महोत्तरी– मधेस प्रदेशमा आज तिलासक्रायत पर्व उमङ्गका साथ मनाइँदै छ । माघ सङ्क्रान्तिका दिन मनाइने यो पर्वमा घरघरै ‘लाई’ (तील, चिउरा, मुरी र जुनेलाका सख्खरको खुँदोमा मिलाएर बनाइएका लड्डु) खाने, ख्वाउने परम्परा छ ।
मिथिला क्षेत्रमा मकर सक्रायत पनि भनिने यो पर्वमा ‘मकर स्नान’ को धार्मिक महत्व छ । हिन्दू परम्पराका मैथिल (मिथिलाका बासिन्दा) यो पर्वमा बिहानै धार्मिक महत्वका नदी, तलाउमा नुहाएर अब जाडो हराउने कामना गर्छन् ।
माघ लागेपछि हुस्सु, तुवाँलो हटेर घाम लाग्न थाल्छ । नयाँ परिकार खाने ख्वाउने चलनले यो पर्व उल्लासमय छ ।
पर्वमा घरघरै चिउरा, दही, सख्खर र विभिन्न प्रकारका लाई खाने, खुवाउने परम्पराले यो पर्व आपसी भेटघाट र रमाइलोको अवसर मानिन्छ । पर्वमा मासको दाल, अरवा चामल र घ्यूमा पकाइएको खिचडी खास परिकार मानिन्छ ।
पर्वका लागि बनाइएका परिकार बिहान मकर स्नानपछि ब्राह्मण, पुरोहितलाई दान गरेपछि ग्रह, दशा हट्ने र राम्रा दिन सुरु हुने विश्वास रहिआएको छ ।
माघे सङ्क्रान्तिका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने र यसै दिन उत्तरायण सुरु हुन्छ । माघ सङ्क्रान्तिदेखि असार मसान्तसम्म रहने उत्तरायण अवधिमा दिन लामा र रात छोटा हुने गर्छन् ।
मिथिलामा बसोबास गर्ने आदिवासी थारू समुदायको तिलासक्रायत मुख्य पर्व हो । पश्चिमका थारू समुदायको सिको गर्दै यहाँ पनि यस पर्वलाई ‘माघी’ भन्न थालिएको छ ।
यसै दिन थारूको नयाँ वर्ष प्रारम्भ हुन्छ । थारू समुदायको मुख्य पर्व हुँदा यसको विशेष तयारी हुने गर्छ । थारू परम्परामा मासुका विभिन्न परिकार खाने खुवाउने चलन छ ।
यसैगरी पर्वते मूलका मगर पनि माघेसङ्क्रान्तिलाई मुख्य पर्वका रुपमा मनाउँछन् । मिथिलामा तिलासक्रायत पर्वको सनेस (कोसेली) छोरीचेली, मितमितिनी र इष्टमित्रकहाँ पुर्याउने पर्व मनाएसँगै केही दिन यो क्रम चल्छ । सख्खर, तील, घ्यूजस्ता परिकार खाने चलन छ ।
प्रतिक्रिया