मुस्ताङको स्याउ : बढ्दो माग, पुर्‍याउन धौधौ « Khabarhub

मुस्ताङको स्याउ : बढ्दो माग, पुर्‍याउन धौधौ


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी– मुस्ताङको स्याउको मुख्य बजार पोखरा हो । पोखरामा  यहाँको स्याउको माग बढ्दो क्रममा छ । मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत पोखरामा नै खपत हुने गरेको छ । 

पछिल्लो समयमा मुस्ताङमा बढ्दो पर्यटकको आगमनले त्यहाँबाट कोसेलीका रुपमा स्याउ बिक्रीसमेत हुने भएकाले यसको बजारका लागि भने कुनै समस्या नरहेको विगत लामो समययता स्याउको व्यावसायिक खेती गरिरहेका ‘टुकुचे स्याउ नर्सरी’का सञ्चालक राजन शेर्पाले बताए।

पोखराका साथै यहाँको स्याउ काठमाडौँसहित देशका अन्य बजारमा पनि खपत हुने गरेको छ ।

‘उत्पादन गर्न सके स्याउ बिक्री गर्न बजारको समस्या छैन’, शेर्पाले भने, ‘यहाँ उत्पादन भएको स्याउ थोक मूल्यमा ठेकेदारले नै खरिद गरेर लैजाने गरेका छन् ।’ 

विगतमा परम्परागतरुपमा स्याउखेती गरिँदै आएकामा पछिल्लो समय नवीनतम प्रविधिमा आधारित हाइडेन्सिटी स्याउ बगैँचा कार्यक्रमका कारण  उत्पादन बढेको किसान बताउँछन् । 

‘नर्सरीमा नेदरल्याण्ड्सबाट ल्याएको हाइडेन्सिटी प्रजातिको स्याउका बिरुवा उत्पादन गरेका छौँ’, शेर्पाले भने, ‘उत्पादित बिरुवा उपल्लो डोल्पा, रुकुम, रोल्पालगायतका स्थानसम्म पुगेको छ ।’ 

बर्सेनि १८ हजारसम्म स्याउका बिरुवा बिक्रीवितरण गरिरहेको उनले जानकारी दिए।

मुस्ताङको मुख्य फलफूलखेतीका रूपमा रहेको  स्याउको  व्यावसायिक खेती २०२२ पछि मात्र सुरु भएको पाइन्छ । विसं २०२२ मा तत्कालीन कृषि मन्त्रालय, फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको काश्मीरबाट स्याउका बिरुवा ल्याएर मुस्ताङमा वितरण गरेको थियो । स्थानीयवासीका अनुसार तत्कालीन समयमा प्रत्येक घरमा स्याउका तीन-तीन बिरुवा वितरण गरिएको थियो । त्यसयता स्याउको व्यावसायिक खेतीले बर्सेनि गति लिएको छ । स्थानीयवासीले स्याउको व्यापारसँगै यसबाट  रक्सीसमेत बनाउन थालेका छन् । 

मुस्ताङमा पछिल्ला वर्षमा स्याउ खेतीतर्फ किसानको आकर्षण बढिरहेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङले जानकारी दिए। उनका अनुसार मुस्ताङमा कूल आठ सय ९० हेक्टर क्षेत्रफलमा स्याउको खेती भइरहेकामा ६ सय १६ हेक्टरमा स्याउको उत्पादन भइरहेको छ । जिल्लामा गत वर्ष रु ९१ करोड ८६ लाखको स्याउ बिक्री भएकामा त्यसको ९० प्रतिशत जिल्ला बाहिर बिक्री भएको थियो ।

जिल्लामा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसयस, रिचा रेड डेलिसियस, फुजी जस्ता स्थानीय जातका स्याउका साथै उन्नत जातका माला मेमा, रेड डेलिसियस किङरोट, फुजी के कु फुब्रिक्स, गोल्डेन मेमा डेलिसियस स्याउको खेती गरिएको छ । पछिल्ला वर्षमा स्याउको उत्पादन ३० देखि ३५ प्रतिशतले वृद्धि भएको प्रमुख राजेश गुरुङले जानकारी दिए। 

‘पछिल्लो समय किसान उच्च घनत्व प्रविधिमा स्याउ लगाउन आकर्षित बनेका छन्’, उनले भने।

 कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, शीतोष्ण बागबानी विकास केन्द्रमार्फत तथा स्थानीय तहको समन्वयमा यसमा लाग्ने रोगकिरा व्यवस्थापनलाई प्राथमिकता दिएपछि स्याउको उत्पादन बढ्दै गएको प्रमुख गुरुङको भनाइ छ ।

केही वर्षयता तापक्रम बढ्दा पनि मुस्ताङका उपल्ला भूभागमा स्याउ खेती बढ्दै गएको स्थानीयवासी बताउँछन् । मुस्ताङका टुकुचे, मार्फा, जोमसोम, ठिनी, खिङ्गा, छुसाङ, कागबेनीलगायतका स्थानमा स्याउको व्यावसायिक खेती भइरहेको छ । विशेषतः मुस्ताङमा स्थानीय प्रजातिभन्दा  पर्याप्त उत्पादन हुने प्रजातिका स्याउ लगाउन थालिएको ठिनीका निरज थकालीले बताए।

स्याउको उत्पादन बढेपछि उवा, फापरलगायत रैथाने बाली लगाउन छाडिएको छ । 

‘स्याउको उत्पादन बढ्दै जान थालेपछि रैथाने बाली लगाउने ठाउँमा किसानले स्याउ लागाउन थालेका छन्’, थकालीले भने, ‘हिमाली क्षेत्रमा खेतीयोग्य जमिन कम हुने भएकाले थोरै जमिनमा कुन खेती गर्दा अधिकतम फाइदा हुन्छ त्यसतर्फ किसान लाग्ने गरेका छन् ।’

बगैँचाबाट स्याउ प्रतिकिलो एक सय ५० मा बिक्री भइरहेको थकालीले जानकारी दिए। ‘बजारमा यहाँको स्याउको माग बढ्दो छ । तर मागअनुुसार उत्पादन हुनसकेको छैन’, उनले भने, ‘यस वर्ष उत्पादन सकिएको छ, तर माग उत्तिकै छ ।’ 

स्थानीय जातको स्याउले लगाएको सात र आठ वर्षमा मात्र फल दिने गर्दछ भने हाइडेन्सिटी प्रविधिबाट लगाइएको बिरुवाले दुई तीन वर्षपछि नै फल दिने गरेका कारण यसतर्फ किसानको आकर्षण बढेको हो ।

सामान्यतः स्याउ चैत र वैशाखमा फुल्ने, जेठमा फल लाग्ने गर्दछ भने भदौको दोस्रो सातापछि पाक्ने र बजारमा जाने क्रम सुरु हुन्छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ३ : ०७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्