्ट किलिङ’ मा ‘सुपारी’ शब्द कसरी र किन प्रचलनमा आयो भन्ने बारेमा चर्चा गरौं ।
बाबा सिद्दीकीलाई दाऊदको धम्की– तिम्रो फिल्म बनाइदिन्छु
भारतीय मिडियाहरूका अनुसार केही वर्षअघि दुई व्यापारीहरूले पाकिस्तानमा रहेका दाऊद इब्राहिमसँग सम्पर्क गरेर बाबा सिद्दीकीसँग आफ्नो लेनदेनसँग जोडिएको विवाद समाधानको आग्रह गरेका थिए ।
दाऊदले उक्त काम आफ्ना ‘दाहिने हात’ छोटा शकिललाई सुम्पिएका थिए । छोटा शकिलले पाकिस्तानबाट बाबा सिद्दिकीलाई फोन गरेर अनेक धम्की दिए । त्यो बेला दाऊदले पनि बाबा सिद्दिकीलाई फोन गरेर धम्की दिएका थिए ।
उनले भनेका थिए, ‘रामगोपाल बर्मा (बलिउडका निर्देशक) लाई भनेर तिम्रो फिल्म बनाइदिन्छु– एक था एमएलए ।’ तर, त्यो विवादको कुनै समाधान भने निस्किएन ।
तत्पश्चात लरेन्स विश्नोई समूहलाई बाबा सिद्दीकीको हत्याका लागि ‘सुपारी’ दिइयो । यद्यपि, कसले यो ‘सुपारी’ दियो भन्नेबारेमा खुल्न भने बाँकी छ ।
कहाँबाट आयो ‘सुपारी’ शब्द ?
पत्रकारसमेत रहेका भारतीय लेखक हुसेन जैदीको पुस्तक ‘डोङ्गरी टु दुबई’ का अनुसार ‘सुपारी’ शब्द मुम्बईको माहिम प्रान्तका राजा भीमबाट सुरु भएको हो । भीम माहेमी आदिवासी समुदायका मुखिया थिए।
किल्लामा दिइएको भोजबाट सुरू भयो ‘सुपारी’ दिने चलन
जब–जब कुनै अप्ठ्यारो काम दिनुपर्थ्यो , तब–तब भीम आफ्नो माहिम किल्लामा सभाको आयोजना गर्थे । सभामा योद्धाहरूलाई खाना खुवाइन्थ्यो । खानपिनपछि एक प्लेटमा सुपारीका साथै पान सभाको बीच भागमा राखिन्थ्यो । जसले त्यो पान उठाउँथ्यो, उसैलाई त्यो अप्ठ्यारो काम फत्ते गर्ने ‘टास्क’ दिइन्थ्यो । यहीँबाट ‘सुपारी’ दिने चलनको सुरुवात भएको मानिन्छ ।
‘अन्डरवर्ल्ड’ मा कसरी ‘सुपारी’ दिने चलन चल्यो ?
‘अन्डरवर्ल्ड’ मा पनि यही ‘ट्रेन्ड’ (प्रचलन) सुरू भयो । ‘अन्डरवर्ल्ड’ मा जब कसैको हत्याका लागि ‘सुपारी’ दिनुपर्ने हन्थ्यो तब, ‘मिडिल म्यान’ अर्थात बिचौलियाले नै शुटरको चयन गग्र्यो । बिचौलियाले जसलाई ‘सुपारी’ दिन्थ्यो, उसलाई मार्नु पर्ने व्यक्तिको फोटो, उसको ‘लोकेशन’ र हत्या गरिने मिति र समयआदिका बारेमा विस्तृत जानकारी उपलब्ध गराउँथ्यो ।
‘टार्गेट’ को हैसियतअनुसार तय हुन्थ्यो ‘सुपारी’ को मूल्य
‘सुपारी’ को मूल्य ‘टार्गेट’ (लक्षित व्यक्ति) को हैसियतअुनसार तय गरिन्थ्यो । अर्थात, यानी ‘टार्गेट’ कुन ओहदाको हो, उसको हत्यापछि कस्तो पर्छ भन्ने बारेमा सबै कुराहरू ध्यानमा राखिन्थ्यो । पैसा प्रायःजसो किस्तामा उपलब्ध गराइन्थ्यो । अन्तिम रकमको भुक्तानी काम पूरा भएपछि मात्रै उपलब्ध गराइन्थ्यो । भारतीय सञ्चार माध्यमहरूमा आएका समाचारअनुसार बाबा सिद्दिकीको हत्याका लागि अढाई लाख भारतीय रुपैयाँ ‘सुपारी’ दिइएको थियो ।
हत्याअघि नै ‘अन्डरग्राउन्ड’ को तयारी
‘सुपारी’ दिइएका हत्याराहरू घटना गर्नुअद्धि ‘टार्गेट’ लाई केही दिनदेखि कयौं महिनासम्म ‘रेकी’ गर्दथे । ‘टार्गेट’ को हत्यापछि कहाँ र कहिले ‘अन्डरग्राउन्ड’ हुने भन्ने बारेमा पहिले नै तयारी भइसकेको हुन्थ्यो । किनकी हत्यापछि कि त पुलिस (प्रहरी) बाट पक्राउ पर्ने वा विरोधी समूहबाट मारिने डर पनि उत्तिकै रहन्थ्यो ।
‘सुपारी’ लिने शुटर गर्छन केही समयसम्म ‘रेकी’
अधिकांश घटनामा ‘सुपारी’ लिने वयक्ति वा समूह आफ्नो ‘टार्गेट’ को ‘रेकी’ गर्दथे । यसका लागि केही दिनदेखि महिना दिनसम्म लाग्न सक्थ्यो । गुलशन कुमारका हत्यारहरूले झण्डै एक महिनासम्म उनको ‘रेकी’ गरेका थिए ।
‘सुपारी’ रकम ५० हजारदेखि ५ करोड माथिसम्म
८० र ९० दशकमा मुम्बईका सडकहरूमा गोली चल्नु भनेको सामान्य घटनाजस्तै हुन्थ्यो । जो व्यक्ति आफ्ना प्रतिद्वन्द्वी सिध्याउन चाहन्थ्यो, उसले ‘अन्डरवर्ल्ड’ गिरोहलाई ‘सुपारी’ दिन्थ्यो । ‘सुपारी’ ५० हजारदेखि ५ करोडभन्दा बढीसम्मको हुन्थ्यो ।
सुरक्षाकर्मीको मिलीभगतमा ‘फर्जी मुठभेड’
९० को दशकमा मुम्बईमा दाउद र छोटा राजन नेतृत्वका दुई ठूला प्रतिद्वन्द्वी समूहमध्ये कुनै एक समूहसँग सम्बन्ध बनाएर अर्को समूहका सदस्यहरूलाई ‘फर्जी मुठभेड’ का नाममा हत्या गरिदिन्थे ।
हाजी मस्तानले दिएका थिए रियल एस्टेट माफियाको ‘सुपारी’
लेखक जैदीको पुस्तकका अनुसार सन् १९६९ मा ग्याङ्गस्टर हाजी मस्तानले रियल एस्टेट माफिया युसुफ पटेलको हत्याका लागि ‘सुपारी’ दिएका थिए । उनले यसका लागि दुई जना पाकिस्तानी नागरिकलाई त्यो समयमा १० हजार रुपैयाँ दिएका थिए । तर, पटेलका अंगरक्षकहरू पटेलको रक्षा गर्न सफल भएका थिए ।
जब एक पत्रकारको भयो ‘कन्ट्रयाक्ट किलिङ’
मुम्बईमा ‘अन्डरवर्ल्ड’ सँग सम्बन्धित समाचारका लागि प्रसिद्धी कमाएका पत्रकार जेडेको पुस्तक ‘खल्लासः एन ए–जेड गाइड टु द ‘अन्डरवर्ल्ड’ मा चर्चित ‘कन्ट्रयाक्ट किलिङ’ का बारेमा उल्लेख गरिएको छ । जसले दाऊद इब्राहिमलाई मुम्बई ‘अन्डरवर्ल्ड’ मा स्थापित गरेको बताइन्छ । सन् २०११ मा मोटरसाइकलमा सवार आक्रमणकारीले पत्रकार जेडेको हत्या गरिदिएका थिए ।
दाऊदका भाइका हत्यारा मार्न ‘बडा राजन’लाई ‘सुपारी’
सन् १९८३ फेब्रुअरीमा दाऊदका भाई शब्बिर कासकरको हत्या गर्ने पठान ग्याङ्गका अमिरजादा पठानलाई मार्नका लागि ग्याङ्गस्टर ‘बडा’ राजनलाई ‘सुपारी’ दिइएको थियो । यो काम डेविड परदेशी नाम गरेका युवा ‘हिटम्यान’ अर्थात शुटरलाई मिलेको थियो । जसले १९८३ सेप्टेम्बर ६ मा मुम्बईको सेशन कोर्टमा अमिरजादाको गोली हानी हत्या गरेका थिए ।
जब श्रीप्रकाश शुक्लाले उठाए मुख्यमन्त्रीको ‘सुपारी’
सन् १९९७ मा बाहुबली राजनेता वीरेन्द्र शाहीको ग्याङ्गस्टर श्रीप्रकाश शुक्लाले दिनदहाडै हत्या गरेका थिए । शुक्लाले १९९७ जुन १३ मा पटनाको इन्दिरा गान्धी हस्पिटलको बाहिर बिहार सरकारका तत्कालीन मन्त्री बृजबिहारी प्रसादलाई उनकै सुरक्षाकर्मीका अगाडि गोली हानी हत्या गरेका थिए । उक्त घटनामा एके–४७ राइफलको प्रयोगले भारतमा सनसनी फैलिएको थियो ।
कल्याण सिंहको ‘सुपारी’ लिँदा ‘एसटीएफ’ गठन
ग्याङ्गस्टर श्रीप्रकाश शुक्लाले उत्तर प्रदेशका तत्कालीन मुख्यमन्त्री कल्याण सिंहको हत्याका लागि ‘सुपारी’ लिएका थिए । आफ्नो हत्याको षडयन्त्रबारे सूचना पाएलगत्तै कल्याण सिंहले शुक्लाको अन्त्य गर्न स्पेशल टास्क फोर्स (एसटीएफ) गठन गरेका थिए ।
सन् १९९८ मे ४ मा उत्तर प्रदेश पुलिसका तत्कालीन एडीजी अजयराज शर्माले विभागका उत्कृष्ठ ५० जवानहरूको चयन गरेर एसटीएफ गठन गरेका थिए । उक्त फोर्सको पहिलो ‘टास्क’ नै श्रीप्रकाश शुक्लालाई जिउँदो वा मुर्दा पक्राउ गर्ने थियो । सन् १९९८ सेप्टेम्बर २३ मा एसटीएफले शुक्लालाई मारिदियो ।
शिवाजी महाराजको ‘सुपारी’ लिने अफजल खानको मृत्यु
मुम्बईको विल्सन कलेजका प्रोफेसर एनएस टाकाखावको पुस्तक ‘द लाइफ अफ शिवाजी महाराज’ का अनुसार छत्रपति शिवाजी महाराजको बढ्दो प्रभावले आत्तिएर सन् १६५९ मा बिजापुरका ‘आदिलशाही सल्तनत’ ले विशेष सभा बोलायो ।
शासक शिवाजी महाराजले ‘आदिलशाही सल्तनत’ का जनरल मुल्ला अलीलाई युद्धमा पराजित गरेर रायगढ किल्ला र तोरणा किल्ला कब्जा गरिसकेका थिए । दरबारमा आयाृजित सभामा आदिलशाहीकी बेगम (रानी) सोधिन्– कोही छ जो शिवाजीलाई कुल्चिन सक्छ ?
रानीको प्रश्न पछि सभामा उपस्थित भारदारहरू एकअर्काको मुख ताक्न थाले । तर, एक जना अफजल खान नाम गरेका जनरलले रानीको चुनौती स्वीकार गरे । उनले थालीमा राखिएको सुपारीयुक्त पान उठाए । जुन चुनौती स्वीकार गरेको प्रतीक थियो तर, पछि शिवाजी अफजल खानलाई मार्न सफल भए ।
छत्रपति शिवाजी महाराज भारतका एक महान योद्धा, रणनीतिकार र शासक थिए । उनको जन्म सन् १६३० फेब्रुअरी १९ मा शिवनेरी दुर्गमा भएको थियो । शिवाजीका पिता शाहजी भोंसले बिजापुरको दरबारमा एक उच्च अधिकारी थिए । उनकी आमा जीजाबाई एक वीर र कुशल योद्धा थिइन् ।
शिवाजीको पालनपोषण जीजाबाईले नै गरेकी थिइन् । उनले शिवाजीलाई युद्ध कौशल र प्रशासनिक शिक्षासमेत दिएकी थिइन् । शिवाजीले १६ वर्षको उमेरमै तोरणा किल्ला कब्जा गरेर आफ्नो सैन्य अभियान सुरू गरेका थिए ।
– भारतीय सञ्चारमाध्यमहरूको सहयोगमा
प्रतिक्रिया