मनोरञ्जन

दशैँजति विदेशमै मनाइरहने राजेशपायल !

By खबरहब

October 15, 2024

काठमाडौं – गायक राजेश पायल राईलाई नजिकका मान्छेले भन्छन्, ‘६ महिना आकाश र ६ महिना धर्तीमा हुने मान्छे !’

राजेश साङ्गीतिक प्रस्तुती दिन विदेश गइरहने भएकाले उनलाई साथीहरूको सो व्यङ्ग्य गरेका हुन् ।

भन्छन्, ‘मेरो पासपोर्ट एक वर्षलाई पनि पुग्दैन, भरिहाल्छ । साथीहरू पूरानो पासपोर्टको बन्डल देख्दा आश्चर्यमा पर्छन् ।’

तपाईं आफैँ विचार गर्नुहोस् – उनी विदेश कत्तिको जाने रहेछन् !

सन् १९९७ मा राजेशले गायक बनेर पहिलो विदेश यात्रा हङकङबाट थालेका हुन् । त्यसपछिका २७ वर्षको अवधिमा हङकङमात्रै २८ पटकभन्दा बढी गएको राई बताउँछन् ।

उनको दाबी छ, ‘सायद नेपालबाट विदेश यात्रा धेरै गर्नेमा म पर्छु । नेपाली बसेको देश नगएको भन्ने छैन, यो गर्वका साथ भन्छु ।’

गायक–गायिका अन्य समयका तुलनामा दशैँमा व्यस्त हुन्छन् । सांगीतिक प्रस्तुतीका लागि विदेशबाट पनि प्रस्ताव बढी आउँछ । झन् राजेशलाई नआउने कुरै भएन ।

कोरोना महामारीका बेला बाहेक सन् २०१० यता उनले दशैँ नेपालमा मनाएकै छैनन् । भन्छन्, ‘त्यस्तै पर्‍यो भने मात्रै हो, नत्र विदेशमै हुन्छ मेरो दशैँ ।’

बाल्यकालको दशैँ नै प्रिय

उमेर बढ्दै जाँदा दशैँको महत्व घट्दै जाने राजेशको अनुभव छ । बाल्यकालमा मात्रै दशैँ नजिकिँदै गर्दा कौतूहल र रमाइलो बढी हुने उनी बताउँछन् ।

‘बाल्यकालमा केही मतलब हुँदैन थियो । रमाइलो गर्न पाए हुन्थ्यो । अहिले देशको अवस्था, मानिसहरूको आर्थिक पाटोबारे ज्ञान छ,’ उनी भन्छन्, ‘कतिपय दशैँमा खर्च जुटाउँदा ऋणमा समेत पर्छन् । यस्ता कुराले अहिले धेरै खुशी हुन दिँदैन । तर, वर्ष दिनको चाड खुशी हुनैपर्‍यो ।’

उनलाई बाल्यकालमा जन्मस्थान खोटाङको बुइपामा मनाएको दशैँ नै प्रिय लाग्छ । त्यसबेला विशेष लाग्ने घटना अहिले सामान्य लाग्ने भएकाले दशैँका दुशीमा कमी आएको हुनसक्ने उनको बुझाइ छ ।

यद्यपि, बाल्यकालको दशैँ स्मरण गर्दा उनको दिमागमा ‘नयाँ लुगा’ आउँछ । भन्छन्, ‘त्यो समयमा नयाँ लुगा लगाउने भनेको नै दशैँमा हो । त्यसैले दशैँ रमाइलो बनाउँथ्यो । दशैँका ती नयाँ लुगा अझै मेरो स्मृतिमा छन् ।’

तीन दाजुभाइ एक खालका नयाँ लुगा लगाएर टिका थाप्न हिँडेको घटना पनि उनलाई दशैँले सम्झाइदिन्छ । भन्छन्, ‘दशैँका लागि बुवाले हामी तीन दाजुभाइलाई सेतो सर्ट र निलो पाइन्ट किनिदिनुहुन्थ्यो । अहिले त नयाँ लुगाको महत्त्व नै छैन नि १ त्यसबेला त नयाँ लुगा लगाउन दशैँ पर्खनुपर्थ्यो ।’

राजेशको बाल्यकालको दशैँलाई सुन्दर बनाउने थप तीन कुरा छन् । ती हुन्– लामो बिदा भएकाले स्कूल जान नपर्ने, चाडले गर्दा घरको काम गर्नुपर्ने र घरमा दिनहुँ मासु पाक्ने !

थप्छन्, ‘हामी गाउँमा भएकाले मासु खान साता वा १५ दिन कुनुपर्ने हुन्थ्यो । दशैँमा दैनिक मासु खान पाइन्थ्यो । त्यो पनि दशैँको सुन्दर पाटो लाग्थ्यो ।’

विदेशको दशैँ

दशैँ लामो समय परिवारसँग बिताएर मनाइने चाड हो । बुवाआमा विदेशमा भएकाले राजेशले अन्य समय पनि परिवारसँग बिताउन पाउँदैनन् ।

सोहीकारण दशैँमा पनि आफू एक्लै विदेशमा रहँदा उनलाई परिवारको सम्झना त आउने नै भयो । तर, उनलाई अहिले सुरुवाती वर्षमा विदेशमा रहँदाको जस्तो खल्लो महसुस भने हुँदैन ।

‘म अर्काको लागि जन्मिएको हो । मलाई गायक राजेश पायल अरूले बनाएको हो । म अर्काकै लागि बाँच्नुपर्छ । नेपाली गीतसङ्गीत नै मेरो कर्म हो जस्तो लाग्छ । त्यसकारण मैले सानो सोच गर्नुहुँदैन जस्तो लाग्छ,’ उनी भन्छन् ।

परिवार र मामाघरका बढी सदस्य विदेश रहेकाले आफू नेपाल बसे पनि भेट हुन मुस्किल हुने हुँदा उनलाई मन बुझाउन सजिलो भएको छ ।

आम व्यक्तिहरू परिवारसँग दशैँ मनाइरहँदा राजेश कार्यक्रमका लागि यात्रा गरिरहेका हुन्छन् । विदेशकै एक स्थानबाट अर्को स्थानमा यात्रा गरिरहँदा उनलाई केही नरमाइलो अझै पनि लाग्छ ।

यात्राको क्रममा उनको मनमा खेल्ने कुरा हो, ‘अन्य सर्वजनिक बिदामा पनि काम हुन्छ । बिदाले काम गर्न छेक्दैन । दशैँको बेला यात्रा गर्दा चाहिँ मलाई बिदा मिल्दैन रहेछ भन्ने लाग्छ, विरक्त लाग्छ ।’

यद्यपि आयोजकले विमानस्थलमा स्वागत गरेपछि भने छुट्टै उत्साह पैदा हुने उनी बताउँछन् । भन्छन्, ‘आयोजकले खादा लगाइदिएपछि विरक्तता आफैँ हराउँछ । दर्शकसँग गीत गाएपछि अरू कुराको वास्ता नै हुँदैन ।’

यो दशैँमा…

यो दशैँमा पनि राजेश अमेरिका नै जाने योजना थियो । त्यहाँ कार्यक्रमहरू पनि तय भएको थियो । तर, बीचमा दुःखद घटनाले घटेकाले टिकाको भोलिपल्ट मात्रै अमेरिका प्रस्थान गर्न खोज्दै थिए ।

सो दुःखद घटना हो– आयोजक मध्येका एक सदस्यको निधन ! राजेश भन्छन्, ‘दशैँअघि अमेरिकाका सिन्सिन्नाटीमा कार्यक्रम थियो । मसँग सम्पर्क गर्ने आयोजककै निधन भयो । मलाई त्यहाँ काम गर्न नैतिक सङ्कट पर्‍यो ।’

तथापि अन्य आयोजकहरूले उनलाई कार्यक्रमका लागि बोलाइरहेका छन् । उनले निर्णय भने दिएका छैनन् । अष्टमीको केही दिनअघि उनले भनेका थिए, ‘म चाहिँ कार्यक्रम नगर्ने पक्षमा नै छु ।’

यद्यपि उनले आफ्नो फेसबूक पेजमामार्फत अक्टोबर १९ अर्थात् आगामी शनिबार अमेरिकाको वासिङ्टनमा आयोजना हुने वृहत्‌ साङ्गीतिक कार्यक्रममा सहभागी हुने जानकारी दिइसकेका छन् ।